logo
२०८१ बैशाख २० बिहीवार

हिउँ पन्छाएर खुल्यो जोमसोम-लोमन्थाङ सडक (फोटो फिचर)

फोटो फिचर |
प्रदेश |


2022-02-12-57569
तस्बिर साैजन्य : सोभा पुन


अमृतप्रसाद पौडेल
बेनी, माघ २९ गते । हिमपातका कारण पछिल्लो एक हप्ता देखि बन्द रहेको जोमसोम–कोरला सडक खण्ड अन्तरगत लो–घेकर दामोदर कुण्ड क्षेत्रमा हिउँ पन्छाएर सवारी सञ्चालन भएको छ ।
गत माघको २० गते बेलुका देखि २२ गते बिहान सम्म भएको हिमपातले गर्दा मुस्ताङको उपल्लो भेकमा बाक्लो हिउ जमेका कारण सडक अवरुद्ध भएको थियो । लो–घेकर दामोदर कुण्ड गाउँपालिकाले पछिल्लो दुई दिन डोजर (जेसिबी)को सहायतामा सडकमा जमेको हिउँ पन्छाएपछि शुक्रबारदेखि यातायात सञ्चालनमा आएको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शोभा पुनले बताउनुभयो । उहाँले सडकमा जमेको हिउँ पन्छाएर सडक खुलेपछि जीप, ट्रक र ट्याक्टर चल्न थालेको जानकारी दिनुभयो । पहिलो दिन लो–घेकर दामोदर कुण्ड गाउँपालिका भित्रको २८ किलोमिटर क्षेत्र चराङदेखि स्याङ्बोचे र दोस्रो दिन बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिका क्षेत्रको करिब १५ किलोमिटर स्याङ्बोचेदेखि समरसम्म सडकको हिउँ पन्छाइएको थियो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत पुनले भन्नुभयो यस वर्ष दुई पटक भएको हिमपातका कारण सडकमा जमेको हिउँ पन्छाउन झण्डै पाँच लाख खर्च भयो । हिमपातले गर्दा बिग्रेको लो–घेकर दामोदर कुण्ड–५, ताङ्ग्या जाने सडक अझै पनि अवरुद्ध भएकोले शनिबार उक्त सडक मर्मत हुँदै गरेको पुनले बताउनुभयो । जोमसोम–कोरला सडक सञ्जाल अन्तरगत जोमसोम–लोमन्थाङ शुक्रबारबाट सञ्चालनमा आइ सकेको थियो ।
सडकमा जमेको हिउँ पन्छाएपछि हिमपातले अलपत्र परेर बीचमै रोकिएका सवारीसाधन तथा सर्वसाधारणहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । सडकमा जमेको बाक्लो हिउँका कारण दैनिक उपभोग्यलगायत खाद्यान्न तथा मालसामान र विकास निर्माणका सामग्री बोकेका सवारीसाधन बीच बाटोमै रोकिएका थिए ।
जोमसोम देखि लोमन्थाङका लागि छुट्ने मालवाहक सवारी साधनहरु पनि सामान अलोड गरेर तत्कालै फर्केको निमित्त प्रमुख प्रशासकीय अधिकृत पुनले बताउनुभयो । पुनले भन्नुभयो चिसोले गर्दा भोली स्टार्ट नहुने जोखिमलाइ ध्यानमा राखेर गाडीहरु तुरुन्तै फर्केका छन् । हिमपात पन्छाउनका लागि गाउँपालिकाका जनप्रतिनिधिहरु आफै फिल्डमा खट्नुभएको समेत पुनको भनाई छ ।
हिमपातले कतै उत्साह छाएको भए पनि हिमाली क्षेत्रमा भने लामो समयसम्म हिउँ रहने हुँदा स्थानीयलाई सास्ती हुने गरेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कोरला सडकको १ सय १० किलोमिटर दुरी रहेको छ ।