logo
२०८१ मंसिर ८ शनिवार



नेपाल–भारत कूटनीतिमा नयाँ अध्याय

दुवै देशबीच उत्पन्न समस्याको समाधान खोज्ने पहलले सम्बन्धलाई उचाइमा पु-याउनेछ

विचार/दृष्टिकोण |


नेपाल–भारत कूटनीतिमा नयाँ अध्याय


विजयकान्त कर्ण
नेपाल र भारतबीच सदियौँदेखि राजनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्ध रहँदै आएको छ । विश्वका दुई मात्रै यस्ता देश नेपाल र भारत, जसको सीमामा तारबार छैन । द्विपक्षीय सम्बन्ध सरकारका बीचमा मात्रै नभई नागरिक तहमा पनि रहँदै आएको छ । यही सम्बन्धको जग अझ बलियो बनाउने अभिप्रायका साथ प्रधानमन्त्री शेरबहादुर देउवाले चैत १८ गते शुक्रबारदेखि २० गते आइतबारसम्म छिमेकी देश भारत भ्रमण गर्नुभयो । सरकार प्रमुख कुनै देशको भ्रमणमा जाने–आउने कुरा मात्रैले खासै अर्थ राख्दैन तर प्रधानमन्त्री देउवाको तीनदिने भारत भ्रमणले दुई देशको सम्बन्धलाई अझै प्रगाढ बनाउने प्रष्ट सङ्केत देखिएको छ । साथै दुई देशबीच पारस्परिक हितमा नयाँ अध्याय आरम्भ गर्ने दिशातर्फ प्रधानमन्त्री देउवाको भारत भ्रमण केन्द्रित रह्यो । प्रधानमन्त्री देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारतबीच देखिएका समस्या समाधानको बाटो पहिल्याउने उद्घोष गर्नुभयो, जुन दुई देशको सम्बन्धलाई नयाँ उचाइमा लैजान प्रस्थानबिन्दुका रूपमा ग्रहण गर्न सकिन्छ ।

सीमासम्बन्धी छलफल
नेपाल–भारत सम्बन्धमा अघिल्लो सरकारको पालामा केही समस्या सिर्जना भएकै हुन् । प्रधानमन्त्री देउवाले सरकारको नेतृत्व गरेपछि ती समस्याको समाधानतर्फ ध्यान दिनुभयो । त्यसैको परिणामस्वरूप देउवाको भारत भ्रमणका क्रममा दुई देशको उच्च राजनीतिक नेतृत्व उच्चस्तरीय समझदारी कायम गर्न सफल भएको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपाल र भारतबीचका सबै विषय उठाउनुभयो । नेपालले गरेको प्रस्तावमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सकारात्मक छलफल गर्ने बताउनु भयो । साथै सबै निकायलाई दुई देशको सम्बन्ध अझै सशक्त बनाउन वार्ता गर्न दुवै प्रधानमन्त्री तयार हुनुभयो । उहाँहरूले नेपाल–भारतबीचका असमझदारीलाई संवादका माध्यमबाट समाधान गर्न सम्बन्धित निकायलाई चलायमान बनाउन निर्देशित गर्नुभयो । प्रधानमन्त्री देउवाको भ्रमणको महìवपूर्ण पक्ष यो पनि हो ।
प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच दुई देशबीच देखिएको सीमा विवादसम्बन्धी विषयमा पनि कुरा भयो । नेपाल र भारतबीच परापूर्वकालदेखि रहँदै आएको सम्बन्ध र हाम्रा सन्धि सम्झौताका आधारमा संवाद र कूटनीतिक प्रक्रियामार्फत समाधान गर्ने विषयमा कुरा अघि बढ्नु प्रधानमन्त्री देउवाको सफलता हो ।

नेपालको विकासको पक्षमा
नेपालको विकासको साझेदार पनि हो भारत । दुई देशबीच वर्षौंदेखि विकासमा सहकार्य हुँदै आएको छ । अहिले पनि धेरै क्षेत्रमा भारतीय परियोजनामार्फत विकासका काम चालू अवस्थामा छन् । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच नेपाल–भारत सम्बन्ध र यसका बहुआयामिक पक्षमा संवादको थालनी भएको छ । दुई देशबीच रहेको सहयोग आदानप्रदान र भावनात्मक सम्बन्ध थप सुदृढ बनाउन प्रधानमन्त्री देउवाको भारत भ्रमण फलदायी भएको विश्वास लिन सकिन्छ ।

