शेखर भट्टराई
युवा भविष्यका कर्णाधार हुन् । युवाले चाहँदा जे पनि गर्न सक्छन् । हालसम्मका संसारमा भएका सकारात्मक परिवर्तनहरू युवाको जुझारु आन्दोलनका बलमा भएका छन् । नेपालका आन्दोलनको इतिहासलाई हेर्ने हो भने झन् युवाको बलमा आन्दोलन भएर सफल भएका छन् । २०३६ सालमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई त्यहाँको सेनाले फाँसी दिएपछि नेपालमा युवा विद्यार्थीले काठमाडौँस्थित पाकिस्तानी दूतावासमा गएर विरोध जनाउँदा तत्कालीन पञ्चायती सरकारले दमन गरेपछि विद्यार्थी आन्दोलनबाट जनआन्दोलनको रूपमा विकास भयो । तत्कालीन राजतन्त्रात्मक पञ्चायती शासकहरू झुकेर जनमत सङ्ग्रहको घोषणा गर्न बाध्य भएको थिए । त्यसैगरी, २०४६ सालको जनआन्दोलन नेपाली काँंग्रेस र वाम मोर्चाको आह्वानमा भएता पनि उक्त आन्दोलनको अग्रिम मोर्चामा युवा विद्यार्थीको सहभागिता थियो ।
२०६२ सालको आन्दोलनमा त चक्रपथ घेराउ गर्ने अनुहारमा अधिकांश युवा अनुहार प्रस्ट देखिन्थ्यो । तत्कालीन नेकपा माओवादीले अगुवाइ गरेको जनयुद्धमा लगभग शतप्रतिशत नै युवा देखिन्थे । समग्रमा हेर्दा नेपालका हालसम्म भएका सकारात्मक परिवर्तनहरू युवाको सहभागितामा नै सफल भएका छन् । त्यति मात्र होइन, चाहे महँगीविरुद्धका आन्दोलन हुन् या भ्रष्टाचारविरोधी आन्दोलन, चाहे पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध होस् युवाको बलमा सरकार सम्झौतामा आउन बाध्य भएको छ । कालापानी हाम्रो हो भनेर कालापानीमा भारतीय सेनालाई नेपाल छाड्न दबाब दिन या महाकाली सन्धिविरुद्ध टनकपुरमा खुकुरी प्रदर्शन गरी भारतीय पक्षको मुटु थर्काउने काम पनि युवाले नै गरेका थिए । सर्सर्ती हेर्दा राष्ट्रियताका पक्षमा पनि युवा विद्यार्थीको नेतृत्व नै अग्रिम मोर्चामा देखियो ।
यति मात्र हैन भारतका नक्सलवादी आन्दोलनबाट प्रभावित नेपालको पूर्वकोसी प्रान्तीय कमिटीअन्तर्गत झापा जिल्ला कमिटीको पहलमा को के हुँदै, नेकपा माले बनाएर उक्त पार्टीमा युवा आकर्षित हँुदै कडा भूमिगत जीवन बिताउँदै तत्कालीन नेकपा मालेसँंग आबद्ध युवाले तत्कालीन समयमा अनुशासन, नैतिकता, असल चरित्र निर्माण गरी जनतामा पारेको प्रभावले गर्दा समाजमा सकारात्मक ऊर्जासहितको प्रभाव परेको थियो । अनुशासन मात्र होइन, तत्कालीन युवा गाउँगाउँमा गएर किसानको खेतबारीमा काम गर्नेजस्ता उत्पादनमूलक काममा पनि सहभागिता जनाउँथे । चुलो चौको घाँस दाउरा, झाडु, भाँडावर्तनको काम महिलाको मात्र हो भन्ने कुसंस्कारलाई चिर्दै भूमिगत युवा कार्यकर्ताहरू किसानको घरमा जाने गर्दथे ।
आज पनि जोस जाँंगर उत्साह उस्तै छ नेपाली युवामा तर प्रवृत्तिमा फरक आएको छ । हिजो सामन्तवाद, विस्तारवादी शासकको मुटु थर्काउने युवा तर आजका कतिपय युवा कुलतमा फस्ने र हप्ता असुलीको अभियानमा छन् । हिजो जनता जगाएर विदेशी शक्ति थर्काउने युवा आज सानो कुरामा पनि बिक्ने भएका छौँ । हिजो मुलुक, पार्टी र क्रान्तिको पक्षमा मुठी उठाएर सपथ खाइन्थ्यो, व्यवहारमा उतारिन्थ्यो तर आज एउटा धनवान नेताले सानो कुरा बोले मात्रै पनि महान् विकासप्रेमी, जनताको ढुकढुकी, जनताको भाग्य विधाता मगमगाउनु भयो भनेर सक्दो प्रशंसा गरिन्छ । यस्तो प्रशंसा गर्ने पनि अधिकांश युवा नै छन् । चुल्ठे, मुन्द्रे, हप्ता असुली आदिको नेतृत्व गर्ने युवा पङ्क्ति नै छ । हिजोका समयमा युवामा अनुशासन नैतिकताको कुरामा अब्बल हुन्थे । अनुशासन, नम्रता, नैतिकतामा धेरै ह्रास आएको छ ।
