logo
२०८१ बैशाख ६ बिहीवार



आफ्नै कीर्तिमान तोड्दै कामीरिता २६ औँ पटक सगरमाथा चढ्ने

पर्यटन |


आफ्नै कीर्तिमान तोड्दै कामीरिता २६ औँ पटक सगरमाथा चढ्ने



काठमाडौं, चैत १३ गते । विश्व कीर्तिमानी आरोही गाइड कामीरिता शेर्पाले यस वर्षको वसन्त ऋतुमा २६ औं पटक सगरमाथाको आरोहण गर्ने हुनुभएको छ । शेर्पाले सबैभन्दा धेरै पटक सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि) आरोहण गरेर बनाएको विश्व कीर्तिमान आफैँ तोड्ने सगरमाथाको आरोहण गर्न लाग्नुभएको हो ।

उहाँले गतवर्ष २५ औं पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गराउनुभएको थियो । सेभेन समिट ट्रेकमा आवद्ध रहेर आरोहणमा सहभागी हुनुभएका उहाँले यो वर्ष आरोहणका लागि सात जना शेर्पासहित आरोहण मार्ग बनाउने टोलीको नेतृत्व समेत गर्दै आरोहण गर्ने तयारीमा जुटेको कामीरिता शेर्पाले बताउनुभयो । गत वर्षसमेत आरोहण मार्ग निर्माणमा उहाँले नै नेतृत्व गर्नुभएको थियो । हिमचितुवाको उपमा पाउनुभएका आङरिता शेर्पा र आप्पा शेर्पापछि उहाँले आरोहणमा थप नयाँ कीर्तिमान बनाउनुभएको थियो ।

५२ वर्षीय शेर्पाले आफू शरीरले साथ दिएसम्म हिमालमा काम गर्ने तर विस्तारै आधार शिविर म्यानेजर भएर काम गर्ने सोच राखेको गोरखापत्र अनलाइनलाई बताउनुभयो । आरोहणका क्रममा विदेशी आरोहीले कामीरिता शेर्पा जस्तै अनुभवी आरोही गाइडको माग गर्ने भएकाले पनि कामीरिता शेर्पाले सुरक्षित आरोहण र रेस्क्युमा सहयोग गर्न आरोहण गर्नुपर्ने भएको उहाँको भनाइ छ ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेमा जन्मनुभएका शेर्पा १३ वर्षको उमेरदेखि हालसम्म पर्वतारोहण क्षेत्रमा काम गर्दै आउनुभएको छ । उहाँले यस वर्ष गर्ने आरोहणले विश्वका पर्वतारोहीका लागि थप उत्साह र नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्ने पर्यटन व्यवसायी एवं नेपाल पर्यटन बोर्डका सदस्य ङवाङङिमा शेर्पाले बताउनुभयो ।

२४ वर्षको उमेरमा पहिलोपटक २०५१ मा सगरमाथा आरोहण गर्नुभएका शेर्पाले एकपटक उत्तरतर्फको तिब्बती मोहडाबाट र बाँकी २०५१ देखि २०७८ सम्म २४ औं पटक दक्षिणी मोहडाबाट सगरमाथाको आरोहण गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?