logo
२०८१ मंसिर ७ शुक्रवार



खल्लो होली

शनिवार |


खल्लो होली


सुकृत नेपाल

विशालबजारका मनोज आचार्यले यसपटकको होलीमा आफ्नो अनुहारमा रेस्लर अन्डरटेकरको मास्क पोत्ने योजना बनाउनुभएको थियो । तर उहाँको यो योजना योजनामै सीमित हुने भयो । उहाँ भन्नुहुन्छ, ‘कोरोनाले सबै तहसनहस बनायो । फेरि कोरोना पैmलिन्छ भन्छन्, खोइ उन्मुक्त भएर होली खेल्न पाइएला जस्तो छैन ।’
मनोज जस्तै धेरै युवकयुवती होलीको मौका छोपी अनुहारमा पेन्टिङ गर्ने मात्र होइन लोला र थरीथरीका रङ दल्ने योजनामा थिए । दोस्रो लहरको कोरोनाको हल्लाले रमाइलो गर्ने योजना सबैको चकनाचुर भएको छ । तर सावधानी अपनाएर मनाउने पनि नभएका चाहिँ होइनन् ।
कलाकारिताको रङ्गीन संसारमा रमाइरहेका ‘सेलिबे्रटी’ पनि होलीलाई धुमधामसँग मनाउँथे तर कोरोनाले गर्दा यसपालि पनि त्यस्तो धुमधाम केही नहुने भएको छ । गायक शिव परियारले पहिला पहिला त होलीका लागि अनेक योजना बनाउनुहुन्थ्यो रे तर अहिले उहाँको खासै योजना केही छैन । उहाँ भन्नुहुन्छ, ‘यसपटकको होलीमा कि पोखरा कि नेपालगञ्जमा हुन्छु होला तर पक्का भएको छैन । होली सद्भावको पर्व भएकोले आपसी मनमुटाव त्यागेर रमाइलो तरिकाले मनाउनु चाहिँ पर्छ । यस्तो बेलामा सावधानी पनि अपनाउनै प¥यो ।’
गायक युवराज चौलागाईंलाई सबभन्दा मनपर्ने पर्व होली नै हो । सानो छँदा उहाँले यो पर्व विशेष तरिकाले मनाउनुहुन्थ्यो रे । यस पर्वको आगमनमा अहिले पनि उहाँमा त्यत्तिकै उत्साह त जाग्छ तर के गर्नु कोरोनाको डर छ । अनि होलीका नाममा खराब रङहरु खेल्ने प्रचलनले पनि उहाँलाई खिन्न बनाउँछ । उहाँले भन्नुभयो, ‘धेरै ठाउँबाट निम्तो आएको छ । यसपटक कार्यक्रमका लागि पोखरा जाने योजनामा छु ।’ अभिनेता सुनील थापा भने होली खेलौँ तर सावधानी अपनाएर खेलौँ भनेर सुझाव दिनुहुन्छ । होलीमा आफ्नो खासै त्यस्तो योजना नरहेको उहाँले सुनाउनुभयो । ‘हल्का बिरामी छु, त्यसैले त्यस्तो खास योजना छैन’, उहाँले भन्नुभयो ।
रङहरूको पर्व होली विभिन्न ठाउँ र समुदायमा फरक फरक किसिमले मनाइन्छ । होलीका राम्रा पक्ष धेरै भए पनि जबरजस्ती लोला हान्ने, रङ दल्ने जस्ता क्रियाकलापले यो पर्वलाई विकृत बनाउँदै लगेको थियो तर केही वर्षदेखि आफ्नो काममा हिँडेका मानिसलाई जबरजस्ती लोला हान्ने, रङ दलिदिने, फोहोर पानी छ्याप्ने जस्ता घटनामा भने कमी आएको छ ।
