logo
२०८१ मंसिर १० सोमवार



पृथ्वीनारायण शाहको पुनर्मूल्याङ्कन

विचार/दृष्टिकोण |




हरि अधिकारी

गत पुस महिनाको २७ गते, आजको गण्डकी प्रदेशअन्तर्गत पर्ने सानो पहाडी राज्य गोरखाका शाहवंशीय प्रतापी राजा पृथ्वीनारायण शाहको ३००औँ जन्म दिवस । पृथ्वीनारायण तिनै साहसी राजा हुन्, जसले आफूसँग उपलब्ध अत्यन्त सीमित स्रोत, साधन र शक्तिलाई परिचालन गरी आफूभन्दा कता हो कता सम्पन्न र शक्तिशाली मकवानपुर र नेपालमण्डलका तीन राज्य – कान्तिपुर, ललितपुर र भक्तपुरमाथि विजय प्राप्त गर्नुभएको थियो । आजभन्दा २५३ वर्षपहिले उहाँले जितेका र उहाँका छोरा बहादुर शाह र बुहारी राजेन्द्रलक्ष्मीको नायबीकालमा थपिएका ती टुक्रे राज्यहरूको अखण्ड स्वरूपले नै आजको सार्वभौम र स्वतन्त्र नेपाल राष्ट्रको जग बसालेको हो ।

पृथ्वीनारायणले गोरखाको सिमाना विस्तार गरेर त्यसलाई एउटा ठूलो र बलशाली राष्ट्र राज्यका रूप दिनुभएका बेलामा हाम्रो दक्षिणी छिमेकी हिन्दुस्थानमा इस्ट इन्डिया कम्पनी नामक व्यापारी समूहका हैसियतले छिरेका अङ्ग्रेजहरू बलशाली औपनिवेशिक शक्तिका रूपमा उभारमा आइरहेका थिए । भारतको पूर्वी र मध्य भेगमा पर्ने बङ्गाल, अवध र दिल्लीमाथि कब्जा जमाइसकेका र गङ्गा नदीको जलप्रवाह क्षेत्रको उखरमाउलो गर्मीबाट आत्तिएका उनीहरूको नजर उत्तरतिरको तुलनात्मक रूपमा चिसो हावापानी भएको नेपाल राज्यको सुरम्य पहाडी भू–भागतिर पर्न थालेको थियो ।

एउटा राम्रो हिलस्टेसनका रूपमा विकास गर्न सकिने नेपालमाथि कब्जा जमाउन उपनिवेशवादी अङ्ग्रेजहरूले ढिलो–चाँडो आक्रमण गर्नेछन् भन्ने कुरा पृथ्वीनारायणले राम्रोसँग बुझ्नुभएको थियो । उहाँले मृत्युशøयाबाट अहिले दिव्योपदेश भनेर प्रचार गरिएको, भावी पुस्ताका लागि सुनाएर गएको अर्ति–उपदेशमा “दक्षिणतिरको बादशाह महाचतुरो छ, त्यसलाई चर नदिनू र आफ्नो शरहदभित्र छिर्न पनि नदिनू” भनेर अङ्ग्रेज बहादुरको सरकारप्रतिको आफ्नो धारणालाई प्रस्ट पार्नुभएको छ । निचोडमा कुरा के हो भने पृथ्वीनारायणले गोरखा राज्यको विस्तार गरेर एउटा मजबुत र स्वाभिमानी राष्ट्रको निर्माण गर्नुभएको थिएन भने केही दशकपछि अङ्ग्रेजहरूद्वारा नेपालमाथि हुने आक्रमणको सामना गर्न टुक्रा–टुक्रामा विभाजित राजारजौटाहरू पूरै असफल हुने थिए । एसिया महाद्वीपको यो अति नै मनोहर क्षेत्र पनि हिन्दुस्थानका अनगिन्ती राज्यहरूझैँ अङ्ग्रेजको दासताको बन्धनमा जकडिएको हुन्थ्यो ।