रेलवेको विकासमा प्राविधिक सहयोग, अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको फ्रेमवर्कजस्ता दीर्घकालीन महìवका विकास सम्झौता हुनुले पनि नेपाल र भारतबीच सम्बन्धमा देखिएको अप्ठ्यारो प्रधानमन्त्री देउवाले सहज रूपमा समाधानतर्फ लैजानु भएको मान्न सकिन्छ । पेट्रोलियम आपूर्ति सम्झौतादेखि जलविद्युत् क्षेत्रमा नेपाल र भारतबीच दीर्घकालीन सहकार्यका लागि दुवै देश सहमत हुँदा जलविद्युत् उत्पादनदेखि प्रसारण लाइन निर्माणसँगै जलविद्युत्को व्यापार वृद्धि गर्नेसम्मका विषयमा छलफल भएको छ । यसले नेपाल र भारतबीच राजनीतिकसँगै व्यापारिक सम्बन्धको नयाँ अध्याय सुरु हुने अपेक्षा गर्न सकिन्छ । यसका लागि नेपालले विस्तृत कार्ययोजना निर्माण गर्नुपर्छ ।

वाराणसी भ्रमणको महìव
प्रधानमन्त्री देउवाले नेपाल र भारतको बीचमा धार्मिक र सांस्कृतिक सम्बन्धलाई बनारसको भ्रमण गरी पुनर्ताजगी गर्नुभएको छ । बनारस अर्थात् वाराणसी । बनारससँग नेपालको पुरानो साइनो र प्रजातान्त्रिक आन्दोलनको सम्बन्ध छ । २००७ को प्रजातान्त्रिक आन्दोलनदेखि २०४६ को परिवर्तनसम्मलाई हेर्दा बनारस नेपालसँग गाँसिएकै छ । लोकतान्त्रिक आन्दोलन र विचार निर्माणमा बनारस र बनारस हिन्दु विश्वविद्यालयले ठूलो योगदान पु¥याएको छ । त्यसैकारण प्रधानमन्त्री देउवाको बनारस भ्रमण भारत भ्रमणको अर्को महìवपूर्ण पाटो हो । प्रधानमन्त्री देउवा मन्दिर दर्शन गर्न जानुभयो, त्यो अर्को पाटो हो तर विचार निर्माणको एउटा अनुपम थलोमा पुगेर उहाँले सांस्कृतिक रूपमा नयाँ सन्देश दिनुभएको छ ।
अबको दायित्व
नेपाल र भारतीबीच सीमा विवाद छ । ट्रान्जिटको पनि समस्या छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणले ती सबै विषयको सम्बोधनका लागि अब वार्ता सुरु हुन्छ भन्ने विश्वास लिन सकिन्छ । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच सबै विषयमा छलफल भयो । ‘बडी ल्याङ्वेज’ र भावले पनि दुई देशको सम्बन्धलाई अझ बलियो बनाएर लैजाने पक्षमा उहाँहरू हुनुहुन्छ । अब दुवै देशका निकायहरूले वार्ता सुरु गर्छन् र यसबाट नेपाल–भारतको सम्बन्ध अझ सुदृढ हुन्छ भन्ने आशा गर्न सकिन्छ ।

नेपाल–भारत सम्बन्ध
नेपाल र भारतबीच परापूर्वकालदेखि मित्रवत् सम्बन्ध कायम रहेको छ । यसका धेरै आयाम छन् । धेरै प्रकारका अङ्गले काम गरेका छन् । नेपाल र भारतबीच कैयौँ सन्धि सम्झौता भएका छन् । ती सन्धि सम्झौताकै आधारमा दुई देशले उत्पन्न समस्याको समाधान गरेका छन् । अब ती सबै निकाय र संरचनालाई सक्रिय बनाउनुपर्छ । नेपाल र भारतबीच विभिन्न स्तरको सम्बन्ध छ । समस्या आउन सक्छ । छिमेकीबीच सामान्य समस्या हुन्छन् नै तर हामीले तिनै सन्धि सम्झौता र दुई देशको पारस्पारिक हितलाई केन्द्रमा राखेर समाधान खोज्नुपर्छ । कूटनीतिक निकाय छन् । परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालयदेखि सिंचाइ मन्त्रालयसम्म छन् । अब उच्च तयारीका साथ यी सबै निकायलाई सक्रिय बनाउनुपर्छ ।

