logo
२०८१ बैशाख १५ शनिवार

धुमधाम साथ मनाइयो मोहम्मद डे (फोटो फिचर)

फोटो फिचर |
समाज |


2020-10-30-25633


सिराज खान/गोविन्द शर्मा
नेपालगञ्ज, कात्तिक १४ गते । कोभिड १९ महामारीबीच विविध कार्यक्रमको आयोजना गर्दै ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्ललाहो अलैही वसल्लमको १४९४ औं शुभ जन्मोत्सव नेपालगञ्जमा धुमधामका साथ मनाईएको छ ।
सो अवसरमा शुक्रबार विहान मुस्लिमलगायत अन्य धर्मावलम्बीको समेत ठूलो संख्यामा सहभागिता रहेको एक जुलुसले नगरपरिक्रमा गरेको थियो । नेपालगञ्ज र सो वरिपरिबाट विभिन्न नारा लिखित प्लेकार्ड तथा ब्यानर लिएर आएका समुदायका सर्वसाधारणको जुलुसमा सहभागिता  थियो ।सो अवसरमा नगरका विभिन्न स्थानमा मिठाई, फलफूल, चिया र अन्य सामाग्रीहरु पनि बितरण गरिएको थियो ।
शुभजन्मोत्सव जुलुशले नेपालगञ्जका सबै मुख्य भागको परिक्रमा गरी करिब पाँच घण्टाको हिंडाईपछि स्थानीय गौसिया मदरसामा पुगेर समापन भएको थियो ।
समापनमा बोल्दै अधिकांश मुस्लिम अगुवा तथा धर्मगुरुहरुले हजरत मोहम्मदको सन्देश भाइचारा, शान्ति र सदभाव भएकोले सोही बमोजिम सदभाव कायम राख्न सबैसँग आग्रह गर्नुभयो ।
संघिय, प्रदेश र स्थानीय तीनवटै सरकारले सार्वजनिक बिदा नदिईएकोमा मुस्लिम अगुवाहरुले दुःख व्यक्त गर्नुभयो । मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले मोहम्मद डे मा सार्वजनिक बिदा माग गरिए पनि सुनवाई नभएकोमा दुःख ब्यक्त गर्दै यसले मुस्लिम समुदायको भावनामा चोट लागेको बताउनुभयो ।
उहाँले तीनवटा तहका सरकारमध्ये कसैले पनि मुस्लिमका चाडपर्वलाई महत्व नदिनु दुखद भएको बताउनुभयो । मुस्लिम समुदायका अगुवा तथा संविधानसभाका सदस्य अब्दुल हमीद सिद्दिकीले मोहम्मद डे मा तीनवटा मध्ये कुनै पनि सरकारले बिदा नदिएकोमा दुःख लागेको बताउनुभयो ।
उता, बाँकेको नरैनापुर गाउँपालिकाले भने मोहम्मद डे को अवसरमा शुक्रवार विदा दिएको छ । स्थानीय सरकारले विदा घोषणा गरेकोमा सो पालिकाका मुस्लिमहरुले सरकारप्रति आभार व्यक्त गरेका छन् ।
मोहम्मद डे का लागि नेपालगञ्ज नगरलाई सिंगारिएको छ । जताततै ध्वजा पताका र झण्डाले सजाईएको छ । सहरलाई नै रंगिचंगी बनााईएको छ ।
जन्मोत्सवका अवसरमा स्थानीय धम्बोझी चोक, ईदगाह रोड र फुलटेक्रा रोडमा विहीवार राती विविध कार्यक्रमको आयोजना गरेको थियो ।
बिहीबार रातभरी विभिन्न मस्जिद र मदरसामा जाग्राम बसेर धार्मिक प्रार्थनाहरु गरिएका थिए भने राती पनि विभिन्न स्थानमा छुट्टा छुट्टै जुलुसहरु निकालिएको मदरसा फैजुन्नबीका महासचिव ईर्फान सिद्दिकीले बताउनुभयो ।