logo
२०८१ मंसिर ६ बिहीवार



च्याम्पियन इटाली

शनिवार |
खेलकुद |


च्याम्पियन इटाली


प्रजित शाक्य

इटाली विश्व फुटबलको सर्वाधिक सफल राष्ट्र हो । इटालियाली फुटबलले चार विश्वकप, दुई युरोकप र एक ओलम्पिक स्वर्णपदक जितेको छ । त्यसैले इटालियालीले मात्र होइन, विश्वभरिका समर्थक प्रत्येकपटक इटालीले विश्वकप, युरोकपजस्ता फुटबलका प्रमुख प्रतियोगिता खेल्दा उपाधिको आशा राख्छन् । इटालीको टिममा विश्वस्तरीय फुटबल खेलाडीको कहिल्यै कमी भएन । जियान्फ्रान्को जोला, फ्रान्सेस्को टोटी, एन्द्र्रिय पिलो, पाओलो माल्दिनी, अलेक्ज्यान्दर डेल पियरो, पावोलो रोसी, रोबोर्टो बाजियो, फाबियो कानाभारो, गियान्लुगी बफन इटालीले विश्व फुटबललाई दिएका केही नाम हुन् । त्यसैले इटाली विश्वकप, युरोकपजस्ता प्रतियोगितामा सधैँ दाबेदार रहँदै आएको छ ।
विश्व फुटबलमा ठूलो नाम भए पनि इटालीलाई यसपटकको युरोकपमा त्यति महŒव दिइएको थिएन । इटालीको राष्ट्रिय फुटबल टिम रूपान्तरको चरणबाट गुज्रिरहेको थियो । आशा गरिएको बेलाभन्दा अपेक्षा नगरिएको समयमा मिलेको सफलताले अझ बढी खुसी दिन्छ । इटालीले यसपालि आफ्ना समर्थकलाई यस्तै खुसी दियो युरो २०२० को च्याम्पियन बनेर । इटाली दोस्रोपटक युरोपेली फुटबलको राजा भयो । यसअघि सन् १९६८ मा इटाली पहिलोपटक युरो च्याम्पियन बनेको थियो । यसपटक इङ्ग्ल्यान्डलाई फाइनलमा उसकै मैदानमा पेनाल्टी सुटआउटमा हराएर इटालीले उपाधि जित्यो ।
यसपालि इटालीले उपाधि जित्न सक्छ भनेर आशा नगर्नुका कारण सन् २०१८ मा रूसमा भएको विश्वकप फुटबल प्रतियोगितामा छनोट नहुनु पनि हो । यसअघि कहिल्यै पनि इटाली विश्वकपमा छनोट हुन असफल भएको थिएन । यस्तो टिमले तीन वर्षपछि नै युरोकप जित्छ भनेर कसरी विश्वास गर्नेु ? त्यसमाथि विश्वकप जित्नुभन्दा युरोकप जित्नु कठिन मानिन्छ ।
विश्व फुटबलमा गौरव बोकेको इटालीजस्तो राष्ट्रका लागि विश्व कपमा छनोट पनि नहुनु अपमानकै विषय थियो । इटालियाली फुटबलका लागि यो घटना कालो क्षणकै रूपमा रह्यो । यसपछि तत्कालीन प्रशिक्षक जिया पियरो भेन्चुरालाई बर्खास्त गरियो र रोबर्टो म्यान्सिनीलाई प्रशिक्षकका रूपमा ल्याइयो । जुन इटालियाली फुटबल टिमका लागि वरदान साबित भयो । प्रशिक्षक रोबर्टो म्यान्सिनी सन् १९९४ मा भएको विश्वकप फुटबल प्रतियोगितामा इटालीका प्रमुख खेलाडीमध्ये एक हुनुहुन्थ्यो । तर, त्यसबेला उहाँले अन्तर्राष्ट्रिय खेल नखेल्ने भनी टिमबाट आफूलाई बाहिर राख्नुभयो । त्यसपछि म्यान्सिनी एकैपटक सन् २०१८ मा इटालीको राष्ट्रिय टिममा प्रशिक्षक हुनुभयो । यसपछि त म्यान्सिनीले इटालीको टिममा चमत्कार नै गर्नुभयो ।
परम्परागत रूपमै इटालीलाई सर्वश्रेष्ठ रक्षात्मक टिम मानिन्छ । इटाली रक्षात्मक रणनीतिमा प्रत्याक्रमणमा खेल्न रमाउँथ्यो । तर, यसपटकको युरोकपमा इटाली आक्रमणमा पनि प्रभावशाली देखियो । इटालीका विन्गरहरू फेरारीजस्तै तेज दौडे । मिडफिल्डरहरूले पनि फरवार्डहरूजस्तै गोल गर्न माहिर भएको सिद्ध गरे । बेन्चमा रहने सबै खेलाडी पहिलो रोजाइमै खेल्न हकदार भए । उपाधिमात्र होइन, आकर्षक फुटबल खेलेर इटालीले विश्वकै मन जित्यो । समग्रमा युरो २०२० मा इटालीले आक्रामक मानसिकतामा खेलेर सबैलाई आश्चर्यमा पा¥यो ।
इटालीलाई यस्तो आक्रामक टिम बनाउने श्रेय म्यान्सिनीलाई नै जान्छ । म्यान्सिनीले आक्रामक टिम बनाउन सिरी एका स्टार खेलाडीलाई वास्ता गर्नुभएन । आक्रामक रणनीतिमा खेल्न सक्ने सासुलोका म्यानुयल लोकाटेली र डोमिनीको बेरारर्ड, एट्लान्टाका मिडफिल्डमा माटियो पेसिनाजस्ता युवा खेलाडीलाई टिममा ल्याउनुभयो । विगतमा अनुभवी र भेट्रान खेलाडीलाई बढी मौका दिइने हुनाले इटालीका युवा खेलाडीले लामो पर्खाइपछि मात्र अवसर पाउँथे । वेल्सविरुद्ध खेलमा इटालीको पहिलो रोजाइका खेलाडीको औसत उमेर २७ वर्ष थियो । सन् १९९४ पछि यो इटालीको सबैभन्दा युवा टिम हो ।
