ढुण्डीराज शास्त्री
कुनै न कुनै सिद्धान्त र उद्देश्यद्वारा परिलक्षित सङ्गठनलाई पार्टी भनिन्छ । जस्तै– नेपाली काँंग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी आदि । सिद्धान्तद्वारा निश्चित उद्देश्य उन्मुख नीति र कार्यक्रम कार्यान्वयनमा अगाडि बढ्नु पार्टीको कर्तव्य कर्म हो । पार्टीका नेता र कार्यकर्ताले नै सिद्धान्त अथवा उद्देश्यलाई बुझ्न– बुझाउन सक्नुपर्छ । यदि सिद्धान्त अवैज्ञानिक हुन गएमा सङ्गठन जति नै देखिए पनि सङ्गठन सशक्त रूपमा अगाडि बढ्न सक्दैन, असफल हुन पुग्छ । अधिनायकवादी कम्युनलाई उद्देश्य मान्ने माक्र्सवादी भनिने सङ्गठन विश्वका सबै मुलुकमा असफल हुनुका कारण राजनीतिक सिद्धान्त अवैज्ञानिक हुनु हो । यद्यपि चिनियाँ राजनीतिमा नियन्त्रण र सन्तुलनको अभावले अधिनायकवादी अहिलेसम्म रहे पनि अर्थतन्त्र स्वतन्त्र भएकाले सफलताका साथ अगाडि बढेको छ । राजनीति पनि अवश्य सन्तुलन र नियन्त्रणभित्र आउने निश्चित छ ।
सिद्धान्त र उद्देश्य वैज्ञानिक अवलम्बन गर्दै आएका सङ्गठन पनि कार्यकर्ता र तिनका नेतामा उत्पन्न स्वार्थ, भ्रम, अज्ञानताले निरर्थक हुन्छन् । कार्यान्वयनमा आउन सक्दैनन् । अझ उद्देश्य र सिद्धान्त नै निश्चित नगरिकन बनाइएका सङ्गठनहरू राजनीतिक, वैज्ञानिक सिद्धान्त र उद्देश्यविहीन व्यक्तिगत, जातिगत, वर्गगत र स्वार्थबाट अगाडि बढ्ने दलहरूले देशमा क्रान्तिका नाममा त उपद्रव मच्चाउन सक्छन् तर देश र जनतालाई सम्पन्न र शक्तिशाली बनाउने बाटोमा अगाडि बढाउन सक्दैनन् ।
नेपालसहित विश्वका मुलुकको सन् १९६० लाई मध्यबिन्दु मानेर अघिका १० वर्ष र पछिका १० वर्षका दिनमा साम्राज्यवादी र घरेलु प्रतिक्रियावादी शासनविरुद्ध जुन–जुन देशमा क्रान्ति र परिवर्तन भएको थियो, ती देशमा भलै अगाडिपछाडि ७० वर्ष पूरा भएको छ । कुनै देशहरू प्राकृतिक स्रोतसाधनको कमी हुँदाहुँदै पनि अत्यन्त सम्पन्न र शक्तिशाली बनेका छन् भने प्राकृतिक स्रोतसाधनले भरिपूर्ण नेपाल र नेपालजस्ता देशहरू कमजोर अवस्थामै छन् । अर्काको देशमा गएर काम गरी कमाई पठाएको रेमिट्यान्सले देश र परिवारको गुजारा चलेको छ ।
नेपालमा किन यस्तो भयो ? सम्पदा र शक्तिको विकास किन हुन सकेन ? क्रान्ति र सत्ता परिवर्तन त भइरहेको छ तर यसले मात्र हुँदो रहेनछ । अरू देशमा क्रान्ति हुने, परिवर्तन हुने, सम्पत्ति र शक्तिको उच्चतम विकास हुने । नेपालमा क्रान्ति हुने, परिवर्तन हुने तर विकास नहुने ? कारण के ? दोष कसको ? यही राज्यका नागरिक हामी सबै कारण हौँ, दोष हाम्रै नै हो । २००७ सालको क्रान्तिका नायक बीपी कोइराला, सुवर्णशमशेर र गणेशमान सिंह अनि यो सशस्त्र क्रान्तिमा पसिना, रगत बगाउने नेपाली आमाका सपूत वीर योद्धाको त्याग, तपस्या र बलिदानले सामन्ती