logo
२०७९ श्रावण २६ बिहीवार



शिक्षक तालिमका नयाँ आयाम

विचार/दृष्टिकोण |




डा. हरि लम्साल

सामान्यतया शिक्षक तालिम सेवा प्रवेश गर्नुपूर्व र सेवामा रहँदाको अवस्थामा दिने गरिन्छ । कसरी तालिम दिने भन्ने विषयमा विविधता हुन सक्छ । सेवामा प्रवेश गर्नुपूर्व विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाबाट शिक्षक शिक्षा वा शिक्षक तालिम दिने प्रचलन छ । नेपालको सन्दर्भमा उच्च शिक्षामा शिक्षा विषयमा अध्ययन पूरा गर्नुलाई शैक्षिक योग्यता र तालिम दुवै अर्थमा लिने गरिन्छ तर विश्वमा कतिपय मुलुकमा निश्चित शैक्षिक योग्यतापश्चात् मात्र शिक्षक तालिम कार्यक्रममा भाग लिन पाउने व्यवस्था छ ।

माथिका दुई उपायमध्ये दोस्रो खालको कार्यक्रम बढी प्रभावकारी हुन्छ । विकसित मुलुकहरूले यस्ता कार्यक्रमबाट अधिकतम योग्य शिक्षक शिक्षा प्रणालीमा ल्याउने गर्दछन् । उनीहरूले शिक्षक शिक्षा र तालिमलाई निश्चित अविधको अध्ययनपश्चात्को शैक्षिक योग्यता हासिल गरेपछि मात्र लिन पाउने व्यवस्था गरेका छन् । शिक्षा प्रणाली अब्बल बनाउन शिक्षक शिक्षाको यस व्यवस्थाले सहयोग पुगेको छ ।

पूर्व सेवाकालीन शिक्षक तालिम कार्यक्रम वा शिक्षक शिक्षा कार्यक्रममा विषयवस्तु (कन्टेट) र शिक्षण विधि (पेडागोजी) दुवैमा जोड दिइन्छ । नेपालमा सञ्चालित यस्ता शैक्षिक कार्यक्रममा विषयवस्तुको मात्रा नपुगेको भनाइ समय समयमा सुनिने गर्छ तर अहिले यसको अवस्था के कस्तो छ र कस्तो हुनुपर्ने हो भन्नेमा खासै अध्ययन भएको छैन । जब शैक्षिक कार्यक्रममा विषयवस्तुको मात्रा पुग्दैन वा कम हुन्छ त्यहाँबाट उत्पादित जनशक्तिको प्राज्ञिक क्षमता कम हुन सक्छ । ज्ञानको मात्र वा दायरा वा क्षेत्र कम भएपछि त्यसलाई परिस्कृत र परिमार्जन गर्न दिइने कुनै पनि तालिम वा अन्य कार्यक्रमको प्रभाव वा असर पनि कम हुनु अस्वाभाविक भएन ।

शिक्षा प्रणालीमा अधिकतम योग्य शिक्षक ल्याउनका लागि शिक्षक विकासका लागि सञ्चालित उच्च शिक्षाका शैक्षिक कार्यक्रमको पुनरवलोकन गर्नुपर्छ । अध्ययन अनुसन्धान गरेर यसमा परिमार्जन गर्नुपर्छ । शिक्षक शिक्षा कार्यक्रमलाई अन्तर्राष्ट्रिय परिवेश अनुकूल बनाउनुपर्छ । ज्ञान र प्रविधिको विस्फोटक विस्तार भइरहेको समयमा शिक्षक शिक्षा कार्यक्रममा पुराना धेरै विषयवस्तु थोप्रनेभन्दा पनि सान्दर्भिक र उपयुक्त विषयवस्तु दिई निरन्तर अध्यावधिक हुने स्वचालित संयन्त्र बनाउनुपर्छ । यसका लागि समय लाग्छ, स्रोत र साधनको आवश्यकता पर्छ तर अब यसमा काम गर्न ढिलो भइसकेको छ ।

