लक्ष्मी खतिवडा
दुःखको विशाल पहाडले थिचेको त्यो जीवन र ती कलिला अनुहार जति बुझ्यो उति नै रङ्गविहीन लाग्ने । त्यो रहरलाग्दो उमेर र कलिलो जवानी त्यसै खेर गइरहेजस्तो । फक्रिनै लागेको फूलको सौन्दर्य त्यसै ओइलाएजस्तो । काउकुती लगाउने त्यो सौन्दर्य उनीहरूलाई नै छक्याएर भागिरहेजस्तो । कलिलो उमेरमै आमा बनेका ती किशोरी आमा र तमाम महिलाका भोगाइ समस्यै समस्याको पर्खाल बनेर उनीहरूलाई नै जिस्क्याइरहेजस्तो । सुदूरकोे सौन्दर्यभित्र हराइरहेको त्यो सुन्दरता खै कस्तो कस्तो ?
पहिलो पटक सुदूरपश्चिमको ग्रामीण पहाडी गाउँहरूमा पुग्दा त्यहाँका महिला र बालबालिकाको जीवनशैलीका धेरै दृश्यले साह्रै नै मन छोयो । जीवनप्रतिको कुनै आशा र उमङ्गबिनाको त्यो कष्टपूर्ण दैनिकी उनीहरूलाई पनि निकै सकसपूर्ण र बोझिलो लागिरहेको थियो । मैले देखेका ती तमाम किशोरी आमाहरूले बाँचिरहेको जीवन र आम महिलाका समस्या सुदूरको सबै भूगोलमा एकै प्रकारको थियो । चलचित्रको कथाजस्तै लाग्ने त्यहाँका महिलाको दैनिक जीवनमा सुख र रमाइलोको आभास कतै देखिएन । सुन्दर हिमालको काखमा रहेको सुदूरको सौन्दर्य र त्यहाँको प्राकृतिक सुन्दरताको वर्णन जति गरे पनि सकिँदैन । त्यति नै वर्णन गरेर नसकिने लाग्यो, त्यहाँको पारिवारिक, सामाजिक, आर्थिक र वातावरणीय परिवेश । विशेषगरी त्यहाँको दैनिक जीवनमा महिलाले गर्नुपर्ने कष्टपूर्ण शारीरिक श्रम र घरायसी कामको बोझिलो भूमिका जति बुझ्यो त्यति नै अत्यासलाग्दो । त्यस्तै कलिलो अनुहारमा देखिने तमाम दुःखका कथा उमेरभन्दा धेरै बढी छिप्पिएको थियो ।
त्यो गाउँमा आँखाले देखेसम्मकै ठाउँहरूमा महिला र बालबालिका मात्र छरपष्ट काम गरिरहेका देखिन्थे । बाटो, खेतबारी, जङ्गल, पँधेरा, मिल र घर वरपर जताततै उनीहरू भ्याइनभ्याइ अवस्थामा भेटिन्थे । विद्यालय जाने हतारले बिहान साना केटाकेटी कोही स्याउलाको भारीसँगै दौडिरहेका हुन्थे, कोही मलको डोकोसँगै त कोही दुवै हातमा पानीको जर्किन समातेर घरतिर लागिरहेका हुन्थे । स्याउलाको भारी बोकेर हामीलाई उछिन्दै अघि गएका एक हुल बालबालिका एकैछिनमा हातमा किताब बोकेर उही मैलो लुगामा विद्यालयतिर लागे । यस्तो लाग्थ्यो, ती बालबालिका विद्यालय पढ्नलाई नभएर उपस्थिति जनाउन मात्र दौडिरहेका थिए ।
अछामको सदरमुकाम मङ्गलसेन नजिकैका केही गाउँहरूको अवस्था, डोटी, बाजुरा र बैतडीका गाउँहरूमा देखिएको महिला र बालबालिकाका ती कष्टपूर्ण दैनिकी अत्यासलाग्दो थियो ।
