logo
२०८१ मंसिर ८ शनिवार



विश्व अर्थव्यवस्थामा सिर्जित परिदृश्य

विचार/दृष्टिकोण |




डा. दामोदर पुडासैनी

सन् २०२२ फेब्रुअरी २४ मा रसिया र युक्रेनबीच युद्ध सुरु भएपछि विश्व अर्थव्यवस्थामा ठूलै तरङ्ग पैदा भएको छ । युक्रेनमाथि रसियाले आक्रमण गरेपछि संसारभर मूल्यवृद्धि आकाशिएको छ । रसियाले युक्रेनलाई हमला गर्नु दुईपक्षीय असरमा मात्र सीमित भएन, यसले संसारको राजनीतिक परिदृश्यमै नवीन रूप रङ्ग सिर्जना हुन थालेका छन् ।

रसिया अहिले पनि युक्रेनलाई छुट्टै राष्ट्र हो भन्ने पक्षमा छैन । युक्रेनी जनता साँचो रूपमा त्यहाँका जनता नै होइनन् भन्ने रसियाको मान्यता छ । अझ लभिभ, खर्किभ र किभजस्ता युक्रेनका सहर रसियाकै अधीनमा बस्न रुचाउँछन् भन्ने गाढा मान्यता रसियाली नेताहरूमा छ तर मस्कोभन्दा धेरै अगाडि युक्रेनमा सहरीकरण विकास भइसकेको सन्दर्भ र युक्रेनको अर्थव्यवस्था सुरुदेखि नै सबल र सक्षम रहेको तथ्य भने रसियाले भुल्न नहुने विषय हो ।

सन् १९९१ मा सोभियत सङ्घ विघटन भएपछि युक्रेन पनि छुट्टै राष्ट्रका रूपमा अघि बढ्यो । सन् १९४६ मा अमेरिकी नेतृत्वमा गठित सैनिक सङ्गठन उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)को सदस्यता लिन युक्रेन उत्सुक बन्दै त्यसतर्फ झुकाव देखायो । यो रसियालाई पटक्कै मन नपरेको मात्र नभई अमेरिकी नेतृत्वको सैनिक गठबन्धनको पहुँच आफ्नो छिमेकी देश युक्रेनसम्म पुग्यो भने रसिया आफ्नै दुर्दशा हुने आशङ्कामा तडपियो ।

अहिले रसियाली राष्ट्रपतिका रूपमा भ्लादिमिर पुटिन छन् । सन् १९९९ मा उनी सर्वप्रथम रसियाली नेतृत्वमा पुगे । पुटिनले रसियाको शासन सत्ता सम्हालेपछि त्यहाँको अर्थव्यवस्थामा सुधार आएको र जनताको मन जित्न सफल भएको भन्ने भनाइ दह्रो स्वरका रूपमा उठिरहेछन् । रसियाली जनताले विश्वका अरू मुलुकका तुलनामा आपूmलाई श्रेष्ठ ठानिरहेका र सोभियत सङ्घको पतनले रसियाली जनताको साख गिरिरहेको, पराजयको मुस्लोमा होमिन परिरहेको र एक शक्तिशाली राष्ट्रको छिन्नभिन्नताले साम्यवादी अभियान नै धराशायी बनेको भन्ने कतिपय रसियालीको आकलन पनि भुसको आगोझैँ फैलिरहेथ्यो । यिनै तथ्यलाई मनन गरेर रसियाली जनतालाई सोभियत सङ्घ विघटनको आघातबाट मुक्त गराउन पुटिन अघि बढेका छन् ।

युक्रेनमा यतिखेर भ्लोदिमिर जेलेस्की राष्ट्रपति छन् । रसियाले युक्रेनमा हमला गरिरहेको एक महिना भइसक्दा पनि उनले नहारेको र आत्मसमर्पण नगर्ने मानसिकता प्रस्तुत गरिरहेछन् । हास्य कलाकारका रूपमा प्रतिष्ठित जेलेन्स्की तीन वर्षअघि मात्र राष्ट्रपतिका रूपमा चुनिएका हुन् । रसियाली हमलामा युक्रेनले देखाएको धैर्यता, सुझबुझ र शक्तिको पक्षमा प्रशंसा गर्नेहरू युरोपेली, अमेरिकी र विश्वका अरू महादेशका पनि थुप्रै जनसागर देखिएको छ ।

युद्ध साँच्चै भयावह हुन्छ । युद्धले मान्छेलाई मात्र होइन, यो सारा जीवन र जगत्लाई नै जीवनबाट मृत्युतिर धकेल्छ । मृत्यु कसैका लागि पनि प्रियकर बन्न सक्दैन । युद्ध सुरु भएपछि अर्थतन्त्र खल्बलिन्छ, विज्ञान, प्रविधि, सभ्यता, संस्कार, शिक्षा, स्वास्थ्यमा प्रतिकूलता सिर्जना हुन्छ । अन्त्यमा मान्छेको अनुहार उज्यालोबाट अँध्यारोतिर धकेलिन्छ, सिर्जनशीलताबाट विध्वंसतिर अभिमुख हुन्छ र अन्त्यमा संसारको स्वरूप नै धमिलो बन्छ । युक्रेनमाथि रसियाले आक्रमण गरेपछि मान्छे एक पटक पुनः थर्थराएको छ ।

