उमेश राना “गोर्खाली”
व्यक्तिगत स्वार्थ त्यागी देश र जनताका निम्ति प्राण उत्सर्ग गर्ने सपूत विरलै हुन्छन् । त्यसैले उनीहरू राष्ट्रका शहीद कहलिन्छन् र पुजिन्छन् । देशको गौरव बनेर युगौँसम्म बाँच्दछन् । यस्तै गाथा बोक्नुभएका एक प्रतिभा हुनुहुन्छ–लखन थापा मगर । आफ्नै जन्मथलो गोरखाको बुङ्कोटमा लखनले लडाकू सेनासहितको युद्धगढी बनाई १९३२ सालमा जङ्गबहादुरविरुद्ध हतियार उचाल्नुभएको थियो । सदरमुकामबाट १२ किमि दक्षिण–पूर्वमा पर्ने सो ऐतिहासिक ठाउँ हाल शहीद लखन गाउँपालिका–७ मा पर्छ ।
अनेकौँ षड्यन्त्रबाट जङ्गबहादुर राणा शासनमा आएका थिए । उनको अधिनायकवाद सामु कसैको केही चल्दैनथ्यो । सैनिक, प्रशासनिक क्षेत्रहरू राणापरिवारमा सीमित पारिए । योग्य र सक्षम व्यक्तिहरूले अवसर नपाउँदा व्यापक असन्तोष फैलिएको थियो । सर्वसाधारण पशुसरह बाँच्न विवश थिए भने राणाहरू देशको ढुकुटीमा हालिमुहाली गर्थे, विलासी जीवन बिताउँथे । देशमा न्याय, सुशासन थिएन । १९१० सालमा जारी जात व्यवस्थामा आधारित मुलुकी ऐनलाई थप कडाइ गरिएकाले जातीय भेदभाव र छुवाछूत नबार्नेहरू दण्डित हुन्थे ।
परापूर्वदेखि नङमासुझैँ मिलेको समाज तागाधारी, मतवाली, पानी चल्ने–नचल्ने वर्गमा विभक्त थिए । मतवालीमा पनि मासिन्या, नमासिन्या वर्ग थिए । मासिन्याले कसुर गरे मारिन्थे कि बेचिन्थे । एकै अपराधमा जातिगत तहअनुसार बेग्लाबेग्लै सजाय हुन्थ्यो । यसले समाजमा जातपात, उँचनीच र छुवाछूतलाई झनै चर्कायो । धार्मिक, सामाजिक सहिष्णुता हरायो । यस्तो बेथितिविरुद्ध सिङ्गो समाजलाई एकताबद्ध गराई सही बाटोमा डो¥याउन देशलाई सबल नेतृत्वको खाँचो थियो । त्यसैले जङ्गबहादुरको तानासाही शासनविरुद्ध उभिनुभएको थियो, लखन थापा !
भारतलाई उपनिवेश बनाएका अङ्ग्रेजहरूको आडमा जङ्गबहादुर सर्वसत्तावादी बनेका थिए । परिवर्तनका लागि सङ्घर्ष अपरिहार्य थियो । लखनले समयको माग र जनभावना बुझ्नुभयो, त्यसैको सम्बोधनलाई लक्ष्य बनाउनुभयो । सर्वसाधारणलाई जागरुक र सङ्गठित बनाउन उहाँ १९२७ सालमा सैन्य सेवा छाडी गाउँ फर्कनुभयो । त्यसबेला समाजमा रूढिवाद र अन्धविश्वास व्याप्त थियो । मानिसहरू ईश्वरप्रति आस्था राख्थे । त्यही आस्थालाई उपयोग गर्दै उहाँले आफूलाई दैवीशक्ति प्राप्त रामशाहकालीन सिद्ध लखन थापाको अवतार भन्दै जङ्गबहादुरको अन्त्य गरी आफैँले शासन चलाउन देवी मनकामनाबाट आशीर्वाद पाएको बताउनुहुन्थ्यो । धर्मभीरु समाजलाई यसले आकर्षित ग-यो ।
यसैक्रममा लखनले जनसमर्थन बटुली जोसमनी सम्प्रदायको गठन गर्नुभयो । साधुसन्त भई त्यसैको प्रचारमा हिँड्नुभयो । जोसमनी, गोरखामै उत्पन्न नेपालकै पुरानो सन्तपरम्परा हो । त्यसमा राजा–प्रजा समान मानिन्छन् । उनीहरू धर्मका विरोधी थिएनन् तर धर्मकै आडमा ल्याइएको जातीय भेदभाव, छुवाछूतको भने विरोध गर्दथे । मूर्तिपूजा र कर्मकाण्डलाई ठगिखाने धन्दा भन्दथे । जोसमनी दर्शनबाट निसृत लखनको मधुरवाणीमा भक्तहरूले सुन्दर जीवन र सुरक्षित भविष्य देखे अनि जङ्गबहादुरको जल्दोबल्दो शासनविरुद्ध लड्न एकढिक्का भए ।
