logo
२०८१ मंसिर १२ बुधवार



बीमासँग वित्तीय सम्बन्ध

विचार/दृष्टिकोण |




सुभाष कोइराला

अक्सफोर्ड डिक्सनेरी परिभाषामा उल्लेख भएअनुसार धन राख्ने र झिक्ने सुरक्षित स्थान बैङ्क हो भने उल्लिखित सेवा सर्तबमोजिम जोखिम वहन गर्न मञ्जुर गरी तोकिएको अवधिका लागि निश्चित बीमा शुल्क लिने गरी गरिएको करारनामा बीमा हो । अतः व्यवसायको प्रकृतिले दुई पक्षबीच कारोबार भएमा व्यक्त करार सिर्जना हुने र उक्त अवधिभित्र भवितव्य परी कुनै जोखिम उत्पन्न भएकोमा नियमानुसार दाबी भुक्तानी गर्ने व्यवस्था रहने कानुनी आधार तय हुन्छ ।

नेपालमा हाल कायम ३९ बीमा कम्पनी (१९ जीवन र २० निर्जीवन), एक पुनर्बीमा (सरकारी क्षेत्र तर्फबाट) कम्पनी तथा एक निजी क्षेत्रबाट कम्पनी सञ्चालित भइरहेकोमा बीमा समितिअन्तर्गत नियमन भरहेको तथ्य सरोकारवालालाई जगजाहेरै छ । बीमा क्षेत्र विशेषतः विविध क्षेत्रबाट छरिएर रहेका रकमहरू बीमा शुल्कमार्फत सङ्कलन गरी पँुजी निर्माण गर्ने क्रममा अग्रणी रहे पनि बैङ्कसँगको सम्बन्धमा व्यावसायिक हुन सकेको देखिँदैन ।
सङ्कलित पुँजी दुवै क्षेत्रका लागि दायित्व नै हुने भए पनि व्यवसाय बढाउन डिपोजिटका लागि बैङ्कहरू बीमा क्षेत्रमा भर पर्ने र बीमा क्षेत्र पनि निश्चित ब्याज आर्जन गरी दायित्वको सीमा कम गर्न बैङ्कमार्फत आय गर्न लागिपरेका हुन्छन् तर बैङ्कमा रकम जम्मा गरेपश्चात् व्यवसाय आफू अनुकूल गर्न गर्नुपर्ने प्रक्रियामा सामेल हुन नखोजी हक ठानेर व्यवसाय लिन बीमा क्षेत्रले भूमिका निर्वाह गर्ने गर्छन् । यसले व्यवसाय बढाए तापनि व्यावसायिकता बढाउन सक्दैन ।

बीमा जोखिमसहितको व्यवसाय भएको विषय नौलो रहेन । अतः जोखिम हस्तान्तरण गर्नु बैङ्कको र वहन गर्नु बीमाको दायित्व रहेको छ । निर्जीवन बीमाको विषय छोड्ने हो भने जीवन बीमा मात्र कायम हुने हुन्छ । जीवन बीमामा पनि योजनामा समावेश गरी विविध ऋण सापटीलाई जोखिम वहन गर्ने प्रचलन छ । यसै क्रममा बैङ्कले कर्मचारी वर्गलाई सापटी प्रदान गर्ने र सापटी रकम बराबर बीमा गर्ने गर्दा ऋणीको ऋणको जोखिम बीमकमा हस्तान्तरण हुने गर्छ । नियमित बीमा शुल्कको भुक्तानी र अवधि समाप्त भएपश्चात् प्राप्त हुने बोनस रकमको हिस्सा नियमानुसार कर्मचारीलाई फिर्ता दिने प्रचलनले कर्मचारीमा बीमा गर्दा भवितव्यमा ऋणको कारणले घरको उठिवास नहुने सुनिश्चितता प्रदान गरेको छ भने बैङ्कको ऋण सापटी पनि सुरक्षित हुने देखिएको छ ।