नेपालको इतिहासमा शौर्यवान् प्रतापी राजा पृथ्वीनारायण शाहले गरेको योगदानको मूल्याङ्कन सकारात्मक किसिमले मात्र हुने गरेको भने छैन । नेपाली जनताको एउटा ठूलो सङ्ख्या उनलाई राष्ट्रनिर्माताको उच्चासनमा राख्दछ र उहाँकै कारणले नेपाली भएर अस्तित्वको उद्घोष गर्न पाएकोमा गौरवको अनुभूति गर्दछ । नेपाली जनताको एउटा अर्को पक्ष पनि छ, जसका लागि पृथ्वीनारायण आफ्नो राज्यविस्तारको हुटहुटीले प्रेरित भएर विजय–अभियानमा अघि बढी केही हदसम्म सफल भएका दुस्साहसी भुरे–टाकुरे राजा मात्र हुन् । तथ्य र तर्कको कसीमा घोटेर हेर्दा शाहलाई लिएर प्रस्तुत गरिने गरेका यी दुवै विमर्शमा सत्यको अंश नभेटिने चाहिँ होइन । यी फरक फरक विमर्शमा भएको सत्यांशको मात्रा कतापट्टि धेरै छ भन्ने कुराले मात्र यी दुईमध्ये कुन चाहिँ विमर्श वस्तुपरक छ भन्ने निक्र्योल निकाल्न सकिन्छ । यी दुईमध्ये एउटै विमर्शलाई पूर्ण सत्य मान्नुचाहिँ सम्भवतः वस्तुपरक विवेचना हुन सक्दैन ।

पृथ्वीनारायण शाहका सुकर्म वा अपकर्मलाई आजको मापदण्डमा तौलेर उनलाई खलनायकको दर्जामा खसाल्दै इतिहासप्रतिको आफ्नो त्रुटिपूर्ण समझ उदाङ्ग पार्ने एउटा जमात पनि छ आजको नेपालमा । त्यो जमातलाई त्यतिबेला गोरखा जस्तो सानो राज्यको निर्धन राजाले आफ्नै बुतामा विजय अभियान सुरु गरी नेपाल मण्डलका धनधान्य र कला–संस्कृतिका दृष्टिले समृद्ध एवं सम्पन्न राज्यमाथि कब्जा जमाएको कुरा अहिले आएर पचाउन नै गाह्रो परेजस्तो छ । त्यस रूढाग्रही जमातलाई इतिहासको प्रवाहमा नयाँनयाँ आयाम थपिने कुराको कुनै स्थापित नियम हुँदैन, नायकहरूको अभ्युदय यतिबेला यसै गरेर हुन्छ भन्न पनि सकिँदैन भन्नेजस्ता नियमित आकस्मिकताको पनि हेक्का छैन जस्तो छ ।

सोही जमातभित्र एकथरी यस्ता पूर्वाग्रही पनि भेटिन्छन्, जो पृथ्वीनारायणको चरित्रमा निहित उदारता, समावेशिता र समन्वयवादितालाई कुनै हालतमा पनि स्वीकार गर्न चाहँदैनन् । उनीहरूका लागि पृथ्वीनारायणलाई चिन्ने र बुझ्ने उपकरण भनेको तिनै पृथ्वीनारायणको कोपभाजन भएर यहाँबाट धपाइएका इसाई पादरीहरूले फैलाएका भ्रामक र गलत सूचनाहरू एवं अङ्ग्रेजको कूटनीतिक सेवामा रहेका कर्मचारीले पठाएका असत्य वा अर्धसत्यमा आधारित प्रतिवेदन मात्र हुन् ।

पृथ्वीनारायण शाहलाई हेर्ने बुझ्ने यी नै पृथक्–पृथक् दृष्टिकोणले गर्दा नेपाली जनताको फरक–फरक समूहबाट उहाँले सम्मान र अनादर दुवै पाउँदै आउनुभएको छ । उहाँलाई नेपाल राष्ट्रको जग बसाल्ने महानायकका रूपमा बुझ्ने प्रबुद्ध नेपालीको एउटा विशाल समूहले प्रत्येक वर्षझैँ यस वर्ष पनि पुस २७ गते उहाँको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनायो । यस वर्ष उहाँ जन्मेको तीन सय वर्ष पूरा भएकाले यस पटकको त्यो पर्वको महìव झनै बढेको अनुभूति गरिएको थियो । पृथ्वीनारायणलाई आफ्नो सङ्गठनको जन्मदाता मान्दै आएको नेपाली राष्ट्रिय सेनाले सधैँझैँ यस वर्ष पनि बडो धुमधामका साथ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनायो । राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वीनारायणको सालिक भएको स्मारकस्थलसम्म पुग्नुभयो र ती इतिहासनिर्माता राजाको मूर्तिमा माल्यार्पण गरेर आफ्नो वैयक्तिक र सम्पूर्ण राष्ट्रका तर्फबाट समेत उहाँप्रति भावपूर्ण श्रद्धा र सम्मान व्यक्त गर्नुभयो ।

