logo
२०८१ मंसिर ७ शुक्रवार

वर्षासँगै हिमपात, हिउँफूलमै कक्षा सञ्चालन (फोटोफिचर)

पर्यटन |
फोटो फिचर |


2021-02-06-31539
खण्डेश्वरी माबिमा हिमपातमा कक्षा सञ्चालन । तस्बिर - लोकेन्द्र जोशी/दार्चुला ।



लोकेन्द्र जोशी
दार्चुला, माघ २४ गते । लामो समयपछि बिहीबार रातिदेखि दार्चुलासहित देशव्यापी रूपमा हिउँदे वर्षा र हिमपात भएको छ । दार्चुलाको अपि हिमाल र व्यास गाउँपालिकामा गाउँसम्मै हिमपात भएको छ । डाँडाकाडा सबै हिउँले ढाकिएर सेताम्य भएका छन् ।
अपि हिमालस्थित खण्डेश्वरी माविलगायत केही विद्यालयहरु हिमपातमै सञ्चालन भइरहेका छन् । आकाशबाट हिउँफूल खसिरहेको छ, शिक्षक खडक लोथ्यालले भन्नुभयो, ‘विद्यार्थीहरु चौरमा बसेर रमाउँदै अध्ययन गरिरहेका छन् । कतिबेला घाम पर्ने र कतिबेला वर्षासँगै हिउँ पर्ने क्रम चलिरहेको उहाँले बताउनुभयो । हिमपातपछि चिसो बढेकोले जनजीवन भने कष्टकर बनेको छ ।’
स्थानीयहरुका अनुसार दार्चुलाको व्यास र अपि हिमालका साथै मार्मा, दुहुँ, नौगाड गाउँपालिकाका लेकाली क्षेत्रहरुमा समेत हिमपात भएको छ । यो वर्ष लामो समयदेखि वर्षा र हिमपात हुनसकेको थिएन । समयसमयमा हिउँदे वर्षा नभएकै कारण यो वर्ष हिउँदे खेती उत्पादनमा कमी आउने अनुमान गरिएको छ । आकासे पानीको भरमा खेती हुँदै आएको अधिकांस जमिन यो वर्ष बाँझै रहेको नौगाड गाउँपालिकाका स्थानीय गोविन्द धामीले बताउनुभयो । सिँचाइ सुविधा नभएको खेतमा खडेरी परेको छ । भने आंशिक सिँचाइ सुविधा भएको खेतमा अहिले भएको वर्षा र हिमपातले सकारात्मक असर पर्नेछ ।
मौसमविदहरुका अनुसार हाल पश्चिमी न्यून चापीय प्रणाली विकास भएका कारण मौसम बदली भएको हो । नेपालको सुदूरपश्चिम हुँदै भित्रिएको यस मौसमी प्रणाली शनिबार पूर्वी भेगसम्म फैलने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार रातिदेखि नै सुरु भएको बदलीले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा शुक्रबार हल्का वर्षासँगै उच्च हिमाली भेगमा बाक्लो हिमपात गराएको छ । दार्चुला, बैतडी लगायत सुदूरपहाडका अधिकांश जिल्लाका हिमाली क्षेत्र तथा लेकहरूमा बिहीबार रातिदेखि नै हिमपात जारी छ ।