अमरराज नहर्की
तनहुँ, जेठ २१ गते । तनहुँमा उत्पादित कटहर राजधानीको भान्सामा पुग्ने गरेको छ । अन्य सहरमा भन्दा माग बढी र मूल्यपनि धेरै पाईने भएकोले राजधानी काठमाडौंमा पुग्ने गरेको हो ।
‘‘राजधानीमा कटहरका पारखी धेरै छन् बढी मूल्यमा विक्री गर्न पाइन्छ’’ देवघाट गाउँपालिका– ५ निवासी कटहरका ठेकेदार सोमबहादुर गुरुङले बताउनुभयो । कालीमाटी थोक बजारमा विक्री गर्न भन्दा घरघरै विक्री गर्दा फाईदा धेरै हुने अधिकांश खुद्रा विक्री गर्ने गरेका उहाँले बताउनु भयो ।
कटहरको तरकारी धेरै भान्साको रोजाई हुने भएकोले बिक्रीको लागि समस्या नभएको गुरुङले जानकारी दिनुभयो । सोही ठाउँका ठेकेदार गुन्जबहादुर गुरुङले कटहरका बोटहरु ठेक्कामा लिइ टिपेर काठमाडौंमा बिक्री गर्ने गरेको जानकारी दिनुभयो यो वर्ष देवघाट गाउँपालिका क्षेत्रबाट मात्रै तीन लाख रुपियाँको कटहर बेचिसकेको गुरुङ बताउनुहुन्छ । छ ट्रक कटहर लगिसकियो अरु तीन ट्रक लान बाँकी रहेको उहाँ बताउनुहुन्छ । स्थानीरुसँग कटहरका बोटहरु ठेक्कामा लिइ बिक्री गर्दै आएको ठेकेदारले बताएका छन् ।
देवघाट, आँबुखैरेनी र बन्दीपुर गाउपालिकाका गरी तीन हजार बोट ठेक्कामा लिएको गुरुङले जानकारी दिनुभयो । थोकमा ३० रुपियाँ प्रतिकिलो र खुद्रामा ५० रुपियाँ प्रतिकिलोमा बेच्ने गरेको उहाँले बताउनुभयो । काँचो अवस्थामा रुख कटहर नेपाली भान्साहरुमा तरकारीको रुपमा खाने गरिन्छ । रुख कटहरको तरकारी मासुको जस्तै स्वादिलो हुने र पोष्टिकता पनि धेरै हुने गरेकोले गृहिणीहरुको रोजाईमा पर्ने गरेको व्यापारीको बताउँछन् । गत वर्ष दुई जना ठेकदारले उनीहरुले तीन लाख रुपियाँको कटहर काठमाडौं लगेर बेचेका उहाँहरुले बताउनुभयो । कटहर बेचेको पैसाले सात जनाको परिवार पाल्दै आएको सोमबहादुरले बताउनुभयो । ‘‘एक महिना व्यापार गर्दा वर्षभरीलाई यसको नाफाले खान पुग्छ’’ सोमबहादुरले भन्नुभयो ।
दश वर्ष अघिदेखि कटहर लगायतका तरकारी खरिद गरेर बिक्री गर्दै आएको ती व्यापारी बताउँछन । कटहर धेरै समय राख्दा पनि नहुहिने र माग पनि उच्च रहेकोले बिक्री गर्न सहज भएको राजधानीमा तरकारी विक्री गर्दै आउनुभएका आँबुखैरेनी कृष्णमान श्रेष्ठले बताउनुभयो । तनहुँको घिरिङ गाउँपालिका पुट्टार घर भई हाल राजधानी बस्नुहुने सुगम सङ्गीतका गायक राज सिग्देल सबैभन्दा मन पर्ने तरकारी कटहर भएको बताउनुहुन्छ ।
सिजनको बेला खोजी खोजी तरकारी किनेर ल्याउने गरेको छु भनेको बेला नपाइने समस्या छ’’ गायक सिग्देलले भन्नुभयो । बाल्यकाल्यमा गाउँमा कटहरको तरकारी मनपर्ने गरेकोले स्वादको याद आएर राजधानी खोज्ने गरेको उहाँ बताउनुहुन्छ ।
रुख कटहर पहिले भन्दा हाल व्यावसायिक बन्दै गए पनि जति व्यवसायिक विस्तार हुनु पर्ने हो त्यति हुन नसकेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । कटहरबाट पर्याप्त मात्रामा कार्बोहाइड्रेड, खाद्य फाइबरहरु, भिटामीन ए, बी र सी का अतिरिक्त यो पोटासियम, म्याग्नेसियम, म्याग्नेस, क्याल्सियम र फलाम जस्ता उपयोगी तत्वरुको पनि राम्रो स्रोत भएकोले युरोपियन देशहरु व्यावसायिक खेती विस्तार हुँदै गए पनि नेपालमा कम चासो रहेको तिवारी बताउनुहुन्छ ।
‘‘धेरै जसो आफन्तलाई कोशेली रुपमा पठाउँने गरिन्छ थोरै मात्रमा व्यावसायिक रुपमा विक्री गर्दै आईरहेका छन् कटर सम्भावना भएको खेती हो’’ कार्यालय प्रमुख तिवारीले बताउनुभयो । नेपालमा कटहरलाई अशुभको रुपमा समेत हेर्ने परम्परागत सोचाईले गर्दा व्यावसायिक विस्तारको लागि समस्या भएको उहाँ बताउनुहुन्छ ।
रुढीवादी सोचाइ राख्नेले कटहरलाई गाडीमा राखेर लैजान हिचकिचाउने गरेकोले छोपेर र बिक्री गर्न जैजानु पर्ने समस्या भएको तिवारीले जानकारी दिनुभयो । कटहरको नियमित सेवनले मानिसको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउने गर्छ । कटहरको सेवन गर्ने गर्नाले मानिसको मुटु स्वस्थ रहने, पाचन प्रणाली सुदृढ हुने र खानेकुराहरु राम्ररी पच्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । यो तरकारी फलफूल र तरकारी दुवैमा प्रयोग हुन्छ । काँचोमा तरकारी र पाकेपछि फलफूलको रुपमा प्रयोग हुन्छ ।