यति हँुदा पनि बीमाको प्रक्रिया पूरा गर्न नसक्दा कतिपय ऋणीको ऋण सुरक्षित हुन नसकिरहेको अवस्था छ । बैङ्कमा बीमा हेर्ने गरी कर्मचारी तोकिए तापनि बीमाको प्रक्रिया स्पष्ट हुन नपाउँदै सरुवा हुने, स्पष्ट भए तापनि अन्यलाई सोहीअनुसार सूचना प्रदान गर्न नसक्ने, सरुवापश्चात् पूर्ण हस्तान्तरण प्रक्रिया सम्पन्न नहुने गर्दा दुवै क्षेत्रसँग सम्बन्धित जनशक्तिबीच सूचना आदानप्रदानमा खाडलको सिर्जना भएको देख्न सकिन्छ । केही ठूला तथा विकास बैङ्कका प्रतिनिधिहरूको सामीप्यमा विविध विषयमा भएको छलफल तथा व्यावहारिकतामा प्राप्त महìवपूर्ण प्रामाणिक सूचनाले यो निष्कर्ष निस्कन सकेको छ । कार्यरत कर्मचारीले प्राप्त सापटीहरूको बीमा गर्ने क्रममा न्यूनतम र माग गरेबमोजिमका कागजपत्र भरी बुझाउनुपर्ने बाहेक अतिरिक्त तथ्यगत प्रमाण पेस गर्नुपर्ने हुन्छ ।

यसै क्रममा प्राप्त कागजातका आधारमा बीमा शुल्क निर्धारण हुने र बीमा शुल्क भुक्तान गरिसकेपछि बीमा लेख नम्बर जारी गरिने प्रचलन रहेकोमा स्वीकृत फारामअनुसार बीमकको नामको खातामा आफू कार्यरत वा अन्य कुनै पनि बैङ्क खातामा बीमा शुल्क भुक्तानी गरी बीमकमा सम्पर्क नगरी जोखिम वहन भएको मान्ने प्रचलन पाइएको छ । यसबाट बीमा शुल्क भुक्तानी भए तापनि भवितव्यमा कुनै क्षति भइहालेमा बैङ्कले बीमकबाट दाबी माग्ने र बीमकले बैङ्कलाई बिनाजोखिम वहनबापत दाबी दिन नमिल्ने भएकोले बैङ्कमा कार्यरत कर्मचारीले सापटी लिनुअघि गर्नुपर्ने प्रक्रिया बुझ्न जरुरी देखिन्छ । यसले बैङ्कको सापटी बीमा प्रभावित हुन सक्ने र कर्मचारीले सापटीबाट जोडेको घरखेतसमेत गुमाउनुपर्ने देखिन्छ ।
प्रश्न उठछ, के बीमकले पठाएको स्वीकृत बीमा शुल्कको भुक्तानी गर्र्दैमा बीमा भएको मान्न सकिन्छ ? सबै आफ्नो क्षेत्रको कार्यशैली, प्रक्रियाबारे सुसूचित हुने गर्छन् तर अन्य क्षेत्रका बारे भने आवश्यकतानुसार जानकारी लिई पूर्ण सम्पन्न प्रक्रियाबारे खबर लिन भने उदासीन हुन्छन् । यसै विषयले मान्छेलाई अप्ठेरोमा पार्ने गरेको छ । बैङ्क र बीमा क्षेत्रको व्यवसायमा पनि त्यस्तै भएको देखिन्छ । बजारीकरण गर्दा बीमकबाट व्यवसायका लागि बैङ्कलाई विविध सुविधा प्रदान दिने प्रस्ताव गर्ने तर बीमा व्यवसायपश्चात् सम्पर्कमा कम गर्ने । यस्तैगरी बैङ्कले पनि करार गरेबाहेक प्रस्ताव गरेका सुविधाहरू क्रमशः घटाउने र सशुल्क गर्ने गरेको पाइन्छ ।

