logo
२०८१ बैशाख १३ बिहीवार



रेडियो नेपालको अबको बाटो

विचार/दृष्टिकोण |




बुद्धिबहादुर केसी

रेडियो नेपाल आजबाट स्थापनाको ७१ वर्ष पूरा गरी ७२औँ वर्षमा प्रवेश गर्दै छ । विगत कालखण्डदेखि अनेक आरोह–अवरोह खेप्दै सात दशकको यात्रा पूरा गरेको रेडियो नेपाल सरकारी सञ्चारमाध्यमको संरचनाबाट सार्वजनिक प्रसारण माध्यमको ढाँचामा रूपान्तरण हुने क्रममा छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले अनौपचारिक र अनियमित शिक्षा विस्तारमा समेत सहयोग पु-याउँदै आएको रेडियो नेपालको नेपाली समाजको सकारात्मक परिवर्तन र सामाजिक जनचेतना फैलाउनुका साथै समसामयिक समाचार, सूचनासहित स्वस्थ मनोरञ्जन उपलब्ध गराउनमा भूमिका छ ।

राज्यको राष्ट्रिय प्रसारणका हिसाबले नवीनतम प्राविधि र बदलिँदो परिप्रेक्ष्यमा रेडियो सामग्री श्रोतासमक्ष पु-याउन कम्मर कसेको रेडियो नेपालका आफ्नै समस्या र चुनौती पनि नभएका होइनन् । आज रेडियो नेपाल जुन अवस्थामा छ, यसको श्रेय श्रोता र सम्बन्धित सरोकारवालालाई नै जान्छ । यद्यपि रेडियो नेपालको समग्र प्राविधिक, प्रस्तुति, प्रसारण सामग्री, पहुँच र प्रभावकारिताका बारेमा तेस्रो पक्षबाट नियमित मूल्याङ्कन र विश्लेषणको पाटो चाहिँ उजागर हुन चाहिँ बाँकी नै छ ।


नेपालमा रेडियो प्रसारणको जननीका रूपमा रेडियो नेपालको स्थापना वि.सं. २००७ साल चैत २० गते (सन् १९५१)मा भएको हो । प्ररम्भमा ‘प्रजातन्त्र नेपाल रेडियो’, ‘नेपाल रेडियो’ हँुंदै रेडियो नेपाल नामकरण भएको यस स्टेसनको सुरुवातको प्रसारण प्रविधि ए.एम. (सर्टवेभ) थियो । स्थापनाकालदेखि नै समाचार र सूचनाका अतिरिक्त जनचेतनामूलक, शिक्षाप्रद, विकास निर्माण र स्वस्थ मनोरञ्जनप्रद कार्यक्रम प्रसार गर्दै आएको रेडियो नेपाल मूलतः सरकारी स्वामित्वमा सञ्चालन हुँदै आएको छ ।
संसारमा सार्वजनिक, व्यावसायिक, निजी, गैरनाफामूलक र राज्य नियन्त्रितजस्ता रेडियो प्रसारण संस्था सञ्चालन हुँदै आएको परिप्रेक्ष्यमा रेडियो नेपाल स्थापनाकालदेखि २०४१ भदौ १ गतेअघिसम्म नेपाल सरकारको प्रसार विभागका रूपमा र यसपछि विकास समिति ऐनअन्तर्गत नेपाल सरकारले जारी गरेको गठन आदेशबमोजिम ‘रेडियो प्रसार सेवा विकास समिति’का रूपमा सञ्चालन हुँदै आएको छ ।

