डा. सूर्यप्रसाद पौडेल
स्तनधारी प्राणीमा लाग्ने प्राणघातक रेबिज रोगका कारण प्रतिवर्ष संसारभर ५० हजार व्यक्तिको मृत्यु हुने गरेको छ । नेपालमा पनि यो रोगका कारण बर्सेनि सय जनाको हाराहारीमा मृत्यु हुने र मृत्यु हुनेमा अधिकांश बालबालिका छन् । जनावर, विशेषगरी कुकुरको टोकाइबाट मानिसमा सर्ने, लक्षण देखिएपछि मृत्युसमेत हुने भए तापनि सानो प्रयासले मानव मृत्युलाई रोक्न सकिने रोग हो– रेबिज । यो रोगका बारेमा सर्वसाधारण तथा नीति निर्माताको ध्यान आकृष्ट गर्दै यो रोगविरुद्ध समाजका सबै अङ्गको सामूहिक प्रयासका लागि वातावरण निर्माण गर्न प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन अन्तर्राष्ट्रिय रेबिज रोगविरुद्धको दिवस मनाउने गरिएको छ ।
रेबिज रोगको खोप आविष्कार गर्ने वैज्ञानिक लुइस पाश्चरको मृत्यु भएको दिन उनको सम्मानमा हरेक वर्ष मनाइने यस दिवसको यो वर्षको नारा ‘रेबिजको तथ्य बुझौँ, त्रसित नहोऔँ’ रहेको छ । विश्वभरका नीति निर्माता, वैज्ञानिक तथा अभियन्ताहरूको सन् २०१५ मा भएको एक भेलाले सन् २०३० सम्म कुकुरको टोकाइबाट हुने मानव मृत्युलाई शून्यमा झार्ने सामूहिक लक्ष्य तय गरेको थियो । सन् २०३० सम्म कुकुरको टोकाइबाट लाग्ने रेबिज रोगका कारण हुने मानव मृत्युलाई शून्यमा पु-याउने अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्ने अभियानमा नेपाल पनि सम्मिलित भई लक्ष्य हासिलका लागि नीति तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धतासमेत जनाएको छ । विभिन्न देशमा सञ्चालन गरिने रेबिज रोगविरुद्धका प्रयासलाई एकरूपता दिन र यस अभियानका योद्धालाई एकताबद्ध गर्नका लागि अन्तर्राष्ट्रिय स्तरमा एक रणनीतिक योजनासमेत तयार भएको छ । यसै योजनालाई आधार मानी विभिन्न देशले आ–आफ्नो रणनीतिक योजना तयार गर्ने र सोहीअनुरूपका कार्यक्रमसमेत सञ्चालन गरिरहेका छन् ।
जनस्वास्थ्य क्षेत्रका विद्यमान समस्या समाधानका लागि सर्वपक्षीय स्वीकार्य कार्ययोजना हुन जरुरी छ । रेबिजजस्तो घातक रोगविरुद्धको लडाइँमा जनस्वास्थ्य, पशुस्वास्थ्य र नीति निर्माण क्षेत्रसँग आबद्ध सबैको एकीकृत प्रयास आजको आवश्यकता भएको छ । एक देश वा एक क्षेत्र रेबिज रोगमुक्त भए पनि पुनः सङ्क्रमणको सम्भावना भइरहनुले विश्वलाई नै यो रोगमुक्त गर्नुको विकल्प छैन । तसर्थ यो समस्या रहेका देशको सहजताका लागि अन्तर्राष्ट्रिय जगत्मा कार्यरत संस्था तथा विज्ञहरूले सन् २०३० सम्ममा रेबिजबाट हुने मृत्यु शून्यमा झार्नेसम्बन्धी रणनीतिमा एक कार्ययोजना तयार गरेका छन् । यसै कार्ययोजनालाई आधार मानी अधिकांश देशले आ–आफ्नो परिवेश अनुकूल हुने गरी कार्ययोजना तयार गरी रेबिज रोग नियन्त्रणको अभियानलाई तीव्रता दिएका छन् । नेपालले पनि रेबिज रोगको उन्मूलनको अभियानलाई गति दिन एक राष्ट्रिय रोग नियन्त्रण कार्ययोजना तयार गरी सबै सम्बद्ध र सरोकारहरूलाई गोलबद्ध गरी एकीकृत कार्यक्रम सञ्चालन गर्न विलम्ब गर्न हुँदैन ।
