logo
२०८० चैत्र १६ शुक्रवार

रङ्गीचङ्गी ढुङ्गाले आकर्षक बन्यो नारायणी किनार (फाेटाे फिचर)

पर्यटन |
फोटो फिचर |


2020-11-21-26871


ज्ञानु पङ्गेनी
कावासोती, मङ्सिर ६ गते । नारायणी नदीको कटान रोक्न बिछ्याइएका ढुङ्गा रङ्गीचङ्गी र आकर्षक भएका छन् ।
कावासोती नगरपालिका – १२, पिठौली भएर बग्ने नारायणी नदीस्थित गङ्गा ज्योति स्नानघाटको किनारमा बिछ्याइएका ठूला–ठूला ढुङ्गालाई विभिन्न रङ लगाएर आकर्षक बनाइएको हो ।
गण्डकी प्रदेश सरकारले गएको वर्षाको समयमा नदीको कटान रोक्न ती ढुङ्गा बिछ्याएको थियो । स्नानघाटको पूर्वतर्फको करिब पाँच सय मिटर क्षेत्रफलमा बिछ्याइएको ढुङ्गामा सेतो, पहेँलो र हरियो पेन्ट (रङ) लगाएपछि नारायणी किनारको स्वरुप नै फेरिएको छ । यसअघि झाडी र फोहोरले किनारमा जानै नखोज्नेहरु अहिले त्यहीँ बसेर समय बिताउने, फोटो खिच्ने, टिकटक बनाउने गर्न थालेका छन् । रङ लगाएपछि किनार निकै आकर्षक देखिएको छ ।
कलकल बगेको नारायणी नदी, नदीपारि चितवन राष्ट्रिय निकुञ्ज छ । नदीको किनारमा दिनहुँ साँझ बिहानको समयमा गैँडा, मयूर, मृग चरेको देखिन्छ । चिसो मौसममा नदी किनारमा घडियाल गोहीले घाम तापेर बस्छन् । नदीमा चखेवाका जोडी कराइराखेका हुन्छन् । विभिन्न चराचुरुङ्गीको चिरबिर आवाजले वातावरण रमणीय बनाएको छ । त्यसैमा किनारमा रहेका विभिन्न मठ मन्दिरले मनलाई शान्ति प्रदान गर्छ ।
यहाँ दिनहुँजसो भक्तालु स्नान र पूजापाठका लागि पुग्छन् । औँशी, पूर्णिमा, सङक्रान्ति, मसान्ति, एकादशी, नयाँ वर्षमा जिल्लाका विभिन्न ठाउँ र अन्य जिल्लाबाट समेत पूजाआजा र स्नानका लागि भक्तजनको घुइँचो लाग्छ । स्नानका लागि आउने भक्तजनले स्नानघाट व्यवस्थित नभएको गुनासो गरिरहेकाले नजिकै रहेको राधाकृष्ण मन्दिरका पुजारी ज्योतिलाल भट्टराईले स्थानीय दातासँग सहयोग मागेर घाट व्यवस्थित बनाउने काम थालेको बताउनुभयो । अहिले उहाँकै नेतृत्वमा किनारका ढुङ्गा रङ्गाउने काम भएको हो । रङ लगाउन मात्रै तीन लाख रुपियाँ खर्च लागेको उहाँले बताउनुभयो । स्थानीय बासिन्दा र भैरहवा, काठमाण्डौँलगायत ठाउँबाट आएका भक्तजनले आर्थिक सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।
अहिले स्नानघाटलाई व्यवस्थित गरी किनारमा बार लगाउने, सिँढी बनाउने, गङ्गा मन्दिर, हवनकुण्ड, धर्मशाला, भान्छाघर र विभिन्न देवीदेवताका मूर्ति राखेर धार्मिक पर्यटकीय क्षेत्रका रुपमा यस क्षेत्रलाई विकास गर्न आफू लागिपरेको भट्टराईले बताउनुभयो । अहिलेसम्म कुनै पनि सङ्घ संस्था, स्थानीय तहबाट सहयोग नलिएको र आगामी दिनमा पनि नलिने उहाँको भनाइ छ । बाँकी रहेको किनार क्षेत्रमा पनि बगैँचा निर्माण गर्ने, भजनकीर्तन गर्ने ट्रस निर्माण, भक्तजनका लागि धर्मशाला निर्माण गर्ने योजना रहेको भट्टराईको भनाइ छ । घाटको पश्चिमतर्फ पनि आउँदो फागुनमा ढुङ्गा बिछ्याउने भन्ने जानकारी पाएको भन्दै बिछ्याएमा ती ढुङ्गामा पनि रङ लगाउने सोच बनाएको उहाँले बताउनुभयो ।