logo
२०८१ मंसिर ९ आईतवार



गज्जुबाबुपछिको मधेस राजनीति

विचार/दृष्टिकोण |




श्रीमन नारायण
नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेसी नेता गजेन्द्रनारायण सिंहको निधन भएको २० वर्ष बितिसकेको छ । उहाँको निधनपश्चात्का दुई दशकमा देशको राष्ट्रिय राजनीतिमा धेरै आरोह–अवरोधका घटना भए । नेपाली काँग्रेसका नेता कार्यकर्ताले बीपी कोइरालालाई बीपीबाबु भनेर सम्बोधन गरेजस्तै मधेसमा गजेन्द्रनारायण सिंहलाई धेरैले गज्जुबाबु भनेर बोलाउँथे । उहाँको निधन भएपछिको यस अवधिमा जननिर्वाचित संविधान सभामार्फत संविधान निर्माण भएको छ । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । राजनीतिक स्थायित्व कायम भई स्थायी शान्तिको अनुभूति जनताले गरिरहेका छन् । जननिर्वाचित प्रतिनिधिले सङ्घीय सरकार तथा प्रादेशिक सरकारको नेतृत्व गरिरहेका छन् ।

मधेसवादी दल सङ्घीय सरकारमा सहभागी छन् भने यसअघिको प्रदेश २ (हाल मधेस प्रदेश)को सरकारको नेतृत्व पनि गरिरहेका छन् तर गजेन्द्रनारायण सिंहले जुन मूल्य, मान्यता एवं सिद्धान्तमा आधारित राजनीति गरिरहनुभएको थियो, त्यसको अब पटाक्षेप भइसकेको छ । स्वयं उहाँकै अनुयायीले पनि परिवारवाद, जातिवादको राजनीतिलाई महìव दिएका छन् तथा मधेसको मुद्दालाई कमाइखाने भाँडो ठानेका छन् । हालै प्रदेश २ को संसद्ले दुईतिहाइ बहुमतबाट मधेस प्रदेश घोषणा गरेको छ तर गजेन्द्रबाबु बाँचेका भए यस्तो नामकरण हुने सम्भावना थिएन ।

वि.सं. २०४७ मा नेपाल सद्भावना पार्टीको स्थापना गरी उहाँले अघि सारेका कतिपय मागको सम्बोधन भइसकेको छ भने कतिपय मागप्रति स्वयं उहाँकै सहयोगी मधेसी नेताहरू नै गम्भीर छैनन् । सिंह मधेसवादी नेता हुनुहुन्थ्यो तर देश एवं लोकतन्त्र उहाँका निम्ति सर्वोपरि थियो । इमानदारी, नैतिकता, सदाचार, अनुशासन एवं दलित प्रेम उहाँको राजनीतिको प्रमुख अस्त्र हुने गर्दथ्यो । जातिवाद, परिवारवाद र भ्रष्टाचारको उहाँ घोर विरोधी हुनुहुन्थ्यो । मधेसी समस्याको समाधानका निम्ति उहाँले शान्तिपूर्ण सङ्घर्षको बाटो रोज्नुभएको थियो । नेपालको भूगोलभित्र तथा देशको संविधानअन्तर्गत मधेसी समस्याको समाधान होस् भन्ने उहाँको चाहना थियो । देशमा व्याप्त आर्थिक, सामाजिक एवं राजनीतिक असमानताको अन्त्य भएको उहाँ हेर्न चाहनुहुन्थ्यो ।

वर्तमान अवस्थामा उहाँद्वारा स्थापित नेपाल सद्भावना पार्टी समाप्त भएको पनि करिब पाँच वर्ष बितिसक्यो । उहाँले अघि सार्नुभएका ‘जय मातृभूमि !’ को राजनीतिक अभिवादनलाई पनि तिलाञ्जलि दिने काम भइसकेको छ । सिंहको नाम अब केही व्यक्तिका निम्ति कमाइखाने भाँडो मात्रै साबित भइरहेको छ । उहाँद्वारा स्थापित राजनीतिक पार्टीलाई समाप्त गर्नेहरू अब उहाँको नाममा प्रतिष्ठान खोलिरहेका छन् तथा त्यस प्रतिष्ठानको आवरणमा पैसा कमाउने काम भइरहेको छ । एउटा राजनीतिक व्यक्ति आफ्नो विचारबाट जिउँछन्, तिनको नाममा खोलिएका अस्पताल तथा विद्यालयबाट होइन । महात्मा गान्धी, माक्र्स, लेनीन, बीपी कोइराला र मदन भण्डारीहरू आफ्नो विचारका कारण आदर्श पुरुष मानिनुहुन्छ, अस्पताल तथा विद्यालयबाट होइन । गजेन्द्रनारायण सिंहको राजनीतिक यात्रा राणाविरोधी आन्दोलनमा सक्रिय सहभागिताबाट सुरु भएको थियो ।

