logo
२०८१ बैशाख १४ शुक्रवार

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड (फाेटाे फिचर)

फोटो फिचर |
प्रदेश |


2022-03-18-60140


अमृतप्रसाद पौडेल

बेनी, चैत ४ गते । हिमालपारीको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीको भीड बढेको छ । विगत दुई वर्षपछि धेरै दर्शनार्थीहरु आउन थालेका छन् ।
कोभिड–१९ को शुरुआतसँगै बन्द भएको मन्दिर अहिले खुला भएपछि दर्शनार्थीको चाप निकै बढेको हो ।
हिन्दु तथा बौद्ध धर्माबलम्बीहरुको पवित्र तीर्थस्थल मुक्तिनाथमा दर्शनार्थीहरु अहिले दैनिक एक हजार पाँच सयभन्दा बढी पुग्ने गरेका छन्– मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भन्नुभयो ।
शर्माका अनुसार अहिले दैनिकजसो स्थल तथा हवाइमार्गबाट मुक्तिनाथ दर्शनकै लागि आउने गरेका छन् । हवाइमार्गबाट मुस्ताङ प्रवेश गर्ने झण्डै ८० प्रतिशत र स्थलमार्गबाट पनि ५० प्रतिशत हाराहारी भारतीय नागरिकहरु मुक्तिनाथ दर्शनका लागि आएको तथ्याङ्क प्रहरीमा रहेको प्रजिअ शर्माको भनाइ छ ।
सन २०१९ को अन्तिममा कोभिड शुरु भएपछि यतिधेरै भिड मन्दिरमा नदेखिएको मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कार्यालय सचिव रविन सुवेदीले बताउनुभयो । सुवेदी भन्नुहुन्छ–‘अहिले पछिल्लो एक हप्ता दैनिक रुपमा दर्शनार्थीहरुको भीड बढ्दो गतिमा छ, पछिल्लो करिब साढे दुई वर्षको बीचमा यति धेरै भीड मुक्तिनाथ मन्दिरमा थिएन ।’
यसपटक मुक्तिनाथ मन्दिरमा दर्शनकै लागि आउनेहरु हवाइमार्गबाट अधिक रहेको जोमसोम विमानस्थलका प्रमुख पुस्कलराज शर्माले बताउनुभयो । शर्माले भन्नुभयो–हवाइमार्गबाट आउने यात्रु मध्ये अधिकांश भारतीय मूलका आउने गरेको र सबैजसो मुक्तिनाथ दर्शनकै लागि पुग्ने गरेका छन् ।
मुक्तिनाथका पर्यटन व्यवसायी अमृत सुवेदीले विगत साढे दुई वर्षको अवधिमा हेर्दा पर्यटकहरुको भीड अहिले देखिएको सुनाउनुभयो । होटल अन्नपुर्ण इनका सञ्चालक सुवेदीले आफ्नो होटलमा अग्रिम बुकिङ पनि हप्ता दिन पहिलादेखि नै हुने गरेको बताउनुभयो ।