logo
२०८१ बैशाख ११ मंगलवार



बौद्धिक तप्काको भूमिका

जनमत प्रभावित गर्न सबैभन्दा राम्रो उपाय बुद्धिजीवीको चेतनालाई दबाउनु वा अन्यत्र मोड्नु हो

विचार/दृष्टिकोण |




नरेन्द्रजङ्ग पिटर
चुनाव लाग्यो । अब तर्क उत्पादन उद्यमका काम सुरु भए । हरेक राजनीतिक पार्टीका बुद्धिजीवी सङ्गठन छन् । पार्टी नेतृत्वको आशयअनुसार उनीहरू नीति, विधि, तर्क उत्पादन, जनमानसको व्यवस्थापन, समस्या हलका विधि र उपाय निकाल्न सक्रिय हुन्छन् । मिडिया पनि समाचार र आलेख नियाल्दा सूचना, कूसूचना, भ्रमित सूचना र प्रायोजित सूचना एकापसमा प्रकाशन/प्रसारण भिडन्तमै छन् । मिडिया साक्षरताको कमीले तिनीहरूका बीचका अन्तर छुट्याउन कठिन भइरहेको छ ।

सामान्य अर्थमा विशेषज्ञ वा बुद्धिजीवी पार्टीका मस्तिष्क वा सल्लाहकार हुनुपथ्र्यो । प्रायजसोः पार्टीको नेतृत्व तह ‘सर्वज्ञ’ भएकाले कसैको सल्लाह, सुझाव आवश्यकता नै उनीहरूलाई पर्दैन, लिइँदैन । सल्लाहकार त हुन्छन् तर उनीहरू मानार्थ सदस्यमा मात्र । नेपालको सन्दर्भमा बुद्धिजीवी अहिले व्यङ्ग्य शब्द बनेको छ ।

चेतनाले भूमिका तय गर्ने हुँदा संसारका सबै मानिस बुद्धिजीवी हुन् तर ऊ बौद्धिक नहुन पनि सक्छ । आखिर के त्यस्ता विषय छन् जसको सामना हरेक युगले गर्नुपरेको हुन्छ र बौद्धिकले सम्बोधन गरेर नै आफ्नो दायित्व निर्वाह गरेका हुन्छन् ! ती हुन्– तथ्य र तर्कसहितको सत्य आधारित नयाँ र युगीन बहस सुरुवात गर्नु वा जुन बहस पहिल्यै कहिल्यै उठेका थिएनन् वा उठे पनि औचित्य साबित गर्न सकेका थिएनन्, मूर्त रूप पाइसकेको थिएन ।

विधागत विषयमा जहिले पनि नयाँ तरिकाले बहस उठिराखेका हुन्छन् तर मूर्त रूप लिन पाएका हँुदैनन् । त्यसैलाई सहज, सबल र तार्किकवाणी दिएर सम्बोधन गर्न बाध्य पार्दै जनमानसमा मानसिक ऊर्जा छर्ने काम नै बौद्धिक समुदायको हो । त्यसले भ्रमित यथास्थितिलाई चुनौती दिँदै अग्रगमनको सपना देखाउँदै कार्यान्वयनका लागि उकास्छ । तत्कालीन समयले झेल्नुपरेका समस्या र आन्दोलनबाट आफूलाई टाढा राख्दै राजनीतिक सङ्घर्षमा जोडिन चाहँदैन भने कसैले पनि जीवन्त अनुभवले जिम्मेवारी निभाउनै सक्दैन ।

पशुले आहारा खोजेझैँ मानिसले पनि रहस्य खोज्छन् । विगतमा कैयौँ नेपाली बौद्धिक सो मौलिक भूमिकामा उदासीन देखिए पनि ।
अहिले पनि अधिकांश बुद्धिजीवी तप्काको प्रेरक शक्ति स्वार्थ नै बनेको छ । त्यसैले विषय कति न्यायोचित, युगीन, मानव केन्द्रित छ वा छैन ? नसोची कति फाइदा छ ? भन्ने सोच्न थाल्छ । जब मान्छे स्वार्थबाट सञ्चालित हुन्छ, बदलाबाट उक्साइन्छ तब आग्रह र स्वार्थ नै आदर्श बन्ने गर्दा ऊ सफल व्यवसायी त बन्न सक्छ, तर बुद्धिजीवी बन्न सक्दैन । अहिले बजारको तीव्र्र हस्तक्षेपले मानवीय सोच जबरजस्ती फेरिएका छन् ।

उपभोक्तावाद जहिले पनि वस्तुबाट मानवतामाथि रजाइँ गर्दै चेतनामा प्रभाव पार्ने गर्छ । त्यो कथनीमा हैन करनीमा देखिन्छ । बजारमा गर्भे बच्चा र आर्यघाटका मुर्दा पनि ग्राहक बन्ने गर्छन् भने चेतनामा असर नपर्ने त कुरै भएन । त्यसैले अप्राज्ञिक भूमिकाबाट गुज्रिएको बुद्धिजीवीको दृष्टिबाट दृष्टिकोण, मस्तिष्कबाट चेत र हृदयबाट संवेदना झिकिएपछि बजारको दास बन्छ नै । त्यसैकारण कैयौँ बुद्धिजीवी असहमतिमा रचनात्मकता र सहमतिमा विवेक पु-याउन सक्दैनन् र चाहँदैनन् । त्यसको असर समग्र राजनीतिमा देखा पर्दै गयो ।

