सुकृत नेपाल
धेरैको प्रश्न थियो रङ्गमञ्च कहिले खुल्छ ? झण्डै दस महिनापछि रङ्गमञ्च खुलेको छ । बत्तीसपुतलीस्थित शिल्पी थियटरमा माघ १ गतेबाट नाटक ‘६ पात्रको एकलाप’ मञ्चन भयो । नाटक हेर्न दर्शकको उपस्थिति पनि आशालाग्दो थियो । यो बेलामा पनि दर्शकको यो उपस्थितिले नाटकलाई माया गर्नेको कमी छैन भन्ने अनुभूति गरायो ।
शिल्पी नाटकघरले नाटक मञ्चन गरे पनि काठमाडौँ उपत्यकाका अधिकांश नाटकघर भने अझै सुनसान छन् । धेरै रङ्गकर्मी अझै पनि नाटक कसरी चलाउने र दर्शकलाई कसरी तान्ने भनेर अन्योलमा छन् ।
कोरोना महामारीपछि सरकारकै अनुमतिमा सञ्चालन गरिएको नाटकघरमा स्वास्थ्य मापदण्डको पालना गरियो । दर्शकको ज्वरो नापेर, स्यानिटाइजर र मास्क लगाउन दिएरमात्रै नाटकघर प्रवेश गराइयोे । यो मापदण्डले नाटकघरको वातावरण केही भिन्न पनि लाग्यो होला । नाटकघरभित्र भौतिक दूरी कायम हुने गरेर कुर्सी राखिए । एक सयभन्दा बढी दर्शक अट्ने नाटकघरमा मुस्किलले ५० जना मात्रै अटाइयो ।
नाटक ‘६ पात्रको एकालाप’ले समाजका भिन्नभिन्न विभेदका शृङ्खलालाई उजागर गरेको छ । हिंसाका अनेक रूपलाई महिला पात्रले जीवन्त अभिनयमार्फत चित्रण गर्न खोजेका छन् । समाज विभिन्न सम्बन्धको संयोजन हो । आमाबुवा, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र र साथीभाइले भोगेको यथार्थलाई नाटकमा देखाइएको छ । नेपाली समाजमा दशकौँ अघिदेखि यथावत् रहेका कुरीति अहिले पनि उस्तै छन् । नेपाली समाजले बिस्तारै आधुनिकता अँगाल्दै गए पनि विभेदका घटनामा कमी नआउनु अर्को विकराल पाटो हो । नाटकमा लैङ्गिक विभेद, अन्याय, अत्याचार र विकृतिविरुद्ध प्रश्न एकपछि अर्को गर्दै उठेका छन् ।
नाटकमा देखिने ६ पात्रका आफ्नै पीडा र समस्या छन् । नेपाली समाजमा अहिले पनि निमुखा समुदायले न्याय पाउन ठूलै कसरत गर्नुपर्छ । ती समुदायले हिंसा भोग्छन् तर पीडकलाई कारबाहीको आवाज उठाए पनि समाज सुन्न तयार नहुने अवस्था छ । समाजका समस्या र पीडितका आवाज ६ पात्रले आफ्ना अभिनयमार्फत एकालापमा पोखेका छन् । यी पात्रहरू जात, लिङ्ग, वर्णकै आधारमा हुने विभेदको कथा बोकेर उभिन्छन् । उनीहरू समाजका सबै पक्षबाट घेरिएका छन् । यी ६ पात्रलाई हाम्रो समाजको ऐनाभन्दा पनि हुन्छ । जसले नाटकमा फरक–फरक मुद्दामा समाजको विभेद प्रस्तुत गरेका छन् । यी विभेदको साङ्लो जब्बर छ । जातकै आधारमा विभेद खेप्नुपर्ने, प्रेम र सम्बन्ध नै तगारो बन्ने घटनालाई पनि प्रस्तुत गरिएको छ । नाटकका पात्र कसैको पनि विभेद र हिंसाको मुद्दा एउटै छैन । महिलामाथि हुने लैङ्गिक विभेद तथा जातका आधारमा हुने विभेदलाई पात्रहरूले टपक्कै टिपेका छन् ।
नाटकको लेखन तथा निर्देशन घिमिरे युवराजको रहेको छ । घिमिरेको निर्देशकीय पक्ष राम्रो छ । जस्तो कथालाई पनि उहाँ सहज र सरल ढङ्गबाट मञ्चमा उतार्न सक्नुहुन्छ । निर्देशकको यही खुबीका कारण कलाकारको अभिनय पनि सशक्त हुन पुगेको छ ।
कोरानाबाट थलिएको रङ्गमञ्चमा धेरैपछि नाटक हेर्दा खोट लगाउने ठाउँ नभेटिएको पनि हुन सक्छ । नाटकमा उतारिएको कथा खासै नयाँ होइन । वर्तमानमा देखिने आममानिसको दुःख र पीडा नै हो ।
नाटकमा कलाकार पवित्रा खड्का, सङ्गीता उराँव, नम्रता अर्याल, साहिना भट्टराई, सुहाना आचार्य र सुमित्रा लामिछानेले अभिनय गर्नुभएको छ । यी सबै कलाकारको अभिनय जीवन्त छ । ६ पात्रकै अभिनयमा खोट लगाउने ठाउँ छैन । सबैले आ–आफ्नो भूमिकामा न्याय गरेका छन् । नाटकमा सङ्गीत भने शेख अमजद प्रवेज र स्मारिका फुयालले दिनुभएको छ । यसको पनि प्रशंसा नगरिरहन सकिँदैन ।