नेपाली काँगेसमा आबद्ध रहेर उहाँले राजनीतिक यात्राको थालनी गर्नुभयो । वि.सं. २०१५ को आमनिर्वाचनमा उहाँ नेपाली काँगेस सप्तरीका जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । प्रजातन्त्रवादी भएकै कारण उहाँलाई पटक–पटक जेलमा राख्ने काम भएको थियो । उहाँ जेलमा छँदा नै उहाँकी आमाको निधन भएको थियो । प्रहरीले हातमा हतकडी लगाएर नै उहाँलाई आमाको दाह संस्कारमा सहभागी गराएको थियो । सोही दिन पुलिसले पुनः सिंहलाई हिरासतमा लिने काम ग¥यो । उहाँ हिरासतमै हुँदा उहाँको एक मात्र छोराको निधन भएको थियो । त्यसपछि बाँचुञ्जेलसम्म उहाँ सन्तानविहीन भएर बाँच्नुभयो । वि.सं. २०३२ तिर नेपाली काँग्रसका केही शीर्ष नेतासित मतभेद हुँदा उहाँले भद्रकाली मिश्रसित मिलेर पूर्वाञ्चल काँग्रेसको स्थापना गर्नुभयो । वि.सं. २०३६ मा बहुदलीय संसदीय व्यवस्थाको पक्षमा उहाँ खुलेर लाग्नुभयो तर त्यस निर्वाचनमा निर्दलीय व्यवस्थाको जित भएको थियो ।

वि.सं. २०४० मा तत्कालीन पञ्चायती शासकले देशमा बढ्दो जनसङ्ख्याका बारेमा कारण पत्ता लगाउन जनसङ्ख्याविद् डा. हर्क गुरुङको संयोजकत्वमा एउटा आयोग गठन गरेको थियो । त्यस आयोगको प्रतिवेदनको विरोधमा गजेन्द्रनारायण सिंहले रामजनम तिवारीसित मिलेर राजदरबारमा ज्ञापन दिनुभएको थियो । तराई–मधेसका जिल्ला सदरमुकाममा यसको विरोध पनि भएको थियो । अन्ततः त्यो प्रतिवेदन कार्यान्वयन भएन । त्यतिबेला नै उहाँले नेपाल सद्भावना परिषद् गठन गर्नुभयो । जसको उद्देश्य तराई–मधेसको भाषा संस्कृतिको विकास गर्नु थियो । वि.सं. २०४३ को आमनिर्वाचनमा उहाँ सप्तरीबाट राष्ट्रिय पञ्चायतको सदस्यका रूपमा निर्वाचित हुनुभयो । राष्ट्रिय पञ्चायतका सदस्य भएका नाताले उहाँ राजाको प्रशंसा त गर्नुहुन्थ्यो तर आफ्ना प्रत्येक सम्बोधनमा उहाँले देशमा कायम आर्थिक, सामाजिक एवं राजनीतिक भेदभावको विरोध गर्दै त्यसको अन्त्य हुनुपर्ने माग पनि गर्नुहुन्थ्यो ।

