logo
२०८१ मंसिर ९ आईतवार



महाशिवरात्रिको महत्त्व

विचार/दृष्टिकोण |




दीर्घराज प्रसाई

आज महाशिवरात्रि । समस्त हिन्दु धर्मावलम्बीका लागि महत्त्वपूर्ण दिन । यस दिन नेपालको पशुपतिनाथ, शिव मन्दिर र भारत तथा विश्वका शिवजीको मन्दिरमा असङ्ख्य साधु, सन्त, तपस्वीलगायत हजारौँ तीर्थयात्रीको उपस्थिति रहन्छ । मानव कल्याणका लागि विषलाई आफ्नो कण्ठमा राखी त्यसको डाहाबाट मुक्त हुन त्रिशूलबाट जल निकाली कुण्ड बनाई त्यही कुण्डमा विराजमान भएकाले गोसाइँकुण्डको विशेष महत्त्व छ । अठार पुराणमा शिवको महिमा छ । शिव पुराण शिवजीको वयानको वृत्तान्त हो । हिमवत्खण्डको पुस्तकमा– ‘मरिचि, पुलह, ऋतु, भृगु, अत्री आदि ऋषिले पशुपतिनाथको पूजा गरेर बसेको’ उल्लेख छ । पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइँकुण्ड, बाराह क्षेत्र, जनकपुरधाम, लुम्बिनी, बौद्धनाथ धामजस्ता प्रसिद्ध धाम छन् । नेपालमा रहेका धाम, पवित्र मन्दिर र सयौँ तीर्थस्थलका साथै यहाँको सभ्यता र सांस्कृतिक वैभवको विश्वव्यापी मान्यता छ ।

पशुपतिनाथ विश्वभरका हिन्दुका लागि आकर्षणको केन्द्र बनेको छ । भारत र अन्य देशबाट लाखौँ तीर्थयात्री तथा साधुसन्त पशुपतिनाथको दर्शनार्थ आएका हुन्छन् । यहाँका हिमाल, पहाड, तराईका हर क्षेत्र, पवित्र नदी, ताल, धाम, जङ्गल, भूभागले सिञ्चित छ । उता भारतखण्डमा एक हजार वर्षसम्म मुसलमान र अङ्ग्रेजी साम्राज्यले हिन्दु र बौद्धका अस्मिता तोडफोड गरेर बिटुलो बनाउँदै आफ्नो भाषा, धर्म र संस्कृति लाद्ने काम ग¥यो । नेपालले एक मात्र पवित्र भूमिका रूपमा सुरक्षित हुँदै आफ्नो अस्मिता बचाउन सकेकाले नेपालको विश्वमा ठूलो प्रतिष्ठा छ । नेपालमा पशुपतिनाथको पुजारीका रूपमा दक्षिण भारतबाट भट्ट पुजारीको व्यवस्था छ । भारतका कैयौँ मन्दिर तथा धाममा नेपाली पुजारी रहने व्यवस्था छ । नेपाल तथा भारत हिन्दुधर्म दर्शनको उद्गम हो ।

महाभारतकालमा युद्धको समाप्तिपछि हिमाल जाँदा पाण्डवहरूले प्रायश्चितस्वरूप पशुपतिनाथको पूजा गरेका र लिच्छवि वंशका पहिला राजाले ‘विक्रमादित्य’को उपाधि धारण गरेर ‘वैशालाधिपति’का रूपमा पशुपतिनाथ र वज्रयोगिनीको तपस्या गरी शक्ति प्राप्त गरेर बत्तीसपुतलीमा आफ्नो सिंहासन कायम गरेका र विक्रम संवत् चलाएका थिए । उनैबाट कासीमा विश्वनाथको मन्दिर स्थापना गरिएको देवमाला वंशावली र हिमवत्खण्डमा उल्लेख छ ।

पशुपतिनाथमै विद्यावारिधि गरेका डा. गोविन्द टण्डन भन्छन्, “विन्ध्याञ्चल पर्वतदेखि दक्षिणका तैलिङ्ग ब्राह्मण पशुपतिनाथको पुजारी हुनुपर्ने परम्परा छ । ऋग्वेद वा साम्वेदी हुनसक्छन् । मन्दिरको पुजारी कृष्ण यजुर्वेदीय परम्पराका हुन्छन् । यजुर्वेदीय परम्पराका नेपाली विद्वान् पशुपतिनाथको पूजा गर्न योग्य व्यक्ति अहिले उपलब्ध छन्जस्तो लाग्दैन ।” पुजारीको सम्बन्धमा प्रताप मल्लले कर्नाटकको राजासँग सम्पर्कमा जाँदा कर्नाटक राजाले सहयोगीका रूपमा तान्त्रिकहरू ज्ञानानन्द र लुम्मकर्ण भट्ट नेपालमा आएका र पछि तिनै तान्त्रिक भट्टको मागअनुसार भट्ट पशुपतिनाथका पुजारी बनाइएको हो । अहिलेसम्म पशुपतिनाथको मन्दिरमा मूल भट्टसहित दक्षिण भारतका चार जना भट्ट पुजारी र १०६ जना नेवार भण्डारी छन् । पशुपति क्षेत्र देवपाटनमा जन्मिएका भण्डारीलाई मात्र पशुपतिनाथका पूजामा चलाइन्छ । भट्ट तथा भण्डारी गृहस्थ हुन्छन् । भारतका कैयौँ मन्दिर र धाममा नेपाली पुजारी रहने व्यवस्था छ । कतिपय नास्तिक प्रश्न गर्ने गर्छन्, धर्म भनेको सबैका लागि साझा मानिनुपर्छ भन्दै पशुपतिमा अन्य धर्मावलम्बीलाई रोक लगाएकोमा असन्तुष्टि व्यक्त गरेको पनि पाइन्छ ।