रसियाले युक्रेनमा हमला गरेपछि एकातिर मानवीय सङ्कट संसारभर फैलिएको छ भने अर्कातिर आर्थिक विपत्तिको ज्वाला डरलाग्दो रूपमा बढिरहेछ । रसिया संसारकै ठूलामध्येको तेल उत्पादक मुलुक त हो नै, युरोपको सबैभन्दा ठूलो ग्यास आपूर्तिकर्ता पनि हो । त्यस अतिरिक्त पालाडियम, जिकेल र आल्मुनियमजस्ता धातुको प्रमुख आपूर्तिकर्ता रसिया नै हो । रसियाको हमलापछि विश्वभर सेयर बजारमा गिरावट आउन थालेको छ । रुस–युक्रेन सङ्कटका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यसमेत थेग्नै नसकिने गरी बढ्न थालेको छ । कच्चा तेलको मूल्य नै प्रतिब्यारेल १४० अमेरिकी डलरको हाराहारीमा पुग्नुले मूल्यवृद्धिको सम्पूर्ण चक्र नै तीव्र गतिले बढ्न थालेको छ । रसियाले युक्रेनमाथि हमला गर्नुपूर्व त्यस्तो कच्चा तेलको मूल्य केवल ९३ अ मेरिकी डलर थियो ।

रसिया–युक्रेन युद्धले गर्दा अमेरिकालगायतका मुलुकले रसियामाथि कडा आर्थिक प्रतिबन्ध लगाउँदै छन् । त्यसको परिणामस्वरूप रसियाली लगानीका ठूला कम्पनी धराशायी हुँदैछन् । उता युद्धको चर्को चपेटाका कारण युक्रेनका उद्योग र कलकारखाना ध्वस्त भइरहेछन् । रसियालाई राष्ट्रसङ्घका विभिन्न निकायमा रोक लगाइनु, विश्व व्यापार सङ्गठन (डब्लूटीओ) र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)जस्ता संस्थामा समेत कडाइ गरिनुले रसिया अझै बिच्किने डर पनि बढिरहेछ ।

अमेरिकालगायतका देशकै पहलमा उत्तरकोरिया, लिबिया, क्युबा, इराक, इरान, भेनेजुयला, सर्बियाजस्ता मुलुकमा वर्षौं अघिदेखि प्रतिबन्ध लगाइएको कारण विश्व अर्थव्यवस्थामै नराम्रो धब्बा लागिरहेछ । अहिले रसियामाथि खनिनु र रसियाले पनि आफ्ना उत्पादन विश्व बजारमा पठाउन कमी गरिदियो भने विश्व अर्थव्यवस्था नै मन्दीको मारमा जाकिन बेर छैन । युद्ध र प्रतिबन्धका कारण रसियाले विश्वको २५ प्रतिशत गहुँ नियन्त्रण गरिदियो, युरोपियन युनियनका देशमा आपूर्ति भइरहेको विश्वको १५ प्रतिशत ग्यासमा रोकावट ल्याइदियो र रसियाबाट निर्यात हुने सवारीसाधनमा समेत गिरावट आइदियो भने विश्व अर्थतन्त्रले नराम्रो झट्का खान बाध्य हुनुपर्ने निश्चित छ ।

युक्रेनमाथि हमला गरेपछि रसिया चीनसँगको सम्बन्ध अझ प्रगाढ बनाउने दाउमा छ । हातहतियार र निर्माण सामग्रीको सुनिश्चितता रसियाले चीनबाट चाहिरहेछ । आर्थिक साझेदारीका लागि रसियाले चीनप्रति हात बढाउनु भनेको चीनका लागि व्यापारिक क्षेत्र विस्तार गर्ने अवसर वृद्धि हुनु हो । विश्व अर्थव्यवस्थामा रसिया र चीनको बाहुल्यता हुन थाल्यो भने अमेरिकी दबदबा घट्ने स्थिति सिर्जना हुन सक्छ । यसको फलस्वरूप अमेरिकी गुट र चिनियाँ गुटको बीचमा दरार झन् फराकिलो हुन थाल्नेछ र विश्व स्वाभाविक रूपमा दुई ध्रुवमा ध्रुवीकरण हुन बाध्य बन्नेछ ।

