logo
२०८१ मंसिर ८ शनिवार

सेतीनदीे कटानले भीमाद बजार जोखिममा, बजेट नहुँदा नियन्त्रणको काम भएन (फोटो फिचरसहित)

फोटो फिचर |
प्रदेश |


2021-09-13-46585


अमरराज नहर्की
तनहुँ, भदौ २८ गते । तनहुँको भीमाद नगरपालिका–६ भिमाद बजारका ४१ घर परिवार पहिरोको उच्च जोखिमा रहेका छन् । सेती नदी कटानले निरन्तर पहिरो झरिरहेको भए पनि व्यवस्थापनको लागि रकम प्रयाप्त नहुँदा जोखिममा परेका हुन् । पहिरोले भिमाद बजारको कुमारचोकमा सबैभन्दा धेरै क्षति पुगेको छ ।
बजार जोगाउनलाई धेरै बजेट आवश्यक पर्ने भएकोले स्थानीय स्रोत सम्भव नहुँदा समस्या परेको भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो ।
‘‘पहिरो नियन्त्रणको लागि २० करोड रुपियाँ आवश्यक देखिन्छ नगरपालिकाको आन्तरिक स्रोतबाट सम्भव नभएकाले सङ्घ तथा प्रदेश सरकारलाई सहयोग गर्न बारम्बार आग्रह गर्दा पनि पर्याप्त बजेट निकासा भएको छैन’’ प्रमुख प्रशासकीय अधिकृत थापाले भन्नुभयो । नगरपालिकाले पाँच लाख रुपियाँ विनियोजन गरिएकोमा सो रकमले २० करोड लागत लाग्ने विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पारी गण्डकी प्रदेश सरकारलाई पठाईएकोमा प्रदेशले परिमार्जन गरी १६ करोडको लागत स्टमेट तयार गरी ३० लाख वजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिनुभयो ।
‘‘गतवर्ष एक करोड प्रदेश सरकारले छुृट्टाएको भएपनि कोभिडको कारणले रकम निकासा नहुँदा टेन्डर हुन पाएन हाल पनि थोरै रकम छुट्याएकोले काम अघि बढाउन कठिनाई भएको छ’’ थापाले भन्नुभयो । नदी कटान रोक्नका लागि तटबन्धन गर्न जरुरी रहेको गण्डकी प्रदेश सरकारलाई जानकारी दिइएको भए पनि आवश्यक बजेटको व्यवस्था नगर्दा वर्सेनि जोखिम बढ्दै भएको भीमाद नगरपालिका वड नम्बर ६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले बताउनुभयो । ‘‘स्थानीय तहको सीमित बजेट नदी कटानका लागी हात्तीको मुखमा जिरा सरह हुन्छ’ वडाध्यक्ष जोशीले भन्नुभयो, प्रदेश र सङ्घ सरकारले चासो कम दिँदा बजार क्षेत्रकै भविष्य सङ्टमा छ’’ ।
भिमादको बजारको कुमारचोकमा झण्डै ४१ घर पूर्ण जोखिमका रहेको जानकारी दिँदै वडाध्यक्ष जोशीले डिपिआर समेत भइसकेकोले तटबन्धनको काम तत्काल गर्न आवश्यक रहेको बताउनुभयो । तटबन्धको काम नहुँदा अन्य नदीले निरन्तर कटान गरिरहेकोले अन्य १०० घर पनि जोखिममा पर्दै जान थालेको वडाध्यक्ष जोशी बताउनुहुन्छ । ०६१ सालमा सुरु भएको नदी कटान नियन्त्रणमा चासो नदिँदा हरेक वर्ष विस्थापित हुनेको सङ्ख्या बढ्दो रहेको वडाध्यक्ष जोशी बताउनुुहुन्छ ।
वर्षा याममा भएसँगै भिमादका बासिन्दालाई कसरी सुरक्षति रहने भन्ने चिन्ता हुन्छ । यहाँका कैयौँ परिवार बर्खाभर दिउँसो भिमाद बजारमा बसे पनि रात परेपछि सुरक्षित स्थान खोज्दै बजारमाथिको बस्ती जाने गरेको जोशीले जानकारी दिनुभयो । पानी पर्नेबित्तिकै नदीको बहाव बढ्छ जसले गर्दा जमिन कटान गर्दा किनारामा रहेका घरको डिल खस्न सुरु गर्ने गरेको पीडितले बताएका छन् । पहिरो गएको स्थानमा होटल व्यवसाय गर्नु भएकी माया हिराचनले टेवा पर्खाल नलगाईएकोले जोखिम मोलेर व्याससाय गर्नुपरेको माया हिराचनले बताउनुभयो । परिवार पाल्नु प¥यो आम्दानीका अन्य विकल्प नहुँदा पानी पर्दा निकै डर लाग्ने रातमा त बस्न सक्ने अवस्था नभएको सचेत भएर दिउँसो व्यापार गरेको उहाँले बताउनुभयो ।