अग्रणी प्रसारण माध्यमका रूपमा क्रियाशील रहन राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधिको जानकारी दिँदै सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार सम्प्रेषण गर्ने, नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई सम्मान गरी समाचार तथा कार्यक्रम प्रसारण गर्ने, विभिन्न जाति, भाषा, धर्म, वर्ग तथा सम्प्रदायबीच भावनात्मक एकता अभिवृद्धि गर्नेजस्ता विषयवस्तु नै रेडियो नेपालको मुख्य विशेषता हुन् । साथै नागरिकको आर्थिक, बौद्धिक, शैक्षिक र सामाजिक उत्थानमा सघाउ पु-याउन शैक्षिक, सूचनामूलक, चेतनामूलक, मनोरञ्जनप्रद कार्यक्रम सञ्चालन गर्ने र यसका लागि रेडियो नेपालले मिडियम वेभ, एफएम र डिजिटल प्रविधिमा अनलाइन इन्टरनेटमार्फत रेडियो प्रसारण सेवा सञ्चालन गर्दै आएको छ ।

भोलिको बाटो
विगत २०४१ सालदेखि हालसम्म विकास समिति २०१३ को कानुनी संरचनामा सञ्चालन हुँदै आएको रेडियो नेपाल अबका दिनमा पनि यही संरचनामा यसरी नै सञ्चालन गर्दा ‘राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार’ रेडियो नेपालको प्रसारणको समग्र लक्ष्य र उद्देश्य प्राप्त हुनमा कठिनाइ भइरहेको यथार्थ आत्मसात् गरी निम्न दुई विकल्पसहित अगाडि बढाउन सकिनेछ ।

कानुनी संरचना परिवर्तन
वि.सं. २०४७ सालको राजनीतिक परिवर्तनपछि नेपालमा पे्रस स्वतन्त्रता र प्रसारण क्षेत्रमा द्रुततर विकास भएको देखिन्छ । यस्तै २०६२÷६३ सालको युगान्तकारी परिवर्तनपछि जनताको बढ्दो आकाङ्क्षा सम्बोधन गर्न पनि नेपालमा आम सञ्चारमाध्यमको क्षमता अभिवृद्धि र प्रतिस्पर्धा निकै बढ्दो छ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था लागू भएपछि संविधानमा उल्लेख भएबमोजिमका सूचनाको हक, विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हकलगायतका प्रावधानलाई व्यवहारमा उतार्न पनि सञ्चारमाध्यमसम्बन्धी कानुनलाई सरलीकृत, एकीकृत र संहिताकरण गर्ने कार्यमा बढोत्तरी भएको पाइन्छ ।

सरकारी सञ्चारमाध्यमलाई सरकारको नेतृत्व गर्नेले राजनीतिक रूपमा निर्देशित गर्न सक्ने सम्भावना रहन्छ । सार्वजनिक प्रसारण सेवामा रूपान्तरण भइसकेपछि स्वतन्त्र रूपमा वा संसद्को मातहतमा रहेको सञ्चालक परिषद्बाट प्रसारण सेवा निर्देशित हुने हुँदा समाचार, कार्यक्रम तथा अन्य प्रसारित सामग्री नागरिकको इच्छा, माग र चाहनाअनुसार उत्पादन गरिन्छ भन्ने मान्यता छ । सरकारी सञ्चारमाध्यम केही मात्रामा मात्र आफ्नो आयआर्जनबाट र नपुग बजेट सरकारबाट प्राप्त सरकारी रकमबाट सञ्चालित छन् तर सार्वजनिक प्रसारण सेवामा परिवर्तन भइसकेपछि राज्यले निर्देशित गरेको सार्वजनिक कोष वा जनताद्वारा सेवा शुल्क प्रदान गरेको कोष वा सिधै राज्यबाट प्राप्त कोष वा मिश्रित सार्वजनिक कोषबाट सञ्चालन गरिने हुँदा सार्वजनिक सेवामा नागरिक र राज्यको सम्बन्ध नङ र मासुसरह रहन्छ । सार्वजनिक प्रसारण सेवा स्वायत्त, जनताप्रति उत्तरदायी र स्वार्थबाट मुक्त रहन सक्ने अपेक्षा गरिन्छ ।

