यलु जोशी
काठमाडौं, चैत ३० गते । नेवार समुदायको महत्वपूर्ण चाडको रुपमा लिने पाँहाचह्रे पर्वको अवसरमा नरदेविस्थित ‘ङतभुलु अजिमा’ (श्वतेकाली) सहित विभिन्न देवीदेवताको नाच प्रस्तुत गरिएको छ ।
प्राचीन राजधानीको मुटुमा रहेको यस मन्दिरको निर्माण लिच्छवि राजा गुणकामदेवले ९ औं शताब्दीमा गराएको संस्कृतविद् चुन्दा बज्राचार्यले बताउनुभयो । उहाँले नरदेविस्थित सोही मन्दिरमा ङतभुलु अजिमासहित अरु देवीदेवता पनि विराजमान रहेको जानकारी दिँदै भन्नुभयो, हरेक वर्ष पाहाँचह्रे बेलामा मन्दिर नजिकै रहेको डबलीमा देवी नाच प्रदर्शन गरिन्छ ।
सो देवीदेवताको नाच भने १२ वर्षको एक पटक जात्रा गरी काठमाडौं , पाटन , भक्तपुर , कीर्तिपुरलगायत विभिन्न ठाउँमा देखाउने प्रचलन रहेको प्रष्ट पार्नुभयो । बज्राचार्यका अनुसार, बनेपाका राजा काठमाडौँको हात्ती सिकार गर्न आएको र आफ्नो सिकार गर्न आएको देखी हात्ती रिसाई राजालाइ मार्न लखेटेकोमा राजा भाग्दै च स्वाँ (एक प्रकारको फूल) फुल्ने रुखनिर पुगेको र हात्तीदेखि डराएका राजाले त्यहाँ आफूलाई बचाउन गुहार मागेका थिए ।
उहाँले थप्नुहुन्छ, त्यहाँ ठूलो ज्योति उत्पति भै, हात्तीले राजालाई केहि गर्न नसकी फर्केको र सो देखेपछि राजा प्रशन्न भई आफूलाई बचाउने त्यो ज्योति पक्कै पनि कुनै दैवी शक्तियुक्त भएको बुझी, नाना प्रकारको स्तुति गरेकोमा सो रुखको फेदबाट श्वेतकाली देवी उत्पन्न भै दर्शन दिएको भन्ने किम्बदन्ती छ ।
सोही स्थानबाट मध्यरातबाट श्वेतकालीसहित अस्तमात्रिका बाहिर निस्की नृत्य प्रस्तुत गर्ने गरेको कुरा तान्त्रिक गुरु लम्बकर्ण भट्टले पत्ता लगाएको किम्बदन्ती रहेको छ । सोही कुरालाइ हरेक वर्ष घोडेजात्राका दिन नरदेवीको डबलीमा हुने गणनाचले प्रतिबिम्बित गरेको छ बज्राचार्यले प्रष्ट पार्नुभयो ।
उहाँले पाँहाचह्रेको दिनमा देवीलाई पूजाआजा गरि निकाल्ने तथा घोडेजात्रामा दिनभरी नचाउने र भोलिपल्ट फेरि मन्दिरमा नै राख्ने जानकारी पनि दिनुयभो ।
नरदेवीलाइ नरबली लिने देवीको रुपमा पनि लिइन्छ । यस देवीले पहिला नर (मानिस) को बलि लिने हुनाले नरदेवी भनिएको किंवदन्ती छ । तर जानकारहरूका अनुसार नरबली भनेर मानिसको बली नभई मानिसको मनभित्रको अहंकार, इष्र्या, क्रूरता, आलश्यताको बली भन्न खोजिएको हो । नरदेवीलाई श्वेतकाली भगवती पनि भनिन्छ ।
वंशावली अनुसार ३८२५ मा कान्तिपुर नगर निर्माण गर्दा राजा गुणकामदेवले देश रक्षाका लागि चारैतिर लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नीलबराही), ङतभुलु अजिमा (नरदेवी) स्थापना गरी जात्रा चलाएको बताइन्छ ।