चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १४ गते । ताप्लेजुङको सदरमुकाम नजिक सुकेटार विमानस्थल क्षेत्रमा बाक्लो हिमपात भएको छ । मङ्गबारदेखि सुरु भएको वर्षासँगै २४ सय सय मिटर उचाई रहेको सुकेटार क्षेत्रमा बाक्लो हिमपात भएको हो ।
पर्यटकीय क्षेत्रको रुपमा रहेको सुकेटार क्षेत्रमा धेरै वर्षपछि हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातका कारण सुकेटार विमानस्थलमा बुधबारको उडान प्रभावित भएको छ । नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूका अनुसार हिउँका कारण उडान प्रभावित भएका हुन्।
यता फुङ्लिङबजार नजिक सुकेटारमा हिउँ परेपछि हिउँ खेल्नेको भीड लागेको छ । ताप्लेजुङका आएको समयमा सुकेटर क्षेत्रमै हिउँ खेल्ने अवसर पाउँदा खुशी लागेको पाँचथरकी इवारा जबेगुले बताउनुभयो ।
यता जिल्लाको उच्च हिमाली क्षेत्रमा धेरै बाक्लो हिमपात भएको छ । हिमाली बस्ती ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फले, तोक्पेगोला, ग्याब्ला लगायतमा दुई फिट बढी हिउँ थुप्रिएको स्थानीयले बताएका छन् । हिमपात र वर्षा भएपछि चिसोका कारण भने जिल्लाको जनजीवन प्रभावित भएको छ ।