logo
२०८१ मंसिर ८ शनिवार



सम्मानपूर्वक मृत्यु र शरीर दान

विचार/दृष्टिकोण |




नरेन्द्रजङ्ग पिटर

कोभिड महामारी अझै सकिएको छैन, नयाँनयाँ औतार (भेरियन्ट) देखिँदैछन् । राजनीतिक दल चुनावमा हेलिँदैछन् । न्याय क्षेत्रमा चलेका रत्यौलीको अझै निकास निक्लेको छैन । संवेदनशील रणनीतिक भूगोलको बहसमा एमसीसी र बीआरआई छन् । राजनीतिमा या त भक्तरामको बिगबिगी छ या तिघ्रेहरूको । विश्वासको क्षय र निराशाको हत्या, वर्तमानका चुनौती र निकासबारे सशक्त तर्कपूर्ण लेखेर आशावाद जगेर्ना गर्नुपथ्र्याे तर यो आलेखलाई भने मृत्युपछिको अङ्ग दान, शरीर दान, स्वैच्छिक मृत्युबारे केन्द्रित गराउँदै छु ।

सोचेँ, “जब जीवन नै प्रयोगशाला हो भने कुहिएर, सडेर खरानी बन्न जाने मृत शरीर जीवविज्ञानका विद्यार्थीलाई किन नदिने ?” जब मेडिकल कलेजसँग शरीर दान सम्झौता गरेँ, केही दिन त आफन्तजनबाट आएका प्रतिक्रियाले हैरान नै बनायो । “लौ दस दान वैतरणी गरिसकेछौ, हाइहाइ भएछौ” भन्न थाले । जवाफ थियो, “मैले आत्महत्या गर्न लागेको होइन । जीवन जिउने हो, कसैका लागि त के लाग्छ भन्दा पनि मरेपछि शरीरलाई माटो खरानी बनाएर के फाइदा ? म विज्ञानपथको मान्छे, स्वर्गको आस र नर्कको भय पनि त छैन नि ।” कोरोना महामारीमा मृत्यु अति सस्तो र जीवन महँगो भयो । मर्नु र बाँच्नुको अर्थ खोजिँदै छ । मरेर बाँच्नु र बाँच्दाबाँच्दै मर्नुका फेरि बहस उठे ।

संस्कृतिविद् सत्यमोहन जोशी (१०२ वर्ष) दम्पती पछिल्लो शरीर दान दिने व्यक्तित्व हुनुहुन्छ । वरिष्ठ पत्रकार भैरव रिसाल र सुशीला रिसाल (स्वास्थ्यकर्मी) दम्पतीले २०६५ चैत २५ मा दानपत्रमा हस्ताक्षर गर्नुभयो । झापाको दमकस्थित मेची सहकारी संस्थाले १३ वर्षदेखि शरीर दानप्रति प्रोत्साहित गरिरहेको छ । अहिलेसम्म विभिन्न शिक्षण अस्पतालसँग दान सम्झौता गरेका झन्डै २० जना शरीर दान लिनुभन्दा क्याडभर खरिद गर्न चाहन्छन् मेडिकल कलेज । शरीर दान गर्न उत्सुक सयभन्दा धेरै छन् । महामारीको प्रकोपसँगै अस्पतालले दान स्वीकार गर्ने/नगर्ने संसयमा छ । मृतक कोरोना लागेको हुनु भएन ।

अङ्ग दान वा शरीर दान
विश्वास र आस्थाले मानिसका चेतनालाई प्रभाव पारेर भूमिका तय गर्छ । आफ्नै विश्वासले पनि पुनः परीक्षा लिइरहन्छन् । समयसँगै सत्य पनि फेरिँदै जान्छन् । सचेत मान्छे आलोचनात्मक चेत राख्छन् र व्यक्तिन्छन् । हरेक मानिसले जिन्दगीलाई सम्मानपूर्वक जिउने कला खोजिरहेको हुन्छ । समय र मौका कति पुँजीकरण गर्न सक्यो ! क्षमताको कुरा हो । हरेकलाई जिउँदामा स्वाभिमानपूर्वक जिउने, मरेपछि पनि सम्मान र कृति शेष रहोस् भन्ने चाहना हुन्छ । त्यसैले मान्छेलाई मानवमा फेर्दै सत्कर्मप्रति जागरुकता बढाउँछ । हरेकको जिन्दगीको समीक्षा मृत्यु हो । मृत्युलाई कसरी बुझ्ने भन्नेबारे आआफ्ना मान्यता छन् । मृत्युपछिको शव व्यवस्थापन पनि संसारमै आआफ्ना संस्कारअनुसार हुन्छ ।

