logo
२०८१ मंसिर १० सोमवार



भन्सारमा विद्युतीय प्रणाली

विचार/दृष्टिकोण |




पुण्यविक्रम खड्का

आधुनिक सार्वजनिक प्रशासनमा नवीनतम प्रविधि प्रयोग गरी सुशासन दिने प्रतिस्पर्धा विश्वभर नै चलेको छ । विज्ञान तथा प्रविधिको विकाससँंगै दूरसञ्चार क्षेत्रमा भएका विकासका आयामको उपयोगले नै यो सम्भव भएको हो । इन्टरनेट, इन्ट्रानेट सेवा प्रदायकको विस्तारले विश्व नै एउटा गाउँ भइसकेको आजको परिवेशमा विद्युतीय माध्यमको प्रयोगमा धेरै मानिस अभ्यस्त भइसकेकाले यस क्षेत्रमा ठूलो परिवर्तन आएको देख्न सकिन्छ । नेपालमा पनि इन्टरनेटका माध्यमले प्रदान गर्न सकिने सेवाको लामो सूची नै बनेको छ । इन्टरनेट शब्दलाई छोटकरीमा ई भन्ने गरिन्छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिका क्षेत्रमा मात्र सीमित नभई ई जोडिएका बैङ्किङ तथा वित्तीय कारोबार, पासपोर्ट तथा भिसा, सवारी चालक इजाजत, मार्केटिङलगायत सरकारी तथा निजी क्षेत्रबाट प्रदान गरिने विविध सेवा आधुनिक सूचना प्रविधिको प्रयोगका कारण सफल रूपमा सञ्चालन भइरहेको छ ।

वैदेशिक व्यापारको नियमन गर्ने र देशको कुल राजस्वको झन्डै ४५ प्रतिशत वार्षिक रूपमा राजस्व सङ्कलन गर्ने भन्सार विभाग तथा यसअन्तर्गत कार्यालयले दिने सेवालाई वेबमा आधारित बनाउँदै लगिएको छ । त्यस क्रममा भन्सारमा बुझाउने राजस्वको समेत व्यवसायीले विद्युतीय माध्यमबाटै तिर्न सम्भव हुने देखिएकाले राजस्व भुक्तानीमा यसको उपयोग गर्नुपर्ने आवश्यकता महसुस भइसकेको थियो । सोहीअनुसार चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यसलाई कार्यान्वयनमा ल्याउने गरी घोषणा भएकोले विद्युतीय प्रणालीको सुरुवात गर्ने तयारी गरिएको छ । यसको कार्यान्वयनका लागि कार्यदल बनाई अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, नेपाल राष्ट्र बैङ्क र अन्य बैङ्क तथा वित्तीय संस्थासँगको राय, परामर्श र सहयोगमा भन्सारमा बुझाउनुपर्ने राजस्वको भुक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने सिफारिसका आधारमा गएको पुस १ गतेदेखि नयाँ प्रणाली आरम्भ भयो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालय, वीरगञ्जबाट परीक्षणका रूपमा सुरु गरी त्यसमा सफलता देखिएपछि अगाडि बढाउने निर्णय भएको छ । अतः यसको दिगोपन र भरपर्दो सेवा विस्तारका लागि सबै सरोकारवाला निकायलाई सकारात्मक सन्देश प्रवाह गर्नका लागि ७०औंँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारी अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट हुने निकासी तथा पैठारीमा व्यवसायीहरूले भन्सार महसुल भुक्तानी विद्युतीय माध्यमबाट गरेर विधिवत तवरले सुरुवात हुने कार्यक्रम छ ।
भन्सारमा राजस्व भुक्तानीका लागि विद्युतीय माध्यम प्रयोग गर्न भन्सार दिवसकै दिन छनोट किन गरियो भन्ने जिज्ञासा रहन सक्छ । यसको प्रमुख कारण भनेको नेपालले विश्व भन्सार सङ्गठनको सदस्यता लिएपछि सदस्य राष्ट्र हुनुको नाताले अन्तर्राष्ट्रिय दायित्व पनि साथै निर्वाह गर्नुपर्ने हुन्छ । हरेक वर्ष विश्व भन्सार सङ्गठन (आईसीडी)को आह्वानमा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने प्रचलन रहेको छ । यस वर्ष २६ जनवरी अर्थात् माघ १२ गतेलाई डेटा संस्कृति अँगालेर र डाटा इकोसिस्टम निर्माण गर्ने सारा डिजिटल रूपान्तरणलाई मापन गर्नका लागि समन्वय गर्न सकिन्छ भन्ने मान्यता छ ।

