logo
२०८१ बैशाख २४ सोमवार



ओझेलमा प्राणीशास्त्र

विचार/दृष्टिकोण |




रामचन्द्र अधिकारी

नेपालमा जनावरसँग जोडिएका धेरै पर्व छन् । जनजातिका कला, संस्कृति, इतिहास, पात्रो सबैमा जनावरको उल्लेख गरिएको छ । जनावरलाई विभिन्न प्रतीकका रूपमा पनि लिइन्छ । जस्तैः सूचनाको संवाहक काग, शान्तिको प्रतीक परेवा आदि । जनावरलाई प्रतिस्पर्धा गराएर वा जनावरसँग खेलेर वा जनावरको नक्कल गरेका खेल खेलेर मानिसले धेरै मनोरञ्जन लिइरहेका छन् ।

लोक साहित्य, पौराणिक साहित्य, कहावत, संस्कृति त्यत्तिकै बनेका हुन्नन । तिनले मानव जीवनको इतिहास बताएका हुन्छन् र वर्तमानमा पनि सार्थक हुन्छन् । यस आधारबाट भन्न सकिन्छ कि मानव जीवनको आधारभूतदेखि अतिरिक्त आवश्यकता हुँदै मनोरञ्जन तथा मनोपवित्रताका सारथि जनावर हुन् । यसैले अनुमान लगाउन सकिन्छ प्राणीशास्त्र उहिल्यैदेखि अघोषित रूपमा स्थापित थियो । विकासक्रम हेर्दा मानिसको खानेकुराको रूपमा जङ्गली जनावर नै थिए भन्ने देखाउँछ । पछि (आजभन्दा करिब १७ हजार वर्ष अघिदेखि) मानिसलाई चाहिने नै भएका हुनाले जङ्गली जनावरलाई घरेलुकरण गरिन थाल्यो । मानिस आधुनिक बन्दै गएपछि जनावरका जीउमा मानिसले विविध किसिमका अनुसन्धान गरी आफूलाई यी जीव कति उपयोगी रहेछन् भन्ने बुझ्न थाल्यो । उनीहरूले मानिसको जीवनलाई कसरी सार्थक तुल्याएका रहेछन् भनेर थाहा पाउनुको साथै यी नभई मानव जीवनको अस्तित्व नै सङ्कटग्रस्त वा असम्भवप्रायः छ भन्ने निष्कर्षमा मानिस पुग्यो । त्यसैले जनावरको पढाइ हुन थाल्यो, औपचारिक शिक्षामा ।

जनावरको अध्ययन गर्ने विज्ञान प्राणी विज्ञान वा प्राणीशास्त्र हो । जब जनावरप्रतिको चिन्ता बढ्यो तब यो विषयको महìवले उचाइ लियो । आजभन्दा साढे तीन अर्ब वर्षअघि सूक्ष्मरूपबाट जनावरको उत्पत्ति भएको कुरामा विश्वास गरिँदै आइएको छ । पछि, यो धर्तीमा यति धेरै विविधतामा जनावर बनिए जसको ८० प्रतिशत लोप भई हाल २० प्रतिशत मात्र अर्थात् करिब ५० लाख प्रजाति अस्तित्वमा भएको अनुमान छ ।

औपचारिक शिक्षामा प्राणीशास्त्र करिब १५औँ शताब्दीमै घुसेको अनुमान गरिएको छ । विश्वका सबैजसो देशमा प्राणीशास्त्र स्थापित भएको चाहिँ १९औँ शताब्दीमा मात्र हो । कोलम्बिया विश्वविद्यालयका विद्वान् मेरिओनले सन् १९०१ मा तयार गरेको एक प्रतिवेदनका अनुसार युरोपमा भने १६औँ शताब्दीतिरै विश्वविद्यालयमा यो विषय पढाइ हुने गरेको थियो । सन् १८५९ मा चाल्र्स डार्बिनको नयाँ प्रजातिको उत्पत्ति भन्ने पुस्तक सार्वजनिक भएसँगै प्राणीविज्ञानले फट्को हान्यो । १९६५ मा चाल्र्स ओट्लेले इलेक्ट्रोनिक सूक्ष्मदर्शक यन्त्र आविष्कार गरे तब त प्राणीशास्त्र अध्ययनको अर्को ढोका खुल्यो र यो विषयले जनावरमा भएका विचित्र विशेषता र उपयोगिता छर्लङ्ग पारिदियो । यस्तै उकाली पार गर्दै समाजको आवश्यकता पूर्ति गर्ने र मानवजीवनलाई कसरी सुखी बनाउने भन्ने ध्येय बोकेर प्राणीशास्त्र आज संसारभरिका विद्यालय र विश्वविद्यालयमा अध्ययन अध्यापन हुने गरेको छ ।

