निर्मलकुमार आचार्य
मुलुक अत्यन्त कहालीलाग्दो अवस्थामा जक्रिएको छ । कोरोना (कोभिड १९) कहरले दिनहुँ बढाइरहेको रोग, शोक र भोकको लहर सितिमिति मेटिने छाँट छैन । पहिलो कोरोना लहरको सन्देश लिन नसकिएकाले नै अहिले ज्यादै सकस बेहोर्नुपरेको खुला सत्य हामीमाझ छ । अहिलेको विपदासित जुझ्दै भविष्यका लागि समेत सुदृढ व्यवस्था गर्न नसके कोरोनाको तेस्रो लहर आएमा त्यसले झनै कक्रक्कै पार्ने निश्चित छ । सरोकारी विज्ञजनले अबको केही महिनामै भारतमा कोरोनाको तेस्रो लहर आउने आशङ्का व्यक्त गरिरहेको परिपे्रक्ष्यमा समयमै घैंटामा घाम लाग्नसके बुद्धिमानी हुनेछ ।
अहिले नै समस्या कम विकराल छैन । सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ भने दिवंगत हुनेको सङ्ख्या पनि बढ्दो छ । अघिल्लो सालको तुलनामा यसपालि बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म कोरोनाको गहिरो चपेटामा परेका छन् । अस्पतालमा शøया, भेन्टिलेटर, आईसीयू (सघन उपचार कक्ष), अक्सिजन, औषधि, जनशक्ति आदिको कमीले पीडा उर्लाएको छ ।
घरमै ‘आइसोलेसन’ मा बसेका सङ्क्रमितहरूले स्वास्थ्यकर्मीबाट नियमित सल्लाह पाउन सकिरहेका छैनन् भने सास फेर्न अप्ठेरो भई अस्पताल जानैपर्ने अवस्था सिर्जना हुँदा पनि तत्काल राहत पाउने व्यवस्था छैन । यो अस्पताल र त्यो अस्पताल धाउँदाधाउँदै अकालमै मृत्युवरण गर्नुपर्ने नागरिकको नियति बनेको छ । निजी अस्पतालले भर्ना गर्न नमान्ने र गरिहालेमा पनि अचाक्ली शुल्क असुल्ने प्रवृत्ति एकातिर रहँदै आएको छ भने अर्कोतिर अधिकांश त्यस्ता अस्पतालले अक्सिजनको अभाव जनाई कोभिड बिरामीलाई प्रवेश निषेध गरेको वस्तुस्थिति उदेकलाग्दो बनेको छ । अनियन्त्रित तथा अनियमित रूपमा सञ्चालन हुँदै आएका निजी अस्पताललाई कहिल्यै नियमनमा राख्ने काम नभएकाले आजको संवेदनशील अवस्थामा पनि जनसेवाप्रति समर्पण भावको अभाव देखिएको छ ।
कोरोना महामारीका कारण मुलुक यतिखेर राष्ट्रिय सङ्कटमा परेको छ । सङ्कटको यो भयावह घडीमा सरकारी अस्पतालले मात्रै त्राण दिने अवस्था पटक्कै छैन । निजी अस्पतालहरूको साथ विना यसबाट पार पाउन असम्भव छ । निजी अस्पताललाई राष्ट्रिय सङ्कट मोचनका निम्ति उपयोगमा ल्याउन नसक्नु वा प्रयोग गर्न नसक्नु सरोकारी निकायको कमजोरी हो वा निजी अस्पताल नै ‘फुक्काफाल’ रहिरहेकाले यसो भएको हो ? जनसाधारण अलमलमा छन् । कोरोनाको नाममा मुलुकभरि ‘काल’ नाचिरहेको बेलामा समेत निजी अस्पताल केवल धनमुखी हुनु सुहाउँदो कुरो होइन । धनमुखी भएका स्वास्थ्य संस्थालाई के कसरी जनमुखी बनाउने ? यस दिशामा सम्बद्ध निकाय अभूतपूर्व हिसाबमा जाग्नुपर्ने भएको छ । सकेसम्म सहज वातावरण कायम गरी समन्वयात्मक रूपमा काम लिने अन्यथा कठोर कदम चाल्न पनि पछाडि पर्न नहुने राष्ट्रिय आवश्यकता टड्कारिएको बोध सरोकारीमा हुनैपर्छ ।