यसो त म्यान्सिनीले युरोकपअघि नै इटालीलाई हेर्नलायक टिम बनाइसक्नुभएको थियो । म्यान्सिनी प्रशिक्षकका रूपमा आएपछि इटालीले कुनै पनि खेलमा एक गोलभन्दा बढी बेहोरेको छैन । यसक्रममा इटालीले २३ खेलमा गोल बेहोरेन । त्यसो त इटाली २७ खेलमा अपराजित रहेर युरो खेल्न आएको थियो । इटालीले युरोकपमा अपराजित यात्रा पनि ३४ खेल पु¥याएर च्याम्पियन बन्यो । इटालीका लागि च्याम्पियन बनाउन गोलरक्षक गियान्लुगी डोनारुमाले विशेष प्रदर्शन गर्नुभयो । सेमिफाइनलमा स्पेन र फाइनलमा इङ्ग्ल्यान्डलाई टाइब्रेकरमा हराउँदा डोनारुमै नायक हुनुहुन्थ्यो । उहाँ प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्नुभयो । यसैगरी, लोरेन्जो इन्सिने, जर्जिन्हो चिलिनी, मार्को भेराटी, जर्जिन्हो, लियानार्डो स्पिन्जोला, लियानार्डो बोचुनीको योगदान पनि उत्तिकै रह्यो ।
च्याम्पियन इटालीलाई पर राखेर समग्रमा युरोकपको चर्चा गर्दा डेनमार्कका क्रिस्टियन इरिक्सनलाई समेटिएन भने खल्लो बन्न सक्छ । इरिक्सन दोस्रो दिन खेल्नेक्रममा मैदानमै मृत्युको मुखबाट जोगिनुभयो । फिनल्यान्डविरुद्ध खेलमा इरिक्सन बेहोश भएर ढलेपछि प्रत्यक्ष प्रसारण हेरिरहेका करोडौँ दर्शक स्तब्ध बने । मैदानमै उहाँको छातीमा दुई हातले थिचेर श्वासप्रश्वासका लागि आपतकालीन प्रक्रिया (सीपीआर) अपनाउनुप¥यो । यो समय युरोपेली च्याम्पियनसिपको इतिहासकै सबैभन्दा व्याकुल क्षण बन्यो । इरिक्सनको स्वास्थ्यका लागि करोडौँ हात प्रार्थनाका लागि उठे । उहाँको सुस्वास्थ्यको कामना गर्दै सामाजिक सञ्जालमा सन्देश भरियो । रङ्गशालामा डेनमार्कका मात्र होइन, फिनल्यान्डका समर्थक पनि इरिक्सन, इरिक्सन भनेर चिच्याइरहे । अस्पताल पुगेपछि इरिक्सनको होश फर्केको खबर आयो । डेनमार्कको टिम समर्थकमात्र होइन, विपक्षी टिम र विश्व नै खुसी बने । त्यसपछि युरो २०२० मा डेनमार्क सबैको प्रिय टिम बन्यो । सुरुका दुई खेल हारेपछि इरिक्सनका लागि खेल्ने प्रेरणामा डेनमार्कले सेमिफाइनलसम्मको यात्रा गरेर आफ्ना समर्थकलाई निराश पनि हुन दिएन ।
युरोपका लिगमा अहिले पनि भिडियो रिभ्यु प्रणाली (भार)मा त्यत्ति विश्वास गरिएको छैन । सानोतिनो अफसाइड कल र पेनाल्टी छ कि छैन भनेर हेर्दा खेल लामो समय रोकिने र यसले खेलको रोमाञ्चकतामा विघ्न पार्ने हुन्छ । तर, यसपालि युरोकपले भारलाई स्वागत ग¥यो । युरो २०२० मा भारले स्पष्ट, सही र तेज निर्णय पनि दिए । तर पनि भार बेदाग हुन सकेन । इङ्ग्ल्यान्ड र डेनमार्कबीचको सेमिफाइनलमा रहिम स्टर्लिङलाई भारको सहयोगमा दिइएको पेनाल्टीले सबैलाई आश्चर्यमा पा¥यो । यो पेनाल्टी गोलबाट इङ्ग्ल्यान्ड फाइनलमा पुगेको थियो ।
चेक गणतन्त्रका प्याट्रिक सिक पनि विश्व फुटबलमा आफूलाई चिनाउन सफल हुनुभयो । उहाँले प्रतियोगितामा क्रिस्टियानो रोनाल्डोसरह सर्वाधिक पाँच गोल गर्नुभयो । सिकले स्कटल्यान्डविरुद्ध खेलमा ४९.७ मिटर टाढाबाट गरेको गोल युरोकपको इतिहासमै लामो दूरीबाट गरेको गोल बन्यो । सिक एक एसिस्ट कम हुँदामात्र रोनाल्डोलाई गोल्डेन बुट सुम्पन बाध्य हुनुभयो ।
यस खेलमा डोनारुमा, सिक, स्वीट्जरल्यान्डका गोलरक्षक यान सोमरजस्ता नयाँ खेलाडी विश्व फुटबलमा उदाउन सफल हुनुभयो भने चमत्कार गर्ने अपेक्षा गरिएका फ्रान्सका किलियन एमबापे यस प्रतियोगितामा फ्लप बन्नुभयो । विश्व विजेता फ्रान्स, गत विजेता पोर्चुगल, जर्मनी र हङ्गेरीको समूहलाई ‘गु्रप अफ डेथ’ मानिएको थियो । यद्यपि, यी कुनै पनि टिम क्वाटरफाइनलमा पुग्न नसक्नु अनपेक्षित नतिजाका रूपमा रह्यो । यसैगरी, युरो २०२० मा यसपटक कमैमात्र फाउल भए । जसलाई विश्वले नै प्रशंसा गरिरहेको छ । प्रतियोगितामा प्रतिखेल २.७९ को औसतमा १४२ गोल भए । जसले खेलहरू कति रोमाञ्चक भए भन्ने अनुमान लगाउन सकिन्छ । सन् १९८० पछि यो धेरै गोलको औसत हो ।