क्रुर शासनको अन्त्य र आधुनिक युगमा प्रवेश भएको थियो । नेपाली जनता र नेपाल स्वतन्त्र भएको थियो । स्वतन्त्र नेपाललाई कसरी अगाडि बढाउने भन्ने प्रश्न थियो । यो प्रश्नको जवाफमा बीपी कोइरालाले मानव विज्ञानमा आधारित प्रजातान्त्रिक समाजवादी सिद्धान्त र उद्देश्यको राज्य सञ्चालन गर्ने आधार निश्चित गर्नुभएको थियो । २०१२ सालको वीरगञ्ज अधिवेशनमा यसलाई सुवर्णशमशेरले प्रस्तावका रूपमा अघि सार्नुभएको थियो र सर्वसम्मतिले पारित भएको थियो ।
२०१५ सालको आमनिर्वाचनमा नेपाली कांँग्रेस दुईतिहाइ बहुमत प्राप्त गरी विजयी भएको थियो । बीपीको नेतृत्वमा सरकार गठन भएको थियो । उहाँको नेतृत्वमा गठित दुईतिहाइ बहुमतको नेपाली कांँग्रेसको सरकारले सिद्धान्त र उद्देश्य कार्यान्वयन गर्दै अगाडि बढ्न विभिन्न नीति बनाएको थियो । केही नीतिहरू र कार्यक्रम बनाई कार्यान्वयनमा ल्याइसकेको थियो । जस्तै– राज्य रजौटाको अन्त्य, बिर्ता उन्मूलन र भूमिसुधारका योजना बन्दै थिए । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, स्थानीय विकास, परराष्ट्र सम्बन्ध आदि मुलुकमा आवश्यक विकासका योजना बन्दै थियो । समाजवादी नेपाल बन्ने प्रसिद्धि विश्वमा बढिरहेको थियो । अन्तर्राष्ट्रिय समाजवादी सङ्गठनको नेपाल सदस्य मात्र होइन, बीपी कोइराला नेता पनि भइसक्नुभएको थियो ।
यो सब सामन्ती राजालाई त मन परेन परेन, अरू कसकसलाई मन परेन । राजा महेन्द्रले निर्वाचित सरकार, प्रतिनिधि सभा सैन्यबलमा विघटन गरे । पार्टीहरूमा पनि प्रतिबन्ध लगाए । पार्टीहरूका भेटाएजतिका नेता, कार्यकर्तालाई गिरफ्तार गरियो । सम्भवतः सन् १९६० को थोरै अघिपछि साम्राज्यवादी र घरेलु प्रतिक्रियावादी शासनबाट स्वतन्त्र भएका सिङ्गापुर, मलेसिया, दक्षिण कोरिया, भियतनाम आदि देश विगत ६०–७० वर्षमा भौतिक स्रोत, साधन र शक्तिको विकास गरी आज सम्पन्न र शक्तिशाली बनेका छन् । त्यस्तै २०१५ सालमा बीपी नेतृत्वमा बनेको सरकारले काम गर्न पाएको भए आज नेपाल सम्पन्न र शक्तिशाली हुने थियो । नेपाल र नेपालीको दुर्भाग्य त्यसो हुन सकेन । राजा र राजसंस्था बाधक हुन पुग्यो ।
सुवर्णजी कामविशेषले कोलकाता जानुभएकाले उहाँ गिरफ्तार हुनुभएको थिएन । बाहिर र भित्र भएर पनि गिरफ्तारीबाट बच्न सफल सबैको उपस्थितिमा केही समयपछि पार्टीको सम्मेलन भयो । यो सम्मेलनले सुवर्णजीको नेतृत्वमा प्रजातन्त्रको पुनस्र्थापनाको माग गर्दै सशस्त्र क्रान्ति गर्ने निर्णय ग¥यो । मुलुकमा कहीँ कहीँ केही न केही राजाका कदमविरुद्व प्रजातन्त्रका पक्षमा जनताद्वारा प्रतिरोधी घटना भइरहेका थिए । कांँग्रेसको घोषित क्रान्ति २०१८ सालको अन्त्यतिर सुरु भएको थियो । ३० वर्षपछि २०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा भएको संयुक्त जनआन्दोलनको बलमा पञ्चायती शासनको अन्त्य र प्रजातन्त्रको पुनस्र्थापना भयो । कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले एक वर्षभित्रै संविधान निर्माण गरी २०४८ सालमा आमनिर्वाचन गरायो । आमनिर्वाचनपछि नेपाली काँग्रेसले नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बहुमतको सरकार बनायो ।
