अच्युतप्रसाद पौडेल
आज बालाचतुर्दशी पर्व । मार्गकृष्ण चतुर्दशी खासगरी अघिल्लो दिन त्रयोदशीका दिन बेलुकी शिवालयमा पितृको नाममा दीपदान गरिने, भोलिपल्ट देवालय, शिवालयमा शतबीज छर्ने प्रचलन छ । काठमाडौँको पशुपति, मृगस्थलीमा ठूलो भीड लाग्ने गर्छ । विगत दुई वर्ष कोरोनाका कारण रन्थनिएको यो क्षेत्रमा यसपालि भने रौनक हुने देखिएको छ । शास्त्रका अनुसार पशुपति क्षेत्रको मृगस्थलीमा परिभ्रमण गर्दै शतबीज छर्नाले प्रत्येक दानामा एक रति सुवर्णसरह हुने, दिवङ्गत पितृले संसारमा भट्किनु नपर्ने, पशुपति, गुह्येश्वरीको दर्शनका साथै वासुकी नागको पूजा एवं दर्शन गर्नुपर्ने र यसो गर्नाले समस्त लोककै कल्याण हुने विश्वास छ ।
दिवङ्गत पितृ उद्धार हेतु पाशुपत क्षेत्रमा गरिने धेरै कार्यमध्ये शतबीज रोपण अर्थात् शतबीज छर्ने काम पनि एक प्रमुख हो । त्यसो त शतबीज छर्नुअघि राति पितृउद्धार हेतु दीप प्रज्वलन गर्ने, महादीप बाल्ने चलन छ, दिव्य लोकमा पितृको बास र उज्यालो होस् भनेर । साँच्चै चारै दिशाका भक्तको ओइरो नै लाग्ने गर्छ यहाँ । त्यसो त पशुपति आउन नसक्नेले सिन्धुलीको कुशेश्वरदेखि काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, मकवानपुर, ललितपुर, भक्तपुरलगायत १० विभिन्न जिल्लामा रहेका ६४ शिव ज्योतिर्लिङ्ग वा अन्य शिवालयमा बत्ती बाल्ने, जाग्राम बस्ने अनि शतबीज छर्ने गरिन्छ । पुनर्जन्ममा विश्वास राख्ने पूर्वीय धर्म, संस्कृति प्राचीन मानिन्छ । संसारको उदयदेखि नै आरम्भ भएको हिन्दु संस्कृति र सभ्यताले दिवङ्गत पितृको अक्षय पुण्य प्राप्त गराउने विशेष पर्वअन्तर्गत बालाचतुर्दशी पनि एक हो । शतबीज र बालाचतुर्दशीबारे शास्त्रीय मत यस्तो छ :
काठमाडौँको प्रसिद्ध पाशुपतक्षेत्रस्थित श्लेष्मान्तक वनलाई अघि बालावन भनिन्थ्यो । बालावनमा शैव धर्मावलम्बी अघोरी बाबा धेरै बस्दथे । भनिन्छ, त्रेतायुगमा पुलस्त्य ब्राह्मण कुलका रावण, कुम्भकर्ण, सुपर्णखा पनि यहीँ रहेका थिए । बागमती तट गोकर्णमा कडा तप गरेका थिए उनीहरूले ! विश्वका प्रसिद्ध पशुपतिनाथको ज्योतिर्लिङ्ग उदय भएपछि शैवमार्गी यस क्षेत्रमा धेरै भए । तीमध्ये एक नायक थिए– बालानन्द । त्यतिबेला मसानघाटमा भोजभत्तेर खाने चलन थियो । एकदिन खानेकुरा खाँदाखाँदै घाटमा जलाउँदै गरेको एउटा लासको टाउको फुटेर गिदी उछिट्टिएर उनै बालानन्दको खानामा परेछ । थाहा नपाई उनले त्यो खाना खाएपछि उनको तेज र फूर्ति धेरै बढ्दै आएछ । अब त उनले घाटमा जलाउन ल्याएका सबैजसो लास तान्दै वनमा लग्दै खाँदै गर्न थालेछन् । यसो हुँदा हिन्दु धर्म परम्पराअनुसार काजकिरिया गर्न नपाउँदा सर्वसाधारणले ठूलै समस्या भोग्नु परेछ । अन्ततः त्यतिबेलाका राजा भुवनकेसरसम्म जाहेरी भएछ । आसुरी प्रवृत्ति बढ्दै गएपछि त्यो बालानन्दको नाम बालासुर हुन पुगेछ । त्यहाँको वनलाई पनि बालावन भनिन थालेछ । सर्वसाधारणको उजुरीपछि राजाले बालासुरलाई वध गर्न आदेश दिएछन् ।