शासकको जनविरोधी कदमलाई भण्डाफोर गर्दै जनस्तरबाटै आँधीबेहरी सिर्जना गर्न लखन उद्यत हुनुहुन्थ्यो । पूर्वसैनिक भएकाले उहाँमा साहस छँदै थियो । सबैको मद्दतले काहुलेमा किल्ला ठडियो, युवालाई सैन्य तालिम दिइयो । केही हातहतियार भेला गरी एक हजार पाँच सय विद्रोही फौज बन्यो । लखनलाई सघाउन ठूलो सङ्ख्यामा स्थानीय एकत्रित भए । आन्दोलनकारीहरूको हौसला झन् बढ्यो । अनि उहाँले ‘नेपाली सेनाको नेतृत्व गरी राजधानी प्रवेश गर्ने, जङ्गबहादुरको हत्या गरी उनको सत्ता आफ्नो अधीनमा लिएर सुनौलो युग आरम्भ गर्ने’ घोषणा गर्नुभयो । यो तथ्य जङ्गबहादुरको जीवनी लेखक पद्मजङ्ग राणाको बयानमा छ ।
लखनको उद्घोष राज्यसत्ताका निम्ति चुनौती थियो नै । तराईको सिकारबाट फर्कंदा देउरालीमै मार्ने विरोधीको योजना थाहा पाएर अर्कै बाटो भई राजधानी आएका जङ्गबहादुरले १९३२ चैतको आखिरमा विरोधीलाई दमन गर्न देवीदत्त पल्टन खटाए । बुङ्कोटमा दुवै सेनाबीच भिडन्त भयो । सीमित हतियारको भरमा विद्रोहीहरू धेरैबेर टिकेनन् । तिनीहरू पक्राउ परी सैन्य शिविर लगिए, खुलेर लागेका १२ जनाबाहेक अरू छाडिए । विद्रोहका नायक लखन थापालाई नेल–हत्कडीसहित बाँसको कोक्रोमा, अन्यलाई पैदलै हिँडाएर राजधानी पु-याइयो । मुद्दा सङ्गीन भएकाले जङ्गबहादुर यसको गहिराइमा पुग्न चाहन्थे । त्यसबेला जोसमनी विचारधाराका सन्त ज्ञानदिलदास (लामिछाने थरका ब्राह्मण)लाई रुम्जाटारबाटै पक्राउ गरियो र जमलमा छ महिना थुनामा राखी लखनसँग यिनको भित्री सम्बन्ध केलाइयो तर उनी निर्दोष थिए, छाडिए । यता बन्दीगृहमा नौ महिनादेखि यातना भोगिरहेका बुङ्कोटेहरूको मुद्दा बल्लतल्ल छिनियो । तीमध्ये पाँच जना सामान्य समर्थक रहेकाले मुक्त गरियो भने सात जनालाई राजद्रोहको अभियोग लगाइयो ।
यथार्थमा तिनीहरू देशद्रोही थिएनन्, जङ्गबहादुरका कट्टर विरोधी थिए । पुस १९३३ मा उनीहरूकै किल्लाको मनकामनाथानसामु पहिले लखन थापा, त्यसपछि उनका छ जना मुख्य कार्यकर्ता जयसिंह चुमी, विराज थापा, जुठ्या थापा, जितमान गुरुङ, अजपसिंह थापा र बालेश्वर अछामीलाई रुखमा झुन्ड्याइयो । भनिन्छ, बुङ्कोटमा सेनाको घेराबन्दी तोडेर उनीहरू भाग्न सक्थे तर भागेनन्, क्षमा मागेमा ज्यान जोगिन सक्थ्यो तर त्यसो पनि गरेनन् । उनीहरूले हाँसीहाँसी मृत्युलाई स्वीकारे । तानासाहीबाट देशलाई मुक्त गर्न कम्मर कसे ।
सर्वस्वहरणमा परेकाले शहीदका परिवारहरू बुङ्कोटबाट पलायन भए । लखनका सन्ततिहरू भारतको दार्जिलिङमा भेटिए भने जयसिंह र बालेश्वरका खलक निकैपछि मात्र बुङ्कोट फर्किएका थिए । अन्य शहीद परिवार अझै गुमनाम छन् । यो विद्रोहले जनतालाई पहिलोपल्ट शासकविरुद्ध एकढिक्का बनायो र आन्दोलित गरायो । गोरखाको दूरदराजमा भएको यो विद्रोह नेपाली इतिहासमै अद्भूत प्रकृतिको मानिन्छ । हाम्रो प्रजातान्त्रिक आन्दोलनको अध्याय यहीँबाट सुरुवात