सुमनकुमारी देव
विशेषगरी हिन्दु धर्मावलम्बीहरूले मनाउँदै आएको छठ पर्वलाई महìवपूर्ण पर्वको रूपमा मानिन्छ । छठमा सूर्यदेवको उपासना गरिन्छ । षष्ठी तिथिका दिन सूर्य भगवान्को पूजा–आराधना गरिँदा सुस्वास्थ्य, धनधान्य र सौभाग्य प्राप्त हुन्छ भनी मान्यता रहिआएको छ । सूर्य पुराणमा वर्णन गरिएअनुसार सर्वप्रथम अग्नि मुनिकी पत्नी अनुसूयाले छठको व्रत गरेकी थिइन् । आफ्नो अटल सौभाग्य र पतिको प्रेम प्राप्त होस् भन्ने उद्देश्यले उनले छठको व्रत लिएकी थिइन् भनिएको छ ।
केही विद्वान्का अनुसार महाभारत कालमा वनवासमा रहेका बेला द्रौपदीसहितका पाण्डवहरू एक वर्षको अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्य देवताको आराधना गरेका थिए । त्यही समयदेखि छठ पर्व मनाउने परम्परा सुरु भएको हो । अर्को भनाइअनुसार, श्रापबाट पीडित प्रसिद्ध कवि मयूर भट्टले सूर्यको उपासनाबाट सुन्दर र कञ्चन शरीर पुनः प्राप्त गर्नु भएकोले नै त्यही समयदेखि छठ पर्वको सुरुवात भएको हो ।
साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्रापबाट भयङ्कर कुष्ठरोगले पीडित साम्ब सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुनुभएको थियो र पुनः आफ्नो सबल शरीर प्राप्त गर्नुभएको थियो । यो कथा विभिन्न पुराणमा पनि उल्लेख छ । सातौँ शताब्दीमा उत्तरी भारतका सम्राट हर्षवर्धनका दरवारी कवि वाण भट्टको सालो प्रसिद्ध कवि मयूर भट्ट आफ्नै पुत्रीको श्रापद्वारा कुष्ठपीडित भएपछि सूर्यदेवको उपासना गरी सुन्दर शरीर प्राप्त गर्नुभएको थियो । त्यसपछि उहाँले ‘सूर्यशतकम्’ भन्ने पुस्तकसमेत रचना गर्नुभएको थियो ।
हिन्दु धर्म एवं साहित्यमा सूर्यसम्बन्धी धार्मिक तथा आध्यात्मिक आख्यानहरू भेटिएका छन् । यसका अतिरिक्त वैज्ञानिक, ज्योतिषी र चिकित्सकहरूले सूर्य तìवबाट आफ्नो ज्ञान अभिवृद्धि गरी जनकल्याणका लागि गरिएका अन्वेषण गाथाहरू पनि उत्तिकै छन् । यथार्थमा भन्नुपर्दा संसारको सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छ । तिनको सत्ताबिना जीवन सम्भव छैन । वायुको शोधन हुन सक्दैन । न जलको उत्पत्ति हुन सक्छ, न प्राणीहरूमा स्फूर्ति र चेतना हुन सक्छ । यतिसम्म कि मानिस निरोगी रहन सक्दैन । सूर्यमा निहित प्रबल रोग नाशक शक्तिबाट प्रेरित भएर नै उनको प्रार्थना गरिएको हो । सूर्य प्रकाश नै जीवन हो र अन्धकार नै मृत्यु हो । अथर्ववेदमा खुट्टा, जोर्नी, तिघ्रा, काँध, मस्तिष्क कपाल तथा मुटुसम्बन्धी रोगहरूको उपचार उदीयमान सूर्य किरणद्वारा गरिन्छ । भनिन्छ, सबै देवता सूर्यबाट उद्भव भएर त्यसैमा विलिन हुन्छन् ।
हिन्दु संस्कृतिमा वीणाक्षर ‘ॐ’ को सूर्यसितको सम्बन्धबारे उल्लेख छ । ‘ॐ’ नै आदित्य हो । यसै रूपमा आदित्यको ध्यान गर्न निर्देशन दिइएको छ । वेदमा सूर्यदेवका चौध वटा ब्रह्मपुराणमा एक सय आठ, भविष्य पुराणमा एक हजार र अमरकोषमा चौवन्न वटा नाम उल्लेख छन् ।
छठ पर्वको व्यवस्थापनमा प्रमुख रूपमा महिलाले भूमिका निभाउँछन् । व्रत बस्नेदेखि पूजा सामग्रीहरू जुटाउन, पकवान्न बनाउनदेखि छठको गीत गाउन, सबै कामको जिम्मेवारी महिलाले नै निभाउँछन् । पुरुषहरूको चाहिँ नदी, तलाउ तथा घाट सिँगार्नेदेखि पूजा सामग्रीहरू घाटसम्म पु¥याउने र बाजागाजाको व्यवस्था गर्नु मात्र जिम्मेवारी हुन्छ ।
