logo
२०८१ मंसिर ११ मंगलवार



बिदाइमा रसाएका आँखा

विचार/दृष्टिकोण |




शेषकान्त पण्डित
सुवर्णशमशेरले नेपाल फर्कन उपयुक्त समय होइन भन्ने सल्लाह बीपी कोइरालालाई दिनुभएको थियो । पञ्चहरूले बीपीको फाँसी माग गरेका थिए, गणेशमान सिंहले मेलमिलाप नीति लिएर नेपाल जानु आत्महत्यासरह हो, निर्वासनमा बस्नु मन्द विष पिउनु हो भन्नुभएको थियो तर राजनीतिक सहयात्री गणेशमानजीलाई विश्वासमा लिएर बीपी पुस १६ गते दिउँसो काठमाडौँ विमानस्थलमा उत्रनुभयो ।

बीपीका सबैभन्दा नजिकका भारतीय मित्र समाजवादी नेता जयप्रकाश नारायण, कोइराला परिवारका सदस्य तथा धेरै शुभेच्छुक, समर्थकले बीपीलाई पटना विमानस्थलमा बिदाइ गरेका थिए । लालुप्रसाद यादव तथा नितिशकुमार लगायतका नेताहरू पनि विमानस्थलमा पुग्नुभएको थियो । बिदाइका बेला बीपीका आँखा पनि रसाएका थिए । खासमा आफूप्रति देखाइएको यस्तो व्यवहाबाट बीपी आफैँ भावविह्वल हुनुभएको थियो । नेपालमा फर्कन बीपी पुस १५ गते मात्र पटनामा पुग्नुभएको थियो । नेपाल आएपछि हुने अनिश्चितता र चिन्ताजनक अवस्थाले गर्दा बीपी भावविह्वल हुनुभएको देखिन्छ । बीपीलाई बिदाइ गर्न आएका मित्रको भीडले पटना विमानस्थल भरिएको थियो । विमान उड्ने घोषणा हुँदा मानिस बीपीको वरिपरि झुम्मिएका थिए । कसैले फूल दिएका थिए, कोही त्यतिकै रोएका थिए ।

बीपीका मित्र जयप्रकाशले न्यानो अँगालो हालेर बिदाइ गर्नुभएको थियो । आफ्नो स्मरणमा बीपीले नेपाल फर्कने बेला आफ्नो भावी जीवनको चिन्ता गर्दै नयाँ सवारी चालक जवाहर रोइरहेको र सुरक्षाकर्मीको समेत आँखा रसाएको उल्लेख गर्नुभएको छ । खासमा बीपी आफू बसेको स्थान बनारसबाट सीधै काठमाडौँ उत्रन चाहुनुहुन्थ्यो तर उहाँ अघिल्लो दिन मात्र पटना पुग्नुभयो र पटनाबाट काठमाडौँ आउनुभयो । काँग्रेसका नेता परशुराम पोखरेलका अनुसार बीपी त्यतिबेला बनारसमा दीनानाथ झुनझुनवालाकहाँ डेरामा बस्नुहुन्थ्यो । आफ्नै भौतिक ज्यानको सुरक्षा नभएको अवस्थामा धेरै ठूलो जोखिम मोलेर बीपी तत्काल नेपाल फर्कने निर्णयमा पुग्नुहुन्छ भन्नेमा भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीदेखि नेपालमा राजालाई समेत विश्वास रहेनछ तर बीपीले अपत्यारिलो निर्णय लिनुभयो ।

बीपी नेपाल फर्कने थाहा पाएपछि भारतीय प्रधानमन्त्री गान्धीका विश्वासपात्र तत्कालीन रक्षामन्त्री जगजीवन रामलाई बनारसमा बीपीलाई भेट्न आउनुभएको थियो तर बीपीले भेट्न अस्वीकार गरी बनारसबाट पटना हिँड्नुभयो । नेपाल फर्कने निर्णयमा पुनर्विचार गर्न भारतीय प्रधानमन्त्रीबाट आएको सन्देशलाई अस्वीकार गर्दै बीपीले निर्णयमा परिवर्तन नहुने जनाउ दिनुभएको थियो । अर्कोतिर बीपीको भावी जीवनका बारेमा चिन्ता व्यक्त गर्दै समाजवादी नेताहरूले पटना वा बनारस जहाँबाट बीपी नेपाल फर्के पनि उहाँको बिदाइ भव्य गर्ने र बीपीको भावी जीवनको सुरक्षाका बारेमा भारतीय र नेपाल सरकारमाथि पनि दबाब सिर्जना गर्ने रणनीति बनाएका रहेछन् । बीपी पटनामा नआएको भए समाजवादीहरूको विशेष टोली नै बनारस जाने तयारीमा थियो तर बीपी पटनामा आइदिनुभएपछि जयप्रकाश लगायतले बीपीलाई पटनाबाटै बिदाइ गरे ।