२००७ सालपछि सरकारमा रहँदा होस् या बाहिर क्रान्तिको अवस्था होस् या शान्तिको, काँंग्रेसले अनवरत रूपमा अवलम्बन गर्दै आएको वैज्ञानिक सिद्धान्त प्रजातान्त्रिक समाजवाद छोडेर उदार अर्थतन्त्र भन्दै पुँजीवादतर्पm लाग्नु नेपाली काँग्रेसका तत्कालीन नेताहरूको ठूलो गल्ती थियो । यसले देश र जनतामा थोरै पनि शक्ति र सम्पत्तिको विकास गर्न सकेन । देश र जनताले केही पाएन । हानि मात्र बेहोर्नुपरेको छ । सत्तामा पुगेका र तिनका आसेपासेमा मात्र सम्पत्ति केन्द्रित हुन पुगेको छ । यस्तो अर्थव्यवस्था नेपालको २०४८ पछिको अर्थव्यवस्था हो । आजसम्म यही छ, परिवर्तन हुन सकेको छैन ।
यस्तो अर्थव्यवस्थाले देश बन्दैन र बनेन पनि । अतः अर्थतन्त्रमा जबर्जस्त परिवर्तन र सुधार आवश्यक छ । विशुद्ध पुँजीवाद या समाजवाद के उपयुक्त हुन्छ, त्यो रोज्न अनिवार्य छ । यसका लागि पार्टीमा रहेका समाजवादी र अर्थशास्त्रीहरू अनि समाजमा रहेका सङ्घसंस्थासँग सम्बन्धित पुँजीपति, समाजवादी अर्थशास्त्रीहरू रहेको राष्ट्रिय सम्मेलन गरी छलफल र निर्णय लिन आवश्यक छ ।
राजनीतिमा नेपाली काँंग्रेसको उतारचढाव जेजस्तो रहे पनि प्रजातान्त्रिक राजनीतिको केन्द्रबिन्दुमा रहने यसको औचित्यमा अविश्वास गर्न सकिँदैन । यसका एजेन्डा र पछि ती एजेन्डा पूरा गर्ने कामका लागि पनि प्रजातन्त्रमा विश्वास गर्ने जनताले नेपाली कांँग्रेसतर्पm नै हेरिरहेका हुन्छन् । २००७ सालको राणाविरोधी क्रान्ति होस्, २०१७ सालको राजाका कदमविरुद्धको प्रतिकार क्रान्ति होस्, २०४६ सालको पञ्चायतविरुद्धको आन्दोलन होस्, सशस्त्र विद्रोहमा लागेका माओवादीलाई शान्तिपूर्ण मूलधारमा ल्याउने काममा होस् अथवा २०६२–६३ को गणतन्त्रका लागि निर्वाह गरेको भूमिका यी सबै आन्दोलनमा उसले पु¥याएको महìवपूर्ण योगदानले नेपाली कांँग्रेस नेपालको लोकतन्त्रको पर्यायवाची हो भन्दा अन्यथा हुँदैन । आज मुख्यधारका भनिएका कम्युनिस्ट पार्टीहरू पनि अधिनायकवादी–साम्यवादी व्यवस्थाको असफलता र अवैज्ञानिकताको ज्ञान नेपाली कांँग्रेसले जन्मकालदेखि अवलम्बन गरेको प्रजातान्त्रिक समाजवादको बाटोमा नै आएका छन् । पहिचान अलग देखाउन माले, एमाले, माओवादी, माक्र्सवादी, समाजवादी, केन्द्रीय समाजवादी आदि जे भने पनि नेपाली कांँग्रेसले जन्मकालदेखि नै अवलम्बन गरेको प्रजातान्त्रिक समाजवादी सिद्धान्त सबै पार्टीको सिद्धान्त बनेको छ ।