भएको प्रस्ट छ । यसअघि बगावत नभएका होइनन् तर ती पद, प्रतिष्ठा र प्रतिशोधमा केन्द्रित षड्यन्त्र थिए । बुङ्कोटको घटना स्वतन्त्रता, मुक्ति र स्वाधीनतासँग जोडिएको सशक्त विद्रोह थियो । लखन निर्विवाद रूपले देशकै पहिला र सच्चा क्रान्तिकारी थिए । त्यसैले बुङ्कोट, विद्रोही भावना र चेतनाको मुहान थियो, जनआन्दोलनको प्रारम्भ बिन्दु थियो । यो घटना अविस्मरणीय मात्र नभई अद्वितीय र प्रेरणादायी पनि मानिएको छ ।
जङ्गबहादुरका छोरा पद्मजङ्ग त्यसबखत सैन्य जनरल भएकाले कतिपय घटनाका साक्षी थिए । जहानियाँ शासनविरुद्ध ‘लखन थापाको सुनौलो युग फर्काउने परिकल्पना थियो’ भनी उनले त्यसै लेखेनन् ।
त्यो बेला ‘प्रजातन्त्र’ प्रचलनमै नआएको शब्द भएकाले सुनौलो वा सत्य युगलाई उदार र भेदभावरहित शासन भनी बुझ्नुपर्दछ, अहिलेकोे लोकतन्त्र त्यसैको आधुनिक रूप हो, जसका लागि सङ्घर्ष गर्दा सात जनाले अकालमा ज्यान गुमाए । त्यो सहादतको मूल्याङ्कन राज्यले ढिलै भए पनि ग¥यो, २०७२ असोज ३ गते संविधान जारी भएकै दिन राष्ट्रिय विभूतिका हकदार लखन थापालाई ‘प्रथम शहीद’को दर्जा दिइयो तर उनीसँगै मारिएका अन्य छ जनालाई शहीद मान्न कञ्जुस्याइँ गरियो । तिनीहरूको जीवन पनि कम मूल्यवान थिएन । त्यसैले बुङ्कोटमा मारिएका सबैले शहीदको सम्मान पाउनुपर्दछ र गुमनाम शहीद परिवारको खोजी हुनुपर्दछ ।
लखनहरूले झैँ शुक्रराज, धर्मभक्त, गङ्गालाल र दशरथले पनि प्रजातन्त्रका लागि सङ्घर्ष र बलिदान गर्नुभएको थियो । लखनले जनअधिकारको कुरो गर्नुभयो, शुक्रराजहरूले नागरिक अधिकार भन्नुभयो । त्यो घटना गोरखाको दुर्गममा भयो, यो राजधानीजस्तो सुगममा भयो । त्यो सशस्त्र सङ्घर्ष थियो, यो शान्तिपूर्ण आन्दोलन थियो । दुवैको मकसद उस्तैउस्तै थियो, त्यो भनेको– राणाशासनको समाप्ति र प्रजातन्त्रको बहाली ! यी सङ्घर्षहरूको समय, स्थान र मोडालिटी भिन्न भए पनि तिनका चाहना एकै थिए ।
भनिन्छ, हरेक पुस्ताले अग्रजबाट प्रेरणा लिन्छन् । लखनले सबैभन्दा पहिले चेतनाको दियो बाल्नुभयो, त्यसैको आलोकमा अरूले बाटो पहिल्याए । राणाविरुद्ध सङ्गठित सङ्घर्ष गर्ने प्रेरणा त्यहीँबाट पाएर शुक्रराजलगायतका देशभक्तहरू मैदानमा उत्रनुभएको थियो । यो जनजागृतिको उद्गम निश्चय नै बुङ्कोट थियो । यसअघि शासकहरूप्रति विद्रोही चेतना जनस्तरमा पैदा भएकै थिएन । त्यसैले सो विद्रोहकै जगमा उठेको राणाविरोधी चेतनाले १९९७ सालको सहादतसँगै ०७ सालमा राणाशासक परास्त भई देशमा प्रजातन्त्र आयो । त्यसैको स्मृतिमा शहीदगेट बन्यो तर त्यहाँ लखन अटाउनुभएन ।
देशलाई हृदयमा राखी बलिदान भएका शहीदहरू सबैका प्रिय र पूज्य हुन्छन् नै । उहाँहरूको आदर्शलाई बिर्सनु मानवीय मूल्य, मान्यताबाट विचलित हुनु हो, हाम्रा लागि जीवन गुमाउनेहरूप्रति कृतघ्न बन्नु हो । त्यसैले शहीदले देखाएको बाटोमा हिँड्नु, तिनका सपनालाई साकार पार्नु सबैको कर्तव्य हो, हामीले पाएको स्वतन्त्रता उनै शहीदको बलिदानको प्रतिफल हो ।