logo
२०८१ मंसिर ९ आईतवार



राससका छ दशक

विचार/दृष्टिकोण |




प्रकाश सिलवाल

सञ्चार क्षेत्रमा औद्योगिकीकरण र आधुनिकीकरणको प्रभाव पर्नु स्वाभाविक भए पनि यो मूलतः सेवामूलक व्यवसाय हो । जनतालाई सत्य, तथ्य र निष्पक्ष सूचना, शिक्षा र मनोरञ्जन पस्कने दायित्व लिएको सञ्चार क्षेत्र केवल व्यापारिक फाइदाका लागि मात्रै सञ्चालित हुन सक्दैन । पत्रकारिता क्षेत्रले आवाजविहीनको आवाजलाई सदैव शिरमा राखेर राज्य र नागरिकबीचको सेतुको काम गर्ने दायित्व लिएको छ ।

समृद्धिमा लम्कँदै नेपालजस्तो सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक राज्य संरचनायुक्त मुलुकमा आमसञ्चारको सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई अपनाइँदै आइएको छ । लोकतान्त्रिक प्रणालीको स्वतन्त्रतालाई अति उपयोग गर्ने नाममा अनेक स्वार्थका पक्षलाई सञ्चारमाध्यममा लाद्ने र जनजीवनका सही विषयवस्तुलाई ओझेलमा पार्ने वा जनतालाई नै प्रताडित पार्ने कार्यमा सञ्चार क्षेत्रलाई दुरुपयोग गर्ने संस्कृति पनि देखिएको छ । यस्तो स्थिमिा समाचार समिति (न्युज एजेन्सी) पत्रकारिताको भूमिका अग्र भागमा आउने गर्छ ।

समाचार समिति पत्रकारिताले समाचार र समाचारमूलक सामग्रीको उत्पादन गरेर छिटोछरितो र सुलभ रूपमा सञ्चारमाध्यमलाई उपलब्ध गराउँछ । गौरवको कुरा नेपालमा यसको एक मात्र मुख्य दायित्व राष्ट्रिय समाचार समिति (रासस)ले लिँदै आएको ठीक ६० वर्ष पुगेको छ ।

सञ्चार क्षेत्रभित्रको एक महत्त्वपूर्ण आयाम बनेको समाचार समिति पत्रकारिता र नेपालको सङ्घीय प्रणाली कार्यान्वयनका सन्दर्भमा यस क्षेत्रमा विभिन्न चासो र जिज्ञासा देखिन्छ । मूलधारको सञ्चारमाध्यमका लागि पृष्ठ भागमा रहेर परिपूरक पत्रकारिता गर्ने समाचार समितिलाई सर्वसाधारणले प्रत्यक्ष रूपमा पहिचान नपाउन सक्छन् । वास्तवमा समाचार समिति पत्राकारिताको मुहान (स्रोत) हो । समाचार समितिमा मात्रै निर्भर रही सञ्चारमाध्यम सञ्चालन गर्नेका लागि समाचार समिति एक अपरिहार्य बन्न पुगेको छ । समाचार समिति पत्रकारिता सञ्चारमाध्यमको महìवपूर्ण स्रोत र आधार हो, जसले छिटो, छरितो र विश्वसनीय समाचार सामग्री तयार गरी विभिन्न सञ्चारमाध्यमलाई उपलब्ध गराउँछ ।

सामान्यतः हरेक मुलुकमा राज्यको समाचार समिति (स्टेट न्युज एजेन्सी) हुन्छ । फ्रान्सका अनुवादक तथा विज्ञापन व्यावसायी चाल्र्स लुइस हवासले पेरिसमा सन् १८३५ मा एजेन्सी फ्रान्स प्रेस (यसलाई त्यहाँको भाषामा एजेन्से फ्रान्से प्रेसे भनिन्छ) स्थापना गरेपछि समाचार समिति पत्रकारिताको जग बसेको हो । सुरुमा यो हवास एजेन्सीकै नाममा स्थापना भएको थियो । हवासलाई यस विधाको जन्मदाता अर्थात् पिता पनि मानिन्छ । हवासले छिमेकी युरोपेली मुलुकबाट पेरिसमा आउने विभिन्न भाषाका अखबारमा प्रकाशित रोचक सामग्री फ्रान्सेली भाषामा अनुवाद गरी बुलेटिन निकालेर त्यहाँका पत्रपत्रिका, विभिन्न सरकारी र निजी कार्यालय, सङ्घसंस्थालाई बिक्री गर्ने काम गरे । उनको संस्था ब्युरो हवास हुँदै एएफपीको नामकरण भएको पाइन्छ ।