आजको झन्डै ४० हजार वर्ष अघिदेखि सभ्यताकोे विकासक्रममैै शव व्यवस्थापन सुरु भयो । मृत्यु सत्य भए पनि संस्कार आस्थासँग जोडिएको हुन्छ । अध्यात्म र भौतिकवादीका पनि विश्वास फरक हुन्छन् । अध्यात्मवादीमा पनि पुनर्जन्म मान्ने र नमान्नेमा फरक छ । युद्ध र महामारीसँगै परम्परागत संस्कार र मान्यता भने भत्किन्छन् । कोरोना कालमा धेरैको अन्तिम संस्कार वैदिक तरिकाले हुन पाएन ।

मृत्युपछिको शरीर दानको कानुनी प्रावधान भए पनि हकवालालाई नेपालमा अझै बाध्यात्मक कानुनी अवस्था छैन । अझ स्वैच्छिक मृत्युका त यथोचित बहससमेत हुन सकेका छैनन् । स्वैच्छिक मृत्यु र आत्महत्यालाई एउटै विषय हो भनेर बुझ्नेहरू पनि छन् । रक्तदानलाई जीवनदान हो भन्ने अझै पूर्ण आत्मसात् नगरिसकेको समाजमा अङ्ग दान, शरीर दान र स्वैच्छिक मृत्युको बहस आम रूपमा अझै नहुनु स्वाभाविकै हुन्थ्यो । अहिले नेपालमा मृत्युपछि शरीर दान दिने जीवित बीस जनाभन्दा धेरै छन् भने दिन चाहने सयभन्दा सङ्ख्या माथि छ । नेत्र दान, चर्मदानजस्ता अङ्ग दान दिन सम्झौता गरेकाहरू हजारौँमा छन् ।

देशमा अझै स्वैच्छिक मृत्युको कानुनी अधिकार भने छैन । अङ्ग दानले धेरैले पुनर्जीवन पाएका छन् । प्राकृतिक रूपमै जगेडा रहेका मिर्गौलाजस्ता अङ्ग सहजै दिन सकिन्छ । लिभर, बोनम्यारो जस्तो अंशमा अङ्ग दान भइरहेका पनि छन् । मृत्युपछि पनि मानव शरीरका १० अङ्ग काम लाग्छन् तर ती सबैलाई समयमै सुरक्षित गर्ने अङ्ग बैङ्क अझै नभएकाले केही मात्र प्रत्यारोपण गर्न सकिन्छ । मेडिकल कलेजमा राम्रा क्याडभरको अभाव टार्न शरीर दान चिकित्साशास्त्रका ज्ञानार्थी, विद्यार्थी र शिक्षार्थीका लागि उपयोग गरिन्छ । अङ्ग दान र मृत्युपछिको शरीर दानले अध्ययन र अनुसन्धानका लागि स्वास्थ्यविज्ञानमा केही थप योगदान दिन सकिन्छ ।

पूर्वप्रधानमन्त्री केपी ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण स्वदेशमै गरेर स्वकर्ममा झन् सक्रिय भएपछि विज्ञानको चमत्कार मात्रै हैन, नेपालको चिकित्सा क्षेत्रप्रति पनि थप विश्वास जगायो । विज्ञानले गरेको अभूतपूर्व विकास र प्रभावले सामान्यजनको सोच्ने तरिका क्रमशः फेरिँदैछन् । देशमै हजारौँ सङ्ख्यामा भइरहेका अङ्ग दानले जीवनप्रतिको आशा, दानप्रति समाजमा नयाँ परिभाषा र सोच पनि पलाउँदै छ । पानी नचल्ने र छोइछिटो गर्ने धार्मिक समाजमा पनि रगत र कृत्रिम अङ्ग भने चल्ने भएकाले मानवतावादी चिन्तनले समाजिक मनोविज्ञानमा अनौठो हस्तक्षेपसमेत ग-यो ।