नेपालमा सन् १९५९ मा त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि यसैको सम्बन्धमा पब्लिक साइन्स कलेज (हालको अमृत साइन्स क्याम्पस) को स्थापना १९६२ मा भयो जहाँ प्राणी विज्ञानको पनि पढाइ थियो । त्यसको तीन वर्षलगत्तै प्राणीशास्त्र केन्द्रीय विभागको स्थापना भई एमएस्सी पढाइ सुरु भयो र हालसम्म यस विभागले दुई हजारभन्दा बढी प्राणी विज्ञानमा विज्ञानाचार्य उत्पादन गरिसकेको छ । साथै १६ जनाले यसै विभागबाट विद्यावारिधि गरिसकेका छन् भने २८ जना अहिले गर्दैछन् । यस विश्वविद्यालयको २३ वटा आङ्गिक र ३० वटा सम्बन्धनप्राप्त क्याम्पसको स्नातक तहमा प्राणीशास्त्र विषयको अध्ययन अध्यापन हुने गरेको छ । अन्य केही विश्वविद्यालयमा पनि अर्धप्राविधिक तथा पूर्ण प्राविधिक सङ्कायमा प्राणीशास्त्र विषयको अस्तित्व छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले सञ्चालन गरेका सामान्य चिकित्सा, कृषिलगायत १२ वटा तीन वर्षे कोर्षमा यो विषयले प्रवेश पाएको छ ।

प्राणीशास्त्र केन्द्रीय विभाग स्थापनाको ५६औँ वार्षिक उत्सवका अवसरमा गएको मङ्सिरमा नेपालमा प्राणी विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन भयो । सम्मेलनमा पाँच महादेशका प्राणी वैज्ञानिकले भाग लिए । आफूले गरेका अनुसन्धान कार्यका कार्यपत्र प्रस्तुत गरे । विश्वकै उच्च कोटीको समृद्धशाली मानिएको देश जर्मनीदेखि नेपाल र नेपालीले विकासको नमुनाका रूपमा लिने गरेका स्विट्जरल्यान्डका पनि प्राणी वैज्ञानिकले भाग लिएका थिए ।

सम्मेलनको मूल मन्त्र थियो– परिवर्तित विश्व परिवेशमा हिमालय जैविक विविधता । आयोजक संस्थाका अध्यक्ष, विभागीय प्रमुख प्रा.डा तेजबहादुर थापाका अनुसार प्रस्तुत गरिएका ७६ वटा कार्यपत्रमध्ये ९० प्रतिशत हिमालयन जैविक विविधता र यसमा जलवायु परिवर्तनको असर झल्काउने किसिमका थिए । यस नाराले नेपालको जैविक विविधतालाई, जलवायु परिवर्तन र यसको असरलाई वैज्ञानिक जगत्मा उजागर गरेको छ । हिमाली मुलुक नेपालमा जलवायु परिवर्तनको प्रभाव ठूलो छ । यहाँको जैविक विविधतामा कति ठूलो क्षति भएको छ, जीवजन्तुको जीवनमा कस्तो असर परेको छ, जैविक विविधताको विचरण, जीवन शैली, आनिबानीमा कस्तो परिवर्तन आएको छ भन्ने बारेमा यथेष्ट अनुसन्धान भएका छैनन् । यस्ता विषयमा अनुसन्धान गर्न प्रेरित गर्ने हेतुले पनि यो सम्मेलन प्रेरणादायी रह्यो । खालि हामीले हिमालको हिउँ पग्लियो, काला पत्थर देखा प¥यो, हिमताल फुट्ने भए, हिमनदी सुक्ने भए भन्नेजस्ता ठूला भौतिक असर मात्र देख्ने गरेका छौँ÷ भन्ने गरेका छौँ । यस्तो भइरहँदा हिमाली पारिस्थितिकीय प्रणालीमा कस्तो विचलन आएको छ, नेपाललाई चिनाउने र अन्त कतै नपाइने हिमाली जडीबुटी, हिमाली जनावर, सूक्ष्मजीव आदिमा कस्ता विचलन आएका होलान् । कतै हाम्रो हिमाली मुलुक र हिमाली पहिचानका वस्तु लोप भई गइरहेका वा त्यस्तो खतारामा त छैनन् ?

