डा. जगन कार्की
सन् १९८० मा साइबर करेन्सी नामबाट सुरु भएर २००८ मा बिटकोइनका रूपमा जन्म भएपश्चात् क्रिप्टोकरेन्सीको नामकरण भएको पाइन्छ । ओपन सोर्स सफ्टवेयरका रूपमा विकास भएर माइनिङ गर्ने प्रोसेसबाट माइनरलाई पुरस्कारस्वरूप प्रदान गर्ने अवधारणाबाट सुरु भएको बिटकोइनको मूल्य समयसँगै अकासिँदै गएपछि च्याउझैँ अनेकौँ क्रिप्टोकरेन्सी बजारमा आएका छन् । सन् २०२२ को सुरुसम्ममा आठ हजार जति क्रिप्टोकरेन्सी बजारमा आएको पाइन्छ । यी सबैमध्ये केहीले उपयोगिता दिन सके चल्नेछन् । बाँकी हराएर जानेछन् । क्रिप्टो सुरुवातको उद्देश्य अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलरभन्दा चुस्त सुविधा दिनु मुख्य रहेको देखिन्छ । केहीले वित्तीय साधनका रूपमा र केहीले आर्थिक संसाधनको रूपमा विकास गर्न खोजेको पाइन्छ ।
के हो क्रिप्टोकरेन्सी ?
वित्तीय प्रविधिमा आधारित क्रिप्टोकरेन्सी पछिल्लो अवस्थामा तीव्र रूपमा विकास र विस्तार भएका छन् । क्रेता र विक्रेताले कुनै पनि नियमनकारी संस्थाको अधीनमा नरही बिचौलियाको प्रयोग बिना इन्टरनेटमार्फत सुरक्षित रूपमा लेनदेन गर्न सक्ने र कसैले पनि कपी र ह्याक गर्न नसक्ने विशेष प्रकारको क्रिप्टोग्राफको ‘ब्लक चेन’ प्रविधिमा आधारित क्रिप्टोकरेन्सीलाई वित्तीय मुद्राका रूपमा पनि चर्चा गर्ने गरिएको छ ।
हालसम्म प्रयोगको हिसाबले चार प्रकारका क्रिप्टोकरेन्सी देखापरेका छन् । तीमध्ये डे.फी., एनएफटी, युटिलिटी टोकन्स्, स्टोर अफ भ्यालु टोकन्स् रहेका छन् । डिसेन्ट्रालइज्ड फाइनान्स अर्थात् विकेन्द्रित वित्त । यस्ता कोइन लेनदेन र किनबेच गर्ने उद्देश्यले बनाइएका हुन् । नन–फङ्गिबल टोकन (एनअफटी) चाँहि डिजिटल फोटो, गीत–सङ्गीत तथा डिजिटल सम्पत्तिलाई पृथक् कोडका रूपमा डिजिटल्ली सञ्चय गर्ने प्रविधि हो । त्यस्तैगरी, मूल्य सधैँ एकै प्रकारका रहने स्टेबल कोइनहरू पनि क्रिप्टो बजारमा रहेका छन् ।