अतः हाम्रो कार्यशैलीमार्फत परिवर्तन गरी व्यवसायमा सम्बन्ध सुधार गर्ने प्रयास निरन्तर गर्नुपर्छ । प्रथम बीमा शुल्क, नवीकरण शुल्क, निष्क्रिय भएको प्रस्ताव वा बीमालेखको आँकडाको सममिलान वर्षमा दुई पटक वा प्रत्येक छ–छ महिनामा वा अझ कम समयमा गर्नाले जोखिमसहितको बीमालाई केही हदसम्म न्यून जोखिम बनाउन सहयोग हुने गर्छ । त्यसैले बीमा सेवा लिनेले पूर्ण चक्रबारे जानकारी लिने र सोका लागि सम्बन्धित विभागमार्फत समन्वय गर्नुपर्छ । कार्यरत रहने मातहतका कर्मचारीलाई समेत सो सम्बन्धमा प्रशिक्षण गराई सुसूचित गराउने तथा परिवर्तित विषयहरूमा तालिम वा प्रशिक्षण गराई जोखिम न्यूनीकरणमा हातेमालो गर्न सकिन्छ ।

बीमकको भूमिका
नेपालमा प्रचलन रहेका जीवन बीमकहरूले आफूसँग समन्वय रही कार्यरत रहेका निकाय तथा सरोकारवालालाई समय–समयमा जोखिम न्यूनीकरण गर्ने खालका तालिम प्रदान गर्ने गरेको पाइँदैन । बीमा गर्ने प्रक्रियाको पहिलो पूर्ण चक्रमार्फत मात्र बीमा गर्न सकिने विषयबारे कर्मचारी तथा सरोकारवालालाई समेत जानकारी प्रदान गर्न केन्द्रित हुनुपर्छ, जसको सुरुवात बीमकहरूबाट तत्काल गर्नुपर्ने देखिन्छ ।

चाल्नुपर्ने कदम
कर्मचारीलाई प्रदान गर्ने सापटी रकमको प्रस्ताव स्वीकृतअनुसार बीमा शुल्क भुक्तानी बीमककै कार्यालयमा भुक्तानी गरेको भए रसिदसँगै बीमालेख नम्बर प्राप्त हुने र सो को आधारमा बीमालेख जारी हुने गर्छ तर अन्य बैङ्कमा भुक्तानी गरेको अवस्थामा सम्बन्धित कार्यालयबाट समन्वय गरी भुक्तानी गरेको यकिन गर्ने र बीमा लेखका लागि पहल गर्नुपर्छ । बीमालेख नै सापटी लिनेका लागि धितो हुने भएकोले कर्मचारीको व्यक्तिगत फाइल वा नियमानुसार रेकर्ड गराई समय–समयमा अद्यावधिक गर्नुपर्छ । धितोबापतको बीमालेख प्राप्त नभई (सापटी स्वीकृत भएपश्चात् पहिलो किस्ता मात्र भुक्तानी प्रदान गर्ने) र बीमालेख प्राप्त भएपछि मात्र बाँकी सापटी रकम भुक्तान गर्न सके बीमाको एउटा चक्र पूर्ण हुन जाने हुँदा कर्मचारीको मासिक कट्टा रकमको सदुपयोग भई जोखिमसमेत वहन हुने गर्छ, जसबाट संस्थाले लिएको उद्देश्य पनि पूरा हुन जानेछ ।

धितोबापतको बीमालेख प्राप्त नभएमा पहिलो किस्ता मात्र कर्मचारीले बेहोर्नुपर्ने हुँदा कर्मचारीसमेत सचेत हुन जानेछन् । अन्यथा जोखिमरहितको अपेक्षा गरेको बीमाको नवीकरण पनि नहुने हुँदा कर्मचारीलाई प्रदान गरेको सापटीको तुक हुन सक्दैन ।
बीमा जोखिमयुक्त पेसा भए तापनि कर्मचारीको हितार्थ प्रदान हुने सापटी रकमलगायत जिउज्यानको समेत हुने जोखिमलाई न्यूनीकरण गर्न सचेतना प्रदान गर्न र समन्वयात्मक तवरले जीवन बीमासमेत गर्न प्रोत्साहन गर्न सके समस्त पुँजी निर्माण गर्ने क्षेत्रलाई सहयोग हुने विश्वास लिन सकिन्छ । अतः समन्वय र सहकार्य नै बीमा र बैङ्क तथा वित्तीय संस्थाको सम्बन्धलाई बलियो पार्ने आधार रहेको मान्न सकिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?