logo
२०८१ मंसिर ८ शनिवार



विवाहसँग जोडिएको विवाह पञ्चमी

विचार/दृष्टिकोण |




विश्वनाथ खरेल

विश्वको एक मात्र हिन्दु राष्ट्र नेपाल हो । संसारमा दुई अर्ब आठ करोडभन्दा बढी हिन्दु रहेका छन् । जनसङ्ख्याको हिसाबले नेपालमा पनि हिन्दुहरूको बाहुल्यता छ । हाम्रो देशमा प्रत्येक दिन एक न एक चाडपर्व परेको हुन्छ । यसै सन्दर्भमा प्रत्येक वर्ष शुक्ल पञ्चमीका दिन जनकपुर धाममा मनाइने विवाह पञ्चमी मेला पनि एक हो । यस मेलामा नेपालको मात्र नभएर मित्रराष्ट्र भारतबाट हजारौँ श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ । तर गतवर्ष भने विश्वव्यापी कोरोना भाइरसको सन्त्रासले गर्दा अयोध्याबाट जन्ती नआउने भन्ने कुरा सम्बन्धित निकायले उल्लेख गरेको थियो । यस पटक भने राम जानकीको विवाह उत्सव सुरु भएको छ । सीताराम विवाह महोत्सवको साताव्यापी कार्यक्रम तय भइसकेको छ । पहिलो दिन मङ्सिर १७ गते राम–सीताको झाँकीले नगर परिक्रमा गर्ने, दोस्रो दिन रामले सीतालाई फूलबारीमा दर्शन दिएको स्मरणमा फूलबारी लीला गर्ने र तेस्रो दिन जनकको सर्तअनुसार धनुष यज्ञको आयोजना गर्ने काम हुनेछ ।

चौथो दिन राम र सीताका अलग महन्तहरूले तिलक महोत्सव गर्ने र पाँचौं दिन विवाहमण्डप तयारीमा नदीबाट ल्याइएको माटो राखिने मटखोर पर्व मनाइन्छ । त्यसरी छैटौँ दिन बाह्रबिघा क्षेत्रमा राम जानकीको डोलालाई स्वयंवरमा सरिक गराउँदै साँझ भव्य विवाह बन्धनमा बाँध्ने परम्परा छ । सातौँ दिन अर्थात् पञ्चमीको भोलिपल्ट जन्तीहरू बिदाइ गर्ने, उपहार र कोसेली दिँदै उत्सवको समापन गरिने दिन हो । यस अवसरमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्र र आदर्श नारी सीताको विवाह महोत्सवका रूपमा मनाइने विवाह पञ्चमी मेला अरू ठाउँमा मनाइने भए पनि जनकपुरधाममा लाग्ने मेला विशेष प्रकारको हुन्छ । तसर्थ त्रेता युगमा अध्योध्याका राजा दशरथका पुत्र रामचन्द्र र जनकपुरका राजा जनककी जेठी पुत्री सीताको विवाह जनकपुरधामको विवाह मण्डपमा भएको थियो ।

जनकपुर नगरीलाई सीताको जन्मस्थल मानिन्छ । सीता अथवा जानकी रामायणकी मुख्य पात्र पनि हुन् । सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन् । यसरी सीतालाई आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजु, आदर्श बुहारी र समग्रमा आदर्श नारीकी उदाहरण हुन् । सीतालाई सत्चचरित्रता, नारीत्व, मातृत्ववाशल्य र करूणाका खानीका रूपमा सम्मान गरिन्छ । अहिले पनि विवाह महोत्सवको गहिरो सम्झना दिलाउन विभिन्न किसिमका धार्मिक विधिबाट यो पर्व सम्पन्न गरिन्छ ।

यस पर्वमा भारतका बिहार, उत्तरप्रदेश, मध्यप्रदेश, पश्चिम बङ्गाल, राजस्थान आदि ठाउँबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । फलतः विवाह पञ्चमीका दिन जनकपुरका गङ्गा सागर, धनुष सागर र अरगजा सागरलगायतका धार्मिक एवं पवित्र पोखरीमा स्नान गरी जानकी मन्दिर, रामन्दिरलगायत विभिन्न मन्दिरको पूजा, अर्चना गर्दछन् । बेलुकीपख स्थानीय रङ्गभूमि मैदानमा आयोजना गरिने रामजानकी स्वयंम्बर समारोहमा असङ्ख्य भक्तजनको भेला हुन्छ । उक्त अवसरमा भारतको अयोध्या राममन्दिरबाट जन्तीका रूपमा आएका साधु–सन्तहरू, ऋषिमुनि, महन्त पनि आउँछन् ।

वैदिक हिन्दु धर्म ग्रन्थ एवं धार्मिक आख्यानअनुसार मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्र र आदर्श नारी जानकीको विवाह त्रेता युगमा जनकपुरमै भएको थियो । यसै सन्दर्भमा गुरु विश्वामित्रको आदेशपछि रामले शिवधनुष भङ्ग गरे, जसको तीन खण्ड भई एक खण्ड आकाश, दोस्रो खण्ड पाताल र तेस्रो खण्ड उडेर १४ किलोमिटर उत्तर दिशामा धनुषाधाममा झ-यो । जुन अद्यापि विद्यमान र प्रत्येक वर्ष माघमा मकरमेला प्राचीन कालदेखि नै लाग्दै आएको छ । जसमा देश विदेशका विभिन्न भागबाट हजारौँ तीर्थयात्री आई सो धनुषको अवशेषलाई आस्था साथ पूजाआजा गर्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?