logo
२०८० चैत्र १६ शुक्रवार



महानगरको फोहोर व्यवस्थापन – सधैँको टाउको दुःखाइ

खुला |


महानगरको फोहोर व्यवस्थापन – सधैँको टाउको दुःखाइ


काठमाडौं, चैत्र २६ गते । सरकारले स्थानीयहरुसँगको सहमति कार्यान्वयन नगर्दा काठमाडौं उपत्यकाको फोहोर समयमै उठ्न सकेको छैन । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रका बासिन्दाले पटक–पटक अवरोध गरेपछि महानगरले फोहोर व्यवस्थापनको दिगो समाधानका लागि नुवाकोटको बन्चरेडाँडालाई चयन गरेको थियो । तर ,उक्त क्षेत्रको जग्गा अधिग्रहण गर्नका लागि वातावरण प्रभाव मूल्याङ्कन (ईआइए) गर्नुपर्ने र जग्गाका लागि मुअब्जा वितरण गर्नुपर्ने भएका कारण बञ्चरेडाँडामा फोहोर लग्न नसकिएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताउनुभयो ।

‘जग्गा अधिग्रहण गर्ने र मुआब्जा वितरण गर्ने काम सरकारको हो यसकारण सरकारले उक्त काम सल्ट्याए महानगरको फोहोर व्यवस्थापन दीगो रुपमा समाधान हुने थियो,’ उहाँले भन्नुभयो । फोहोर व्यवस्थापनका लागि कति जग्गा आवश्यक पर्छ भन्ने कुरा वातावरण प्रभाव मूल्यांकन गरेपछि मात्र थाहा हुने डंगोलको भनाइ छ । यसका आधारमा मात्र जग्गाको किटान भएपछि मुआब्जा वितरण गरेपश्चात मात्र काम सुरु हुनेछ ।

कामपाबाट दैनिक ५०० मेट्रिक टन र काठमाडौं उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहोर अहिले सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । काठमाडौं महानगरे १२ वर्षअघि नै दुई वर्षका लागि फोहोर व्यवस्थापन गर्नका लागि सिसडोललाई लिएको थियो ।

सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहोर थुपार्दै आएकाले आफूहरूको दैनिक कामकाजमा समस्या भएको भन्दै सिसडोलका स्थानीय बासिन्दाले तत्काल फोहोर व्यवस्थापनको काम अन्त्य गर्न कामपालाई आग्रह गरेका कारणले महानगरलाई फोहोर व्यवस्थापन गर्नका लागि समस्या भएको छ ।

फोहोर उठाउने काम रोकिँदै र चल्दै

महानगरपालिकाको फाहोर व्यवस्थापनको दीगो आधार नबन्दा सडकमा थुप्रिएको फोहोर केही दिन उठे पनि फेरि नउठ्ने प्रवृत्ति बढ्दै गएको छ । १५ दिन अघिदेखि नउठेको फाेहोर उठेको केही दिनमै फेरि बन्द भएको छ । महानगरका सहप्रवक्ता महेशकुमार काफ्लेकाअनुसार सिसडोल जाने पासाङ ल्हामु राजमार्गको सडक मर्मत गर्नुपर्ने भएकाले फोहोर नउठेको हो ।

कहिले स्थानीयको अवरोध त कहिले सडक निर्माणका कारण काठमाडौं उपत्यकाको फोहोर संकलनमा पटक–पटक अवरोध हुँदै आएको छ । तर सिसडोलबासीको अवरोध हुनेबित्तिकै सडकमा फोहोर थुप्रिहाल्छ । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको दीगो व्यवस्थापन नहुँदासम्म समस्या जतिबेला पनि बल्झन सक्ने काफ्ले बताउनुहुन्छ ।

व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने कुरा अझै अन्याेलमै

काठमाडौंँ महानगगरको फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिने कुरा चले पनि त्यसले मूर्तरुप पाउन सकेको छैन । महानगरको फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिँदा महानगरको फोहोर व्यवस्थापनको समाधान हुने बताइए पनि निजी कम्पनीलाई दिने प्रकिया अझै अघि बढ्न सकेको छैन ।

अहिले उक्त प्रकृया प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेपनि त्यसले कहिले पूर्णता पाउँछ यकिन नभएको महानगरका प्रवक्ता डंगोल बताउनुहुन्छ । उक्त प्रकृयालाई मन्त्रिपरिषद्ले पारित गरेपछि मात्र निजी कम्पनीलाई दिन बाटो खुल्नेछ । लगानी बोर्ड र नेपवेस्ट कप्पनीबीच परियोजना विकास सम्झौता (पीडीए)मा हस्ताक्षर भएको थियो । तर, त्यसपछि भने केही काम अगाडि बढेको छैन । पीडीएको अन्तिम मस्यौदा बने पनि सम्झौतामा ढिलाइ भएको छ । कम्पनीले पनि उक्त मस्यौदालाई स्वीकार गरेपछि मात्र पीडिएमा हस्ताक्षर हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?