विश्वका सबै धर्मका परम्परालाई संविधान र कानुनभन्दा माथि मानिन्छ । कैयौँ मस्जिद र चर्चमा योभन्दा कडा नियम लगाएका छन् । साउदी अरबमा शिवजीको फोटोसमेत बोक्न पाइँदैन । पाकिस्तानमा नै घोडाका टापको औँठी लगाएर हिँड्ने हिन्दु सुरक्षित हुन्नन् भनिन्छ । कतिपय तर्क युक्तिसङ्गत लागे पनि धार्मिक परम्परालाई तोड्न सजिलो हुँदैन । संविधान फेरिरहन सकिन्छ तर परम्परागत नियम बदल्न गाह्रो हुन्छ तर पशुपतिनाथमा जुन जस्ता नियम लागू छन्, ती सबैमा तर्कसङ्गत देखिन्छन् ।

भारतमा चार धाम प्रसिद्ध छन् भने नेपालमा नेपालका पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइँकुण्ड, बाराहक्षेत्र, जनकपुरधाम, लुम्बिनी, पाथिभरा, बौद्धनाथ धामजस्ता प्रसिद्ध धाम छन् । नेपालमा रहेका धाम र पवित्र मन्दिर र सयौँ तीर्थस्थलका साथै यहाँको सभ्यता र सांस्कृतिक वैभवको विश्वव्यापी मान्यता छ । नेपालको साथै भारतमा अवस्थित तिरुपति, अमरनाथ, बद्रीनाथ, रामेश्वरम्, गया, कासी, विन्द्यवासिनी, कामाक्ष–कामरूप आदि पवित्र स्थलमा नेपाल र भारतबीचमा त्यत्तिकै तादात्म्यता छ । वैदिक हिन्दु सनातन धर्म सभ्यताको उद्गम हो । वैदिक हिन्दु सनातन धर्म पञ्चदेवका उपासक हुन्छन् । ॐ कार जगत् नै वैदिक हिन्दु पञ्चदेवका उपासक हुन् । वैदिक सनातन हिन्दु धर्मको आडमा रहेर हामी एकले अर्कोका सम्मान गर्छाैं । त्यसैले त सभ्यताको विकासक्रममा संसारभरका देशमा हिन्दुधर्म र संस्कृतिको गहिरो प्रभाव छ ।

संस्कृति एवं सभ्यतामा शिवलिङ्ग पूजा पनि त्यसैको प्रतिविम्ब हो । महेन्जोदारो र हरप्पा तथा सिन्धुघाँटीको सभ्यतामा भएको पुराताìिवक उत्खनन्मा शिवमूर्ति प्राप्त हुनाले शैव संस्कृति विश्वव्यापी भएको पुष्टि हुन्छ । शिवपुराणमा शिवजीबारे उल्लेख छ– ‘शिवलिङ्ग समसद्भूतः कोटीसूर्यसम प्रभुः देव देवज महादेव ! नीलकण्ठ नमोस्तुते !’ कालरात्रि, मोहरात्रि र महारात्रि यी तीन रात्रिको हिन्दु जगत्मा विशेष महìव छ । यी रात्रिमध्ये महारात्रि नै महाशिवरात्रि हो । ‘सत्यं शिवं, सुन्दरम् ।’ शिव भनेको कल्याण हो । हिन्दु तथा बौद्धले अमरनाथ, विश्वनाथ, कैलाश–मानसरोवरलाई शिवजीको तपोभूमिका रूपमा मान्छन् ।

त्यस्तै अमरनाथ, विश्वनाथ, कैलाश–मानसरोवरलाई शिवजीको तपोभूमिका रूपमा विश्वभरका हिन्दु तथा बौद्धहरूले मान्ने गर्छन् । आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नु आस्तिकहरू आत्मगौरव मान्छन् भने नास्तिकहरू यसलाई परम्परागत अस्तित्व ठान्छन् । शिवरात्रिमा विश्वभर छरिएर रहेका हिन्दुलगायत खास गरेर नेपाल र भारतका लाखौँ साधु–सन्तलगायत हिन्दु धर्मावलम्बी पूजा अर्चना र दर्शनका लागि आउँछन् । २०७८ शिवरात्रिको अवसरमा सम्पूर्ण तीर्थयात्री तथा साधु–सन्तको भक्तिभावनाले सार्थक रूप लिन सकोस् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?