सरकारी तथा गैरसरकारी अस्पतालको दायरा र सक्रियता बढाई अग्रसर भइएका खण्डमा स्थानीय तहमा समेत कोरोना सङ्क्रमितलाई ठूलो राहत दिन स्थायी÷अस्थायी शिविर पनि खडा गर्न सकिन्छ । तीनै तहका सरकारले विकास, निर्माणका लागि छुट्याएका रकमलाई जनताको जीवन रक्षामा लगाउनु सर्वथा श्रेयष्कर हुनेछ । आगामी बजेटमा जनस्वास्थ्यलाई सर्वोपरि महŒव दिइनेमा त संशय छैन ।
कोरोनाकालमा कोरोनाबाहेक अन्य रोग लागेका बिरामी थप समस्यामा पर्नसक्छन् । वृद्धवृद्धा, बालबालिकाका स्वास्थ्य पनि ज्वलन्त पक्ष बनेका छन् । अस्पताल आदि ठूला संस्था कोरोना जस्तो महामारीसित जुझिरहेका बखत अन्य रोगीका सम्बन्धमा पनि सक्रिय रहनैपर्छ । स्थानीय तहमा रहेका स्वास्थ्य संस्था, वडा कार्यालय आदिले यसमा गहिरो चासो लिई आफ्नो क्षेत्रमा रहेका तमाम नागरिकको अझ खासगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, क्यान्सर, मिर्गौला रोगीलगायतका गम्भीर प्रकृतिका रोगीको सेवाका लागि क्रियाशील रहनु जरुरी छ ।
कोरोनाको महामारी कुन रूपमा के कसरी बढ्छ ? ठोकुवासाथ भन्न सकिने अवस्था छैन । रोगबाहेक भोकले पनि मर्ने अवस्था तेर्सिन सक्छ । यसका निम्ति स्थानीय तहलाई अगाडि बढाउनु उचित हुनेछ । राहतका काममा विगतमा जस्तो खाद्यान्न, तेल, मसला आदि बाँड्ने काम गर्नुसट्टा विभिन्न ठाउँ तोकी भोजनको व्यवस्था गर्नु उपयुक्त हुनेछ । जीविकोपार्जनका क्षेत्रमा पनि ठोस काम बढाउन सकिन्छ ।
कोरोना सङ्क्रमणविरुद्ध विजय हासिल गर्न खोप अभियानको तीव्रता अपेक्षित छ । यसका लागि दातृनिकाय तथा दातृराष्ट्रलाई गुहार्न ढिलाइ गर्नुहुँदैन । भएका खोप लगाउने काममा पनि उत्तिकै चनाखो हुनुपर्छ । अहिले दोस्रो चरणको (चिनियाँ) खोप लगाउने काम हुँदैछ । भीड नगराइकन, निश्चित दूरी कायम गरी खोप लगाउन सकिएमा मात्र यसको उपादेयता रहने भएकाले यसतर्फ सम्बद्ध सबै पक्ष सचेत, सजग हुनैपर्छ । मागेर, किनेर कसरी हुन्छ, जतिसक्दो छिटो खोप झिकाई सबै नागरिकलाई खोप लगाउने, यसबीच पी.सी.आर. परीक्षण पनि क्रम पनि बढाउनुपर्छ ।
ज्यादै अप्ठेरो परेका बिरामीलाई जुनसुकै अस्पतालमा वा तोकिएको खास अस्पतालमा पुग्नासाथ तत्काल उपचारको प्रबन्ध मात्र गर्न सकिए पनि अहिलेको हकमा धेरैको ज्यान जोगाउने माध्यम हुनसक्छ । जहाँसम्म अक्सिजन कमीको कुरो छ, त्यसको परिपूर्ति छिटोभन्दा छिटो हुनुपर्छ नै, सिलिन्डर किन्ने, झिकाउने काम भइरहेका पनि छन् । थन्किएर रहेका अक्सिजन प्लान्ट चलाउने, बिग्रिएकालाई तुरुन्त बनाउन लगाई चलाउँदा यसले धेरथोर मद्दत गर्नेछ । अहिलेलाई थोरैबाट कसरी धेरैको प्राण रक्षा गर्नसकिन्छ भन्नेमै सबैको मनमस्तिष्क सोहोरिनुपर्छ । भारतको अमृत सहरस्थित गुरुद्वारामा एक अक्सिजन सिलिन्डरबाट ४०÷५० जनासम्मको प्राण बचाइएका खबर प्रवाह भएको यस बखत स्मरणीय बनेको छ ।