बालासुर निकै बलशाली थियो । जो कोहीले उसलाई वध गर्न सक्ने थिएन । तसर्थ बालासुरकै पत्यारिलो साथी खोजी गर्दा वृषसिंह भन्ने एक व्यक्ति फेला परेछन् । राजाको आज्ञाले बालासुरको वध गर्न उनैलाई भनिएछ तर वृषसिंह आफैँमा त्यस्तो सामथ्र्य नभएपछि शिवजीको कठोर तप गर्न लागेछन् । कठोर तपबाट खुसी भई घुम्न आएका शिव दम्पतीले बालावनमा वृषसिंहलाई वरदान माग्न भनेछन् । उनले पनि आसुरी शक्ति बालासुरलाई मार्न सक्ने वरदान दिनुहोस् भन्दा शिवजीले हुन्छ भन्नु भएछ तर एउटा सर्तमा कि उसलाई मारेपछि उसको शिर भने शिवजीलाई नै दिनुपर्ने रहेछ । वृषसिंह शक्तिसम्पन्न त भए तर मनमनै खिन्न पनि ! साथीको हत्या आफैँमा ठूलो अपराध हो भनेर ! तैपनि बालासुरलाई नमारी नहुने भो भनेर उनले विभिन्न योजना बनाए ।
चिउरा, मदिरा, मासुका परिकार, साथीलाई मन पर्ने ठानी भरियाका साथमा ठूलै भीड लिएर वृषसिंह घाटतिर जाँदै थिए । बालासुरले घाटमा लास जलाउन ल्याएको भन्ने ठान्यो र लासलाई खोस्न लाग्यो । साथी वृषसिंहलाई पनि देख्यो । आपसी संवाद हुँदै जाँदा वृषसिंहले भने– लामो समयपछि तपाईंलाई भेट्न आएको, खाली हात कसरी आउँ भनेर केही खानेकुरा उपहार ल्याएको छु । बालासुर खानामा लोभी थियो, अघाउञ्जेल उपहार, खाना खायो । केहीबेरपछि मदिराले मात्तिएर ढलपल गर्न पनि लाग्यो । यही मौका छोपी वृषसिंहका भरियाले उसलाई डोरीले बाँधेर गहिरो इनारमा खसाले । त्यहीँ ढुङ्गामुढा गरेर मारिदिए । वृषसिंह उसको टाउको लिएर राजाकहाँ पुगे र भने यो टाउको शिवजीलाई नै अर्पण गर्नुपर्छ, राजाले हुन्छ भने ।
वृषसिंह टाउको लिएर पशुपति गए । शिवजी खुसी भएर वरदान माग भन्नुभयो । वृषसिंहले आफ्नो कामप्रति पछुतो मान्दै मित्रहत्याको अपराध नलागोस् भनी वरदान पनि मागे । शिवजीले भन्नुभयो, “त्यसो भए एउटा काम गर, यसको टाउको चाँदीको बनाऊ र उसलाई मारेको दिन पारेर मेरो शिरमा मुकुटका रूपमा राख ।” बालासुरलाई मारेको दिन मार्ग कृष्ण चतुर्दशी रहेछ । त्यसै दिन पारेर पशुपतिमा चाँदीको मुकुट लगाइदिने नयाँ चलन चलेछ । मेरो शिरमा राख्नु अनि दोष लाग्दैन भने । बालासुरलाई मारेको दिन पारेर पशुपतिमा चाँदीको मुकट लगाउनाले र यसै दिन श्लेष्मान्तक क्षेत्रमा भ्रमण गर्नाले सम्पूर्ण दिवङ्गत