logo
२०८२ जेष्ठ २६ आईतवार



दुर्गोत्सवको प्राचीनता

विचार/दृष्टिकोण |




डा. वासुदेव खनाल

धेरैजसो धर्मशास्त्रीय एवं ज्योतिषशास्त्रीय ग्रन्थमा चैत्र शुक्ल प्रतिपदालाई नयाँ संवत्सरको आरम्भ भएको दिन भनेर उल्लेख गरिएको छ । ब्रह्माले यो संसारको सृष्टि गर्ने क्रममा चैत्र शुक्ल प्रतिपदाको सूर्योदयको समयमा सृष्टि गरेका थिए भन्ने सम्बन्धमा विभिन्न पुराण तथा धर्मशास्त्रीय निबन्ध ग्रन्थमा वर्णन गरिएको पाइन्छ । पुराणका अनुसार त्यसै दिनदेखि नै यो संसारमा कालगणना प्रारम्भ भएको हो । धर्मशास्त्रीय निबन्ध ग्रन्थमा यो दिन महाशान्तिका साथ ब्रह्मासहित वर्ष, महिना, ऋतु, पक्ष, दिन आदि कालका अवयवको पूजा गर्नुपर्ने विधान पनि रहेको छ ।

यसरी ब्रह्मादिको पूजा गर्नाले सम्पूर्ण पाप नाश हुनुका साथै आयु, आरोग्य, धन, धान्य तथा सौभाग्य अभिवृद्धि भई घरमा मङ्गल एवं पवित्रता हुनुका साथै यस लोक एवं परलोक पनि सुखदायक रहन्छ भन्ने शास्त्रीय मान्यता छ । नवसंवत्सरारम्भको दिन घरलाई ध्वजापताकाले सजाउने, स्नान, ब्राह्मणका साथ मङ्गलगान, देवता, मान्यजन, नारी एवं बालबालिकालाई नयाँ वस्त्र तथा अलङ्कार प्रदान गरेर ज्योतिषीबाट पञ्चाङ्ग श्रवण गर्नुपर्ने कुराको उल्लेख पनि शास्त्रमा छ । तैलाभ्यङ्ग अर्थात् शरीरमा तेल लगाउने कार्यलाई नवसंवत्सरारम्भमा अनिवार्य नै मानिएको छ । रोग शान्तिका लागि मरिच, नुन, जिरा, ज्वानो तथा नीमको फूलका साथ कोमल पातको चूर्ण बनाएर खानुपर्ने कुराको उल्लेख पनि धर्मशास्त्रीय तथा आयुर्वेदिक ग्रन्थमा पाइन्छ ।


नवसंवत्सरारम्भको दिनसँग दुर्गोत्सव तथा घर–घर एवं शक्तिपीठमा घटस्थापना गरेर मनाउने प्राचीन परम्परामा विगत केही दशकदेखि शिथिलता आएको पाइन्छ । प्राचीनकालमा आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गोत्सव मनाएजस्तै चैत्र शुक्ल प्रतिपदादेखि लिएर नवमीसम्म दुर्गापूजा तथा दुर्गोत्सव मनाउने परम्परा छ । जसलाई वासन्तिक नवरात्रका नामले पनि जानिन्छ । यही नवमीका दिन श्रीरामको जन्म भएकाले श्रीरामको जन्मजयन्ती पनि यसै दिन मनाउने गरिन्छ । दुर्गोत्सव शरद (आश्विन शुक्ल) र वसन्त (चैत्र शुक्लपक्ष)मा समान रूपले मनाउनुपर्ने कुराको उल्लेख धर्मशास्त्रीय ग्रन्थमा गरिएको छ ।