मेसी सर्वकालीन महान् फुटबलर !



फुटबलका लागि कहलिएको अर्को महादेश दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका पनि युरोकपसँगै भयो । यसपालिको कोपा अमेरिका युरोकपको छाँयामा प¥यो । यसले पनि युरोकपको महिमा थाहा हुन्छ । तर, कोपा अमेरिकामा विश्व फुटबलका दुई बलिया टिम ब्राजिल र अर्जेन्टिनाको फाइनल भिडन्तले चर्चाको मामिलामा युरोकपको फाइनललाई पनि टक्कर दियो । यी दुवै फाइनल एकैदिन भएको थियो । जसमा अर्जेन्टिनाले ब्राजिललाई उसकै भूमिमा १–० ले हराएर कोपा अमेरिका जित्यो । जुन सफलताको खुसियाली अर्जेन्टिनामा लामै समय चल्ने पक्का छ किनभने अर्जेन्टिनाले प्रमुख प्रतियोगिता जित्न २८ वर्षदेखि पर्खिरहेको थियो । परम्परागत शत्रु ब्राजिललाई उसकै मैदानमा हराएर च्याम्पियन बन्नुले पनि अर्जेन्टिनाको खुसी दोब्बर बनायो । सन् १९९८ पछि अर्जेन्टिनाले ब्राजिललाई उसकै भूमिमा पछारेको पनि यो पहिलोपटक हो ।
अर्जेन्टिनाको यो उपाधिले विश्वका सर्वश्रेष्ठ फुटबल खेलाडीमध्ये एक लियोनेल मेसीको खेलजीवनमा लागेको दाग पनि मेटियो । छपटकको बालन डि ओर विजेता मेसीको साथमा अर्जेन्टिना चारपटक प्रमुख प्रतियोगिताको फाइनल खेलमा पुगेको थियो । जसमा एउटा विश्वकप र तीन कोपा अमेरिका छन् । तर, प्रत्येकपटक मेसीलाई निराशामात्र हात लाग्यो । बर्सिलोनासँग रहेर मेसीले विश्व फुटबलका प्रायः सबै प्रतिष्ठित उपाधि जितिसक्नुभएको छ । बार्सिलोनाको जर्सीमा मेसीले चारपटक च्याम्पियन्स लिग, दसपटक स्पेनी लिग र सातपटक कोपा डेल रे उपाधि जित्नुभएको छ । तर, अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न नसक्दा मेसीका आलोचक उहाँलाई सर्वकालीन महान् फुटबलको दर्जा दिन तयार थिएनन् । अब मेसीको सङ्ग्रहमा कोपा अमेरिका पनि थपिएको छ । यस उपाधिसँगै मेसी निःसन्देह सर्वकालीन महान् फुटबल खेलाडीका रूपमा अमर रहने पक्का छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?