अझ आन्दोलन, इतिहास र सांस्कृतिक चरित्र निर्माणमा प्रभाव पार्दै गयो । राष्ट्रिय मनोदशा प्रभावित हुँदै गए । विषयको समग्रतालाई ध्यान दिएर अंशलाई जोड दिइयो भने गतिशील यथार्थ पक्रन सकिन्छ । हाम्रो चाहनाअनुसार मात्र परिवेश हाकिँदैन । कुनै पनि मानिस धुर्र्त र चलाख त हुन सक्ला तर उसँग वैज्ञानिक दृष्टिकोण हुनैपर्छ भन्ने छैन । विज्ञानबोध बेगर एउटा विज्ञानपुत्र शिक्षित बन्न सके पनि वैज्ञानिक र बौद्धिक बन्न भने सक्दैन । तब एउटा यन्त्रचालित फगत बुद्धिजीवी (बुद्धि व्यापार गरेर जीवीकोपार्जन गर्ने) बन्न पुग्छ ।

बजार संस्कृतिको दबाब झेलेको बोझयुक्त दिमाग सधैँ सिर्जनाको बाधक बन्छ । उ कुटिल, योजनाकार, कुशल व्यावसायिक बन्न सक्ला र सुविधाको जोहो गरेर सनातनी समाजमा औकात प्रदर्शन गर्न पनि सक्ला तर युगीन बनेर दायित्व निभाउन सार्वभौम बुद्धिजीवी भने कदापि बन्न सक्दैन । अर्काेतर्फ, सामान्यजनलाई अर्कैैको विचारमा बाँच्न राम्रो लाग्छ र बानी पनि परिसकेको हुन्छ । पढे लेखेको तेस्रो पक्ष पनि छ जो आग्रहबाट धारणा बनाउँदै त्यसैबाट हाँकिन्छ । त्यस्ता आग्रहपीडित शिक्षित मानिस मनोरोगी पनि हुन्छन् । उनीहरू समय र समस्यासँग जोडिन कहिल्यै चाहँदैनन् । जबरजस्ती विगतका विश्लेषणलाई पुष्टि गर्न थाल्छन् न कि, आत्मा समीक्षा गर्न तर्फ । विगतका बुद्धिजीवीका पाँच प्रकारका विशेषता
१. एउटा ठूलो जनशक्ति यो देशमा अब केही पनि हुँदैन, केही गर्न पनि सकिँदैन भनेर निराश हँुदै ज्ञान र सीपलाई माल बनाएर पश्चिमा श्रम बजारतिर लाग्यो । उनीहरूको महत्व न राज्यले बुझ्यो, थेग्न सक्यो न त उनीहरूले बुझाउने प्रयासै गरे । अति सुविधाको भोक मानवलाई लतार्छ, घिसार्छ । प्रतिभालाई धान्ने न योजना बन्यो न त मनोदशा तयार भयोे तर अधिकांश यो शक्तिले अग्रगमनका लागि अन्तर्राष्ट्रिय जनमत तयार पार्ने काम भने ग-यो ।
२. यथास्थितिवादी सत्ताको बफादार सल्लाहकार बनी अग्रगमनको सक्रिय विपक्षमा उभियो ।
३. आदर्शको वकालत गर्न विकासे स्वयंसेवक बनी लोकप्रिय आवरणमा सक्रिय रह्यो । त्यसमध्ये कैयाँै विदेशी शक्तिका प्रतिनिधि समेत बने । उनीहरूले अग्रगमन र यथास्थिति दुवैलाई समान रूपमा व्याख्या विश्लेषण गरे पनि मूल रूपमा आमूल परिवर्तनको विपक्षमा उभ्याउँदै व्यवसाय फस्टाए । लोकप्रिय आवरणमा धन्दा फलाउन र फुलाउनै ध्यान केन्द्रित गरे ।
४. फासीवादी सत्ताको मतियार नबन्दै अग्रगमनको आशा र अपेक्षा गरेर पेसागत आवरणमा सुरक्षित हुँदै आस्था बचाए ।
५. तत्कालीन नियम र कानुनको परिधिमा रहेर त्यसैमा टेक्दै अग्रगमनको नेतृत्वदायी भूमिका निभाए ।