म यहाँ एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु, कुनै ठाउँमा तुइनको समस्या आयो । त्यहाँ दुवै देशलाई प्रतिनिधित्व गर्ने प्रमुख जिल्ला अधिकारी छन् । नेपालको सशस्त्र प्रहरी बल छ, भारतको सीमा सुरक्षा बल (एसएसबी) छ । ती निकायका माध्यमबाट तुरुन्तै वार्ता थालिहाल्नुपर्छ । त्यो वार्ताबाट जसको गल्ती छ, त्यसलाई सजाय दिने आधार तयार गर्नुपर्छ । नेपाल–भारतको कुनै समस्या आयो भने हामी तुरुन्तै जुलुस निकाल्छौँ । जुलुसले समस्याको समाधान गर्दैन । हामीले सशक्त ढङ्गले वार्ता गरेर समाधान खोज्नुपर्छ । नेपालले झुकेर होइन, तथ्य र प्रमाण पेस गरेर प्रष्ट कुरा राखेर समाधान खोज्नुपर्छ । भारतका निकायसँग वार्ता गरेरै समाधान निकाल्नुपर्छ । कूटनीतिक स्तरबाट कुनै समाधान आएन भने राजनीतिक स्तरमा वार्ता गरेर समाधान निकाल्नुपर्छ । मन्त्री स्तरबाट समाधान आएन भने प्रधानमन्त्रीको स्तरमा वार्ता गर्नुपर्छ । यसरी गएमा नेपाल–भारत सम्बन्धको नयाँ आधारशीला तयार हुन्छ । संवादकै माध्यमबाट समाधान आउँछ । प्रधानमन्त्री देउवाको भ्रमणले यसको थालनी गरेको छ ।

नेपालमा अहिले पनि राजनीतिक र कूटनीतिक रूपमा सम्बन्ध कस्तो हुन्छ भन्ने बोध गर्ने राजनीतिक दल सीमित छन् । नेपालको कम्युनिस्ट राजनीतिक समूहले ‘अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद’ को कथा पढायो । कार्यकर्तालाई त्यही रूपमा प्रशिक्षित गरियो तर कम्युनिस्ट पार्टीहरूले सत्तामा पुगेपछि मात्रै छिमेकी र अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ ढङ्गले लैजानुपर्ने रहेछ भन्ने कुरा बुझ्ने भए । अहिले कुनै कम्युनिस्ट पार्टीका दस्तावेजमा कूटनीतिक भावनालाई खलल पुग्ने कुरा छैनन् । कम्युनिस्टहरू पनि यथार्थलाई बुझ्ने ठाउँमा आइपुगे । नेपालले आफ्नो इन्ट्रेस्टमा काम गर्ने हो । अरूको चासो किन लिने ?

राष्ट्रिय हितका विषय के छन्, भारतसँग कसरी वार्ता गर्नुपर्छ, र कस्तो सम्बन्धले भारतसँगको सम्बन्ध राम्रो हुन्छ भन्ने विषयमा हामीले हाम्रो राष्ट्रिय हितलाई हेर्ने हो । नेपालको भौतिक पूर्वाधार विकास, ऊर्जा र जलविद्युत्को विकास हेर्नुपर्छ । सीमासम्बन्धी विवाद छ, त्यसको समाधानका लागि हामीले हाम्रा दस्तावेज र सम्झौता दिएर जानुपर्छ । संवादका माध्यमबाट हरेक विषयको समाधान निस्कन्छ ।

परराष्ट्र नीतिमा परिपक्व
प्रधानमन्त्री देउवाले परिपक्व ढङ्गले परराष्ट्र नीति सञ्चालन गरिरहनु भएको छ । कोरोना प्रकोपमा खोपका लागि प्रयत्न गर्नुभयो । चीन, भारत, अमेरिकादेखि अन्य मित्रराष्ट्रसँग उच्च सुझबुझका साथ कूटनीतिक सम्बन्ध अघि बढाउनु भएको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीसँग प्रष्ट कुरा राख्नुभयो । भारतले पनि प्रधानमन्त्री देउवालाई उच्च सम्मान गरेको मैले पाएँ ।

गर्नै नहुने गल्ती
अन्त्यमा, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट सरकारको नेतृत्व गर्दा हालका नेकपा (एमाले) अध्यक्ष खड्गप्रसाद ओलीले भारतविरोधी अभियान नै सुरु गर्नुभएको थियो । नेकपाको सरकारमा ओलीले राजनीतिक दलकेन्द्रित परराष्ट्र नीति सुरु गर्नुभयो । चीनसँग पार्टीस्तरीय रणनीतिक सम्बन्ध स्थापित गर्ने कोसिसमा उहाँ हुनुहुन्थ्यो । त्यसले नेपाललाई अप्ठ्यारो पारेको थियो । अहिलेको अवस्था अलग छ । अहिले कूटनीतिक सम्बन्ध धेरै राम्रो छ । प्रधानमन्त्री देउवाले कुशलतापूर्वक मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गराउनुभयो । चीनका विदेशमन्त्रीको नेपाल भ्रमणमा प्रष्ट कुरा राख्नुभयो । त्यसैले कूटनीतिक सम्बन्धमा केही समस्या आए पनि उहाँले विस्तारै समाधान गर्दै लैजानु भएको छ । हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध लयमा आउन थालेको छ । प्रधानमन्त्री देउवाले यसलाई सही लयमा फर्काउनु हुनेमा म विश्वस्त छु ।
(डा. कर्णसँग गोरखापत्रका लागि अशोक अधिकारीले गरेको कुराकानीमा आधारित)



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?