क्रिप्टोकरेन्सी आफैँमा मुद्रा हैनन्, यसर्थ यसले मुद्राको प्रतिस्थापन गर्न सक्ने नभएर वस्तुको खरिद बिक्रीको स्पष्ट माध्यम नबनेर आफैँमा एक वित्तीय वस्तुको रूप मात्र लिनु र यसको खरिद बिक्री चाँहि देशअनुसारका राष्ट्रिय मुद्रामा हुने परिपाटीले यसले मुद्रालाई प्रतिस्थापन गर्न नसक्ने देखिन्छ ।
क्रिप्टोमाइनिङ अर्थात् निर्माण प्रक्रिया
बिटकोइन, इथेरियमलगायतका क्रिप्टोकरेन्सी कम्प्युटरको प्रयोग गरेर माइनिङ (उत्पादन) गर्ने गरिन्छ । यसरी माइनिङ प्रोसेसमा खरिद बिक्रीको प्रोसेस ब्लक चेनमा अध्यावधिक हुने गर्छ र उक्त व्यक्तिले सो काम गरेवापत शुल्कस्वरूप निश्चित ब्लकमा आफ्नो एक हिस्सा बनाउने गर्छ ।
यो प्रक्रिया माइनिङ सफ्टवेयरको मद्दतले बिटकोइनको ट्रान्जेक्सनको प्रक्रिया गरेर निश्चित गरिन्छ । माइनर्सले यसका लागि काम गर्छन् । प्रयोगकर्तालाई चाँडो ट्रान्जेक्सन गरिदिएवापत माइनरलाई निश्चित शुल्क प्राप्त हुन्छ । नयाँ ट्रान्जेक्नस कन्फर्म गर्न माइनरलाई एउटा ब्लकमा सामेल गर्नुपर्छ । योसँगै एक गणितीय हिसाब गरेको प्रमाण दिनुपर्छ । यो प्रमाणलाई जेनेरेट गर्न धेरै गाह्रो छ । यसका लागि करोडौँ हिसाबप्रति सेकेन्ड गर्नुपर्ने हुन्छ । विशेष ग्राफिक कार्डसहितको कम्प्युटर आवश्यक हुन्छ । युरोप, अमेरिकालगायत विभिन्न देशमा माइनर्सले ग्राफिक कार्ड र शक्तिशाली कम्प्युटर प्रयोग गरेर अत्यधिक ऊर्जा खपत गरेर वातावरणलाई असर गरेका गुनासो पनि आउन थालेका छन् ।
विश्वका दोस्रो नम्बरका धनाढ्य एलन मस्कले आफ्नो विद्युतीय टेस्ला कार खरिद गर्न बिटकोइनमार्फत गर्नसक्ने प्रबन्ध मिलाएका थिए तर बिटकोइन माइनिङ गर्दा वातावरण प्रदूषण हुने भन्दै बन्द गरिदिए । माइनिङका लागि नेपाललाई राम्रो अवसर रहेको केही विज्ञहरूको सुझाव रहेको पाइएको छ । चीनले पनि क्रिप्टोमाइनिङ खुला गरेर हाल बन्द गरेको छ । अन्य माइनिङ गर्ने देशहरूमा पनि ऊर्जा सङ्कट र ऊर्जा मूल्यवृद्धिका कुरा उठेका छन् । नेपालले यसका लागि नीतिगत र प्राविधिक पूर्वाधारलाई अभिवृद्धि नगरी सस्तो हाइड्रो ऊर्जा सदुपयोग गर्नका लागि मात्र भनेर माइनिङ खोल्न हतार हुनेछ ।
किनबेच र सरकारी नियमन ?