शिक्षकको क्षमता विकासमा पूर्व सेवाकालीनजस्तै सेवाकालीन तालिमको पनि उत्तिकै महìव हुन्छ । यस्ता तालिमले शिक्षकलाई नियमित रूपमा अध्यावधिक गर्न सहयोग गर्नसक्छ । जसरी प्रविधिमा आधारित एप, सफ्टवयर वा इलेक्ट्रोनिक सामानको नियमित रूपमा अध्यावधिक गर्नुपर्छ, शिक्षकको हकमा पनि यस्तै हुनुपर्छ । यस्तो अध्यावधिक गर्ने काम यही तालिमबाट हुने हो ।
शिक्षक र विद्यार्थीको बीचमा उमेरको अन्तर बढी हुन सक्छ । शिक्षक अध्यावधिक हुन नसकेमा विद्यार्थीको सोच, चिन्तन र कार्यशैलीसँग नमिल्न सक्छ । जेनेरेसन ग्याप उमेरको अन्तरले भन्दा पनि कार्यसंस्कार र कार्यव्यवहारबाट आउने भएकोले यसलाई कम गर्नका लागि पनि शिक्षक अध्यावधिक भइरहनुपर्छ । समाज, सामाजिक जीवन र ज्ञान एवं प्रविधिमा भइरहेको परिवर्तनमा अध्यावधिक हुनका शिक्षकलाई यही सेवाकालीन तालिमले सहयोग गर्नसक्छ । यसरी अध्यावधिक हुन देहायका उपाय उपयोगी
हुन सक्छन् ।

स्वअध्ययनः स्वअध्ययन अध्यावधिक हुने महìवपूर्ण उपाय हो तर यस कार्य नितान्त वैयक्तिक स्वभाव र आदतमा भर पर्दछ । बाध्यकारी अवस्था नभएपछि स्वेच्छाले अध्ययन गर्न व्यक्तिमा सकारात्मक सोच, प्रतिबद्धता र अध्यावधिक हुने चाहिन्छ । यसमा भय वा त्रासले भन्दा पनि उत्प्रेरणाले काम गर्नुपर्छ । आन्तरिक चाहना र प्रतिबद्धताले काम गर्नुपर्छ ।

अनुसन्धानमूलक कार्यः शिक्षकलाई निरन्तर अध्यावधिक गराउनका लागि परियोजना कार्य, अनुसन्धान वा यस्तै कार्यमा संलग्न गर्न गराउन सकिन्छ । चुनौती सामना गर्ने वातावरण बनाउन सकिन्छ । यसका लागि उपयुक्त डिजाइन आवश्यक हुन्छ । यी सबै कार्यबाट शिक्षक स्वयम सहभागी भई सिक्ने अवसर प्राप्त हुन्छ ।

तालिमः शिक्षकलाई अध्यावधिक बनाउन तालिम दिन सकिन्छ । यसले व्यक्तिमा रहेको ज्ञान, सीप र मनोभावनालाई अध्यावधिक गर्न वा अझ तिर्खान एवं समसामयिक बनाउन सहयोग गर्नसक्छ । कोभिड १९ सुरु हुनुअघि शिक्षक तालिम कार्यक्रम भैतिक उपस्थितिमा मात्र हुन्छ भन्ने थियो । एक पटकमा २० वा २५ जनालाई तालिम दिनुपर्छ भन्ने गरिन्थ्यो । तर अहिलेको अवस्था बदलिएको छ । भौतिक उपस्थितिका कार्यक्रमहरू भर्चुअल माध्यममा सरेका छन् ।

अब भर्चुअल मोडमा पनि २० वा २५ जना मात्र सहभागी गराएर तालिम दिने हो ? एकै पटकमा धेरै जनालाई भर्चुअल मोडबाट तालिम दिन कुन पक्षमा परिवर्तन गर्नुपर्छ ? तालिम सीप विकासका लागि भएर यसलाई भौतिक उपस्थितिको विकल्पमा सञ्चालन गर्न के गर्नुपर्छ ? के भर्चुअल माध्यमबाट शिक्षक तालिम सञ्चालन गर्दा प्रभावकारी बनाउन सकिँदैन ? मास्टर प्रशिक्षक, प्रशिक्षक वा यस्तै सहयोगी बनाएर मात्र तालिम दिन सकिने हो कि यसमा पनि विकल्प छन् ? भौतिक उपस्थिति बिना पनि तालिम प्रभावकारी बनाउने विधि छन् भनेर खोज्न ढिला भएन र ?

नेपालको शिक्षक तालिमका बारेमा माथि दिइएका र यस्तै थुप्रै अनुत्तरित प्रश्न छन् । यी प्रश्नमा प्रवेश नगरिकन तालिमको नयाँ ढाँचामा प्रवेश गर्न सकिँदैन । अहिले अपनाइ आएको प्रशिक्षक (स्थायी रूपका प्रशिक्षक) सहभागी मोडेलबाट अब बाहिर निस्कनुपर्छ । तालिम व्यवस्थापन गर्ने संस्था चाहिन्छ तर अब स्थायी प्रशिक्षक होइन कि जसबेला जस्तो व्यक्ति आवश्यक पर्छ उसैलाई प्रशिक्षक बनाउने वा तालिम कार्यक्रममा बोलाउन सक्ने व्यवस्थापन चाहिन्छ ।