हुन त वर्षमा चारवटा नवरात्र मनाइने परम्परा रहेको छ, जसअनुसार आषाढ शुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्र र पौष शुक्ल पक्षको प्रतिपदादेखि नवमीसम्मलाई पनि नवरात्रका नामले जानिन्छ । जसको वर्णन देवीभागवत आदि पौराणिक ग्रन्थमा गरिएको छ । आषाढ शुक्लमा पर्ने नवरात्र र पौष शुक्लपक्षको नवरात्रलाई त्यति महìव दिइएको देखिँदैन र यी नवरात्रलाई गुप्त नवरात्र पनि भन्ने गरिन्छ । प्राचीनकालमा चैत्र शुक्लपक्षको नवरात्र र आश्विन शुक्लपक्षको नवरात्रलाई समान रूपले महìव दिएको देखिन्छ । आश्विन शुक्लपक्षमा पर्ने नवरात्रलाई जस्तो महìव चैत्र शुक्लपक्षको नवरात्रलाई नदिइए पनि चैत्र शुक्लपक्षमा पनि शक्तिपीठमा घटस्थापना गरी भवानी दुर्गाको पूजा तथा आराधना गर्ने परम्परा विद्यमान छ ।

हिन्दु सनातन धर्ममा कुनै पनि व्रत, उत्सव तथा पर्वका लागि विशेष कालको निर्धारण धर्मशास्त्रीय नियम र विधानअनुसार गरिएको छ । कुनै पनि व्रत तथा उत्सवको प्रारम्भ तथा अन्त्य गर्दा विशेष काल तथा समयमा गर्नुपर्ने शास्त्रीय विधान रहेको छ । यसरी विशेष कालमा व्रतोत्सव गर्नुपर्ने भएको हुँदा सर्वप्रथम कालसम्बन्धी ज्ञान अत्यावश्यक देखिन्छ । हिन्दु सनातन धर्मशास्त्रीय निबन्ध ग्रन्थका विशेष गरेर आठ प्रकारका काललाई व्यवहारमा ल्याउने गरिएको पाइन्छ । जसअनुसार १. संवत्सर, २. अयन, ३. ऋतु, ४. महिना, ५. पक्ष, ६. तिथि, ७. बार र ८ नक्षत्र रहेका छन् । यहाँ संवत्सरको विषयवस्तुलाई उठान गरेर तथा केही परिचय प्रस्तुत गरेर अन्य अयनादिलाई अन्य कुनै अवसरमा उठान गर्ने गरी सम्बन्धित विषय दुर्गोत्सवका सम्बन्धमा उल्लेख गरिएको छ ।

संवत्सर
सम्पूर्ण ऋतुको एउटा चक्रलाई संवत्सर भनिन्छ । अर्थात् कुनै ऋतुबाट प्रारम्भ भएर पुनः त्यही ऋतु आउनका लागि जति समय लाग्छ, त्यसैको नाम नै संवत्सर हो । एउटा संवत्सरभित्र सम्पूर्ण ऋतु पर्छन् भनी अमरकोशको कालवर्गमा रहेको संवत्सर शब्दको व्याख्या गर्दै क्षीरस्वामीले उल्लेख गरेका छन्, संवसन्ति ऋतवोऽस्मिन् संवत्सरः – क्षीरस्वामी, अमरकोश, कालवर्ग, २० ।
संवत्सरको माध्यमबाट नै मानिसलगायत सम्पूर्ण प्राणीको आयुको गणना पनि हुने गर्दछ । जसमा सबै प्राणी रहन्छन्, त्यो समयविभागको नाम नै संवत्सर हो भनेर निरुक्तमा उल्लेख गरिएको छ– संवत्सरः संवसन्तेऽस्मिन् भूतानि । निरुक्त, अ.४, पा.४ खं.२७ ।

यसरी सम्पूर्ण ऋतुको र सबै प्राणीको कालविभाजनको आधारको नाम नै संवत्सर हो भन्ने कुरा पनि स्पष्ट हुन आउँछ । यदि मानवलाई संवत्सरको ज्ञान हुँदैनथ्यो भने न त उसले ऋतुविभागलाई जान्दथ्यो न त प्राणीको आयुको गणना नै हुन सक्दथ्यो । जसले गर्दा सम्पूर्ण प्राणीको जीवनसँग संवत्सरको सम्बन्ध रहेको देखिन्छ । संवत्सर तथा ऋतु–विभागको सम्बन्ध सूर्यका गतिसँग छ । जसले गर्दा सूर्यलाई संवत्सर तथा कालका अधिदेवता मानिएको छ । किनभने सूर्यको अभावमा न त संवत्सर नै हुन्थ्यो न त कालको विभाजन नै । यसर्थ सूर्य नै काल विभाजनको कारण हो ।

