logo
२०८१ बैशाख १५ शनिवार



गुमेको ज्योति पाउँदा

विचार/दृष्टिकोण |


गुमेको ज्योति पाउँदा


पूर्णहरि अमात्य

नेपालमा स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत सेवाका लागि सरकारीभन्दा निजी क्षेत्रको प्रयास प्रशंसनीय छ । मानिसका लागि आँखाजस्तो संवेदनशील अङ्गको औषधोपचारमा डा. रामप्रसाद पोख्रेलको सक्रिय नेतृत्वमा नेपाल नेत्रज्योति सङ्घको छातामुनि नेपालभर आँखा अस्पताल सञ्चालन गरेर दशकौँ अघिदेखि उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । काठमाडौँको व्यस्त बजार त्रिपुरेश्वरमा आँखा अस्पताल स्थापना गरी वर्षौंदेखि आँखाको गुणस्तरीय सेवा प्रदान गरिरहेको अस्पतालले विगतमा भारतको उत्तर प्रदेशको सितापुर सहरमा रहेको आँखा अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य गरिदिएको थियो ।

काठमाडौँपछि लहान (सिरहा)मा नेत्रज्योति सङ्घ र जर्मनीको सहयोगमा राजधानीबाहिर आधुनिक आँखा अस्पतालले गुणस्तरीय साथै सर्वसुलभ आँखा उपचार सेवा प्रदान गरिरहेको पनि दशकौँ भयो । लहानस्थित चौधरी आँखा अस्पतालको नेपालमा भन्दा छिमेकी देश भारतका विभिन्न राज्यमा विशेष चर्चा हुने गरेको छ । उक्त अस्पतालमा भारतमा भन्दा अत्याधुनिक प्रविधि प्रयोग गरी नेत्र विशेषज्ञहरूले गुणस्तरीय सेवा कम मूल्यमा दिँदै आएका छन् । त्यसैगरी डा. सन्दुक रुइतको कुशल नेतृत्वमा तिलगङ्गा आँखा अस्पतालले पनि आँखाको गुणस्तरीय उपचारमा महìवपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । अस्पतालले आँखाको उपचार मात्र गर्दैन, मोतीबिन्दुका लागि आवश्यक पर्ने लेन्ससमेत स्वदेशमा उत्पादन गर्दै आइरहेको छ । यसबाहेक गौरव गर्नलायक अर्को कुरा के छ भने तिलगङ्गामा उत्पादित लेन्स अस्टे«लियाजस्ता विकसित मुलुकमा समेत निर्यात हुनु हाम्रालागि गौरवको विषय हो ।

काठमाडौँ उपत्यकाबाहिर बेलायतमा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालले छ वर्षदेखि आँखाका बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहे पनि खासै चर्चामा छैन । यो काठमाडौँपूर्वको एक मात्र आँखा अस्पताल हो, जसले भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका बासिन्दासमेतलाई गुणस्तरीय सेवा दिइरहेको छ ।

केही वर्षअघि काठमाडौँपूर्वका जिल्लामा एउटा पनि आँखा अस्पताल नभएकोले त्यसको आवश्यकतालाई महसुस गरेर रेयुकाईले शिर मेमोरियल अस्पताल (बनेपा)नजिक केही वर्ष आँखा उपचार सेवा प्रदान गर्ने हेतुले क्लिनिकका रूपमा सञ्चालनमा ल्याएको उक्त अस्पतालका सचिव हीरामणि शर्मा बताउनुहुन्छ । उहाँका अनुसार बनेपाको सानो घरमा आँखाका रोगीको चाप बढ्न थालेपछि अन्यत्र फराकिलो ठाउँमा अस्पताल सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस भयो । अन्यत्र अस्पताल सञ्चालन गर्ने अठोट त गरियो तर त्यसका लागि स्रोत जुटाउन स्थानीय समाजसेवीले अरूको मुख ताक्नुभन्दा पाँच–पाँच हजार रुपियाँका दरले २० लाख चन्दा सङ्कलन गरेर नेपालस्थित रेयुकाई कार्यालयको आर्थिक सहयोगमा बनेपाको बुडोल डाँडामा रहेको दुई रोपनी जग्गा खरिद गरी सन् २०१५ देखि पूर्ण रूपमा एउटा व्यवस्थित आँखा अस्पतालका रूपमा सञ्चालनमा ल्याइयो । उक्त अस्पतालमा दैनिक दुई सयदेखि तीन सयसम्म आँखाका विभिन्न समस्याका बिरामी उपचार गराउन आउने गरेको अस्पतालले जानकारी दिएको छ । उक्त अस्पतालमा जाँच गराउन ६० रुपियाँको टिकट काटे पुग्दछ । यहाँका सम्पूर्ण डाक्टर, नर्स, स्टाफ सेवाभावले काम गरिरहेका छन् ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले काठमाडौँमा सुविधासम्पन्न आँखा अस्पताल हुँदाहुँदै पनि यही अस्पतालमा आएर आँखाको उपचार गराउनुभएको थियो । अस्पतालका मेडिकल डाइरेक्टर डा. रुचि श्रेष्ठले यो पङ्क्तिकारको दुवै आँखाको सफल शल्यक्रिया गरिदिनुभएर गुमेको ज्योति फिर्ता ल्याइदिनुभयो । शल्यक्रिया गर्नुभन्दा अघि मोतीबिन्दुले आँखाको नानी छोपिएकाले होला, म टीभी हेर्न, मसिनो अक्षर पढ्न सक्दिनथेँ । बजारका साइनबोर्डका अक्षर पढ्न गाह्रो हुन्थ्यो । अब यो समस्याबाट छुटकारा मिलेको छ । युवा अवस्थाकै जस्तो आँखाको ज्योति पाएकोमा ज्यादै हर्षित भएको छु ।

डा. रुचि श्रेष्ठसित लिएको जानकारीअनुसार यस अस्पतालमा विशेषगरी मोतीबिन्दु (कन्ट्याक्ट), जलबिन्दु (ग्लुकोमा), पर्दा (रेटिना)को र रिफ्रेक्चर समस्याका आँखारोगी आउने गरेका छन् । बनेपा नगरपालिका–१२ का ५९ वर्षीय राजन थापा मधुमेहका कारण आँखा देख्न छाड्नुभएको थियो तर डा. श्रेष्ठले उहाँको आँखाको शल्यक्रिया गरिदिएर अब बिस्तारै देख्न थाल्नुभएकोमा उहाँ पनि मजस्तै हर्षित हुनुहुन्छ ।

अस्पतालको स्थापनामा जापानी नागरिक मुसुन मासुनागा र श्रीमती एइको मासुनागाको विशेष भूमिका रहेको छ । उक्त अस्पतालले ग्रामीण भेगका जनतालाई आँखाको सुलभ उपचार गर्ने हेतुले भकुण्डेबेँसी, खाँडीचौर र कुशादेवीमा समेत क्लिनिक सञ्चालन गरिरहेछ । आवश्यक पर्दा देशका अन्य भागमा पनि क्लिनिक सञ्चालन गरेर आँखाको उपचारमा उल्लेखनीय योगदान पु¥याउँदै आएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?