शिक्षक तालिम फेस टु फेस अर्थात् भौतिक उपस्थितिमा मात्र सञ्चालन हुन सक्छ भन्ने धारणा अब बदल्नुपर्छ । अब त भर्चुअल प्लेटफर्मलाई अब प्रयोग गर्नुपर्छ । एउटा सेसनमा २० देखि २५ जना मात्र होइन विषयवस्तु हेरेर ५०, १००, २०० जनालाई एकैपटक तालिम दिने मोडेल अपनाउनु पर्छ । एकै पटक धेरै जनालाई तालिम दिने मोडल चाहिन्छ । नेपालको शिक्षक तालिममा अब यस्ता मोडेलको खोजी किन नगर्ने ?
नेपालमा शिक्षक मात्र नभएर सार्वजनिक प्रशासनमा संलग्न सबैलाई अध्यावधिक गर्न माथि दिइएका वा यस्तै अन्य उपाय प्रभावकारी हुन सक्छन् । शिक्षकलाई थप योग्य बनाउने तत्कालको उपाय यही नै हो । अबका दिनमा शिक्षण पेसामा योग्य व्यक्ति भित्राउन धेरै उपायहरू अवलम्बन गर्नुपर्ने हुन सक्छ ।

मुलुकमा कार्यरत सबै शिक्षकलाई शैक्षिक वर्ष वा शैक्षिक सत्रको सुरुमा कम्तीमा पनि एक हप्ताको वा निश्चित अवधिको तालिम प्रदान गर्नुपर्छ । यति ठूलो सङ्ख्याका शिक्षकलाई एकैपटक वा थोरै समयमा तालिम प्रदान गर्न भर्चुअल माध्यमको विकल्प छैन । यसबाट गुणस्तर पुग्दैन, तालिम भौतिक उपस्थितिमा मात्र हुन सक्छ भन्ने मान्यता लिएर वर्षको पाँच सय जनालाई तालिम दिने ढाँचा अब नबदली सुखै छैन ।
नमुना कक्षा शिक्षणको भिडियो बनाएर सामाजिक सञ्जालमा राख्न सकिन्छ, जसलाई शिक्षकले आफ्नो अनुकूल समयमा प्रयोग गर्न सक्छन् । विज्ञ प्रशिक्षक वा शिक्षकले प्रदान गरेको तालिम वा कक्षा शिक्षणको भिडियो यूट्युबमा राख्न सकिन्छ । अन्य सामाजिक सञ्जालको प्रयोग गर्न पनि सकिन्छ । यस्ता सबै कार्य योजना बनाई बृहत ढङ्गबाट गर्नुपर्छ ।

विद्यालय र शिक्षकसँग कनेक्टीभिटीको अवस्था के कस्तो छ ? कार्यरत शिक्षकमध्ये कति कनेक्टिभिटीको पहुँचमा छन् ? सबैभन्दा यिनको पहिचान गर्नुपर्छ । शिक्षकलाई के कस्तो तालिम दिने ? कति अवधिको तालिम दिने ? कुन कुन ढाँचामा तालिम दिने ? संयोजन के कसरी गर्ने ? जस्ता प्रश्नका सम्बन्धमा योजना तयार गर्नुपर्छ । स्रोतको यकिन गरी व्यवस्था गर्नुपर्छ । तालिम कार्यक्रमको उपयुक्त ढङ्गबाट डिजाइन गर्नुपर्छ । सुरुमा सबैका लागि उपयुक्त हुने तालिम कार्यक्रम डिजाइन गरी कार्यान्वयनमा ल्याउनु पर्छ । यसको कार्यान्वयनपश्चात् विषयगत तालिम कार्यक्रममा प्रवेश गर्नुपर्छ ।

तालिमको गुणस्तर प्रशिक्षकको क्षमतामा भर पर्दछ । सबैभन्दा सुरुमा आवश्यक मात्रामा प्रशिक्षकको रोष्टर बनाउनुपर्छ । सङ्गठनभित्रका जनशक्तिले मात्र तालिम सञ्चालन गर्न पुग्छ भन्ने सोचबाट बाहिर आउनुपर्छ । बाहिरका जनशक्ति लिने सोच बनाउनुपर्छ । अनुगमन संयन्त्र बलियो बनाउनुपर्छ । कार्यक्रमको स्तर, सहभागिताको अवस्था, विषयवस्तुको सान्दर्भिकता आदिको अनुगमन गर्न प्रभावकारी संयन्त्र चाहिन्छ । भर्चुअल माध्यमबाट शिक्षक तालिम कार्यक्रम सञ्चालन गर्न सबैभन्दा पहिला हामी बदलिनुपर्छ, सोच बदल्नु पर्छ, कार्यशैली बदल्नु पर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?