अन्तर्राष्ट्रिय भन्सार दिवसका दिन भव्य रूपमा मनाउन भन्सार विभागले पनि विविध कार्यक्रम आयोजना गर्दै छ । विश्व भन्सार सङ्गठनले भन्सार प्रशासनमा समयको मागअनुसार सुधारको अपेक्षा राखी आफ्ना सदस्यलाई केही न केही नयाँ नारा तय गरी पठाउने गर्छ । सोबमोजिम नेपालको भन्सार प्रशासनले पनि सुधारका कार्यलाई योजनाबद्ध रूपमा गर्दै आएको छ । यस वर्ष तय भएको नारामा पनि भन्सार प्रशासनमा सूचना प्रविधिको उपयोग गरी सूचना तथा तथ्याङ्कको आदान प्रदान गर्ने कार्यमा सहजीकरण र आबद्धता बढाउने रहेकाले नै विद्युतीय भुक्तानी प्रणालीलाई कार्यान्वयनमा लैजाने तयारी भएको हो ।

गत वर्ष यसै दिवसको अवसरमा वैदेशिक व्यापारमा सरोकार राख्ने भन्सार विभागलगायत सबै सरकारी तथा निजी क्षेत्रका निकायले प्रदान गर्ने सेवालाई विद्युतीय प्रणालीमार्फत एकद्वारबाट सेवा प्रवाह हुने गरी नेपाल राष्ट्रिय एकद्वार प्रणालीको शुभारम्भ भई सफल रूपमा कार्यान्वयनमा आइसकेको छ । यस वर्ष पनि सरकारको नीति तथा कार्यक्रममा घोषणा भएअनुसार नै भन्सार कार्यालयमा सङ्कलन हुने राजस्वको भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्ने कार्यको प्रारम्भ हुने दिन २६ जनवरी अर्थात् अन्तर्राष्ट्रिय भन्सार दिवसलाई नै छनोट गरिएको छ ।

जनवरी २६, २०१६ मा वेबमा आधारित आशिकुँडा प्रणालीको सुरुवात यसै दिवसको अवसर पारी कार्यान्वयनमा आएपछि भन्सार प्रशासनमा विद्युतीय प्रणालीको सेवा सहज भएको हो । सरोकारवाला निकायले समेत सेवा प्रवाहमा सहजीकरण भएको र वैदेशिक व्यापारको लागत घटाउन सफल भएको भनी सुधार अभियानलाई सकारात्मक रूपमा लिएको पाइन्छ । परम्परागत रूपमा सीमित राजस्व सङ्कलनको मात्र उद्देश्य राखी सीमा नाकामा भन्सार कार्यालय स्थापना र सञ्चालन भएको छ तर पनि अन्तर्राष्ट्रिय व्यापारको आकारमा भएको विस्तार तथा निकासी पैठारी व्यापारमा देखिएका चुनौती र सम्भावनाका विविध पक्षलाई राज्यले परिवर्तित अवस्थाको समेत विश्लेषण गरी सोहीअनुरूप हुने कानुनी र संरचनागत व्यवस्था गर्दै जानुको विकल्प छैन । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर नेपालमा भएको सूचना प्रविधिको विकास र सम्भावनालाई आत्मसात् हुने गरी भन्सार कार्यालयमा तिर्नु बुझाउनुपर्ने राजस्व विद्युतीय भुक्तानी प्रणालीको माध्यमबाट हुने गरी प्रणालीमा भएको सुधार आफैँमा महìवपूर्ण परिवर्तन हो ।