यसै परिप्रेक्ष्यमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण माध्यमका रूपमा विकास गर्न विविध खाकासहितका मस्यौदा÷प्रतिवेदन र सुझाव प्राप्त हुँदै आएका छन् । रेडियो नेपाल र नेपाल टेलिभिजनको वर्तमान संरचनालाई परिवर्तन गरी सार्वजनिक प्रसारण सेवामा विकास गर्ने योजनाअनुरूप पनि नेपालमा आवश्यक सार्वजनिक प्रसारण सेवाको संस्थागत संरचना, ऐन नियम र आवश्यक कानुनी व्यवस्थाको प्रस्ताव गरिसकेको छ ।

यसरी समयको अन्तरालमा पटक पटक आयोग र कार्यदल निर्माण हुँदै सुझाव प्राप्त हुने क्रममा हरेक पटक रेडियो नेपाल र नेपाल टेलिभिजनलाई हालको संरचानाबाट रूपान्तरण गरी सार्वजनिक प्रसारण सेवामार्फत एउटै छातामुनि राख्ने र हरेक नागरिकको पहुँच पुग्ने गरी सार्वजनिक प्रसारण सेवा उपलब्ध हुनुपर्ने सुझाव पटकपटकका कार्यदलले दिएका छन् । हाल सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय सभाको विधायन समितिसम्म पुगेको छ । यो विधेयक प्रतिनिधि सभाबाट छलफलपश्चात् पारित भएपछि मात्र सार्वजनिक सेवा प्रसारणसम्बन्धी ऐन जारी हुनेछ । त्यसपछि मात्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई पूर्ण रूपमा सार्वजनिक सेवा प्रसारणकै रूपमा सञ्चालन गर्न सकिनेछ ।

अहिलेको रेडियो नेपाल सार्वजनिक प्रसारण सेवा उन्मुख छ । यसका कार्यक्रम÷समाचार र अन्य श्रव्य सामग्रीमा सार्वजनिक प्रसारण सेवाको झलक वा स्वरूप सुन्न पाइन्छ । शतप्रतिशत सार्वजनिक प्रसारणमा हुनुपर्ने खुराक र योग्यता÷मापदण्ड÷गुण चाहिँ कानुनी संरचनामा परिवर्तन भएपछि मात्र लागू हुँदै जानेछन् । यसबाहेक सार्वजनिक प्रसारण सेवा जनहितकारी र लोककल्याणकारी भएकाले पनि यस्तो सेवामा रेडियो नेपाल रूपान्तरण हुनु आवश्यक छ ।
साथै सार्वजनिक प्रसारण सेवा सबैका लागि र सधैँका लागि भन्ने आधारभूत÷मूलभूत सिद्धान्त पालना गर्न र सबै नागरिकको रेडियो, राज्यको रेडियोका रूपमा रहन पनि नेपालमा सार्वजनिक प्रसारण सेवा आवश्यक परेको हो ।

विस्तारित कार्यक्रम सञ्चालन
नेपाल सरकारले रेडियो नेपालको सञ्चालन चालू खर्च र पुँजीगत खर्चमा दिँदै आएको अनुदानको अतिरिक्त रेडियो नेपाल आफैँले रेडियो प्रसारणसँग सम्बन्धित कार्यमार्फत रेडियो नेपालको कार्यक्षेत्र विस्तार गरी विस्तारित कार्यक्रम सञ्चालन गर्दै जाने क्रमको एउटा उदाहरण हो– तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम स्थापना तथा सञ्चालन निर्देशिका २०७८ मार्फत विराटनगरमा सञ्चालन हुँदै आएको सञ्चारग्राम ।यस्तै प्रकारका अन्य विस्तारित कार्यक्रम जस्तैः रेडियो एकेडेमी स्थापना (रेडियो प्रसारणसम्बन्धी अध्ययन अनुसन्धान तथा रेडियो प्रसारण प्रविधि, कार्यक्रम उत्पादन, सङ्गीत प्रशिक्षणलगायतका अल्पकालीन र दीर्घकालीन तालिम कार्यक्रम सञ्चालन), रेडियो सङ्ग्रहालय (रेडियो प्रसारणसँग सम्बन्धित ऐतिहासिक सामग्रीको विगतदेखि वर्तमानसम्मकोे सङ्कलन र प्रदर्शन) आदि ।