अङ्ग दान ः अङ्ग दान र क्रयविक्रय फरक विषय हुन् । २०५५ मा अङ्ग दानले कानुनी रूप लिएपछि आफन्तले नातेदारलाई अङ्ग दान गर्न सहज भएको हो । त्यससँगै नक्कली नातेदार तयार गर्ने र नातेदारका हित अनुकूल प्रयोग भएका घटना पनि यदाकदा देखिन्छन् । मानव अङ्ग क्रयविक्रयको अन्तर्राष्ट्रिय गिरोह पनि चर्चामा आएकै हुन् भने मेडिकल टुरिज्म त्यसै फस्टाएको हैन । सरगोसी, धनाढ्यले गरिबसँग किनेर अङ्ग प्रत्यारोपण र किनबेच हुनु चिन्ताका विषय भने हुन् । अझ अन्तर्राष्ट्रिय गिरोहले गरेको मिर्गौलाको कृत्रिम अङ्गको कारोबारले काभ्रे, होक्सेको (पाँचखाल) एउटा गाउँ नै सखाप भयो ।

शरीर दान ः २०७५ मङ्सिर १५ गते नेपालकै शरीर दानका पहिलो जोडी वरिष्ठ पत्रकार भैरव रिसाल र सुशीला रिसालको संयोजकत्व एवं कान्छो शरीर दानकर्ता स्वयं पङ्क्तिकारको व्यवस्थापनमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्य र पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको विशिष्ठ अतिथिको उपस्थितिमा अन्तरसंवाद भयो । कार्यक्रममै सयभन्दा धेरैले शरीर दानको घोषणा गरे । अङ्ग दानबारे अङ्ग प्रत्यारोपण केन्द्रका प्रमुख डा. पुकार श्रेष्ठ र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. अर्जुन कार्कीले विषयको गाम्भीर्यबारे वैज्ञानिक धारणा राखे ।

सम्झियाँै– शिक्षा क्षेत्रका मूर्धन्य व्यक्तित्व सञ्जीवनी हाइस्कुल धुलिखेलका पूर्वप्रधानाध्यापक दुर्गाप्रसाद शास्त्री, कवि, लेखक तथा राजनीतिकर्मी क्षेत्रप्रताप अधिकारी र पछिल्लो शरीर दाता दाहाल यज्ञनिधि ‘जदौ’जस्ता उदाहरणीय व्यक्तित्वलाई ।
स्वैच्छिक मृत्यु ः स्वैच्छिक मृत्यु र आत्महत्या एउटै विषय हैनन् । हरेक मानव सम्मानपूर्वक बाँच्न र मर्न चाहन्छ तर जन्म र मृत्यु मान्छेको इच्छामा भर पर्दैन । जीवनका आखिरी समय कसैको पनि नियन्त्रणमा हुँदैन । सम्मानपूर्वक बाँचेका व्यक्तित्वलाई पनि असाध्य रोग र अवस्थाले आत्मग्लानि वा अपमानित अवस्था ल्याइदिन सक्छ । मष्तिस्काघात, पक्षाघात, असाध्य पीडामय क्यान्सर, अल्जाइमर, पारकिन्सन्स् जस्ता रोगले व्यक्ति मात्रै गल्दैन, परिवार पनि आजित हुन्छ ।

अस्ट्रेलियाको भिक्टोरिया प्रान्तका प्रमुख डेनियल एन्ड्रु र स्वास्थ्यमन्त्री जेनी मिकालेसले स्वैच्छिक मृत्यु विधेयक पुष्टि गरिसके भने नेदरल्यान्डमा यसै वर्ष मात्र १० हजार १५६ जनाले इच्छा मृत्युको आवेदन दिएको स्वास्थ्यमन्त्री तथा डच सांसद ह्युगो डी ज्वोगले संसद्लाई जानकारी गराउनुभयो । स्वैच्छिक मृत्युमा धेरै प्रावधानमा नागरिक समाज, उमेर र अवस्था, स्थानीय राजनीतिक र प्रहरी एवं प्रशासनिक अवस्थाको सरोकार र सिफारिस राखिएका हुन्छन् । अझ सामाजिक सुरक्षा राज्यले नलिएको देशमा त त्यो अवस्था झनै भयावह हुन्छ ।

