logo
२०८१ बैशाख ११ मंगलवार



स्वस्थ मुटु नै जीवन

विचार/दृष्टिकोण |




डा. स्मृति शाक्य

स्वस्थ जीवन नै सुखी जीवन हो । स्वास्थ नै धन हो, खुसी र सम्पन्नता हो । सकेसम्म रोग लाग्नै नदिऊँ । लागिहालेमा समयमा नै उपचार गरौँ । जीवन बर्बाद हुनबाट आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ । मानव जीवन अनमोल छ । हामीलाई लाग्ने धेरै रोगको कारण हामी आफैँ नै हो । व्यस्त जीवनशैली, आधुनिक विलासी जीवनशैली, अस्वस्थ खानपिन, भौतिक सुखसुविधा, स्वास्थ्यप्रति सजग सचेत नहुनुजस्ता थुप्रै कारणले मानिस विभिन्न रोगको शिकार भइरहेका छन् । रोगको समयमा नै उपचार खोजिएन भने यसले जीवन नै बर्बाद गराएका घटना हामीले देख्दै सुन्दै आएका छौँ । हाम्रो अज्ञानता, सानो हेलचेक्र्याइँ र लापरबाहीका कारण हामीलाई रोगले आक्रमण गर्ने, र ज्यानै जानसक्ने अवस्था पनि आउन सक्छ ।

विभिन्न रोगमध्ये मुटु तथा रक्तनलीका रोग विश्वव्यापी रूपमा अधिकतम मृत्युदर बढाउने रोगमा पर्छन् । यो रोग नसर्ने रोगमध्येको एक हो । यो रोग संसारको एउटा प्रमुख स्वास्थ समस्याका रूपमा स्थापित छ । सन् २०१९ को विश्व स्वास्थ्य सङ्गठनको एक तथ्याङ्कअनुसार विश्वका एक करोड ७९ लाख मानिसको यसैका कारण मृत्यु भएको देखिएको छ । जुन विश्वभरमा भएका सबै मृत्युको ३२ प्रतिशत हुनजान्छ । यसमध्ये ८५ प्रतिशत हृदयघात र पक्षघातले गर्दा भएको देखिन्छ ।

कुनै समयमा विकसित देशमा पाइने रोग भनेर चिनिने यो रोग अहिलेको समयमा एउटा विश्वव्यापी स्वास्थ समस्या भइसकेको छ । यस तथ्याङ्कमा करिब तीन चौथाइ जति मृत्युदर कम र मध्यम आय भएका देशमा देखिएका थिए । तसर्थ हाम्रोजस्तो अल्पविकसित देशमा पनि यो एउटा प्रमुख जनस्वास्थ समस्याका रूपमा प्रस्तुत छ । आम नेपालीलाई प्रभावित बनाएको यस विषयमा तपाईं हामी सबैले ध्यान दिन जरुरी छ ।
यसका लागि सबैले हृदयघातबारे बुझ्न आवश्यक छ ।

सर्वप्रथम हृदयघात भन्नाले के बुझिन्छ भन्दा मुटुको धमनीमा रगत जम्ने र मुटुकै रक्तसञ्चारमा समस्या आउने रोग जसलाई हामी सरल भाषामा ‘हर्ट एटेक’ भनेर चिन्छाँै । हृदयघात हुँदा बिरामीलाई अचानक छातीको बीचको भागमा दुख्ने, भारी भएको महसुस हुने र बढीजसो बायाँ हात र घाँटीतिर सर्नेजस्ता लक्षण देखिन सक्छ । यससँगै बिरामीलाई वाक्वाकी लाग्ने, पसिना आउनेजस्ता लक्षण पनि देखिन सक्छ । यसको लक्षण कहिलेकाहीँ पहिले नै देखिन सक्छ जस्तो हिँड्दाखेरी छाती भारी हुने तर एकछिन आराम गरेपछि हराउने गर्छ ।

कहिलेकाँही बिना लक्षण एकैचोटी हर्ट एटेक हुनसक्छ । थाहै नपाई यो अवस्था आउन पनि सक्छ । त्यसैगरी पक्षघात भनेको पनि रक्त नलीकै समस्या हो । जसमा मस्तिष्कमा रक्तसञ्चार गर्ने धमनीमा रगत जमेर वा नसा फुटेर मस्तिष्कको त्यस भागले काम गर्न छोड्छ । पक्षघात हुँदाचाहिँ अचानक शरीरको एक भाग नचल्ने अथवा कम चल्ने गर्छ, यो सँगै मुख बाङ्गिने, बेहोस् हुने, बोली लरबराउने वा हिँड्दा शरीरको गतिविधिमा असन्तुलन हुने गर्दछ ।
यस्ता गम्भीर रोग गराउने धेरै कारण हुन्छन् । केही कारण परिमार्जन गर्न सकिन्छ भने केही कारण अपरिर्वतनीय हुन्छन् । यसका प्रमुख र महìवपूर्ण कारक तìवमा बढीजसो हाम्रो जीवनशैली रहेको भेटिन्छ । जीवनशैली भन्नाले विशेष गरी धूमपान, व्ययाममा कमी, अस्वस्थ खानेकुराको धेरै सेवन, समग्रमा निस्क्रिय जीवन शैलीले यस्ता रोगलाई बढावा दिन्छ ।