हालको विज्ञापन व्यापारका अतिरिक्त डिजिटल प्लेटफर्ममार्फत ई–बिजिनेसको थालनी (रेडियो नेपालका पुराना र नयाँ गीत सङ्गीत तथा श्रव्य सामग्रीलाई ओ.टी.टी. एप्समार्फत विश्व बजारीकरण गरी थप आय आर्जन), व्यावसायिक डिजिटल स्टुडियो स्थापना (केन्द्रीय तथा प्रादेशिक प्रसारण केन्द्रमा व्यावसायिक डिजिटल रेकर्डिङ स्टुडियो स्थापना गरी व्यावसायिक उत्पादन, स्टुडियो भाडा वा तेस्रो पक्षबाट सञ्चालन गर्ने गराउने व्यवस्था) र दोस्रो च्यानलको सुरुवात (हालको केन्द्रीय र प्रादेशिक प्रसारणका अतिरिक्त दोस्रो च्यानलका रूपमा म्युजिक÷न्यूज÷स्पोर्टस् आदि च्यानलको सुरुवात) हुन सक्छन् ।

प्रसारण सामग्रीमा विविधता, प्रतिस्पर्धी जनशक्ति र समयानुकूल डिजिटल प्रविधि प्रयोग गर्दै आफ्ना प्रसारणमा अझ निखार ल्याउनुपर्ने आवश्यकता छ, जसका लागि रेडियो नेपाल प्रयत्नशील देखिन्छ । हाल रेडियो नेपालले प्रारम्भ गर्दै आइरहका आफ्ना पुराना तथा नयाँ गीत सङ्गीतलगायतका श्रव्य सामग्रीलाई डिजिटल प्रविधिमार्फत व्यावसायीकरण गर्ने, जसबाट रेडियो नेपाललाई आय आर्जनका अतिरिक्त रेडियो नेपालका उत्पादनले विश्व बजारसम्मपहुँच राख्न सकून् । यसरी अहिले रेडियो नेपाललाई नेपाल सरकारले उपलब्ध गराउँदै आएको तोकिएको अनुदान र रेडियो नेपालले रेडियो कार्यक्रम÷विज्ञापन÷प्रायोजनमार्फत आर्जन गरेको सीमित आम्दानीका कारण हाल रेडियो नेपाल सञ्चालनमा देखा पर्न थालेका अर्थिक समस्या तथा समसामयिक चुनौती सामना गर्न र समाधानतर्फ लैजान पनि थप कार्यक्षेत्र निर्धारण गरी विस्तारित कार्यक्रम सञ्चालन गरेर पनि अघि बढ्न सकिनेछ ।

उल्लिखित विकल्पमा सरोकारवाला सबै निकायको पहलकदमी र समन्वय अनि रेडियो नेपाल आफ्नै अग्रसरता र क्रियाशीलता पनि उत्तिकै जिम्मेवार पक्ष हुन सक्छन् । रेडियो नेपालको भोलिको बाटोको विकल्प भनेकै विद्यमान कानुनी संरचनाबाटै थप कार्यक्षेत्र निर्धारण गरी विस्तारित कार्यक्रम सञ्चालन गरेर अघि बढ्नु हो । अथवा विद्यमान कानुनी संरचना पूर्ण रूपमा परिवर्तन गरेर सार्वजनिक प्रसारणको बाटोमा रेडियो नेपाललाई राष्ट्रको सञ्चारका रूपमा प्रभावकारी र गतिशील प्रसारण माध्यम बनाई विकास र विस्तार गर्न सकिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?