सन् १९९५ मा अस्ट्रेलियाको नर्दन टेरिटोरीले इच्छामृत्युसम्बन्धी विश्वकै पहिलो कानुन लागू ग-यो । सो कानुनअनुसार होस ठेगानमा भएका असाध्य रोगी वयस्कले मर्ने मन भएँ भनेर डाक्टरसँग सहयोग माग्न सक्थे । जसले घातक दबाई दिएर त्यस्ता रोगीलाई मर्न सघाउन सक्थे । जब त्यो कानुन लागू भयो, त्यसले ठूलो आक्रोश पैदा ग-यो । केही महिनाभित्रै अस्ट्रेलियाको सङ्घीय सरकारले त्यसलाई उल्ट्यायो । आज अस्ट्रेलियाका छमध्ये पाँच राज्यमा इच्छामृत्युको कानुन छ । इच्छामृत्युको कुनै न कुनै स्वरूप अहिले एक दर्जन मुलुकमा अभ्यासमा छ । स्पेन र कोलम्बियाजस्ता केही मुलुकमा इच्छामृत्युको कानुन निकै उदार छ ।

आत्महत्या
आत्महत्या भनेको जीवनदेखि थाकेको, हारेको, पछुताएको, समस्यासँग जुझ्न नसकेको डरपोकको अपराधपूर्ण काम हो । मूर्खको मुख्र्याइँ हो, जो मरेपछि ती सबैबाट उम्कन्छु भन्ने सोच्दछ । अझ तीव्र प्रतिस्पर्धाबाट गुज्रिरहेको पँुजीवादले बढाएका उग्र महìवाकाङ्क्षा पूरा हुन नसक्ने अवस्थामा छाएको निराशाले मान्छे सङ्घर्षबाट पलायन भएर आत्महत्या पथ रोज्न पुग्छ । सामाजिक लाज र घृणादेखि आतङ्कित भएर जीवन ध्वस्त गर्न चाहन्छ । त्यसैले आत्महत्या गर्नेप्रति कसैले पनि मायामोह, क्षमा, सम्मान नगरेर घृणा गर्छन् । प्रायजसो धर्मग्रन्थमा आत्महत्यालाई पाप भनिएको छ ।

अन्त्यमा : अङ्ग दान दिने वा शरीर दान दिनेलाई एउटा चिन्ताले सताइरहेको भने हुन्छ । कतै हाम्रो शवबाट उत्तराधिकारीले इच्छाएको संस्थालाई आफ्नो अङ्ग वा शरीर दान पो नदेलान् कि भन्ने । त्यो नेपालको प्रचलित कानुनले हकवालालाई बाध्यात्मक व्यवस्था गरेको अझै छैन । शरीरलाई स्वर्गीय अपेक्षाले हकवाला इच्छाएको स्वस्थ विज्ञानशालालाई नदिएर लास जलाइदिने हुन् कि ! कतै गाडिदिने पो हुन् कि ! आफ्ना अन्तिम इच्छा, हकवालाका इच्छा र विश्वास, उत्तराधिकारीका आध्यात्मिक मान्यताका फरकले हाम्रा इच्छा कतै खरानी वा माटो त बन्ने हैनन्, चिन्तत छन् ।

मानव चोलामा आत्मसम्मानका साथ बाँच्ने, आत्मसम्मानका साथ मर्ने मानव अधिकार हो । अर्थ फरक हुन सक्लान् तर यसैका लागि ऊ सङ्घर्षरत रहन्छ । इतिहासले भन्छ– आर्थिक उत्तराधिकारी भए पनि भावना, विश्वास, सोच र भूमिकामा भने कोही पनि कसैको हकवाला हुनै सक्दैनन्हुँ/दैनन् । त्यसैले राज्यको दायित्व उसका नागरिकको अन्तिम इच्छा पूरा गर्न वैधानिक व्यवस्था गर्नु हुन जान्छ । हरेकलाई जीवन र मृत्युलाई कसरी बुझ्ने भन्ने विषयले सताएको हुन्छ । कतिपय यहलोक र परलोकबारे चिन्तित हुन्छन् । पङ्क्तिकार भने विज्ञान मान्छ, त्यसैले स्वर्गीय ढोका हुन्छ भन्ने अन्धविश्वासयुक्त चेतनालाई शरीर दान चुनौती हो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?