मूलतः बोट गुनाको फल लाग्छ । पहिले जतिसुकै राम्रो फल दिने बोट भएता पनि पछि गएर राम्रो मलजल गर्न सकेन भने त्यस बोटमा फल त सामान्यतया लाग्ला तर खोटो लागेका, रस नभएको, अरू विभिन्न किराले आक्रमण गरेको स्वाद ब्याद केही नभएको जस्ता फल लाग्छन् र अन्ततः बोट नै मर्छ । त्यस्तै अहिलेको हाम्रो समाज, हामीलाई नेतृत्व गर्ने राजनीतिक पार्टी, अनि हामीसँंग भएको कर्मचारीतन्त्र, सबैभित्रको विकृतिको कारणले गर्दा नै भएको हो । राज्य सञ्चालनको एउटा महìवपूर्ण अङ्ग हो न्यायपालिका तर आज यसको विश्वासमा समेत कमी आएको छ । जनतालाई न्यायको पैरवी गर्ने वकिलहरूका हालका गतिविधिले धरातल प्रष्ट पारेको छ । त्यसमा पनि मूल हाँगो राजनीतिक पार्टी नै हो । राजनीतिक पार्टीका नेताहरूले भ्रष्ट कर्मचारीतन्त्रसँंग मिलेर काम गर्न बन्द गरे यो रोग महामारीको रूपमा फैलिने थिएन । बाँकी यी विकृति र विसङ्गतिलाई न्यूनीकरण गर्दै निर्मूल पार्न राजनीतिक पार्टीहरूको महìवपूर्ण भूमिका हुन्छ र यसमा पहल गर्नुपर्छ । राजनीतिक पार्टीहरूले सिद्धान्त र व्यवहारमा तादम्यता मिलाउँदै, सैद्धान्तिक रूपमा कडा र व्यावहारिक रूपमा लचकता प्रदर्शन गर्नुपर्छ । माथिकाले गर्दैनन् हामीले मात्र गरेर के हुन्छ भनेर बस्ने अवस्थाले इमानदार कार्यकर्तामा पनि नैराश्यता आएको छ । यो नैराश्यता भनेको मुलुकको प्रगतिका लागि मन्द विष नै हो । यो मन्द विषले नेपाली जनतालाई निराशावादी बनाउँदै दासतातर्फ उन्मुख गराउँछ । जसले गर्दा मुलुक आर्थिक, सामाजिक, सांस्कृतिक, र राष्ट्रियताको विषयमा कमजोर बन्छ ।
अतः अब माथिकाले गर्दैनन् हामीले मात्र गरेर के हुन्छ र भनेर निराशावादी भएर बस्ने अवस्था छैन, हामी समाजका महìवपूर्ण पक्ष हाँैं, हामीले नगरे कस्ले गर्ने ? अहिले नगरे, कहिले गर्ने ? यहाँ नगरे कहाँ गर्ने भन्दै आआफ्नो स्थानबाट सबैले पहल गर्नुपर्छ । समस्या समाधानका लागि सिद्धान्त पढाएर मात्र हुँदैन युवालाई बेरोजगार हुन दिनु हुँदैन त्यसको लागि रोजगारीको अवसर युद्धस्तरमा सिर्जना गर्नुपर्छ । अहिले गाउँबाट अधिकांश मानिस विभिन्न सेवा सुविधाका लागि सहर पस्नेको ताँती नै छ । जव गाउँबाट मान्छेहरू सहर पसे त्यहाँको जग्गा जमिन बाँझै छन् । ती उत्पादनशील जग्गा जमिनमा अहिले, काँडा, बुटेनहरू उम्रेर बसेका छन् । ती बाँझा रहेका जमिनमा के गर्न सकिन्छ ? त्यहाँको हावापानी, माटोअनुसार के उत्पादन गर्न सकिन्छ र युवालाई स्वरोजगार गराउन सकिन्छ भनेर केन्द्र र प्रदेश सरकारले त सोच्न सकेका छैनन् । त्यही ठाउँमा हुर्किएर, त्यहीँ ठाउँमा राजनीति गरेर त्यही ठाउँका जनताले चुनेर पठाएका जनप्रतिनिधि जसले स्थानीय सरकारको प्रतिनिधित्व गर्छन्, उनीहरू पनि छोटे राजा भएर बसेका छन् । पहिलेको केन्द्रीय सरकारले नगरे काँही कतै हुँदैनथ्यो तर आज आआफ्नो प्रदेश तथा स्थानीय तहमा, हरेक, क्षेत्रमा, आर्थिक, सामाजिक, सांस्कृतिक, तथा शासकीय क्षेत्रमा पनि सुशासन अपनाउन सकिन्छ । यसमा सबैको ध्यान पुग्नुपर्छ ।