वित्तीय मुद्राको माउ मानिने बिटकोइनको अकासिएको मूल्यसँगै उदाएका सयौँ क्रिप्टो मुद्रा सरकारी नियमनभन्दा बाहिर रहेर स्वतन्त्र रूपमा सुरु गरिएका छन् । ती इन्टरनेटमा विभिन्न ब्रोकर, पेमेन्ट गेटवे र पेमेन्ट वालेटका एपहरूमार्फत किनबेच हुने गरेका छन् ।
क्रिप्टोकरेन्सीको नियमन र सरकारी निगरानी गर्न कठिनाइका कारणले हालसम्म सरकारी तहबाट किनबेच गर्न प्रवद्र्धन गरेको पाइएको छैन । युरोप, अमेरिका, अस्ट्रेलियाजस्ता देशमा बिटकोइनलाई किनबेच र आम्दानीबाट कर उठाउन सामान्य वित्तीय साधनका रूपमा हेरिएको छ । त्यसको प्रयोग गरेर किनबेच गर्ने या बैङ्किङ कारोबार भएको छैन । बिटकोइन र क्रिप्टोकरेन्सी मुद्रा नभएको कारणले नेपालमा नेपाल राष्ट्र बैङ्कले क्रिप्टो कारोबारलाई अवैध ठहर गरेको छ । यसैकारण सर्वसाधारण ठगिने र प्रविधिको ज्ञान नभएकाहरू फस्ने कुरालाई दृष्टिगत गर्दै यसको किनबेच र भुक्तानीमा प्रतिबन्ध लगाएको देखिन्छ ।
क्रिप्टोकरेन्सीको किनबेच पनि पैसा र वित्तीय प्रविधिमा पहुँच राख्ने जमातबीच मात्र सीमित रहेकाले यसलाई वित्तीय समावेशीको आधारका रूपमा प्रचार गरिनु केवल यसको किनबेच गराएर बजार भाउ बढाउने र कमाउने उद्देश्य मात्र निहित देखिन्छ । क्रिप्टोको वास्तविक मूल्य कसैलाई थाहा हुन्न र मूल्य पनि बजारको माग र आपूर्तिले निर्धारण गर्ने गर्छ । भारतमा पनि क्रिप्टोसम्बन्धी कुनै कानुन छैन । सरकारले क्रिप्टो खरिद–बिक्रीलाई अप्रत्यक्ष रूपले मान्यता दिएको देखिएको छ ।
क्रिप्टोको सुरक्षा
ब्लक चेन प्रविधि सुरक्षित भनिए पनि बेला बखत ठूलो मात्रामा ह्याक भएका खबर आउने गरेका छन् । सन् २०२१ मा मात्र १०० मिलियन अमेरिकी डलर बराबरका करेन्सी ह्याक अर्थात् अनलाइन चोरी भएको मिडियामा रिपोर्टमा उल्लेख छ । कालो धन सेतो बनाउने र आपराधिक काममा प्रयोग गर्ने जोखिमले गर्दा क्रिप्टोलाई नजिकबाट हेर्ने गरिएको छ । गत महिना मात्र उत्तर कोरियाका साइबर अपराधीले मिसाइल किन्न क्रिप्टो ह्याक गरेको रिपोर्ट संयुक्त राष्ट्र सङ्घले दिएको बीबीसीमा उल्लेख छ । उक्त रिपोर्टमा ५० मिलियन डलर बराबरको क्रिप्टो २०२१ मा ह्याक गरिएको जनाइएको छ ।
बजारको प्रभाव
देशमा अवैध रूपमा क्रिप्टोमा लगानी र कारोबार बढेसँगै गत साता भारतले क्रिप्टोकरेन्सीबाट हुने आम्दानीमा ३० प्रतिशत कर लगाएको छ । यसको साथै हरेक डिजिटल ट्रान्जेक्सनमार्फत हुने कारोबारमा एक प्रतिशत थप कर लाग्ने भएको छ । खरिद–बिक्रीबाट हुने आम्दानीमा ३० प्रतिशत कर लगाएर क्रिप्टोकरेन्सीलाई डिजिटल सम्पत्तिका रूपमा मात्र दर्ज गरेको छ । यसलाई अप्रत्यक्ष रूपमा हेर्दा आम्दानीमा मात्र कर लाग्ने भनेर कारोबार गर्न खुलाएको पनि देखिन्छ । जसले गर्दा आम्दानी भए मात्र कर दिने हो भन्दै कारोबार गर्न हौसिनेहरू बढ्ने देखिन्छ ।