प्राचीनकालदेखि राजस्व सङ्कलन र वैदेशिक व्यापारलाई नियमन गर्दै आएको भन्सार प्रशासनलाई सुधार र आधुनिकीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ । विश्व व्यापार सङ्गठनको व्यापार सहजीकरण सम्झौता, व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय असल अभ्यासको पालना हुने गरी नेपालको भन्सार प्रशासनलाई आधुनिकीकरण तथा सुधार गर्ने प्रयास हँुदै आएको छ । नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा घोषणा भएका कार्यक्रमको कार्यान्वयन गर्ने दायित्व सबै सरकारी निकायको भएकाले भन्सार प्रशासनले पनि सुधार र आधुनिकीकरणका कामलाई प्राथमिकताका साथ आत्मसात् गर्दै आएको छ । नेपालको भन्सार प्रशासनको सुधारका लागि तर्जुमा गरी चालू आर्थिक वर्ष २०७८÷७९ देखि सुरु भएको छैटौँ चरणको सुधार तथा आधुनिकीकरण योजनामा राखेका लक्ष्य हासिल गर्न पनि विद्युतीय भुक्तानी प्रणालीको सुरुवात भएको हो ।

यस प्रणालीको प्रयोग गर्नेबारेमा उल्लेख गर्नु पनि अर्को उद्देश्य भएकोले छोटकरीमा विषयलाई प्रस्तुत गरिएको छ । भन्सार विभागले नेपाल राष्ट्र बैङ्कको राष्ट्रिय भुक्तानी स्विचको सञ्चालक निकाय नेपाल क्लियरिङ हाउस लिमिटेडसँग समन्वय गरी भन्सारको आशिकुँडा प्रणालीमा भुक्तानी संयन्त्रको संयोजन गरिएको छ । यस प्रणालीको प्रयोग गरी यसका प्रयोगकर्ता व्यवसायी तथा अन्य व्यक्तिले उपयुक्त कुनै उपकरणमा आबद्ध भई आफ्नो बैङ्क खाताबाट भन्सारमा तिर्नुपर्ने राजस्व रकम भन्सार कोष खातामा जम्मा हुने गरी भुक्तानी गर्न सकिने व्यवस्था नै विद्युतीय भुक्तानी प्रणाली हो । यसरी विद्युतीय भुक्तानी गर्न प्रयोगकर्ताले नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएस, मोबाइल एप, कर्पोट पे, एनसीएचएल बैङ्क सेन्टर तथा नेपाल क्लियरिङ हाउससँग आबद्ध रहेका डिजिटल वालेट प्रयोग पनि गर्न सक्नेछन् ।

विद्युतीय भुक्तानी गर्दा प्रयोगकर्ताले आफूलाई उपयुक्त उपकरण छनोट गरी त्यसमा ‘युजरनेम र पासवर्ड’ प्राप्त गर्नुपर्छ । त्यसमा आफ्नो बैङ्क खाता लिङ्क गरी बैङ्क शाखाबाट सो प्रमाणित गराउनुपर्छ । भन्सारमा मालवस्तुको घोषणा तथा जाँचपासको कार्य सम्पन्न भएपछि प्रज्ञापनपत्रको साधारण विवरण प्रविष्ट गरी भुक्तानी हुनुपर्ने रकमसमेत यकिन गरी आफूले प्रयोग गरेको बैङ्किङ माध्यमबाट सिधै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । भुक्तानीकर्ताले पैठारीकर्ताको नाम तथा भुक्तानी हुने राजस्व यकिन गरी भुक्तानी प्रक्रिया अगाडि बढाउने र भुक्तानी सफल भएको जानकारी आएमा भन्सारमा रहेको बैङ्क शाखाबाट राजस्व भुक्तानीको रसिद प्राप्त हुनेछ ।

यसको प्रयोगबाट व्यवसायीहरूले भन्सार राजस्व तिर्न बुझाउन नगद बोक्नुपर्ने वा ‘गुड फर पेमेन्ट’को चेकमार्फत भुक्तानी गर्न बैङ्कमा पुग्नुपर्ने समस्याबाट मुक्त भई इन्टरनेट सेवा भएका स्थानहरूबाट राजस्व भुक्तानी गर्ने सुविधा प्राप्त हुनेछ । विद्युतीय भुक्तानीको प्रयोगले भन्सार कार्यालयमा जम्मा भएको राजस्वको वास्तविक तथ्याङ्कसमेत तत्कालै प्राप्त गर्न सकिने भएकोले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका लागि तय भएको नारालाई समेत उचित ध्यानमा राखी भन्सार प्रक्रियामा गरेको सुधार अभियान सफल हुने विश्वास छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?