पृथ्वीनारायणलाई राष्ट्रिय एकताको प्रतीक मान्ने वा नमान्ने भन्ने विषयको समसामयिक नेपालको इतिहास रोचक छ । केही वर्ष पहिलेसम्म पृथ्वीनारायणले धरावतरण गरेको दिन पुस २७ गतेलाई राज्यद्वारा औपचारिक स्तरमा नै पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको मान्यता दिइएको थियो । हरेक वर्षको पुस २७ गते पृथ्वीनारायणको स्मृतिमा राज्यको आयोजनामा विशेष कार्यक्रम हुने गर्दथे भने उनको सम्मानमा त्यस दिन सार्वजनिक बिदा पनि दिइने गरेको थियो । पृथ्वीनारायणका वंशज शाह राजाको प्रत्यक्ष शासन भएको कालखण्डलाई एकातिर पन्छाएर हेर्ने हो भने पनि नेपाल राष्ट्रनिर्माणमा उहाँको ऐतिहासिक योगदानको कदर गर्न २०४७ सालपछि देशमा स्थापित प्रजातान्त्रिक राज्य–प्रणालीका सञ्चालकले समेत कञ्जुस्याइँ गरेका थिएनन् ।

२०४७ सालको परिवर्तनपछिको १६/१७ वर्षको अवधिमा अधिकांश नेपाली काँग्रेसको नेतृत्वमा राज्य सञ्चालन हुँदा ती सबै सरकारले पृथ्वीजयन्तीका सम्बन्धमा पञ्चहरूले बाँधेको रीतिथितिकै अनुसरण गरेका थिए तर २०६४ सालमा नेपाली काँग्रेसकै हातमा सत्ता रहेको बेलामा गृह मन्त्रालय सम्हालिरहेका एक जना काँग्रेस नेताकै प्रस्तावमा अचानक राष्ट्रले पृथ्वीनारायण शाहको ऐतिहासिक योगदानको अवमूल्यन गर्दै उहाँको मानमर्दन गर्न सुरु गरेको थियो, जुन अद्यापि जारी छ । नेपाल राष्ट्रनिर्माणको जग हाल्ने साहसी राजा पृथ्वीनारायण शाहको कीर्ति र महात्म्यलाई न्यूनीकरण गर्ने त्यस विवादास्पद निर्णय गर्नु पछाडिका कारण र तर्कको खुलासा भने तत्कालीन सत्तासीन समूहबाट अहिलेसम्म पनि गरिएको छैन । नागरिक समूहबाट पृथ्वीनारायण शाहको माहत्म्यको पुनरुत्थान हुनुपर्दछ भनी गरिएको लगातारको अपिलपछि पनि त्यसो नभइरहँदा त्यसले अनेक किसिमका अड्कल, अनुमान र आरोप–प्रत्यारोपलाई बाटो खुला गरिदिएको छ । र, यही मुद्दामा देशको मानसिकतामा विभाजनको खाडल पैदा भएको छ ।

पृथ्वीनारायण शाहलाई नेपालको एकीकरण गर्ने राष्ट्रनिर्माता मान्ने कि आफ्नो राज्यविस्तारको महìवाकाङ्क्षाको हुटहुटीले विजय–अभियानमा लागेको दुस्साहसी राजाका रूपमा मात्र लिने भन्ने विषय विवादको केन्द्रबिन्दुमा रहँदै आएको भने यथार्थ हो तर राज्यविस्तारको महìवाकाङ्क्षाबाट प्रेरित भएर नै किन नहोस्, पृथ्वीनारायणले हाम्रो यस भू–भागको इतिहासको त्यस जटिल कालखण्डमा निकट भविष्यमा आइपर्ने अस्तित्वको लडाइँमा आफूलाई जोगाउन सक्ने किसिमको शक्तिका रूपमा नेपाल राष्ट्रको जग हालेको तथ्यमाथि भने कुनै विवाद हुन सक्दैन तर आश्चर्यको कुरो के छ भने यति सानो विषयमा पनि राष्ट्रले वस्तुपरक ढङ्गबाट सोचेर एउटा निश्चित नीति अख्तियार गर्न सकेको छैन । राष्ट्रप्रमुख पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न जाने, राष्ट्रिय सेनाले अत्यन्त ठूलो महìव दिई पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तर हरेक प्रकारका साना–साना सामुदायिक पर्वको सम्मान गर्न जान्ने गणतान्त्रिक सरकारले नेपाल राष्ट्रको जग बसाल्ने इतिहासपुरुषको कीर्तिलाई ओझेलमा पार्न खोज्ने राज्य सञ्चालनको यो कस्तो विधि हो बुझ्न गाह्रो छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?