logo
२०८० चैत्र १६ शुक्रवार

ललितपुर पाटनमा सानुले दौडाए ‘माछापुच्छ्रे’ (फोटो फिचर)

घोडेजात्रा

फोटो फिचर |


2022-04-01-61195
तस्बिरः मनोजरत्न शाही


मनोजरत्न शाही

काठमाडौं, चैत १८ गते। शुक्रबार टुँडिखेलमा राष्ट्रपति, उपराष्ट्रपतिसहित उच्च ओहोदाका अधिकारीको उपस्थितिमा नेपाली सेनाले भव्य रुपमा घोडेजात्रा मनायो। धेरैले घोडोजात्रा भन्ने बित्तिकै टुँडिखेलमा उफ्रिएका घोडा र नेपाली सेनाले देखाएको कलालाई सम्झिन्छन्। तर, ललितपुरको पाटन क्षेत्रमा भने शुक्रबार घोडे जात्राको छुट्टै रौनक थियो। सर्वसाधारणको उपस्थितिमा अष्टमान महर्जन ‘सानु’ले पाटनको मुल चोकमा ‘माछापुच्छ्रे’ घोडा चढेर जात्राको सुरुवात गर्नुभयो। मल्लकालदेखि सुरु भएको यो जात्रामा स्थानीयको बाक्लो उपस्थिति थियो। मल्ल राजाको प्रतिकसहित सर्वसाधारणले माछापुच्छ्रे घोडालाई पछ्याउँदा चोकचोकमा घोडेजात्राको रौनकता थपिएको थियो।

स्थानीय अर्जुनकुमार महर्जनका अनुसार मल्लकालीन राजाले शक्ति प्रदर्शनका लागि घोडा प्रदर्शन गरेको र अहिले त्यसलाई नै निरन्तता दिएको हो। ‘मल्लकालदेखि नै पाटन दरबार क्षेत्र नजिक बसेका सर्वसाधारणलाई घोडाको तबेला हेरचाहको जिम्मेवारी दिइएको थियो। त्यही समयमा सुरु भएको जात्रालाई आजसम्म निरन्तरता दिइएको हो’, महर्जनले भन्नुभयो।

पाटन मंगल बजारको मुल चोकबाट यो जात्रा सुरु भएको जात्रा पाटनका भित्री गल्लीको परिक्रमा गरेर बालकुमारी मन्दिर पुगेर टुंगिएको हो। जात्रामा दौडाइएको घोडा बालकुमारी मन्दिरदेखि भोल गणेशसम्म तीन पटक ओहोरदोहोर गरेपछि जात्रा सम्पन्न हुने गरेको छ। यो जात्रालाई नेवारी भाषामा ‘याकः सल’ भनिन्छ। यो जात्राको आयोजना ‘भिमसेन गुठी च्योः खलः’ ले गरेको हो।