बीपी, गणेशमान, शैलजा आचार्य, निलाम्बर पन्थी, रामबाबु र खुमबहादुर खड्का सवार तत्कालीन शाही नेपाल वायुसेवा निगमको विमान दिउँसो ३ बजे काठमाडौँ उत्रेको थियो । बीपी नेपाल आउने कुरा केही दिनपहिले नै थाहा भइसकेको थियो । गिरिजाबाबुको निर्देशनमा पुस १६ गतेभन्दा केही दिनपहिले नै काँग्रेस नेता अशोक कोइराला बीपीको पुस १६ मा सार्वजनिक अपिलको पाँच सयप्रति बोकेर नेपाल आइसक्नुभएको थियो । बीपी नेपाल फर्कने तय भएपछि वातावरण तयार पार्न नेता तथा कार्यकर्ता पनि स्वदेश फर्किएका थिए । २०३३ साल कात्तिकमा बीपीको नेपाल फर्कने अवस्था बुझ्न काँग्रेसका नेता कुलबहादुर गुरुङ नेपाल फर्कनुभएको थियो । बीपी सवार विमान काठमाडौँ उत्रेपछि उक्त विमानलाई विमानस्थलको धावनमार्गको कुनातिर लगिन्छ र विमानबाट ओरालिन्छ । त्यसका लागि दुईवटा अलग्गै पालसमेत बनाइएको थियो । विमानस्थलको औपचारिक प्रक्रिया पूरा गरिएपछि नेताहरूलाई अलग्गै छुट्याइन्छ । बीपी र गणेशमानलाई सीधै सुन्दरीजल, अन्य नेतालाई नख्खु जेल र शैलजा आचार्यलाई महिला बस्ने जनाना जेलमा लगिन्छ । विमानस्थलमा आएका अन्य यात्रुलाई भने चेकजाँच गरेर बाहिर पठाइएको थियो ।

बीपी र गणेशमान निर्वासन जीवनको ठीक आठ वर्षपछि फेरि सुन्दरीजलमा नै पुग्नुहुन्छ । बीपी र गणेशमान सिंह २०२५ सालमा सुन्दरीजलबाट छुट्नुभएको थियो । बीपीलाई विमानस्थलमा स्वागत गर्न पार्टीका सभापति कृष्णप्रसाद भट्टराईलगायतका नेताहरू विमानस्थल पुग्नुभएको थियो । काँग्रेसका पाका नेता रामचन्द्र पोखरेलका अनुसार स्वागतमा धेरै नेता कार्यकर्ता विमानस्थल पुगे पनि कसैले पनि बीपीलाई स्वागत गर्न पाएनन् । स्वागत गर्न नपाएका मात्र होइन, नेता भट्टराई, नेता महन्थ ठाकुर लगायतमाथि अपमानपूर्वक व्यवहार गरियो । त्रिभुवन विश्वविद्यालयका इतिहास विषयका डा. बद्रीनारायण गौतमका अनुसार स्वागतमा पुगेका महिला नेत्रीमाथि पनि प्रशासनले अभद्र व्यवहार गरेको थियो । बीपी आउने दिन दिनको १२ बजेदेखि नै विमानस्थलमा बीपीको स्वागतका लागि

विद्यार्थीको भीड भएको थियो । बीपीको स्वागतका लागि मात्रै होइन, बीपीको आगमनको विरोधमा समेत विमानस्थल वरपर नारा, जुलुस गरिएको थियो । बीपी सवार धेरै आन्तरिक उडान विगतमा पञ्चहरूले अवरुद्ध गरी उडान प्रभावित बनाएका थिए तर यस पटक अन्तर्राष्ट्रिय उडान भएको र बीपी नेपाल आएपछि नियन्त्रणमा लिन पाइने कारणले मात्र त्यस दिनको उडान अवरुद्ध हुनबाट बचेको थियो । सुन्दरीजलमा दोस्रो बन्दी जीवन सुरु भएपछि बीपीले राजासितभन्दा पनि इन्दिरा गान्धीप्रति बढी आक्रोश व्यक्त गर्नुभयो । “इन्दिरा गान्धीको छलकपट, दोधारे व्यवहार, त्यहाँको अन्योलपूर्ण वातावरणबाट मुक्त भएकोले मलाई हलुङ्गो महसुस भइरहेको छ । हामी नेपाल फर्किएबाट हाम्रा भावी कदमबारे रहेको अनिश्चयको अन्त्य भएकाले पनि आनन्द महसुस भएको हो । अब पछाडि फर्कने कुरा छैन,’’ बीपीले आफ्नो डायरीमा लेख्नुभएको छ ।

