logo
२०८१ बैशाख १७ सोमवार



आज १५० जनाले गरे सगरमाथाको आरोहण

पर्यटन |


आज १५० जनाले गरे सगरमाथाको आरोहण
तस्बिर साभार : खिमलाल गाैतमकाे फेस बुक


छेटु शेर्पा

काठमाडौं, जेठ ९ गते । आइतबार एक पटकमा करिव १५० जनाभन्दा बढी आराेहीले सगरमाथाको आरोहण गरेका छन् । बिहान ५ः०० बजेबाट शुरु भएको आरोहणबाट क्रमशः डेढ सयभन्दा बढीले आरोहण सम्पन्न गरेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

शनिबार नै तयारी अवस्थामा चौथो क्याम्प पुगे पनि धेरै हावा चलेका कारण आरोहणमा ढिलाइ भएको उहाँले बताउनुभयो । १० दिन अघि बहराइनका राजकुमार शेख मोहम्मद हमाल अलिफासहितको टोलीले आरोहण सम्पन्न गरेको थियो भने बाँकी आरोहण जेठ १५ मा मात्र गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो । सोमबारदेखि हिमपात हुने बढी हावा चल्ने मौसम भएकाले फेरि एक साता आरोहण स्थगित गरेर जेठ १५ मा मात्र आरोहण गर्ने तयारी थालेको एजेन्सीहरुले जनाएका छन् ।

तीन भारतीय आरोहीसहित २५ जनाभन्दा बढीले आज बिहानै ल्होत्से हिमालको आरोहण सम्पन्न गरेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । यकिन तथ्याङक सहितको नामावली आउने क्रममा रहेको छ तर आरोहणमा गएका छिटफुट बाहेक सबैले आरोहण सफल रहेको श्रेष्ठले बताउनुभयाे। यस वर्ष ४४ आरोहण दलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएर तयारी अवस्थामा आधार शिविरमा बसेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्ने यो आरोहीको सङ्ख्या हालसम्मकै उच्च भएको बताइएकाे छ ।

आरोहीमध्ये ३१५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिङ्गी आरोही छन् । सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपियाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?