logo
२०८१ बैशाख २३ आईतवार

बेनी–जोमसोम सडक पुनः अवरुद्ध (फाेटाे फिचर)

फोटो फिचर |
प्रदेश |


2021-08-02-43502


अमृतप्रसाद पौडेल
बेनी, साउन १६ गते । हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एकमात्र राजमार्ग बेनी–जोमसोम सडकखण्ड पुनः अवरुद्ध भएको छ । गएको बैशाखदेखि जोमसोम–पोखरा हवाई यातायात बन्द भएको समयमा एक मात्रै मार्ग बेनी–जोमसोम अवरुद्ध हुँदा जिल्लाका बिरामीहरु थप उपचारका लागि अन्यत्र पठाउनुपर्ने भएमा निकै कठिनाई हुने भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक (ईन्स्पेक्टर) वीरेन्द्रराज गुरुङका अनुसार आइतबार बेलुकादेखि म्याग्दीको उत्तरी भेगमा परेको भीषण वर्षाले अन्नपूर्ण गाउँपालिका–३ काभ्रे, तितर, गुर्इँठे र रुप्से गरी चार स्थानमा माथिबाट खसेको पहिरोले सडक पूर्ण रुपमा अबरुद्ध बनेको हो ।
अवरुद्ध सडक खुलाउनका लागि गएको प्रहरी टोली दिउँसो पानी परेर सडक अन्यत्र पनि बन्द हुँदा आफ्नो सवारीसाधन उतै छाडेर फर्कनुपर्ने अवस्था आइपरेको ईन्सपेक्टर गुरुङले बताउनुभयो ।
जिल्लाभित्र तथा जिल्ला बाहिरबाट मुस्ताङ प्रवेश गर्ने यात्रुवाहक सवारीलाई साउन महिनाभर नै रोक लगाइएकोले अहिले यात्रुहरु अलपत्र परेको भन्ने जानकारी नभए पनि खाद्यान्न तथा निर्माण सामग्री बोकेर आउने ट्रक म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा रोकिएको जानकारी आफूले पाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभयो ।
प्रजिअ पौडेलले दिएको जानकारीअनुसार मुस्ताङको तल्लो भेग थासाङ गाउँपालिका र म्याग्दीको उत्तरी भेग अन्नपूर्ण गाउँपालिकामा वर्षाले गर्दा पहिरो निरन्तर झर्ने गरेकोले सीधा सवारी सञ्चालनमा ल्याउन मुस्किल भएको छ ।