logo
२०८१ बैशाख १३ बिहीवार

आफन्तको सम्झनामा श्रमदानले बन्यो अनुपम पदमार्ग

फोटो फिचर |
पर्यटन |


2020-11-05-26015


ठाकुरप्रसाद आचार्य
म्याग्दी,कात्तिक २० गते । अक्करे भीर पाखोमा ढुङ्गा कुँदेर चिटिक्क पारिएका सिँढी ! ठाउँ–ठाउँमा आराम गर्न बनाइएका आकर्षक चौतारी र पिउने पानीका धारा । यो पर्यटकीय स्थल खोप्रा र खयरलेक जान म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउँद्वारका स्थानीयवासीहरुले बनाएको पदमार्ग हो ।
पाउँद्वारवासीहरुले आफन्तको सम्झनामा श्रमदान गरेर पदमार्ग निर्माण गरेका हुन । ठाउँठाउँमा पानीका धारा र चौतारीको आफन्तकै नामबाट नामकरण गरिएको छ ।
सरकारी लगानी विना स्थानीवासीले श्रमदान गरेर कालिगण्डकीको तीरदेखि हिमालको फेदीसम्म आकर्षक पदमार्ग निर्माण गरेका हुन । अन्नपूर्ण र नीलगिरी हिमालको फेदीमा रहेको पर्यटकीय स्थल खोप्रा र खयरलेक जाने पर्यटकहरु चिटिक्क र सुविधा सम्पन्न पदमार्गका कारण थकान अनुभव नै गर्दैनन् । पाउँद्वारदेखि खोप्रा पुग्न सात घण्टा र त्यसपछि खयरलेक पुग्न त्यति नै समय लाग्छ । कालिगण्डकीको तीर पोखरेबगरदेखि खयर लेकसम्म नै स्थानीयवासीहरुले चिटिक्क पारेर पदमार्ग बनाएका छन् ।
उकाली चढ्दा पर्यटकको तिर्खा मेटाउन ठाउँठाउँमा पानीका धारा निर्माण गरिएको छ । आकर्षक पदमार्गका कारण घण्टौंं उकाली चढेको पत्तै भएन पोखराबाट खोप्राको भ्रमणमा आउनुभएका प्रेम कार्कीले अनुभव सुनाउनुभयो । यस्तोखालको पदमार्ग मैले पहिलो पटक देखे उहाँले भन्नुभयो । यहाँ नौलो खालको अभ्यास रहेछ कार्कीले भन्नुभयो,‘आफन्तको सम्झना र सम्मानका लागि पदमार्ग बनाउने आहा कस्तो राम्रो अभ्यास ।’
देश तथा विदेशमा रहेका पाउद्वारबासीले आफ्ना दिवंगत आफन्तको सम्झनामा र ८४ वर्ष उमेर पुगेका बाबाआमाको सम्मानका लागि पदमार्ग बनाउने गरिएको स्थानीयवासी रुद्र पुनले बताउनुभयो ।
पाउद्वारदेखी खोप्रा लेक जाने पर्यटकका लागि बाटोमा तिर्खा लाग्दा खानेपानी थिएन् । पर्यटकले पाउद्वारदेखी नै बोकेर जानुपर्ने बाध्यता थियो स्थानीयवासी बुद्धि पुनले भन्नुभयो, ‘अहिले स्थानीयवासीले आफ्नो पितृको उद्धार होस् भनेर बाटोमा खानेपानीको धारा, थकान लाग्दा बस्ने चौतारी र बासवस्नुपरेमा सत्तल पनि बनाएका छन्’ आफ्ना बाबाआमालाई सम्झने र सम्मान गर्ने पाउँद्वारवासीको छुट्टै तरिका रहेको पुनले बताउनुभयो ।
हाल पोखरा बस्दै आएका कृष्णबहादुर तिलिजाले बुवा ८४ बर्ष पुगेको उपलक्ष्यमा पूजा गर्नुभन्दा उहाँको सम्मानस्वरुप सातलाखको लागतमा ५८५ वटा सिँढी बनाइदिनुभयो । कृष्ण तिलिजाको परिवार त एउटा प्रतिनिधि पात्र मात्र हुन्, करिब तीन दर्जनभन्दा बढी घरपरिवार रहेको पाउद्वारबासीले हरेक घरपरिवारले पदमार्ग बनाएका छन् । सरकारी निकायले कुनै सहयोग नगरेपछि पदमार्ग बनाउन गाउँलेहरु जुटेको स्थानीवासी राजु पुनले बताउनुभयो ।
‘आफन्तको सम्झनामा केही गर्नुपर्छ भनेर सबैलाई अनुरोध ग¥यौं केही वर्ष पहिलेदेखि पदमार्ग निर्माण गर्न सुरु गरेका हौं उहाँले भन्नुभयो ‘अहिले त लगभग पूरै पदमार्ग बनिसकेको छ ।’ चिटिक्क परेको आकर्षक पदमार्गका कारण ख्रोप्रा र खयरलेकको भ्रमणमा जाने पर्यटकहरुको संख्यामा पनि वृद्धि भएको छ ।