संवत्सरारम्भ (चैत्र शुक्ल प्रतिपदा)
धर्मशास्त्रीय एवं ज्योतिषशास्त्रीय अधिकांश ग्रन्थमा चैत्र शुक्ल प्रतिपदालाई नयाँ संवत्सरको आरम्भ भएको दिन भनेर उल्लेख गरिएको छ । त्यसमा पनि जुन दिन सूर्योदयको अवसरमा प्रतिपदा तिथि रहेको छ, त्यही दिनलाई संवत्सरारम्भ मान्नुपर्ने कुराको उल्लेख पनि धर्मशास्त्रीय ग्रन्थमा गरिएको छ । ब्रह्मपुराणमा त्यही दिन सूर्योदय हुने बेलामा ब्रह्माले यो संसारको सृष्टि गरेको कुरा उल्लेख गरिएको छ ।


शरद र वसन्तमा पर्ने दुर्गोत्सवलाई समान रूपमा मनाउनुपर्छ । यही परम्पराअनुसार नै वसन्त र शरदमा पर्ने नवरात्रमा दुर्गोत्सव मनाउने गरिएको हो । वसन्त ऋतुमा नवरात्र मनाएको छ महिना अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि पनि नवरात्रको प्रारम्भ हुन्छ । प्राचीनकालमा यी दुवै दिन महìवका साथ घर–घरमा देवी दुर्गाको स्थापना गरी पूजा तथा आराधना गर्ने गरिएको कुरा विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । पछिल्ला दिनमा चैत्र शुक्ल प्रतिपदादेखि सुरु हुने नवरात्र तथा दुर्गोत्सवलाई भन्दा आश्विन शुक्ल प्रतिपदामा मनाइने दुर्गोत्सवलाई विशेष महìव दिने गरिएको देखिन्छ । राज्यपक्षबाट पनि यो नवरात्रलाई विशेष महìव दिएर लामो समयसम्म बिदा दिने प्रचलनले पनि शरद ऋतुको पहिलो दिनबाट सुरु हुने शारदी नवरात्रले विशेष महìव पाएको हो ।

दुर्गोत्सवका सम्बन्धमा वैदिक सनातन धर्ममा विशाल साहित्य पाइन्छ । व्रत, पूजा, तिथिका सम्बन्धमा प्रकाश पार्ने उद्देश्यले लेखिएका धेरैजसो ग्रन्थमा दुर्गोत्सवको वर्णन गरिएको पाइन्छ । केवल दुर्गोत्सवका सम्बन्धमा पनि धेरै ग्रन्थ प्राचीन कालदेखि नै प्रकाशित भएको देखिन्छ । जसमध्ये दुर्गोत्सवविवेक, दुर्गापूजा प्रयोगतìव, दुर्गार्चन पद्धति, दुर्गाभक्ति तरङ्गिणी, नवरात्र–प्रदीप आदि रहेका छन् । दुर्गोत्सवका सम्बन्धमा मार्कण्डेयपुराणमा वर्णित (अध्याय ७८–९०) देवीमहात्म्य (दुर्गासप्तशती) अत्यन्त महìवपूर्ण मानिन्छ । जसमा विष्णु, शिव, अग्नि आदि सबै देवताको तेजबाट उत्पन्न भएकी देवीको स्वरूपको वर्णन गरिएको छ । दुर्गासप्तशतीमा उल्लेख भएअनुसार शिवबाट त्रिशूल, विष्णुबाट चक्र, इन्द्रबाट वज्र आदि हतियार देवी दुर्गाले प्राप्त गरेर महिषासुर, चण्ड, मुण्ड, शुम्भ, निशुम्भ आदि दानवलाई वध गरी विजय प्राप्त गरेको कुरा वर्णन गरिएको छ । कालिकापुरा, बृहन्नन्दिकेश्वर पुराण, देवीपुराण तथा देवीभागवतमा दुर्गा एवं उनको पूजाका सम्बन्धमा विशद वर्णन गरिएको छ ।