हवासको प्रभावकारिताबाट प्रेरित हुँदै विश्वमा समाचार समिति (संस्था)हरू स्थापना हुन थाले । संयुक्त राज्य अमेरिकामा एसोसिएट प्रेस (एपी – सन् १८४८), युनाइटेड प्रेस इन्टरनेसनल (एपीए), बेलायतमा रोयटर्स (सन् १८५१) र रुसमा टेलिग्राफ एजेन्सी अफ सोभेरियन स्टेट्स (तास – सन् १९१८), चीनमा सिन्ह्वा (१९३१), भारतमा युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) आदि समाचार समिति सञ्चालनमा आए ।

पत्रकारिता प्राध्यापनरत डा. निर्मलमणि अधिकारीले ‘आमसञ्चार र पत्रकारिता’ पुस्तकमा “पत्रकारिताको भाषामा एजेन्सी भन्नाले त्यस्ता समाचार संस्था हुन्, आफँैले कुनै मिडिया सञ्चालन त गर्दैनन् तर अरू मिडियाका लागि समाचार उपलब्ध गराउँछन्” उल्लेख गर्नुभएको छ । हुन त अहिले विश्वमा आफ्नै सञ्चारमाध्यम भएका समाचार समिति पनि छन् । फरक यति हो, आफैँले सञ्चारमाध्यम चलाएका समाचार समितिले पनि अन्य सञ्चारमाध्यम (छापा तथा प्रसारण)का लागि हुने गरी समाचार उत्पादन गरेका हुन्छन् ।

वि.सं. २०१८ फागुन ७ गते (राष्ट्रिय प्रजातन्त्र दिवसका दिन) निजी क्षेत्रबाट सञ्चालित तत्कालीन नेपाल संवाद समिति र सगरमाथा संवाद समितिलाई गाभेर सरकारी स्वामित्वको संस्थाका रूपमा राससको जन्म भएको हो । नेपालमा सबैभन्दा पहिले गोपालदास श्रेष्ठ, मदन शर्मा, इन्द्रकान्त मिश्र, उमाकान्त दास, गणेश मानन्धर, रामसिंह राजपूत आदिको प्रयासमा २०१६ पुस १ गते ‘नेपाल संवाद समिति’ खडा भएको थियो । सो संवाद समितिले नेपाली पत्रपत्रिकालाई मासिक रु. ५० तथा विदेशी पत्रपत्रिकालाई वार्षिक भारु १०० मा समाचार दिने गरेको थियो । त्यसको केही महिनापछि पशुपति पाण्डे, मणिन्द्रराज श्रेष्ठ, शङ्करनाथ शर्मा आदिको पहलमा २०१७ वैशाख ३० गते सगरमाथा संवाद समिति नामक अर्काे संवाद समिति खोलिएको थियो । दुवै संवाद समितिद्वारा आफ्नो नीतिमा ‘निष्पक्षतापूर्वक समाचार सङ्कलन एवं वितरण’ गर्ने उल्लेख गरेका थिए ।

दुवै संंस्था गाभिएपछि ‘नेपाल राज्यभरिका र विदेशका समेत निष्पक्ष एवं आधिकारिक समाचार तथा सूचना देशवासी तथा विदेशीले पनि जानकारी पाउन राज्यमा एकताको भावनाको वृद्धिका साथै ठोस जनमतको सिर्जनामा मद्दत होस् भन्ने उद्देश्य राखिएको थियो । देश तथा विदेशमा पूर्ण तथा वास्तविक समाचार एवं सूचनाको खोजी गरी प्राप्त भएका समाचार र सूचना प्रयोगकर्ताहरूमा वितरण गर्नुका साथै समाचारको समुचित आदानप्रदानसमेत गर्न एक राष्ट्रव्यापी राष्ट्रिय समाचार समितिको गठन र त्यसको स्वस्थ एवं मजबुत जग बसाल्न’ राससको स्थापना भएको पाइन्छ ।

