logo
२०८१ बैशाख १७ सोमवार



बाल स्वास्थ्यको अवस्था सुध्रँदो

खुला |


बाल स्वास्थ्यको अवस्था सुध्रँदो


शान्ति लामा

काठमाडौँ, मङ्सिर २६ गते । नेपालमा बाल स्वास्थ्य अवस्था सुध्रिँदो देखिएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको तेस्रो नेपाल बहुसूचक सर्वेक्षण २०७५÷७६ ले बाल मृत्युदर उल्लेख्य रूपमा घटेको देखाएको छ । सर्वेक्षण अनुसार हाल प्रत्येक एक हजार जीवित जन्मेका शिशुमध्ये २५ को मृत्यु हुने गरेको छ । यो सङ्ख्या २०७१ सालमा ३३ थियो ।
यो अवधिमा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर पनि घटेको छ । सर्वेक्षण अनुसार प्रति एक हजार जीवित जन्मेका शिशुमध्ये पाँच वर्ष नपुग्दै ३८ को मृत्यु हुने दर घटेर २८ मा झरेको छ । पहिले एक वर्ष नपुग्दै मृत्यु हुने बालबालिकाको मृत्युदर प्रति एक हजारमा २३ रहेकोमा अहिले १६ जनामा झरेको छ ।
सबैभन्दा बढी नवजात शिशु मृत्युदर सुदूरपश्चिम प्रदेशमा प्रति एक हजारमा २५ जना र सबैभन्दा कम बागमती प्रदेशमा नौ जना रहेको छ । शिशु मृत्युदर सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ३५ र सबैभन्दा कम प्रदेश–२ मा १५ जना प्रति एक हजार रहेको छ ।

पोषण सुधारोन्मुख
कुपोषणका कारण हुने लिखुरे र पुड्कोपन पनि पाँच वर्षको अवधिमा घटेको सर्वेक्षणले देखाएको छ । उमेर अनुसार तौल कम भएका बालबालिका २०७१ मा ३०.०१ प्रतिशत रहेकोमा हाल घटेर २४.५ प्रतिशत रहेको छ । केन्द्रीय तथ्याङ्क विभाग, लैङ्गिक तथा सामाजिक तथ्याङ्क शाखा निर्देशक कृष्ण तुलाधरका अनुसार बढ्दो स्वास्थ्य सचेतना, पोषण तथा स्वास्थ्य संस्थामा पहुँच जस्ता विभिन्न कारणले बाल मृत्युदर घट्दै गएको हो ।
उहाँले गर्भवतीले गर्भ जाँच गराउने प्रचलन बढ्दै गएको बताउनुभयो । जीवित शिशुलाई जन्म दिएका १५ देखि ४९ वर्ष उमेरका महिलामध्ये ७७ प्रतिशतले सिफारिस गरिए अनुसार कम्तीमा चार पटक पूर्वप्रसूति जाँच गराउने गरेको सर्वेक्षणले देखाएको छ ।
त्यस्तै सर्वेक्षणभन्दा दुई वर्षअघि सम्मको अवधिमा जीवित शिशु जन्माएका १५ देखि ४९ वर्ष उमेरका महिलामध्ये ७७.५ प्रतिशतले स्वास्थ्य संस्थामा प्रसूति गराएका थिए । सर्वेक्षण अनुसार पाँच आमामध्ये तीन जनाले शिशु जन्मेको छ महिनासम्म आफ्नै दूध मात्र खुवाउँछन् ।  

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?