दुर्गोत्सवका नौ दिनमा देवीका विभिन्न रूपको अर्थात् भिन्न–भिन्न नामले पूजा गनुपर्ने कुराको उल्लेख दुर्गासप्तशतीमा गरिएको छ । जसअनुसार पहिलो दिनकी देवीको नाम शैलपुत्री हो, दोस्रो दिनकी देवीको नाम ब्रह्मचारिणी हो भने तेस्रो दिनकी देवीको नाम चन्द्रघण्टा हो । यस्तै चौथो दिनकी देवीको नाम कुष्माण्डा हो भने पाँचौँ दिनकी दुर्गादेवीको नाम स्कन्दमाता हो । छैटौँ दिनकी देवीको नाम कात्यायनी हो भने सातौँ दिनकी देवीको नाम कालरात्रि हो । यस्तै आठौँ दिनकी देवीको नाम महागौरी हो भने नवौँ दिनकी दुर्गाको नाम सिद्धिदात्री हो । यसरी पहिलो दिनदेखि नौ दिनसम्मका देवीलाई छुट्टाछुट्टै नामले बोलाएर तथा पूजा तथा आराधना गर्ने गरिन्छ ।
दुर्गापूजा नित्य र काम्य दुवै हो  । जुन कुरा नित्य हुन्छ, त्यस्तो कर्म प्रमाद, छल, घमण्ड आदिका कारण नगरेको अवस्थामा दोष लाग्ने कुरा शास्त्रमा वर्णन गरिएको छ । यस्तै दुर्गापूजा विशेष कामना अर्थात् देवीलाई प्रसन्न गराएर अभीष्ट फल प्राप्त गर्ने उद्देश्यले पनि गर्ने गरिन्छ । यसरी कुनै पनि कामनाका साथ देवीको पूजा गरेको अवस्थामा धर्म, अर्थ, काम र मोक्ष गरी यी चारवटै पुरुषार्थ प्राप्त हुने कुराको वर्णन पनि विभिन्न धर्मशास्त्रीय ग्रन्थ तथा पुराणमा गरिएको छ ।

दुर्गापूजा तथा दुर्गोत्सव केवल चार वर्णका लागि मात्र नभएर सबै जाति र वर्णका लागि भएको कुराको वर्णन विभिन्न पुराणमा गरिएको छ । जसले गर्दा यो दुर्गोत्सवको धार्मिक मात्र नभएर सामाजिक महìव पनि प्राचीनकालदेखि रहिआएको देखिन्छ । देवी दुर्गाको पूजा सात्त्विक , राजसी र तामसी रूपमा पनि गर्न सकिने कुराको वर्णन विभिन्न धार्मिक ग्रन्थमा गरिएको छ । जसअनुसार दुर्गाको सात्त्विक पूजामा षोडषोपचारका माध्यमले पूजा हुन्छ भने नैवेद्यका रूपमा फल, पक्वान्न आदि दिइन्छ । यस्तै राजसी पूजामा पशुबलि दिने गरिन्छ भने तामसी पूजामा सुराका साथ मासु पनि प्रयोग गर्ने गरिएको कुराको वर्णन शास्त्रीय ग्रन्थमा पाइन्छ । चैत्राष्टमीका दिन नेपालका विभिन्न शक्तिपीठमा बलि दिने परम्परा पनि रहिआएको छ । शरदऋतुमा पर्ने दशमीका दिनमा विशेष महìवका साथ मनाउने गरिन्छ भने चैत्र महिनामा अष्टमीका दिनलाई चैते दशैँका रूपमा मनाउने गरिन्छ । यही नै धर्मशास्त्रीय विधिविधान र मान्यता पनि हो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?