हिमाली बाली, फलफूल या अन्य जैविक उत्पादनमा कुनै बाहिरी शत्रुजीवको प्रभाव आएको छ कि ? यस भेगको पानीको गुणस्तर र उच्च भागमा पाइने जलचरको जीवनमा कस्ता असर देखिएका होलान् ? सबै अध्ययनका विषय हुन् । नेपाल र नेपालीको पहिचान दिने हिमालका आदिवासी र त्यहाँको जैविक विविधताको सम्बन्धमा तुषरापात त भएको छैन ? लोककथा, दन्त्यकथा तथा मानवशास्त्र समाजशास्त्रले भन्ने गरेको हिममानवको खास भौतिक अस्तित्व के हो ? यावत् विषयको अध्ययन÷अनुसन्धान गर्ने काम प्राणी वैज्ञानिकको हो । गत वर्षको र अहिलेको सम्मेलनमा यससम्बन्धी केही शोध प्रतिवेदन आएका थिए ।

हिमाली जैविक विविधताको आजको अवस्था अध्ययन अनुसन्धान गरी प्रतिवेदन दिने हो भने नेपालको भोलिको भविष्य यही विषयमा आधारित हुने सम्भावना छ । यस्ता विषयलाई उजागर गर्न स्वदेशी तथा विदेशी प्राणी वैज्ञानिकलाई उत्साह थप्न र कामको अद्यावधिक सार्वजनिक गर्न बेलाबेलामा वैज्ञानिक सम्मेलन आवश्यक पर्छ । सम्मेलनले अनुसन्धाता, वैज्ञानिक, नीति निर्मातालगायत सरोकारवालालाई एक ठाउँमा ल्याउने र सम्बन्धित क्षेत्रमा भएका अनुसन्धानका उपलब्धि फ्लोर गर्ने हो । त्यो चिजबाट सबैले आफूलाई आवश्यक के हो त्यो ग्रहण गर्ने हो । यो सबैका लागि उपयोगी हुन्छ नै सबैभन्दा बढी सरकार वा कार्यपालिकालाई हुन्छ । उसले बिना लगानी, सित्तैमा ज्ञान, तथ्याङ्क र विवरण पाउँछ । तसर्थ देशको समृद्धिमा यस्ता सम्मेलनले निस्वार्थ र निःशुल्क परामर्श सेवा दिइरहेका हुन्छन् । राज्यले यो कुरालाई बुझेर लिन सक्नुपर्छ ।

प्राणीशास्त्र केन्द्रीय विभागले पछिल्ला वर्षमा अनुसन्धानका प्रतिवेदनलाई सङ्ग्रहित गर्दै विज्ञान पत्रिका (जर्नल) प्रकाशित गर्दै आएको छ । पाँच वर्षदेखि सालको दुई अङ्क प्रकाशन हुने यो जर्नलले प्राणी विज्ञानमा देशभित्र र बाहिर भएका अनुसन्धान कार्यका प्रतिवेदनलाई प्रकाशित गर्ने गरेको छ । यसले सिक्ने सिकाउने, खोज गर्न चाहने, अनुसन्धाता सबैलाई साझा भूमिको काम गरेको छ । जर्नललाई प्राज्ञिक क्षेत्रको कोशेढुङ्गा मानिन्छ । प्राणीशास्त्रभित्र विभिन्न विशिष्ट विषय हुन्छन् । ती विषय स्थापना गर्नुपर्ने जिम्मेवारी विभागको हो । हाल यस विषयमा उच्च शिक्षा हासिल गरिसकेपछि मूलतः सरकारी मूलधारमा गरी खाने स्थानको अभाव छ । तसर्थ मूलधारमा प्राणीशास्त्रलाई स्थापित गर्न यससँग सम्बन्धितले लाग्नुपर्ने देखिएको छ ।

कसैले प्राणीशास्त्रलाई पुुरातनवादी विषय मान्लान् तर मानव जगतको क्रमविकाससँगै मानव जीवनको अस्तित्वलाई रक्षा गर्ने मात्र होइन सुखी र समृद्धशाली बनाउने विषयमा महìवपूर्ण जिम्मेवारी निर्वाह गरेको छ । मानव जगतको विकासलाई नयाँ घुम्ती थप्ने आधुनिक विश्वका नयाँ आयाम भ्याक्सिनको आविष्कार र उपयोग, एन्टिबायोटिक्स, टेस्टट्युब बेबी, क्लानिङ, अङ्ग प्रत्यारोपण, घरपालुका जनावरको उत्पादत्वमा वृद्धि, कृषिमा उन्नयन, सङ्क्रामक रोगको निदान र नियन्त्रण, शत्रुजीवको व्यवस्थापनजस्ता कार्यमा प्राणीशास्त्रको अग्रणी भूमिका छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?