बीपी नेपालको राजनीतिक भविष्यका बारेमा त चिन्तित हुनुहुन्थ्यो नै, धर्मपत्नी सुशीला कोइरालाका बारेमा पनि धेरै चिन्तित हुनुहुन्थ्यो । मेलमिलापको नीति लिएर स्वदेश फर्कने बीपीको एकल निर्णय थियो । सुवर्णले नेपाल फर्कने बेला उपयुक्त होइन भन्ने सुझाव दिनुभएको थियो । बीपीका नजिकका राजनीतिक सहयात्री गणेशमान सिंहको पनि सहमति थिएन । गिरिजाप्रसाद कोइराला भारतमै हुनुहुन्थ्यो । निर्वासनबाट होइन, स्वदेशमा नै बसेर आन्दोलन गर्नुपर्छ भन्ने अडानमा भट्टराई पहिलेदेखि नै हुनुहुन्थ्यो । नेता कार्यकर्तामा पनि अन्योल थियो तर बीपीले स्वदेश फर्कने निर्णय लिनुभयो । उहाँ आफ्नी धर्मपत्नीको कमजोर बन्दै गएको स्वास्थ्य, पटना विमानस्थलमा सहज रूपमा बिदाइ हुन नपाएका कुराले बढो भारविह्वल हुनुभएको थियो ।

बीपी नेपाल फर्कने निर्णयबाट सुशीलालाई ठूलो पीडा भइरहेको थियो । सुशीलाको शारीरिक अवस्था र स्वास्थ्य अवस्था कमजोर भएको थियो । पटनाबाट फर्केपछि बीपी आफ्नो पुरानै बन्दीगृहमा आइपुग्नुभयो । जहाँबाट २०२५ साल कात्तिकमा छुट्नुभएको थियो । अर्कोतिर धर्मपत्नी सुशीला बनारसमै फर्कनुभयो । बीपीलाई बिदाइ गर्न मात्र सुशीला पटना आउनुभएको थियो । सुशीलासित १० दिनभन्दा बढी समयलाई पुग्ने खर्चपर्च नभएको, त्यसपछि खर्चपर्चको कसले जोहो गरिदिने हो, अब गिरिजाबाबुले घरपरिवार कसरी सम्हाल्ने हुन् भन्नेमा बीपी धेरै पिरोलिनुहुन्छ । सुन्दरीजलबाट बीपीले विराटनगरको सम्पत्ति र सुशीलाका गहनाहरू बेचेर पढाइ र घरखर्च चलाउन छोरा प्रकाशलाई पत्र नै पठाउनुभएको थियो ।

खासमा पटना विमानस्थलमा सुशीलासँग राम्रोसँग बिदावारी हुन नपाएकोमा थकथक लागेको रहेछ बीपीलाई । बिदाइका बेला सुशीला धेरै टाढा हुनुहुँदो रहेछ । साथीहरूले सुशीलालाई बीपी भएको स्थानसम्म पु¥याए । त्यसपछि बीपीले “के छ सुशीला भन्दै गालामा सुम्सुम्याउनुभएको” थियो । विमानस्थलमा पुगेका गिरिजाबाबु, प्रकाश, श्रीहर्ष, नोना, मनिषालगायत कोहीसँग पनि राम्रोसित बिदाइ हुन नपाएको, माया र कृतज्ञताका केही शब्द भन्न नपाएको र आफैँ भावविह्वल भएकोमा बीपीले बढो खिन्नता व्यक्त गर्नुभएको थियो ।
शैलजाले बीपीलाई सधैँ साथ दिइरहनुभयो । खासमा बीपी र गणेशमान लामो राजनीतिक सहयात्री भए पनि उहाँहरूका बीच धेरै लामो राजनीतिक बहसपैरवी हुँदैनन्थ्यो । बीपीलाई देश–विदेशका अनेक राजनीतिक आयाममा बहस गर्नुपर्ने तर गणेशमान बहसमा भन्दा राजनीतिक अडानमा विश्वास गर्नुहुन्थ्यो । बीपी भन्ने गर्नुहुन्थ्यो गणेशमानले मैले खोजेको जस्तो साथ दिन सक्नुहुन्न । बीपीका नजरमा गणेशमानका रुचिहरू एकदमै व्यावहारिक हुन्छन् ।

राजनीतिमा पनि गणेशमान सधँै व्यावहारिक दृष्टिकोण अघि सार्ने तर सिद्धान्त र अमूर्त विचारहरूप्रति कुनै चाख नभएका कारण आफूलाई चाहिएको जस्तो साथ गणेशमानले दिन सक्नुहुँदैन भन्ने दृष्टिकोण थियो बीपीको । बीपीलाई के महसुस भएको थियो भने बन्दीगृहमा नै बस्नुपर्ने भए शैलजा आचार्य साथमा भइदिए हुने थियो । बीपी आफ्नो स्मरणमा लेख्नुहुन्छ, “हो म उनलाई सम्झन्छु, जेलमा उनी मेरो सबैभन्दा राम्रो साथी हुन सक्थिन् । उनी राजनीतिक, बौद्धिक र भावुक छन् । उनी यहाँ भएको भए त्योभन्दा बढी मलाई जेलमा के चाहिन्थ्यो र ? कस्तो चाहना मेरो, त्यसो हुन सके के सुन्दरीजल जेल हुन्थ्यो र ?” आफ्ना बन्द आँखाले सधैँ शैलजालाई खोज्ने प्रयास गरेको उहाँ उल्लेख गर्नुहुन्छ । बीपी शैलजालाई ‘राजनीतिक बहस गर्न सक्ने मायालाग्दी आइमाई’ हुन् भन्ने गर्नुहुन्थ्यो ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?