उच्च रक्तचाप हुने, मधुमेह देखिने, रगतमा कोलस्ट्रोलको मात्रा बढने, मोटोपना र तौल बढ्ने आदि यसका प्रभाव हुन् । यिनै प्रभाव र यस्तै कारक तìवले गर्दा हृदयघात र पक्षघातको जोखिम उच्च रहन्छ । विश्वव्यापीकरण सँगसँगै हाम्रोजस्तो देशमा आधुनिकीकरण पनि बढ्दो छ । जुन हामी आजभोलिका मानिसको रहनसहन र खानपिन शैलीबाट देख्न सक्छौँ । बढ्दो उमेर, वंशाणुगतजस्ता विभिन्न अपरिर्वतनीय कारणले पनि यी रोगका जोखिम बढाउने गर्छन् । यस समस्यालाई लिएर परिवारको इतिहास अर्थात् परिवारको अघिल्लो पुस्तामा कसैलाई यस्ता रोग थियो वा थिएन भन्ने तथ्यले पनि हृदयघातको जोखिम सम्भावना कम वा बेसी देखाउँछ ।

सामान्यतया महिलामा पुरुषको भन्दा यो रोग कम देखिन्छ तर रजोनिवृत्तिपछि यो रोग बढी देखिन सक्छ तर यसो भन्दैमा रजोनिवृत्तिअघि यो समस्या देखिँदैन भन्ने होइन । व्यक्तिमा रिस्क फ्याक्टरहरू (जोखिमका कारक तìव) जस्तै चुरोट सेवन, मधुमेह, उच्च रक्तचाप आदि छन् भने यो रोग देखिने सम्भावना बढी हुन्छ । पछिल्लो समयमा कम उमेरका व्यक्तिमा पनि यो समस्या प्रसस्तै देखिएको छ । त्यसो हुँदा उल्लिखित रिस्क फ्याक्टर छन् भने सबै उमेर समूहका व्यक्ति सतर्क रहनुपर्ने हुन्छ ।

तसर्थ हामीले यी रोग लाग्न नदिन, रोगबाट आफूलाई टाढा राख्न परिमार्जन गर्न सकिने कारक तìवको पहिचान गरी विभिन्न रोकथामका उपाय अपनाउन र आफ्नो जीवनशैली, खानपिन र आहार व्यवहारमा परिर्वतन गर्न जरुरी छ । यसका लागि हामीले खानपिनमा विशेष ध्यान दिनुपर्छ । हाम्रो खानेकुरामा जौ, गहुँ, मकै, कोदो, अनाज, ओटमिल इत्यादि र ताजा फलफूल तथा हरिया साग सब्जीको मात्रा प्रशस्त हुनुपर्छ । हामीले बोसोयुक्त खाना, रातो मासु तथा चिनीको मात्रा कम गर्नुपर्छ । धूमपान र मध्यपान सधैँका लागि त्याग्नुपर्छ ।

यसका अलावा दिनचर्यामा नियमित व्यायामलाई अधिक जोड दिनुपर्छ । नियमित व्यायाम भन्नाले एक दिनमा कम्तीमा ३० मिनेटको, शरीरबाट पसिना आउने गरी शारीरिक व्यायाम कसरत वा अलि छिटो गतिको हिँडाइ आदिलाई बुझ्नुपर्छ । यसरी हामीले आफ्नो निष्क्रिय जीवन शैलीलाई सक्रिय बनाउनुपर्छ । हामीले स्वस्थ रहन अथवा यस्ता समस्या आउन नदिन आफ्नो बजन अर्थात् तौललाई पनि नियन्त्रणमा राख्नुपर्छ । हामीले माथि उल्लिखित कुरासँगै सक्रिय जीवन शैली अपनाउनाले तौललाई नियन्त्रणमा राख्न सक्छौँ ।

यसरी हामीले आफ्नो जीवनशैलीमा परिर्वतन ल्याएर हृदयघात वा पक्षघातजस्ता घातक रोगबाट धेरै मात्रामा जोगिन सक्छौँ । हामीमध्ये कसैलाई उच्च रक्तचाप, मधुमेह वा हाई कोलेस्ट्रोलकोे समस्या छ भने चिकित्सकको सल्लाहमा नियमित औषधि सेवन गर्नुपर्छ ।हाम्रो स्वास्थ्य, हाम्रै हातमा छ । हाम्रो बानी व्यवहार, आचरण र खानपानमा निर्भर हुन्छ । हामी स्वस्थ रहन हाम्रो आनीबानी, आचरण, खानपानमा हामीले विशेष ध्यान दिन जरुरी हुन्छ । यससँगै जीवनशैलीमा परिवर्तन ल्याएर रक्तचापलाई सन्तुलनमा र रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्नुपर्छ ।

माथि उल्लेख गरिएका हृदयघात तथा पक्षघातका लक्षण देखिएमा, कुनै शङ्का लागेमा र शरीरमा असजिलो अनुभव भएमा नजिकको स्वास्थ संस्था वा विषय विज्ञ डाक्टरको सम्पर्कमा जानुपर्छ । समयमै उपचार भएमा अकाल मृत्युबाट बच्न सकिन्छ । हामी सबैले बुझ्नुपर्ने महìवपूर्ण तथ्य भनेको रोग लाग्न नदिनु नै सबैभन्दा उत्तम विकल्प हो । रोग कसरी र किन लाग्दो रहेछ भन्ने थाहा पाइसकेपछि रोग लगाउने कारक तìवबाट टाढा बस्नु बुद्धिमानी हो । 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?