वार्षिक रु. करिब १७ करोडको बजेट तथा करिब डेढ सय स्थायी, अस्थायी तथा त्यति नै सङ्ख्याका स्थानीय समाचारदाता जनशक्ति भएको राससले दैनिक सरदर सयवटा नेपाली, ४० वटा अङ्ग्रेजीमा अनुवादित, त्यति नै सङ्ख्यामा अन्तर्राष्ट्रिय समाचारका अनुवाद (अन्तर्राष्ट्रिय समाचार समितिका मूल समाचारको भर्सनसमेत), तस्बिर र अडियो उपलब्ध गराउँदै आएको छ । निकट भविष्यमा भिडियो सेवा पनि यसले सञ्चालन गर्दै छ । राससको नियमित ग्राहक रहेका विभिन्न माध्यमका करिब तीन सय सञ्चारमाध्यमले यसको सेवाबाट प्रत्यक्ष लाभ लिइरहेका छन् । साप्ताहिक वा मासिकका लागि मासिक रु. दुई हजार सात सय, अनलाइनहरूका लागि मासिक रु. पाँच हजार पाँच सय र ठूला सञ्चार गृहलाई युजरनेम प्रयोगका आधारमा थप शुल्क लिने यसको नियमित आम्दानी हो ।

यो शुल्क बजार मूल्यका दृष्टिले सर्वसुलभ हो । प्रतिलिपि अधिकारको कडाइका साथ कार्यान्वयन नभएको अवस्थाका कारणले अप्रत्यक्ष र अनधिकृत रूपमा राससका समाचारलाई प्रयोग गर्ने सञ्चारमाध्यमसमेत गणना गर्दा राससको व्यापकता र उपयोगिता यसका घोषित ग्राहकको सङ्ख्याको तुलनामा दोब्बर सङ्ख्यामा प्रभाव विस्तार भएको मान्न सकिन्छ । प्रयोग भएका समाचारमा राससको क्रेडिट दिन कञ्जुस्याइँ गर्ने, राससका समाचारलाई आफुखुसी तोडमोड र सम्पादन गरेर प्रयोग गर्नेहरूको सङ्ख्या पनि कम छैन ।
सञ्चार क्षेत्रमा विविध आयामको परिवर्तन देखा परिसकेको भए पनि राससको संरचना र सञ्चालनको स्थितिमा भने उचित योजना, पर्याप्त स्रोत र समन्वयको अभावमा अपेक्षित नवीनता आउन सकेको छैन ।

रासस अहिलेसम्म २०१९ सालकै ऐनका भरमा चलिरहेको छ । विश्व प्रसिद्धमध्येको एक समाचार समिति रोयटर्स (बेलायत)ले कुनै पनि स्वार्थ समूह र पक्षबाट अलग रही इमानदारिता, स्वायत्तता र स्वतन्त्रतालाई सधँै संरक्षित गर्दै उसले समाचारमाध्यम, समाचार समिति, प्रसारक, व्यवसायी र सरकारी संस्थालाई सेवा प्रदान गर्ने गरेझैँ राससले पनि आफ्ना सेवालाई निरन्तर प्रवाह गर्न सक्नेछ । यसका लागि राससको विद्यमान कानुन, संरचना र शैलीमा रूपान्तरण हुन आवश्यक छ । सङ्घीयतापछिको राज्य संरचनाको अवस्थामा हरेक स्थानीय तहगत आधारमा समाचारदाता (प्रतिनिधि) नियुक्त गरेर स्थानीय तह र समुदायका समाचारलाई नेपालीका साथै मातृभाषामा समेत प्रदेशगत ब्युरो (बुलेटिन)का आधारमा उत्पादन र वितरण गर्न सकिएमा नेपाली सञ्चारमाध्यम र राज्यका लागि थप लाभको विषय हुन सक्नेछ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप