logo
२०८१ मंसिर ७ शुक्रवार



सफलताको अर्को सिँढी

शनिवार |
खेलकुद |


सफलताको अर्को सिँढी


नेपाली फुटबल टिमका लागि यो हप्ता ऐतिहासिक बन्यो । पहिलो पटक अफ्रिकी राष्ट्रसँग नेपालले अन्तर्राष्ट्रिय फुटबल खेल्यो । घरेलु मैदानमा अफ्रिकी राष्ट्र मोरिसससँग नेपालले दुई खेलका मैत्री शृङ्खला मात्र खेलेन, दुवै खेलमा जित हासिल गर्न पनि सफल भयो । नेपालले एक दशकपछि अन्तर्राष्ट्रिय मैत्री खेल जितेकाले यो जितको अझ बढी चर्चा भयो । नेपालले मोरिससलाई दुवै खेलमा १–० ले हरायो । पहिलो खेलमा विमल घर्तीमगर र दोस्रो खेलमा सुजल श्रेष्ठले निर्णायक गोल गर्नुभयो । जितले नेपाली राष्ट्रिय फुटबल टिम सही बाटोमा छ भन्ने प्रस्ट हुन्छ । यसको श्रेय कुवेती प्रशिक्षक अब्दुल्ला अल्मुताइरीलाई सबभन्दा बढी दिनुपर्छ ।

हुन त फुटबलमा प्रायः भ्रमणकारी टिमले विपक्षीसँग मात्र होइन, उसको समर्थकविरुद्ध खेल्नुपर्ने चुनौती पाएको हुन्छ । दर्शक पनि आफ्नो टिमलाई जिताउन अनेकौँ उपाय अपनाउने गर्छन् । अन्तर्राष्ट्रिय फुटबलमा दर्शककै कारण बलिया टिमले पनि कमजोर विपक्षी टिमको घरेलु मैदानमा पराजय भोगेका अनेकौँ उदाहरण छन् । नेपालले पनि घरेलु मैदानमा आफूभन्दा बलिया टिमलाई रोकेको खेल धेरै छन् । अझ फुटबलमा मोरिससको नाम प्रायः अन्य अफ्रिकी राष्ट्रको जस्तो गर्वका साथ लिइँदैन । त्यसैले आफ्नै स्तरको प्रतिस्पर्धी मानिएको मोरिससविरुद्ध नेपालको जित अनपेक्षित भने होइन ।
त्यसो त मैत्री खेललाई त्यति गम्भीर रूपमा लिने गरिँदैन पनि, चाहे त्यो अन्तर्राष्ट्रिय नै किन नहोस् । यस्ता खेलमा प्रशिक्षक त्यति गम्भीर देखिँदैनन् । यसका विभिन्न कारण छन्– मैत्री खेलमा प्रमुख रूपमा नतिजाभन्दा पनि खेलाडी छान्न सहज होस् भन्ने ध्याउन्नमा प्रायः प्रशिक्षक रहेका हुन्छन् । अझ प्रमुख प्रतियोगितापूर्वको मैत्री खेल हो भने आफ्ना प्रमुख खेलाडी चोटपटक लाग्ने डरमा प्रशिक्षक र खेलाडी चनाखो हुने गर्छन् । मैत्री खेलमा उपाधिको लक्ष्य पनि हुँदैन ।

नेपाल र मोरिससका प्रशिक्षकले मैत्री शृङ्खलामा अपनाएको योजना र रणनीतिबाट पनि यी कुरा साबित हुन्छ । पहिले नेपालका प्रशिक्षक अल्मुताइरीकै योजना हेरौँ– अल्मुताइरी निकै प्रयोग गर्न मन पराउने प्रशिक्षक हुनुहुन्छ । विश्वकप छनोट होस् या साफ च्याम्पियनसिप, यी ठूला प्रतियोगितामा नै चकित पार्ने अल्मुताइरीले मोरिससविरुद्ध मैत्री खेलमा पनि केही प्रयोग गर्नुहुनेछ भन्ने अनुमान सबैले गरेकै थिए । दुई खेलका लागि बन्द शिविरमा रहेका ३४ खेलाडीलाई नै सामेल गरेर प्रशिक्षक अल्मुताइरीले सबैको अनुमानलाई सही साबित गर्नुभयो । यस्तो निर्णय पहिले भएको थिएन । मोरिससविरुद्ध मैत्री खेललाई राम्रो नतिजाको अपेक्षाभन्दा बढीभन्दा बढी खेलाडीलाई अन्तर्राष्ट्रिय खेलको अनुभव दिलाएर भविष्यमा एउटा सन्तुलित टिम बनाउने अवसरका रूपमा अल्मुताइरीले लिनुभयो । त्यसैले उहाँले दुई फरक टिम चयन गर्नुभयो । उहाँको यस अनौठो निर्णयका कारण सुदीप गुरुङ, आकाश बुढामगर र नवीन गुरुङजस्ता खेलाडीले सोचेभन्दा पनि चाँडै राष्ट्रिय सिनियर टिमको जर्सी लगाउने गौरव प्राप्त गर्नुभयो । एनआरटीका डिफेन्डर नवीनले त दोस्रो खेलमा पहिलो रोजाइमा नै खेल्न पाउनुभयो ।

