logo
२०८१ बैशाख ७ शुक्रवार

सामुदायिक वन भित्र चिटिक्कको पार्क, टिकटक र फेसबुकले बनायो भाइरल (फोटो फिचर)

फोटो फिचर |
प्रदेश |


2021-08-04-43627


जानु पाण्डे
कपिलवस्तु साउन २० गते । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नं. ५ मा रहेको मधौलिया उद्यान लभ पार्कको नामबाट सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मधौलिया सामुदायिकले वन क्षेत्रमा सौन्दर्यकरण गरेपछि आन्तरीक र बाह्य पर्यटको सङ्ख्या बढेको छ । विगत एक महिनादेखि फोटो खिच्ने र टिकटक बनाउनका लागि दैनिक सात सयको हाराहारीमा पर्यटक आउने गरेको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खडानन्द गौतमले बताउनुभयो । अतिक्रमण परेको वन क्षेत्रलाई २०४९ सालमा जिल्लाको पहिलो सामुदायिक वनको रुपमा दर्ता गरिएको थियो । दर्तापछि २५ वर्षसम्म निष्क्रिय अवस्थामा रहेको वन कपिलवस्तुका डिभिजनल वन प्रमुख ईश्वरी पौडेलको पहलमा चिटिक्क बनेको छ । दुई वर्ष अगाडिदेखि पर्यटनको विकास भएपछि पहिचान बनाउन सफल भएको थियो ।

उद्यानमा स्थापना गरिएको सप्तरङ्गी फलामे रिङ्ग प्रति पर्यटकको आक्रषणका कारण चर्चित बन्न पुगेको स्थानीय बताउँछन् । घुम्न आउनेले सामाजिक सञ्जालमा पोष्ट गरेको कारण त्यो देखेर घुम्न आउनेको घुइँचो लागेको छ । इन्द्रेणीका ७ रङले सजिएको १२ रिङ्गमा टिकटक बनाउने फोटो खिच्ने र सामाजिक सञ्जालमा पोष्ट गर्नका लागि पर्यटक आउने गरेको बाणगङ्गा नगरपालिका वडा नं. ५ का अध्यक्ष भिष्मराज भुसालले बताउनुभयो । पूर्वपश्चिम राजमार्गदेखि दुई किलोमिटर दक्षिणतर्फ रहेको उद्यानमा दुई वर्षमा करिव एक करोड खर्च गरिएको छ ।

अतिक्रमणमा परेको वन क्षेत्रमा इको पर्यटनको रुपमा विकास गर्नका लागि डिभिजन वन कार्यलय कपिलवस्तु, बाणगगा नगरपालिका, सामुदायिक वनले लगानी गर्दै आएका छन् । उद्यान परिषरमामा पर्यटकहरुलाई आकर्षण गर्ने जनावर र चराचुरुङ्गीका आकृति स्थापना गरिएको छ । वनभोजका लागि ट्रस निर्माण भएको छ । संरचना निर्माण क्रममा रहेकोले अहिलेसम्म अवलोकन निःशुल्क गरिएको छ । उद्यानलाई अझै विस्तार र व्यवस्थित गरिसकेपछि प्रवेश शुल्क लिने योजना रहेको अध्यक्ष गौतमले बताउनुभयो ।