योसँगै नेपालमा यसको प्रभाव बढ्ने छ । जसरी नेटवर्क व्यापार गर्नेले धेरैलाई व्यवसायमा लगानी गराएर मनग्ये मुनाफा कमाउने गर्छन् । जोखिम सबैको टाउकोमा सेयर गर्ने र पुग्दो कमाएर धन्दा बन्द गर्ने गर्छन् । त्यसैगरी, क्रिप्टो माइनर्स र कारोबारीको हालसम्मको रणनीति भनेको धेरैभन्दा धेरै मान्छेलाई पैसा लगानी गर्न लगाएर यसको माग बढाउने साथै योसँगै मूल्य बढाउने देखिन्छ । नेपालजस्तो इन्टरनेट र विद्युतीय कारोबारमा धेरै दख्खल नभएको र कम प्रविधिमैत्री चेतना भएका ग्राहकलाई सजिलै आकर्षित गर्न सजिलो हुने भएकाले नेपाली केन्द्रित बजार प्रवद्र्धन गर्ने सम्भावना देखिन्छ । विदेशमा बसेका केही नेपालीले पनि क्रिप्टोलाई वनको काफलझैँ प्रचार गरेर आफूसँगै अरूलाई पनि लगानीका लागि अप्रत्यक्ष मार्केटिङ गर्ने काम सुरु भएको छ ।
राष्ट्रको पुँजी पलायन
क्रिप्टो आफंैँ पैसा नभएर पैसाले किनेर राखिने इलेक्ट्रोनिक वित्तीय साधन भएको हुँदा यसलाई किन्दा देशको पुँजी बाहिर जाने मात्रै होइन, नेपालजस्तो सूचना प्रविधि र इन्टरनेटको भरपर्दो विकास नभएको मुलुकमा किनेर सञ्चय गर्न पनि पूर्ण सुरक्षित नरहने सम्भावना उत्तिकै छ । किनेर राखिएका वालेटबाट ह्याक हुने घटना अधिकांश देखिएका छन् ।
परम्परागत बैङ्किङ क्षेत्रमा सेवा सुविधामा लाग्ने ट्रान्जेक्सन शुल्कले वित्तीय सेवा आधुनिक प्रविधिमैत्री सेवाभन्दा महँगो हुन थालेको जानकार बताउँछन् । त्यस्तै, ऋण प्रवाह, लगानी र बचतलाई पनि सुलभ ढङ्गले व्यवस्थित गर्न परम्परागत ढङ्गले चलेका बैङ्कलाई कठिन हुन थालेको छ । क्रिप्टो मुद्रालाई बजारमा खुला गरी सरकारी मुद्रालाई नै प्रतिस्थापन गर्न दिने कुरा देशको अर्थतन्त्र, नियमन र नियन्त्रण र अन्य कारणले पनि सम्भव छैन । यसर्थ सम्भव हुने भनेको सरकारले आफैँ वित्तीय मुद्राको निष्कासन गर्नेतिर अब ध्यान दिनुपर्ने देखिन्छ ।
खुला बजारमा लगानी गर्ने स्वतन्त्रता सबैमा भए पनि सुरक्षित वातावरण सिर्जना गर्नु सरकारको जिम्मेवारी हो । नेपालमा पनि ठगी र पुँजी पलायन रोक्न क्रिप्टोलाई गैरकानुनी ठहर गरिएको हुनुपर्छ । हुन पनि धेरैजसो क्रिप्टोका मूल्य उतारचढाव हुँदा साना लगानीकर्ता नै डुब्ने गरेका छन् । डलर र अन्य विदेशी मुद्राको मूल्य उतारचढाव जस्तै क्रिप्टोको मूल्य उतारचढाव हुने गर्छ । लकडाउनको समय केही विदेशमा बसेकाहरूले क्रिप्टोको काफल टिप्न ऋण गरेर गरेका लगानी डुबेर बिचल्ली भएका खबर आए । क्रिप्टो ट्रेडिङ र फरेक्स ट्रेडिङ जुवा खेलेझैँ बजारको एक–एक निमेषको खबरसँग मूल्य घटबढ हुने भएकाले सामान्य व्यक्तिले नबुझी लहैलहैमा लागेर लगानी गर्नु जोखिमपूर्ण छ ।