सङ्कटको अँध्यारोमा तर मार्न खोज्ने पनि कम छैनन् । एम्बुलेन्स र शव वाहन सेवामा अचाक्ली रकम असुल्ने गरिएको छ । अक्सिजन सिलिन्डरको मूल्य पनि एकनासको छैन । ‘रेम्सिडिभिर’ औषधिलाई ५० हजार रुपियाँसमेत लिइएको समाचार कसैबाट अविदित छैन । कोरोना उपचारका नाममा निजी अस्पतालपिच्छे फरक, फरक शुल्क रहेको र प्रतिदिन ५० हजार रुपियाँसम्म लिइएको बेथिती पनि जानकारीमा आएकै कुरो हो ।
कालाबजारियाको कुचक्रले अन्य क्षेत्रलाई पनि असर पारेको छ । तेल, घिउमा मनपरी मोल लगाइएको छ भने कृत्रिम अभाव दर्शाई मनपरी मूल्य तय गर्ने रोग सल्कँदो छ । कोरोना कहरले गर्दा मुलुकका केहीबाहेक अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको छ भने यही निहुँमा भाउ बेसाहा चर्काउनेहरू रौंसिन थालेका छन् । बजार अनुगमनको कमीले आम नेपाली ढुक्क हुने अवस्था छैन । कोरोनाले राष्ट्रमै सङ्कट तेस्र्याएका बखत खोप, औषधि, अक्सिजन, खाद्यान्नलगायत कुनै पनि वस्तुमा कालोबजारी गर्नेलाई तत्काल हदैसम्मको कारबाही गर्न सकिएमा मात्र राहतको सास फेर्न सकिनेछ ।
कोरोना कहरका बखत यहाँ समस्या, सास्ती र सङ्कट मात्र रहेका छैनन्, त्यसबाट उत्रन बढेका सहयोगी हात पनि उदाहरणीय बनेका छन् । कैयौँ उदारमना व्यक्तिले आफ्ना सवारीसाधन ‘एम्बुलेन्स’ सरह प्रयोग गर्न दिएका छन् । कतिपय जनप्रतिनिधिबाट पनि यस्तो अनुकरणीय काम भएको छ । अति गम्भीर सङ्क्रमितलाई निःशुल्क ‘प्लाज्मा’ उपलब्ध गराई १५० जनाको ज्यान जोगाउने नेपालगञ्जकी माधवी शाहलाई ससम्मान सम्झनैपर्छ । ‘कोभिड १९ सेल्फ, हेल्प समूह’ मा आबद्ध सुर्खेती युवा समूहले अक्सिजनसहितको एम्बुलेन्स प्रदान गरी प्रदेश आयुर्वेद अस्पताल, सुर्खेतबाट सेवा सञ्चालन गराउनु सराहनीय एवं अनुकरणीय कार्य हो । यस्ता दृष्टान्त अनेक छन् । कतिपयले बेसहारालाई भोजन उपलब्ध गराएर पनि सेवा कार्य गरेका छन् । राष्ट्र नै सङ्कटमा परेका बेलामा यसरी अगाडि बढेर सहयोगका हात बढाउनु महान् पुण्यको काम हो । जस, जसले, जहाँ, जहाँबाट जतिसकेको सेवा कार्य गरिरहेका छन्, ती सबै धन्यवादका पात्र हुन् ।
स्वास्थ्य क्षेत्रमा संलग्न चिकित्सक, नर्सलगायत विभिन्न स्वास्थ्यकर्मीले दिन, रात नभनी गरिरहेका सेवा उच्च मूल्याङ्कनका विषय बनेका छन् । स्वास्थ्य, सुरक्षा तथा सरसफाइका क्षेत्रमा समर्पित सबैको मनोबल बढाउन तथा उचित प्रोत्साहनका लागि विशेष भत्ता आदिको व्यवस्था गर्न अनकनाउनु हुँदैन । पढाइ सकी कामको पर्खाइमा रहेका तथा अन्तिम तहको पढाइमा रहेका चिकित्सा शास्त्रका विद्यार्थीलाई पनि परिआए सेवामा लगाउनुपर्ने हुनसक्छ, यसका निम्ति अहिलेदेखि बन्दोबस्त अत्यावश्यक छ ।
भोलिका दिनमा आर्थिक, सामाजिक के कस्ता राष्ट्रिय सङ्कट उब्जने हुन् भन्न सकिँदैन तर जेजस्ता सङ्कट आए पनि त्यसबाट यसरी, यसरी उत्तीर्ण हुँदै बढिनेछ भन्ने तयारी अहिलेदेखि नभए उस्तै विरागका गीत सधैँभरि गाइरहनुपर्नेछ । á
(लेखक गोरखापत्रका पूर्वप्रधानसम्पादक हुनुहुन्छ ।)