बाटोमा हिँडिरहँदा जम्काभेट हुन्थ्यो, फेरि उस्तै गह्रुँगो भारी बोक्दै गन्तव्यतर्फ पुग्न नै हतारिएका महिलासँग । उमेर नै नपुगी आमा भएका साना साना नानीहरूको दैनिकी पनि वरपरको अन्य महिलाको जस्तै थियो । सहर बजारमा हामीले सानाभन्दा ठूला मान्छे र महिलाले भन्दा पुरुषले बढी श्रम गरिरहेको देख्छौँ तर सुदूरपश्चिमका जिल्लामा अवस्था ठीक उल्टो देखियो । विद्यालय जाने उमेरका र केही वृद्धाबाहेक गाउँमा हृष्टपुष्ट र बलिया पुरुषहरू नै देखिएनन् । गाउँहरू यति सुनसान हुनुको कारण खोतल्दा फ्याट्टै उत्तर आइहाल्थ्यो– श्रीमान् इन्डिया, बम्बई । रोजगारका लागि गएका उनीहरूले कमाएको पैसाले परिवार पनि धानिने होइन रहेछ ।
जता कमायो उतै रमायो । भारत गएका अधिकांश पुरुषको लत नै यस्तै बसिसकेको घरका महिलासँग कुराकानी गर्दा थाहा भयो । दसँैमा घर आउँदा लिएर आउने पन्ध्र, बीस हजारबाहेक कमाएको सबै पैसा रक्सी खाएर सिध्याउने । सुदूरपश्चिमको ठूलो समस्या, महिला र बालबालिकामाथि हुने हिंसाका मुख्य कारण भनेकै रक्सी भएको बुझियो । गाउँमा भएका केही पुरुष पनि दिनभरि कमाउने, साँझ लोकल रक्सी खाने र घरमा कुटपिट गर्ने । महिलाको भरोसामा मात्र धानिएको पाँच सात जनाको परिवारको अवस्था हरेक गाउँमा दयनीय थियो । आयआर्जनका लागि त्यहाँ महिलाले सजिलै पाउने र गर्ने काम भनेकै ज्यामी काम र गिटी कुट्ने काम थियो । सुदूरपश्चिमका महिला सबैभन्दा धेरै श्रम गर्ने तर पारिश्रमिक पुरुषहरूको भन्दा थोरै हुने रहेछ ।
हरेक दिन जोखिमपूर्ण शारीरिक श्रम गर्नुपर्ने बाध्यताले सानै उमेरका किशोरीहरू पनि बूढी र ख्याउटे देखिन्थे । प्रकृतिले दिएको उनीहरूको त्यो सुन्दर शारीरिक बुनोट पनि दुःख र कष्टपूर्ण श्रमले रूखो र उजाड देखिन्थ्यो । नहाँंसीकन बोल्न नजान्ने उनीहरूको ओठको त्यो मधुर मुस्कान पनि फुस्रो र फुङ्ग उडेको जस्तै लाग्थ्यो ।
न त उनीहरूको जीवनप्रति कुनै उत्साह थियो न त कुनै उमङ्ग । उनीहरूका लागि सबैभन्दा ठूलो कुरा बिहान, बेलुकी पेटभरि खानका लागि श्रम गर्नु मात्र थियो । कलिलै उमेरमा ठूलो व्यवहारमा बाँधिएका उनीहरू जीवनको कुनै रमाइलो पक्ष नै देख्दैनथे । सानै उमेरमा उही बालबच्चा, घाँस, दाउरा र परिवार सम्हाल्नुको दुःखबाहेक उनीहरूसँग कुनै ठूलो आशा थिएन । कतिले त सुदूरपश्चिम नजिकैको धनगढी बजारसम्म पनि देखेका थिएनन् । उमेर नै नपुगी चाउरीपनका धर्साहरू अनुहारमा प्रस्ट देखिन्थे । घाँस, दाउरा र गिटीले खाएको त्यो कलिलो हातखुट्टाका औँलाहरू घाउचोटले छिया छिया बनाएको थियोे । समस्या मैले अहिले देखेको ती कलिलो उमेरमा आमा बन्ने किशोरी आमाहरूको पीडा मात्र होेइन । एउटी किशोरी आमाले र बाबाले धेरै वर्षअघिदेखि र भोगेको जीवनको त्यही कथा फेरि त्यही घरमा उही कथा बनेर दोहोरिइरहेको छ । परिवार, समाज र ती सबै भूगोलमा पनि दोहोरिएको छ ।