छठ पर्वको कात्तिक शुक्ल चतुर्थीदेखि नै विधि सुरु हुन्छ । चतुर्थीका दिन व्रतालु महिलाले स्नान गरी शुद्ध शाकाहारी भोजन गरी गोवरले घरआँगन लिपपोत गरेर पवित्र बनाएर दिनभर उपवास बस्छन् । साँझपख शुद्ध दूधमा खिर पकाई केरा, मिष्ठान, फलफूल, इत्यादि प्रसाद चन्द्रमालाई उत्सर्ग गरी व्रतालु महिलाले आफू पनि ग्रहण गर्दछन् । यसलाई खर्ना भनिन्छ । अन्तिम षष्ठी (छठ) का दिन शुद्ध गहुँको पिठोबाट विभिन्न गुलियो खाद्य पदार्थ ठकुवा, भुसुवा, खजुरी, परकिया इत्यादि बनाइन्छन् । साथै केरा, सुन्तला, ऊखु, फलफूलसहित डालो वा नाङ्लोमा राखी निर्धारित जलाशय, पोखरी, नदी, तलाउ, आदिमा गएर घाट बनाई त्यहाँ मन्त्रोच्चारण गरेर पूजा सामग्रीहरू सजाएर प्रार्थना गर्छन् । पूजास्थलमा अघिदेखि नै सिन्दुर र पिठोले अष्ठदलसहित अरिपन कोरिएको हुन्छ ।
त्यसपछि व्रतालुहरूले सन्ध्याकालीन अस्ताउँदो सूर्यलाई अघ्र्य दिनका लागि जलाशयमा पसेर पश्चिमाभिमुख भएर अघ्र्य दिइन्छ । दुवै हत्केलामा डालोमा रहेका पूजा सामग्रीहरू सूर्य षष्ठीलाई अर्पण गरी अघ्र्य दिने गरिन्छ । ती विधि सम्पन्न गरी व्रतालुहरू पूजा सामग्रीहरू लिएर घर फर्किने गर्छन् । कतिपय व्यक्ति त त्यहीँ नै रातभरी जाग्राम बसी छठ परमेश्वरीका गीत–भजन गाएर बस्ने गर्छन् । पुनः बिहानै सूर्योदयभन्दा पहिले उठी पूजा स्थलमा गई पूजा सामग्री अर्पण गरी अघ्र्य दिने गरिन्छ । पूजा सकिएपछि त्यहीँ नै प्रसाद वितरण गरिन्छ र आ–आफ्ना घर फर्किन्छन् । व्रतालुहरूले आफ्नो इच्छानुसार सूर्य पुराण पनि सुन्छन् ।
यसरी छठ पर्वको सुरुवात चतुर्थीदेखि षष्ठीसम्मको सबै विधि–विधानमा महिलाहरूकै सहभागिता रहेको हुन्छ । पूजा सामग्री तयार गर्नेदेखि लिएर अघ्र्य दिई पूजा गर्ने सबै काममा महिलाकै प्रमुखता रहन्छ । छठी परमेश्वरीका गीत–भजनहरू गाई महिलाहरू आनन्दविभोर भइरहेका हुन्छन् । यो पर्व कुनै जाति विशेषको मात्रै होइन । हिन्दु धर्म मान्ने सबै जातजातिले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । यतिसम्म कि मुस्लिमहरूले पनि आफ्ना छिमेकी हिन्दुलाई पूजाको सामग्री दिई अघ्र्य दिलाउने गरिन्छ । यो पर्वले पछिल्लो समयमा आएर राष्ट्रव्यापी रूप लिइसकेको छ । काठमाडौँ उपत्यकालगायत पहाडतिर पनि मनाउन थालिएको छ ।
नेपाली समाजको बनोट मिश्रित प्रकृतिको भएकाले हाम्रा चाडपर्व पनि जाति वा धर्म विशेषका मात्र हुन् भन्ने मान्यता हराउँदै गएको छ । हिन्दुका पर्व मुस्लिमले र मुस्लिमका पर्व हिन्दुले मनाउने गरेका धार्मिक सौहाद्र्रता देख्न थालिएको छ । धर्म–संस्कृतिबाटै सामाजिक मिलन र सद्भाव बढ्ने गरेका उदाहरणहरू प्रसस्त देखिएका छन् । दशैँ, तिहार, छठलगायतका पर्वले राष्ट्रव्यापी फैलावट लिइसकेका छन् ।
छठ पर्वमा छठी माताको प्रधानता रहन्छ । सूर्यसँग तिथिको सम्बन्धको चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ । ब्रह्मवत्र्ता पुराणमा अनुसार प्रकृति देवीले आफूलाई पाँच भागमा विभाजित गरिन्, जुन दूर्गा, राधा, लक्ष्मी, सरस्वती र सावित्री हुन् । मार्कण्डेय पुराणमा भनिएको छ– “स्त्रियः समस्ताः सकला जगत्सु ।” प्रकृति देवीको एउटा अंशलाई देवसेना भनिएको छ, जसलाई श्रेष्ठ मातृका मानिएको छ । यसलाई समस्त शिशुको रक्षिका देवी मानिएको छ । प्रकृतिको छैठौँ अंश भएको कारण यसलाई छठी (षष्ठी) भनिएको हो । शिशु रक्षिका भएको हुनाले यस देवीको विशेष रूपमा पूजा गरिन्छ । यो बच्चा जन्मेको छैटौँ दिन होस् वा कात्तिक शुक्ल पक्षको षष्ठी तिथि होस्, यसको निष्ठापूर्वक पूजा गरिन्छ ।
छठलाई सूर्य षष्ठी तथा प्रतिहार षष्ठी पनि भनिन्छ । षष्ठी तिथि मुख्य नभई सप्तमी अर्थात् षष्ठीयुक्त सप्तमी तिथिको प्रधानता रहन्छ । किनभने षष्ठीको साँझमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ भने भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई यो पर्वको समापन गरिन्छ ।