रेविज रोगविरुद्धको कार्ययोजना तयार गर्दा विविध पक्षलाई सम्बोधन गर्न जरुरी छ । कार्ययोजना तयार गर्दा मूल रूपमा न्यूनतम तीन पक्षलाई सम्बोधन हुन जरुरी छ । पहिलो पक्षमा यस क्षेत्रसँग सम्बन्धित सरोकारहरूको प्रतिबद्धता र रोग नियन्त्रणका लागि आवश्यक स्रोत र साधनको निरन्तर उपलब्धताको सुनिश्चितता हो । यसका साथै रोग नियन्त्रणका लागि आवश्यक प्रविधि र सूचनाको प्रयोग गर्न, रोग नियन्त्रणका लागि आवश्यक तथ्याङ्क सङ्कलन, प्रशोधन तथा प्रयोग गर्न र रेबिज रोगको नियन्त्रणका लागि चालिने क्रियाकलापको वैधताका लागि नीति निर्माण र कानुनको निर्माण कार्ययोजनाको दोस्रो पक्ष हुनुपर्छ । कार्ययोजनाको तेस्रो पक्षमा रेबिज रोगविरुद्धको खोप, औषधि तथा प्रविधिको प्रभावकारी प्रयोग तथा उपयोग हो । यी तीन पक्षलाई विस्तृतीकरण गरी देशको शासन व्यवस्थाका सबै अङ्ग परिचालन गराउन सक्ने एक राष्ट्रिय रेबिज रोगविरुद्धको कार्ययोजना तयारीका लागि जुट्न ढिलो भइसकेको छ ।
सरकारी सेवाको उपलब्धताले मात्र पनि समस्याको समाधान नहुने भएको छ । सरकारले सञ्चालन गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन सेवाग्राहीलाई सरकारी सेवाको प्रयोगका लागि उत्प्रेरित गर्नु मात्र नभई सेवा प्रदायकसमक्ष पु-याई उपलब्ध सेवाको प्रयोगमा अभ्यस्त बनाउन पनि जरुरी छ । यसका लागि समाजका हरेक अङ्गको उत्तिकै भूमिका रहेको हुन्छ । रेबिज रोगविरुद्धको अभियानलाई प्रभावकारी बनाउन यस रोगविरुद्धको लडाइँमा सङ्घीय निकायहरूले गर्ने कार्यमा आवश्यक कानुनी संरचनाको निर्माण महìवपूर्ण पक्ष हो । रोग नियन्त्रणका लागि आवश्यक पर्ने खोप, प्रविधि र सूचना तथा सामग्रीको उपलब्धता सुनिश्चित गराउने, प्रादेशिक तथा स्थानीय तहहरूबीच समन्वय र सहकार्य गर्ने र रेबिज रोग नियन्त्रणका लागि जनशक्ति तथा प्रयोगशालाको आधुनिकीकरणजस्ता कार्य अनिवार्य हुन्छन् ।
यस्तै प्रादेशिक तथा स्थानीय तहमा कार्यरत निकायले आ–आफ्नो क्षेत्रमा रहेका कुकुरलाई व्यवस्थित गर्नका लागि कुकुर राख्न अनुमति लिनुपर्ने कानुनी व्यवस्था गर्न, कुकुरधनीसँग रहेका र सामुदायिक कुकुर (छाडा कुकुर)को अभिलेखीकरण राख्न र अद्यावधिक गर्न, आफ्नो क्षेत्रमा रहेका कुकुरलाई अनिवार्य रेबिजविरुद्ध खोप लगाउने कार्य गर्न, कदाचित कुनै व्यक्तिलाई कुकुरले टोकेमा रेबिजविरुद्धको खोप लगाउन पाउने अवस्था बनाउन र यसको नियन्त्रण तथा रोकथामका लागि जनचेतना अभिवृद्धि गर्न सकेमा राष्ट्रले लिएको लक्ष्यमा पुग्न सजिलै सकिन्छ ।
यो रोगको नियन्त्रणमा गैरसरकारी संस्था, कुकुर राख्ने व्यक्तिलगायत अन्य सर्वसाधारणको भूमिका पनि अहम् छ । कुकुर पाल्ने व्यक्तिले आफ्ना कुकुरलाई समय–समयमा खाना दिने, बस्नका लागि बासको राम्रो व्यवस्था गर्ने र वर्षको एक पटक अनिवार्य रेबिजविरुद्धको खोप लगाउने, आफ्नो कुकुर बूढो वा रोगी भएमा बाटोमा नछोडी प्राविधिकको सल्लाहअनुसार व्यवस्थापन गर्ने, कुकुरमा हुने अनावश्यक प्रजननलाई रोकी सङ्ख्या वृद्धि हुन नदिनेजस्ता जिम्मेवारी वहन गरी एक जिम्मेवार पशुप्रेमीको भूमिकामा रहन आवश्यक छ । यसका साथै हरेक नेपालीले आफ्नो घरमा निस्केको फोहोरलाई कुकुरको आहाराका रूपमा प्रयोग हुन नदिने गरी फोहोरको व्यवस्थापन, होटल तथा रेस्टुरेन्टहरूले समेत फोहोरलाई कुकुरको आहारा हुन नदिने गरी फोहोरको व्यवस्थापन गरी राष्ट्रको यो पवित्र अभियानमा सहयोगका लागि अग्रसरता देखाउनु आजको आवश्यकता हो ।
रेबिज रोगको नियन्त्रण तथा कुकुरको व्यवस्थापनले मानव स्वास्थ्यको संवद्र्धन मात्र हुने नभई सहरको सुन्दरतासमेत बढाई पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र सहरको ख्यातिमा वृद्धि हुने देखिन्छ । यो अभियानले समाजको हरेक पक्षलाई प्रभाव पार्ने र समाजका हरेक पक्षको सहयोगबाट मात्र यो लक्ष्य हासिल गर्न सकिने भएकाले रेबिजविरुद्ध सबै सरोकारवालाको हातेमालो आजको आवश्यकता भएको छ ।