छाउपडीजस्तो कुप्रथाले पनि त्यही ठाउँका महिला पीडित । भर्खैरै छाउगोठ भत्काइएको त्यो ठाउँ वरवरका महिला हतास मनस्थितिमा देखिन्थे । केही नयाँ कुरा सिक्ने, फुरुङ्ग पर्दै विद्यालय जाने, ढुक्कले गृहकार्य गर्ने र आफूले जानेका कुराहरू अरूसँग प्रतिस्पर्धा गर्ने त्यो समयमा उनीहरूका लागि वर्षौंदेखि छाउपडी नै बाधक थियो ।
सुन्दर सुदूरपश्चिम । यो भनाइ सुुन्दा लाग्छ साच्चै सुदूरपश्चिम सुन्दर छ तर विभिन्न कारण त्यहाँको जनजीवन सुखी र समृद्ध छैन । अछाम, डडेल्धुरा, बाजुरा, बैतडी र डोटीका ग्रामीण महिलाको अवस्था उस्तै उस्तै थियो । बाटोमा देखिने सुन्दर हिमशृङ्खला र प्रकृतिसँग रमाउने फुर्सद त्यहाँ कसैलाई थिएन । जताततै हिउँ परिरहेको थियो । बाटोमा गाडी रोकेरै हिउँमा हामी रमाइरहँदा त्यहाँका महिला भने गह्रौँं भारी बोकेर घरतिर लाग्दै थिए । दाउराको भारीसँगै उनीहरू निथ्रुक्कै भिजे । सँगै साना साना बालबालिका पनि आमासँगै सक्दो भारी बोकेर लम्किँदै थिए । झमक्कै साँझ परिसकेको थियो । त्यो दाउराको भारी, मलको डोको जति भिज्यो त्यति नै गह्रुँगो भइरहेको थियो तर पनि चुपचाप उनीहरू गन्तव्यतिर लाग्दै थिए । सुदूरपश्चिमको लामो भ्रमणमा हामीले साँझबिहान बाटोमा कुनै पनि पुरुषले भारी बोकेर हिँडेका देखेनौँ । बिहान उज्यालो नहुँदै र झमक्कै रात परिसक्दा पनि महिला र बालबालिका मात्र देखिन्थे ।
कलिला उमेरका ती मायालाग्दा अनुहारहरू दैनिक श्रममा मात्र जोतिइरहेका थिए । घरको दुःखले आमालाई सघाउँदा धेरै बालबालिकाले विद्यालय शिक्षालाई समेत निरन्तरता दिन सकेका थिएनन् । त्यो सबैको कारण थियो परिवारभित्रको आर्थिक अभाव । प्रायः ती सबै गाउँमा नै आर्थिक समृद्धि तथा महिलाको जीवनयापनलाई सहज बनाउने कुनै योजना अवधारणा नै थिएन ।
परिवारभित्र आय आर्जनको कुनै दिगो स्रोत हुन्थ्यो भने घरका महिलाले परिवार पाल्न दिनभरि ज्यामी काम गर्नुपर्ने थिएन । एक टनेल तरकारी मात्र उनीहरूले हरेक महिना उत्पादन गर्न सक्ने हो भने आर्थिक अवस्थामा केही सजिलो हुनेथियो । महिनाको पाँच हजार रुपियाँ कमाउन घरका मूली भारत जानुपर्ने अवस्थाले सुदूरपश्चिका महिला र बालबालिकाको अवस्था हदै दयनीय भइरहेको छ । नेपालको सिमाना महाकालीको झुलाघाट पुलमा उभिएर हेर्दाको दृश्य त झनै हृदयविदारक देखिन्थ्यो ।
मधुपर्क चैत २०७६