पितृको उद्धार हुन्छ भन्ने पनि वरदान मिल्यो । बालावन जसलाई श्लेष्मान्तक वन भनिन्छ, त्यहाँ बालाकै नामबाट रहेको तिथि बालाचतुर्दशीमा जसले शतबीज छर्छन्, तिनका पितृको मुक्ति मिल्छ भन्ने तारतम्य मिलाइयो । सात पुस्तासम्मका पितृको गति मुक्तिका लागि आजसम्म पनि पशुपतिलाई चाँदीको मुकट लगाइदिने चलन छ । मार्गकृष्ण चतुर्दशीमा त्यहाँ ठूलो मेला लाग्छ । पशुपतिको विशेष दर्शन गर्ने पनि चलन छ । सके सयथरी अन्नको बीउ नसके सातथरी धान, गहुँ, मकै, जौ, मुँगी, भटमास, बोडी आदि एकै ठाउँमा मिलाएर शतबीज छर्ने चलन छ । शतबीजलाई सद्मी भन्ने गरिन्छ ।
अघिल्लो दिनदेखि नै महादीप बाली जाग्राम बस्ने पशुपति क्षेत्र परिसरमा धूमधामको जात्रा गर्ने, भजन कीर्तन गर्ने पनि चलन छ । भोलिपल्ट चतुर्दशीका दिन बिहान बत्ती सेलाएर सतबीज छर्दा पशुपति, गुह्येश्वरी, वासुकी, मृगस्थली भ्रमण मात्र गर्दा पनि मानव जन्ममा जन्म मरणको चक्र दूर हुन्छ भनी स्कन्द पुराण हिमवत् खण्ड मृगस्थली महात्म्य एवं हेमाद्री संहितामा उल्लेख छ । सद्मी छर्ने प्रमुख स्थानमा विश्वरूप, किराँतेश्वर, चौसट्ठीक्षेत्र आदि मुख्य छन् । मृगस्थलीनजिकै बहिरा गणेश छन्, तिनको छुट्टै महìव छ । सद्मी छर्न जानेले उनको मूर्ति हल्लाउँदै मूर्तिको कानमा ठूलो स्वरले कराउनुपर्छ । यसो गर्दा यमलोकमा रहेका मृतकका आफन्त मृतकका लागि सद्मी छर्न आएका छन् भनी ती बहिरा गणेशले आफन्तका मृतकलाई भनिदिन्छन्, खबर पु¥याइदिन्छन् । सद्मी छरेको अभिलेख राख्ने काम यी गणेशले गर्ने गर्छन् । अन्य मठ मन्दिरमा पनि हनुमान, गणेश आदिको तस्बिर, मूर्ति हामी पाउने गर्छौं जसले मन्दिरमा को कहिले आए के गरे सबै अभिलेख राख्ने गर्छन् ।
शतबीजको एक दाना एक रति सुन बराबरको पुण्य हुने हुनाले सद्मीका बीजको अनगिन्ती पुण्य हुने कुरा धर्मशास्त्रमा उल्लेख भएको पाइन्छ । शिवजीले अघि मृग रूप लिएर यसै मृगस्थलीमा भ्रमण गरेकाले यहाँँको नाम मृगस्थली रहेको र बालाचतुर्दशीकै दिन शिवले एकसिङ्गे मृगरूप लिएकाले यस दिन मृगस्थलीमा पुग्ने र शतबीज छर्नेहरू जो कोही पनि दीर्घजीवी र पुण्यात्मा हुने गर्छन् । पशुपति क्ष्ोत्रमा हिजोआज जताततै हरेक दिन बिहान बेलुका त्यहाँ भ्रमण गर्नेहरू आफ्नो आयु बढाउन चाहन्छन् । शारीरिक अभ्यासदेखि योग, प्राणायाम र दिल बहलाउन चाहनेहरू त्यहाँ दिनहँुजसो भेटिन्छन् । वन बुट्यान, ताजा हावा, सफा वातावरणका कारणले पनि वृद्ध, रोगीसमेत त्यहाँ आवतजावत गर्ने गर्छन् । सँगै रहेको बागमतीको सफाइ, शतबीजपछिको फोहोरको व्यवस्थापन भने चुनौतीको विषय बनेको छ धेरै वर्षदेखि ।