logo
२०८१ मंसिर ८ शनिवार

 विद्युत् चुहावट नियन्त्रण अभियान 

 

 



विद्युत् चुहावट नियन्त्रण अभियानबाट एक करोड भन्दा बढी जरिवाना असुली !

राष्ट्रिय |


विद्युत् चुहावट नियन्त्रण अभियानबाट एक करोड भन्दा बढी जरिवाना असुली !


धीरेन्द्रप्रसाद साह,

राजविराज, असार १८ गते । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजबाट खटिएको विद्युत् चुहावट नियन्त्रण अभियान टोलीले विद्युत चोरी जरिवानाबाट एक करोड रुपियाँ भन्दा बढी राजश्व असुली गरेको छ । 
चालु आर्थिक वर्षको जेठसम्ममा प्राधिकरणले पोलमा सिधै हुकिङ्ग गरिरहेको अवस्थामा पक्राउ परेका मानिस, बरामद विद्युतीय सामग्री र विद्युत मिटरमा चोरी गरेकोबाट जरिवाना रकम असुली गरेको केन्द्रका प्रमुख चन्द्रनारायण साहले जानकारी दिनुभयो ।

यस अवधीमा पोलमा सिधै हुकिङ्ग गरिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिबाट ७१ लाख चार हजार एक सय १४ र मिटरबाट विद्युत् चोरी गरिएकोबाट ४८ लाख ८७ हजार ६ सय ९९ गरी कूल एक करोड १९ लाख ९१ हजा ८९३ रुपियाँ जरिवाना वापत राजश्व असुली भएको प्रमुख साहले जानकारी दिनुभयो ।

विद्युत् प्राधिकरण कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा खटिएको विद्युत् चुहावट नियन्त्रण अभियान टालीले विद्युत् पोलमा सिधै हुकिङ्ग गरिरहेको अवस्थामा पाँच सय १६ जनालाई पक्राउ गरी प्रति व्यक्तिबाट १५ हजार रुपियाँ जरिवाना रकम असुली गरिएको उहाँले जानकारी दिनुभयो । हुकिङ्ग गरी विद्युतीय उपकरण प्रयोग गरिरहेको बेला अभियान टोलीलाई देखेर भागेको घरबाट फ्रिज, पानी तान्ने मोटर, पंखा, टिभी, एलसीडी लगायत एक सय १८ थान विद्युतीय उपकरण बरामद गरी सोको मूल्याकंन आधारमा जरिवाना तिराएर फिर्ता गरिएको बताइएको छ । चुहावट नियन्त्रण अभियान टोलीले विद्युत् मिटरमा चोरी गरी विद्युत् प्रयोग गरिएको अवस्थमा तीन सय ३२ वटा मिटर उपर कारबाही गरी सो जरिवाना रकम असुरली गरेको हो ।

दिवा र रात्रीकालीन समयमा खटिएको अभियान टोलीले अभियानलाई तीब्रता दिएपछि विद्युत् मिटरको माग समेत बढेको बताइएको छ । चालु आर्थिक वर्षमा २१ हजार विद्युत् मिटर वितरण केन्द्रलाई प्राप्त भएकोमा अहिलेसम्ममा १८ हजार १६६ मिटर वितरण भइसकेको र ग्राहकको माग अनुसार वितरण जारी रहेको केन्द्रका प्रमुख साहले बताउनुभयो ।

सप्तरीमा दुई वटा वितरण केन्द्र रहेकोमा राजविराज वितरण केन्द्र अन्तर्गत राजविराज, रुपनी, हनुमाननगरका गरी ६५ हजार ८ सय ८२ र कञ्चनरुप नगरपालिका वितरण केन्द्र अन्तर्गत २५ हजार गरी कूल ९० हजार सेवाग्राही रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?