logo
२०८१ बैशाख १७ सोमवार



जनसङ्ख्या शिक्षाको सन्दर्भ

विचार/दृष्टिकोण |


जनसङ्ख्या शिक्षाको सन्दर्भ


मुनीन्द्ररत्न बज्राचार्य
विकासोन्मुख देशहरू जनसङ्ख्या विस्फोटनको समस्याबाट पीडित छन् । जनसङ्ख्या वृद्धिको अनुपातमा खाद्यान्नको उत्पादन हुन सकेको छैन । यो समस्या नै प्रमुख चुनौतीका रूपमा देखापरेको छ । जनसङ्ख्या विस्फोटनको यो समस्या समाधानका लागि सबै विकासोन्मुख राष्ट्र लागेका छन् । नेपालमा पनि विगत यो तीन दशकदेखि जनसङ्ख्या वृद्धि निकै चर्को समस्याका रूपमा छ । यसले गर्दा देशको सर्वाङ्गीण विकासका लागि विभिन्न कठिनाइ भोग्नुपर्दा यहाँका जनताको जीवनस्तर उठाउन कठिन परिरहेको छ । जनसङ्ख्याको चाप र स्थितिलाई हेरी यसको नियन्त्रणका लागि जनसङ्ख्या शिक्षाको आवश्यकता महसुस गरी सरकारले यसको पठनपाठनमा विशेष जोड दिन थालेको छ ।
जनसङ्ख्यासम्बन्धी विभिन्न विषयअन्तर्गत जस्तै जन्म, मृत्यु, बसाइँ–सराइ, आगमन, प्रत्यागमनले राष्ट्रलाई के–कस्तो प्रभाव पार्छ भन्ने कुरा जनसङ्ख्या शिक्षामा अध्ययन गरिन्छ । जनसङ्ख्या शिक्षाको माध्यमबाट घर, गाउँ, जिल्ला, राष्ट्र र विश्वको जनसङ्ख्याको स्थितिलाई सबै क्षेत्रमा जस्तो परिवार, समुदाय र राष्ट्रलाई सुसूचित हुनमा मद्दत मिल्नेछ । जनसङ्ख्या शिक्षाको उद्देश्य विद्यार्थीलार्ई जनसङ्ख्याको घटबढका कारण र त्यसबाट देशले सामना गर्नुपर्ने विभिन्न समस्याप्रति सजग र जागरुक गराई देशको जनसङ्ख्या नीतिअनुसार आचरण गर्न सघाउ पु-याउनु हो । यस्तै, जनसङ्ख्याको घटबढबाट देशलाई पर्ने आर्थिक, सामाजिक र भौतिक समस्या एवम् यसको समाधानका उपायको अध्ययन गरिन्छ । नेपालमा सर्वप्रथम विक्रम संवत् १९६८ मा जनगणना लिइएको थियो । त्यसपछि सामान्यतया प्रत्येक १०÷१० वर्षमा जनगणना लिइँदै आएको छ । २०१८ मा जनसङ्ख्या वृद्धि दर १.७ प्रतिशत थियो भने त्यो प्रतिशत २०२८ मा २.०७, २०३८ मा २.६६, २०४८ मा २.१० र २०५८ मा २.२५ प्रतिशत हुन पुगेको छ । विसं २०६८ को जनगणना अनुसार १.३५ प्रतिशत वृद्धि भएको छ । यस वर्ष पनि जनगणना लिने तयारी छ । नेपालमा मूलतः जन्मदर बढी हुनु, मृत्युदर क्रमिक रूपमा घट्दै जानु, बाहिरबाट बसाइका लागि नेपालमा आउनु आदि जनसङ्ख्याको वृद्धिका प्रमुख कारण मान्न सकिन्छ । बहुसङ्ख्यक जनतामा जनसङ्ख्या वृद्धिबाट परिवार, समाज र राष्ट्रलाई नै आइपर्ने विभिन्न समस्याप्रति चेतनासहित जनसङ्ख्या शिक्षाको ज्ञान नपु-याएसम्म जनसङ्ख्या वृद्धिको समस्या समाधान हुन सक्दैन । यसका लागि सरकारले जनसङ्ख्या शिक्षा परियोजना तदारुकतासाथ सञ्चालन गर्दै लैजानुपर्ने हुन्छ ।

जनसङ्ख्या शिक्षा घरपरिवारबाट
जनसङ्ख्या शिक्षा सर्वप्रथम घरपरिवारबाट सुरु भएमा सुशिक्षित वंशबाटै सभ्य समाजको सिर्जना हुन्छ । परिवारको क्षेत्र, परिवारको सीमितता, सङ्ख्या, परिवारको आर्थिक स्थिति र परिवारमा भविष्यमा पर्न सक्ने बोझको ज्ञान जनसङ्ख्या शिक्षाले ज्ञान दिलाउँछ । यस्तै परिवारभित्र आम्दानीअनुसारको दैनिकी कसरी चलाउने र कसरी आय बढाउनेतर्फ सोच्ने सक्षम बनाउँछ । सन्तानको बढी चाहना गर्नु र परिवारमा हुने समस्या सम्बन्धमा विचार गर्ने हुन्छ । परिवारको सङ्ख्या जति बढ्दै जान्छ, त्यही अनुपातमा खाद्यान्न, आवास सुविधा, शिक्षा र स्वास्थ्य सुविधाको असर बढ्दै जान्छ । जसले गर्दा जीवनस्तर वृद्धिमा प्रतिकूल असर पर्न जान्छ । आमाबाबुको उत्तरदायित्व आफ्ना छोराछोरीलाई राम्रो स्याहारसुसार, राम्रो शिक्षा दीक्षा दिई उमेरअनुकूलमात्र विवाह गराइदिने हुन्छ ।