हरेक देशमा सङ्कटको घडीमा बौद्धिक क्षेत्र राज्यबाट के लिने भन्दा पनि के दिन सकिन्छ भनेर विज्ञापनरहित भूमिकामा जोडिन्छन् । थिङ्क ट्याङ्क भएर सहजकर्ताको भूमिकालाई अभियान कर्तामा फेरेर दायित्व निभाउँछन् । त्यसका लागि यथार्थबोध गर्न गतिशील चेतनाले नै लैस हुनुपर्छ । चेतनालाई ‘अप’ गरेर मात्रै नयाँ ज्ञानलाई अझ समृद्ध पार्न सकिन्छ । ऐतिहासिक भूमिकालाई गुणात्मक पार्नुपर्ने आवश्यकता छ सामान्य सुधार मात्र पर्याप्त हुँदैन । सनातनी बौद्धिकले या त आफूलाई उपदेशक या त द्रोणाचार्यमा सीमित पारेर ज्ञान र बुद्धिलाई बदल्नेभन्दा पनि बुझ्ने र दीक्षा दिनेमा मात्र सीमित पारे वा सुविधाको जोहोमा खर्चे ।

सामान्यजन र सम्भ्रान्तजनबीचको खाडल निकै गहिरो हुन्छ । सोच्ने भाषा, बोल्ने भाषा, काम गर्ने भाषा र सपना देख्ने भाषा पनि भिन्नाभिन्नै हुन सक्छन् । अहिले झुटो र साँचो बीचमा अनौठो घुलमेल भइरहेको छ । मिथकलाई सत्यापिद गर्न कल्पनाशास्त्रमा तर्क कोरलिँदैछन् । प्रतिरक्षाको सरल उपाय भनेको नै पहिलो प्रहार हो । अरूद्वारा उत्पादित समस्या बेहोर्न बाध्य भएकाहरू त्यसलाई चिर्ने र तिनीहरूलाई यथाशीघ्र हल गर्ने उपाय भनेकै विचारयुक्त पहलकदमीले मात्रै हो । त्यसको अगुवाइ पनि आग्रहहीन बौद्धिक तप्काले मात्र गर्न सक्छ ।

हरेक आन्दोलन, सङ्घर्ष र अभियानले नवचेतना र महìवाकाक्षाङ्को अनौठो आवेग तयार गरेर राजनीतिक ऊर्जा पैदा गर्छ । त्यसले प्रभुत्वशाली वर्गविरुद्धको चेत तयार गरेर उन्मुक्तिको सपना मात्रै देखाउँदैन, डो-याउँछ पनि । त्यसको यथाशीघ्र उचित व्यवस्थापन गर्न नसके निराशा पनि त्यत्तिकै छाउँछ । परिणाम सामाजिक बहिस्कृत शक्तिहरूले लोकप्रिय नारामा खेलेर गुमेको औकात हत्याउने कोसिस गर्छन् । औचित्यहीन र अलोकप्रिय विचारले युगीन नारालाई हत्यायो भने आग्रही र प्रायोजित खेल सुरु हुन्छ । तब ‘बौद्धिक तप्का’ बरालिन्छ । नैतिक रूपले पराजित र बौद्धिक रूपका भ्रष्टहरू नै बुद्धिजीवीका आवरणमा गतिशीलतालाई ब्रेक लगाउने कोसिस गर्न सक्छन् ।

आग्रह बौद्धिकताको सबैभन्दा ठूलो दुश्मन र बाधक हुन्छ । बुद्धि र विवेकलाई माल बनाएर विशुद्ध व्यावसायिक (कन्सलटेन्ट) मात्र दरिन्छ । मानवीय गरिमा जब क्रय–विक्रयमा फेरिन्छन् तब नैतिकताको अन्त्य त्यही विन्दु बनेर विसङ्गतिको सुरुवात हुन्छ । स्मृतिशेष कथाकार गोव सिंह प्रतिअर्ती कथामा भन्छन्– एउटा शारीरिक नपुङ्सकले अर्को नपुङ्सक जन्माउन सक्दैन तर एउटा बौद्धिक नपुङ्सकले एकै पटक असङ्ख्य नपुङ्सक जन्माउन सक्छ ।’ जब सड्न थाल्छ जति धेरै बौद्धिकता त्यति नै दुर्गन्ध पनि । जति उचाइमा पुग्छ पतन प्रक्रिया सुरु भयो भने त्यति नै तीव्र रसातलतर्फ गुल्टिन्छ । कुनै बेलाका सम्मानित बुद्धिजीवी फर्सी कुहिएको भन्दा नराम्रो तरिकाले सडे र गले । उनीहरूबाट अपेक्षित भूमिका समाजले पाएन ।

जनमत प्रभावित गर्न सबैभन्दा राम्रो उपाय बुद्धिजीवीको चेतनालाई दबाउनु वा अन्यन्त्र मोड्नु हो । त्यसले भौतिक सुविधा बल्झाउँछ । अति सुविधा नै द्वैध भाषा र भूमिकाको जनक हो । थाहा नपाउनु मुर्खहरूलाई लाटो तागत बन्छ भने जानकारी पाउनु कायरलाई आतङ्क । हाम्रो सबैभन्दा ठूलो शक्ति नै कहिलेकाहीँ सबभन्दा कमजोरी बन्न पुग्छ । यो कुरा स्वीकार्न प्रायोजित, विकासे, बजार संस्कृतिका अभ्यस्त वा आग्रह बुद्धिजीवी तयार हुँदैनन् । 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?