रसिया–युक्रेन युद्धले विश्वभर एउटा आर्थिक सन्त्रासको वातावरण सिर्जना भएको छ । माथि उल्लेख गरिएझैँ पेट्रोलियम पदार्थको मूल्यवृद्धि सबैभन्दा ठूलो चिन्ताको विषय हो । अमेरिकी डलर सञ्चित गर्ने लोभका कारण डलरको भाउ अप्रत्याशित ढङ्गले बढ्नु र लगानी सुरक्षित गर्ने मनोवृत्तिले सुन खरिदको मोह बढेका कारण सुनको भाउसमेत आकाशिएको छ । यसले उत्पादन दरमा निराशाको स्थिति सिर्जना गरेको छ । उता विगत केही दशकदेखिकै युरोको साख बढ्दै गइरहेको देखिन्छ । रसियाली विदेशी मुद्राको ३० प्रतिशत युरोमै भण्डारण गरिनु, रुसले अमेरिकी डलरप्रतिको निर्भरता घटाउँदै जानु र त्यसको सट्टा सुन र चिनियाँ युआनप्रतिको निर्भरता बढाउँदै जानुले पनि अमेरिकी डलरको बर्चस्व अधोगतितिर गएको भन्न सकिन्छ ।

त्यति मात्र होइन, एक महिनाको अवधिमा भारतबाट विदेशी लगानीकर्ताले चार अर्ब अमेरिकी डलर भारतबाहिर लगिसकेका कारण भारतीय मुद्रा कमजोर बनेको छ । भारतीय मुद्रा र अमेरिकी डलरमा अप्रत्याशित रूपमा उदाएको उतारचढावको परिणामस्वरूप भारतसँग स्थिर विनिमय दर भएको वैदेशिक व्यापारमा बढी भारतमा निर्भर नेपाली मुद्राको स्तर पनि बलियो बन्न नसक्नु स्वाभाविक नै हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले इन्धन आपूर्ति, खाद्य सुरक्षा र यातायात व्यवस्थामा प्रतिकूल अवस्था त सिर्जना हुन्छ नै, अझ विदेशी विनिमय दरमा कहालिलाग्दो ढङ्गले वृद्धि हुनु र अन्तर्राष्ट्रिय जगत्मै मूल्यवृद्धि दर थेग्नै नसक्ने गरी उकालो चढ्नुका कारणले पनि आम जनमानसको जीवन क्षणक्षणमा थप पीडादायी बन्दै जानु पनि आश्चर्यपूर्ण हुने छैन । यसको कारण आन्तरिक मुद्रास्फीति दह्रो हुने देखिन्छ भने भुक्तानी असन्तुलनको समस्याले अर्थतन्त्र विकराल बन्ने स्थिति छ । यसैबीच रोजगारीको अभाव ठूलो समस्याका रूपमा उठिरहेछ ।

रसिया विश्वको सबैभन्दा ठूलो गहुँ निर्यातक मुलुक हो । रासायनिक मल पनि रसियाले नै अत्यधिक मात्रामा निर्यात गर्दै आएको थियो । रसिया युद्धमा होमिएपछि गहुँ र मल निर्यातमा अवरोध आउनु स्वाभाविकै हो । उता युक्रेन पनि विश्वको गहुँ निर्यात गर्ने पाँचौँ स्थानमा रहेको मुलुक हो । उसले सूर्यमुखी, मकै, जौ, तोरीजस्ता खाद्यान्न पनि अत्यधिक रूपमा निर्यात गर्दै आएको थियो । युद्धका कारण ती दुवै देशबाट खाद्यान्न, तेलहन र रासायनिक मल निर्यात हुन छोडेपछि रासायनिक मलको अभाव हुने, खाद्यान्न ओसारपसार र खाद्यान्न उत्पादनमै कमी आउने स्वतःसिद्ध छ । यसले भोकमरीको दर तीव्र रूपमा बढ्ने देखिन्छ ।

युद्धले कसैलाई पनि राम्रो गर्दैन । युद्धको असर दीर्घकालसम्म मडारिइरहन्छ । रसिया र युक्रेनको युद्ध वार्ताको माध्यमबाट अन्त्य गर्नु जरुरी छ । यो युद्धलाई माध्यम बनाएर विश्वका अरू ठूला राष्ट्रले आ–आफ्नो स्वार्थसिद्ध गर्न खोज्ने हो भने त्यसले भयावह रूप लिन सक्छ । थलिएको विश्व अर्थव्यवस्थालाई रक्तसञ्चार गर्न नयाँ अर्थव्यवस्थाको सूत्रपात वर्तमानको आवश्यकता हो । पेट्रोलियम पदार्थको परनिर्भरता घटाउने, पेट्रोलियम पदार्थको विकल्पको खोजी गर्ने र वैदेशिक मुद्रा, भुक्तानी सन्तुलन, खाद्यान्न उत्पादनमा सहजता ल्याउनेजस्ता विषयमा पनि विश्व जनमत एक भई कार्यस्तरमा सकारात्मक ल्याउन जरुरी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?