कलाकार दीपाश्री निरौला पनि योपटकको होली घरमै मनाउनुहुन्छ रे । ‘विगतमा विभिन्न कन्सर्ट, कार्यक्रम हुन्थे, त्यसमा व्यस्त हुन्थेँ । यसवर्ष कोरोना भाइरसका कारण कार्यक्रम छैनन् । घरमा भाइ–बुहारी, भदैनी, बहिनीहरू हुनुहुन्छ । उहाँहरूसँग खानपान, रमाइलो गरेर बिताउँछु । स्वास्थ्यभन्दा ठूलो कुरा केही होइन । त्यसैले भीडभाड गरेर होली नमनाउन सबैमा अनुरोध पनि उहाँले गर्नुभयो ।
हरेक वर्ष चलचित्र क्षेत्रका हस्तीहरुले होलीका कार्यक्रम राख्थे । हास्य कलाकार मनोज गजुरेल यो वर्ष होलीका पहिलेका तस्बिरहरू हेरेर चित्त बुझाउँछु भन्नुहुन्छ । ‘यसपटकको होली न रङ्ग, न रस, न उमङ्ग नै हुने भयो । घरमै सामान्य रूपमा आफन्तहरूसँग बसेर मनाइन्छ’, कलाकार गजुरेलले भन्नुभयो ।
‘होली मनाउने ठूलो योजना थियो तर कोरोनाको त्रासले आँट आउला जस्तो छैन’, कलाकार दीपकराज गिरीले सुनाउनुभयो, ‘मलाई याद छ मैले एउटा नानीलाई लुकेर लोला हानेको थिएँ । उनले मलाई अन्तर्राष्ट्रिय गाली गरेकी थिइन् । त्यसपछि म लोला हान्न अलि डराउँछु ।’ होली भनेको रमाइलो गर्ने पर्व हो । त्यसैले कसैलाई पनि हानि नहुने तरिकाले मनाउन उहाँले आग्रह गर्नुभयो ।
अर्जुन घिमिरे (पाँडे) सँग पनि होलीको विशेष कार्यक्रम केही छैन । विगतका वर्षमा रमाइलोसँगै मनाइन्थो । अहिले जताततै कोरोनाको त्रास छ । त्यसैले खासै तामझाम गरिँदैन । धुर्मुस सुन्तली फाउण्डेशनको रङ्गशाला निर्माण अभियानका लागि मेची महाकाली यात्रामा छु । मेरो होली यात्रामै हुन्छ होला– पाँडेले भन्नुभयो । कलाकार आयुष रिजाल हरेक वर्ष झँै यो वर्ष पनि साथीभाइसँग रमाइलो गर्ने र रङको टीका लगाउने योजनामा हुनुहुन्छ । हास्य कलाकार जीतु नेपाललाई पहिला जस्तो अब होलीको रमाइलो लाग्दैन रे । झन् कोरोनाको डरले बाहिर कसरी निस्कनु र भन्दै उहाँले घरपरिवारसँग बसेर नै होली मनाउने तयारी गरिरहनुभएको छ ।
संस्कृतिविद् सत्यमोहन जोशी जुनसुकै चाडको पनि सांस्कृतिक सन्दर्भ बिर्सन नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘होलीको उद्गम भनेकै समाजिक समन्वय र सद्भाव हो । सत्यको जीत र असत्यको हार भएको सन्दर्भमा यो पर्वको शुरुवात भएको हो ।’ ऐतिहासिक पौराणिक सन्दर्भ नबुझ्दा चाडपर्व विकृति र विसङ्गतितिर धकेलिँदै गएको उहाँको धारणा छ । कोरोना नफैलियोस् भनेर सरकारले फेरि सार्वजनिक स्थलमा भीड नगर्न आह्वान गरेको छ । कलाकारहरूको होली जमघट पनि नहुने भएको छ । सर्वसाधारण पनि आ–आफ्नै घरमा सीमित हुने भएका छन् । गतवर्ष झैँ यसपटक पनि कोरोनाले होलीलाई खल्लो बनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?