अल्मुताइरीले नेपाली प्रशिक्षकका रूपमा दुई कार्यकालमा १४ खेलाडीलाई राष्ट्रिय टिममा पदार्पण गराइसक्नुभएको छ । मोरिसससँगको मैत्री खेलकै बहानामा नेपाल पुलिस क्लबका गोलरक्षक शत्रुघन चौधरी, जावलाखेलका गोलरक्षक टिकेन्द्र थापा, हिमालयन शेर्पाका गोलरक्षक दीप कार्की, एनआरटीका वृmतिशरत्न छुन्जु, च्यासलका मिडफिल्डर आशिष राई, सातदोबाटोका विङ्गर सुशील राई र प्रशान्त अवस्थीले राष्ट्रिय टिमको बन्द शिविरको अनुभव लिन पाउनुभयो । राष्ट्रिय टिममा परेपछि खेलाडीको मानसिकतामा ठूलो फरक आउँछ । राष्ट्रिय टिमका लागि भनेर चयन भएका खेलाडी मैदानमा उत्रिँदा उच्च मनोबलमा खेल्ने गर्छन् । प्रशिक्षक अल्मुताइरीले यही सिद्धान्त अपनाइरहनुभएको छ ।

प्रशिक्षक अल्मुताइरीले नयाँ मात्र होइन, अनुभवी खेलाडीलाई पनि टिममा फर्कने मौका दिनुभयो । जसमध्ये विमलको पुनरागमनको निर्णयले वाहवाही नै पायो । अनुशासनको कारबाहीसँगै चोटका कारण करिब दुई वर्ष विमल राष्ट्रिय टिमबाट बाहिर हुनुभयो । यो समयमा लाग्थ्यो, विमल अब शायदै राष्ट्रिय टिममा फर्कनु हुनेछ तर अल्मुताइरीले विमललाई विश्वास गरेर मोरिससविरुद्धको पहिलो खेलमा पहिलो रोजाइमा नै खेलाउनुभयो । विमलले पनि निर्णायक गोल गरेर प्रशिक्षकको भरोसालाई कायम राख्नुभयो ।

सन् २०१८ मा भएको साफ च्याम्पियनसिपमा गोल गरेपछि विमलको यो नवौँ अन्तर्राष्ट्रिय गोल हो । केही समयअघिसम्म विमल राष्ट्रिय टिममा पर्नुहुन्छ भन्ने कुनै सङ्केत थिएन तर एकै खेलबाट विमलले राष्ट्रिय टिमको आक्रमण सम्हाल्न सक्ने क्षमता अभैm पनि रहेको देखाउनुभयो । हुन त युरोप र भारतको शीर्ष लिगमा व्यावसायिक फुटबल खेलेकाले विमलमा क्षमता त थियो नै, मात्र उहाँलाई मानसिक रूपमा सशक्त बन्नु जरुरी थियो । मोरिसससँगको शृङ्खलापछि नेपालले पुरानै विमल पाएको छ । यस शानदार पुनरागमनले विमललाई मानसिक रूमपा धेरै सबल बनाएको हुनुपर्छ । विमल पुरानै लयमा फर्किनु नेपाली फुटबलको भविष्यका लागि सुखद सङ्केत हो किनभने आगामी एसियन कप छनोटमा नेपाललाई मानसिक रूपमा सबल विमलको खाँचो पर्नेछ । अब विमललाई नेपालको सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताका रूपमा हेर्न थालिएको छ । विमल नेपालका लागि सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीभन्दा अब चार गोल मात्र टाढा हुनुहुन्छ । विमल मात्र होइन, मोरिससविरुद्ध जगजित श्रेष्ठ र देवेन्द्र तामाङले पनि वर्षौंपछि राष्ट्रिय टिममा सफल पुनरागमन गर्नुभयो ।

अब मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसको योजना हेरौँ– उहाँले पनि नेपालविरुद्धको मैत्री खेललाई गम्भीर रूपमा लिनुभएन । मोरिससको राष्ट्रिय टिममा युरोपका शीर्ष लिगमा खेल्ने खेलाडी छन् तर प्रशिक्षक टोनीले घरेलु लिगमै खेल्ने खेलाडीलाई समेटेर नेपालसँग खेल्ने टिम बनाउनुभयो । उहाँले पनि आफ्ना युवा खेलाडीलाई अनुभव दिलाउन नेपाल ल्याएको जानकारी दिनुभयो । मोरिससले कोभिडका कारण डेढ वर्षदेखि अन्तर्राष्ट्रिय फुटबल पनि खेलेको थिएन । त्यसैले मोरिससका प्रशिक्षक टोनीलाई जितहारभन्दा आफ्ना खेलाडीलाई अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ नै महìवपूर्ण ठान्नुभयो । प्रशिक्षक टोनीका अनुसार उहाँको टिममा थुप्रै नयाँ अनुहार छन् ।

मोरिससको यस्तो टिम हुनु र घरेलु मैदानमा घरेलु समर्थकको ऊर्जाले नेपाललाई दुवै खेल जित्न सहयोग पु¥यायो भनेर तर्क गर्ने पनि होलान् तर अफ्रिकी टिमविरुद्धको अन्तर्राष्ट्रिय मैत्री खेल लगातार जितेको गौरव राख्न भने नेपाली फुटबल टिम सफल रहेको छ । अनि यो जितले नेपालको राष्ट्रिय फुटबल टिमलाई मनोवैज्ञानिक रूपमा फाइदा पु¥याउने छ । नेपाललाई शारीरिक रूपमा अग्ला, बलिया खेलाडीको टिमविरुद्ध पनि लगातार जित निकाल्न सकिन्छ भन्ने आत्मविश्वास मिलेको छ । अफ्रिकी फुटबलको शैलीसँग परिचित भएको छ । नेपाल अहिले एसिया कप छनोटको तेस्रो चरणको तयारीमा छ । यो चरणमा नेपालले आफूभन्दा शारीरिक रूपमा बलिया खेलाडीको टिमविरुद्ध खेल्नुपर्ने सम्भावना धेरै छ । यो खेलमा खेल्न पनि नेपालले राम्रो अनुभव हासिल गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?