शिक्षालयबाट शिक्षा
घरपरिवार बच्चाको प्रथम पाठशाला हो । जनसङ्ख्या शिक्षा लिने दोस्रो स्थान विद्यालय हो । हाल जनसङ्ख्या शिक्षा विषय प्राथमिक तहदेखि माध्यमिक तहको पाठ्यपुस्तकमा समावेश गरिएको छ । उच्चशिक्षामा पनि जनसङ्ख्या विषय लिएर अध्ययन गर्न सकिन्छ । यसरी जनसङ्ख्या शिक्षाको प्रचार प्रसार गर्नुको मुख्य उद्देश्य जनसङ्ख्याको अत्यधिक वृद्धिबाट देशको सर्वाङ्गीण विकासमा पर्ने विभिन्न समस्याबारे जनतालाई बोध गराई जनसङ्ख्या वृद्धिलाई नियन्त्रण गर्नु हो ।

समाजबाट शिक्षा
नेपालमा जनसङ्ख्याको वृद्धि यहाँ विद्यमान सामाजिक कुरीति, अन्धविश्वासका कारण पनि हो । ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भन्ने आशिष दिने हाम्रो समाजमा जनसङ्ख्याको वृद्धिले हुने समस्याको अज्ञानताले जनसङ्ख्या भार बढेको छ । अब ‘दुई सन्तान ईश्वरका वरदान’ भन्ने नारालाई बोध गराउन जनसङ्ख्या शिक्षा विशेषतः गाउँठाउँमा निकै महŒवपूर्ण भएको छ । सर्वप्रथम जनसङ्ख्या विषयसँग सम्बन्धित आवश्यक ज्ञान यसका अभिवृत्ति, मूल्य र सीप प्रदान गर्ने त्यसप्रति समझदारी बढाउनुपर्छ । जनसङ्ख्या गतिविधिका कारण परिवार, समुदाय, समाज, राष्ट्र र विश्वमा पर्ने प्रभावबारे जानकारी दिलाउनुपर्छ । व्यक्ति, परिवार, समुदाय, समाज, राष्ट्र र विश्वको सुखी जीवनबारे उत्सुकता जगाउनुपर्छ । शिक्षक, विद्यार्थी र अन्य समष्टि रूपमा जनसङ्ख्या शिक्षाको संस्थागत विकास गर्दै लैजानुपर्छ । विश्व जनसङ्ख्याले विकराल समस्या निम्त्याउन सक्छ भन्ने कुरा अठारौँ शताब्दीका विश्वप्रख्यात अर्थशास्त्री थोमस माल्थसले औँल्याएका थिए । यस्तै, जनसङ्ख्याको शिक्षाको सुरुवात स्वीडेनबाट सन् १९३५ मा सुरु गरेको भनिएको छ । पछि अमेरिकाले जनसङ्ख्या शिक्षामा चासो देखाउँदै सन् १९३७ मा यसको अध्ययनमा ध्यान लगाउन थाल्यो । नेपालमा पनि जनसङ्ख्या शिक्षा परियोजना कार्यक्रम सन् १९८१ देखि कार्यान्वयन हुँदै आइरहेको छ । यस परियोजनाको मुख्य उद्देश्य भनेको जनसङ्ख्याको अत्यधिक वृद्धिबाट परिवार, समाज तथा अन्ततोगत्वा राष्ट्रले सामना गर्नुपर्ने आर्थिक, सामाजिक, शैक्षिक, विद्यार्थी र अभिभावकलाई सजग तथा जागरुक गराई जनसङ्ख्या वृद्धिप्रति सचेत गराउनु हो ।
मानिसको सोचाइ, जनसङ्ख्याप्रतिको चासो र अन्य परिवर्तन नल्याई जनसङ्ख्या वृद्धिको समस्या निराकरण नहुने कुरा स्वतः स्पष्ट भएकाले अचेल जनसङ्ख्या शिक्षालाई विशेष स्थान दिइँदै आएको छ । जनसङ्ख्या शिक्षा गुणात्मक रूपमा जनसङ्ख्या वृद्धिबाट हुने परिणामबारे मानिसमा चेतना जागृत गराउने शिक्षा हो । जनसङ्ख्या नियन्त्रणको जिम्मेवारी सरकारमात्र नभएर प्रत्येक चेतनशील व्यक्ति, परिवार, सामाजिक संस्था आदिको साझा हो । सन्तुलित परिवार, सुखी परिवार र समृद्ध परिवार बनाउन सबैले सोचेमा जनसङ्ख्या वृद्धिमा सन्तुलन आउनेछ । यसैले शिक्षाद्वारा नै परिवार नियोजन÷व्यवस्थापनको ज्ञान दिने आधार प्रभावकारी हुन्छ । नेपालमा परिवारनियोजन सङ्घ तथा राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)को आर्थिक एवम् प्राविधिक मद्दतले जनसङ्ख्या वृद्धिलाई कम गर्न, देशमा जनसङ्ख्या शिक्षाको प्रचार प्रसार गर्न तथा जनसङ्ख्याको गुणस्तर सुधार गर्ने प्रयास चलिरहेको छ । उच्च शिक्षाको क्षेत्रमा जनसङ्ख्या शिक्षाको पठनपाठन गराउनेसम्बन्धमा त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रलाई जिम्मेवारी दिइएको थियो । यी सङ्घ संस्थाको क्रियाशीलताले जनतालाई उच्च जीवनस्तर यापन गर्ने ज्ञानको बोध गराई सुखी जीवन समाजको सिर्जना गर्न केही हदमा सफलता मिलेको छ ।
(लेखक अवकाशप्राप्त सहप्राध्यापक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?