वि.सं. २०४६ को अन्त्यमा पञ्चायतविरोधी आन्दोलनमा नेपाल सद्भावना परिषद्का नेता एवं कार्यकर्ताको सहभागिता रहेको थियो । जनआन्दोलनको सफलतापश्चात् २०४७ साल वैशाखको पहिलो साता नेपाल सद्भावना पार्टी स्थापना भएको थियो । सिंह वि.सं. २०४७ सालको जनकपुर, २०५० सालको वीरगञ्ज तथा वि.सं. २०५४ सालको विराटनगर महाधिवेशनबाट पार्टीको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभयो । सिंहले नेपाल सद्भावना पार्टीको स्थापना गर्दा अघि सारेका महìवपूर्ण मागमध्ये नागरिकता समस्याको समाधान भइसकेको छ भने देशमा मधेसी, दलित, खसआर्य, महिला एवं जनजातिका निम्ति आरक्षण (समानुपातिक समावेशिता) लागू भइसकेको छ । सामाजिक, आर्थिक एवं सामुदायिक एकरूपताका आधारमा उहाँले नेपालमा पूर्वी पहाड, पूर्वी तराई, काठमाडौँ उपत्यका, पश्चिमी पहाड एवं पश्चिमी तराई गरी पाँच प्रदेशको वकालत गर्नुभएको थियो तर त्यो सम्भव भएन । अब आठ जिल्लाको मधेस प्रदेश भइसकेको छ ।

देश सङ्घीय संरचनामा जानु पनि गजेन्द्रनारायण सिंहको सपना साकार हुनु हो । जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रको गठनसम्बन्धी उहाँको महìवपूर्ण मागको पनि सम्बोधन करिब करिब भई नै सकेको छ । नेपाली सेनामा मधेसी युवाको प्रवेशप्रति सरकारले लचिलो नीति अपनाएको छ । गएको तीन दशकमा कतिपय मधेसी युवा सेनामा सहभागी पनि भएका छन् । प्रहरीको तुलनामा सेनामा प्रवेशको बाटो त्यति सहज र सरल हँुदैन किनभने त्यहाँ कठिन शारीरिक अभ्यास एवं प्रशिक्षण गर्नुपर्ने हुन्छ । सायद त्यही भएर होला, पढेलेखेका मधेसी युवा अध्यापन, प्रशासन एवं प्राविधिक पदको जागिरमा बढी ध्यान केन्द्रित गर्ने गर्दछन् । सङ्घीय लोकतान्त्रिक शासन प्रणालीलाई विश्वमा अहिलेसम्मकै सर्वाधिक उत्तम शासन प्रणाली मानिएको छ किनभने जननिर्वाचित प्रतिनिधिको नेतृत्वमा सरकार गठन भएको हुन्छ । जननिर्वाचित प्रतिनिधिहरू देशको संसद्प्रति जिम्मेवार हुन्छन् । सिंहले उठाएका केही प्रमुख मुद्दामध्ये मधेसी भूमिहीनलाई पनि बसोबासका निम्ति अन्य सुकुम्बासीले पाउने गरेका सुविधा प्रदान गरिनु, हिन्दीलाई नेपालको दोस्रो राष्ट्र«भाषाको दर्जा तथा मातृभाषामा प्राथमिक शिक्षाको प्रावधानजस्ता विषय अहिले त्यति बढी प्राथमिकतामा रहेको देखिँदैन ।

सिंह शान्तिपूर्ण एवं अहिंसक राजनीतिका माध्यमबाट समस्याको समाधान चाहनुहुन्थ्यो । उहाँ बाँचुञ्जेलसम्म तराई मधेसमा न त कुनै सशस्त्र समूह अस्तित्वमा आएको थियो न त कसैले राष्ट्र«विखण्डनको कुरा नै गरेको थियो । सिंह बाँचुञ्जेलसम्म उहाँको पार्टीले बन्द, हडताल तथा हिंसक प्रदर्शनजस्ता विरोधका कार्यक्रम गरेन । अहिले मधेसको राजनीतिमा निकै उतारचढाव आइसकेको छ ।

सिंह जातिवाद, परिवारवाद एवं भ्रष्टाचारको घोर विरोधी नेता मानिनुहुन्थ्यो । उहाँ नेपाल–भारत मित्रताका पक्षधर हुनुहुन्थ्यो । देशमा लोकतन्त्र, सङ्घीयता तथा सामाजिक न्याय स्थापनाका लागि उहाँले गरेका योगदान सदैव अविष्मरणीय रहनेछ । उहाँ बाँचुञ्जेलसम्म नेपालको राजनीतिमा मधेसबाद शब्दको प्रयोग भएको थिएन । वर्तमान अवस्थामा गजेन्द्रनारायण सिंहको नाम, उहाँद्वारा स्थापित पार्टी तथा उहाँको योगदानलाई समाप्त गर्ने अभियान नै चलेको छ तर देश एवं समाजको हितलाई सर्वोपरि ठान्नेहरूको योगदानलाई
बिर्सन सकिँदैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?